फित्काैली डटकम‘पाठ्यपुस्तक र पाठ्यसामग्रीमा अनुवादको प्रयोग’ विषयक अन्तर्क्रिया
प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर अन्तर्क्रिया कार्यक्रमको समुद्घाटन गर्दै अनुवादको प्रभाव भाषाका पाठ्यपुस्तकको अध्ययन अध्यापनमा त्यतिकै रहेको छ भन्नुभयाे ।

काठमाडौँ, २०८१ असाेज १५ । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (अनुवाद) विभाग र अनुवादक समाज नेपालको सहकार्यमा विश्व अनुवाद दिवसको अवसर पारेर ‘पाठ्यपुस्तक र पाठ्यसामग्रीमा अनुवादको प्रयोग’ विषयक अन्तर्क्रिया प्रतिष्ठानकै देवकोटा सभाकक्षमा आयोजना गरिएको थियोे ।
प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर अन्तर्क्रिया कार्यक्रमको समुद्घाटन गर्दै अनुवादको प्रभाव भाषाका पाठ्यपुस्तकको अध्ययन अध्यापनमा त्यतिकै रहेको छ र यो स्वयंममा ज्ञान र सञ्चारको माध्यम हो । कुनै पनि रैथाने भाषाभाषीमा अनुवादको माध्यमले प्राथमिक तहदेखि नै प्रभाव पारेको हुन्छ । यसको महत्त्वलाई सबैले स्वीकार्नु पर्ने बताउनु भएको थियो।
प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले नेपालको अनुवाद विधासम्बन्धित नीतिको अभावमा अनुवादकार्य र पठनपाठनमा अन्योल परेको बताउनु भएको थियोे । उहाँले भाषा शिक्षणविधिमा प्रत्यक्ष अनुवादको प्रभाव रहेको बारे चर्चा गर्नु भएको थियो ।
प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (अनुवाद) विभाग प्रमुख हंसावती कुर्मीले उक्त अन्तर्क्रियाको सभाध्यक्षता गर्नुभएको थियो। उहाँले अनुवादको माध्यमले ज्ञान आदानप्रदान गर्न सहज हुने बताउँदै शिक्षामा अनुवादको संस्कृतिले पठनपाठनमा दिगो असर पार्ने बताउनु भएको थियो ।आजको विश्वमा अनुवादको दह्रो माध्यम भाषान्तर रहेकोमा जोड दिनु भएको थियो ।
उक्त अन्तर्क्रियामा अनुवादक समाज नेपालका महासचिव डा.ऋषिराम अधिकारीले कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै नेपाली पाठ्य सामग्रीमा अनुवादको महत्त्व बारे बताउनु भएको थियो ।
अन्तर्क्रियाको प्यानलिस्ट छलफलमा डा.प्रकाश तिवारी, अजम्बरजङ्ग लिम्बू (अमर तुम्याहाङ) र करुणा नेपालले भाग लिनु भएको थियो । प्यानलिस्ट अन्तर्क्रियाको सहजीकरण चन्द्रबहादुर लामाले गर्नुभएको थियोे।
यस अन्तर्क्रियामा डा. प्रकाश तिवारीले अनुवाद ज्ञान धारणका लागि महत्त्वपूर्ण माध्यम भएको बताउनु भएको थियो । यसैगरी अमर तुम्याहाङले अनुवादको सैद्धान्तिक पक्ष मात्र नभई व्यवहारिक पक्षमा ध्यान दिनु आवश्यक रहेको बताउँदै भाषा शिक्षणमा अनुवादको प्रभाव प्रवल रहेको चर्चा गर्नु भएको थियोे।साथै उहाँले बहुभाषिक अनुवाद कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिनु भएको थियो ।करूणा नेपालले अनुवाद दैनिक जीवनबाट सुरु हुने बताउँदै अनुवादसँग भाषान्तर मात्रै नभई प्रत्यक्ष संस्कृति र समाज पनि जोडिन आउने उल्लेख गर्नुभएको थियो।
उक्त अन्तर्क्रियाको सञ्चालन अनुवादक समाज नेपालका सचिव सकुनकुमार जोशीले गर्नुभएको थियो ।
०००
– प्राज्ञ चेतनाथ धमलाद्वारा सम्प्रेषित
Subscribe
Login
0 Comments
Oldest










































