साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाली र चिनियाँ अनुवादका लागि छनोट भएका २६ पुस्तक चीनमा सार्वजनिक

नेपाली विज्ञ समितिका अध्यक्ष एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईसहितको पाँच सदस्यीय नेपाली टोली कार्यक्रममा सहभागी हुन छेङ्दु पुगेको थियो ।

Nepal Telecom ad

काठमाडौँ / चिनियाँ–नेपाली शास्त्रीय ग्रन्थहरूको अनुवाद एवम् प्रकाशन कार्यक्रमअन्तर्गत पहिलो चरणमा छनोट भएका २६ ओटा पुस्तक चीनमा सार्वजनिक गरिएको छ ।

चीनको छेङ्दुमा असोज २६ गते आयोजित एक विशेष समारोहबिच दुवै पक्षका विज्ञ समितिका अध्यक्ष एवम् सदस्यहरूको उपस्थितिमा १३ नेपाली र १३ चिनियाँ पुस्तक सार्वजनिक गरिएको हो । नेपाली विज्ञ समितिका अध्यक्ष एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईसहितको पाँच सदस्यीय नेपाली टोली कार्यक्रममा सहभागी हुन छेङ्दु पुगेको थियो ।

टोलीमा नेपाली विज्ञ समितिका सदस्य एवम् प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यद्वय डा. कृृष्णराज अधिकारी र हंसावती कुर्मी, प्रतिष्ठानकै शाखा अधिकृत रवीन्द्र तिमसेना एवम् चिनियाँ मामिला जानकार किरण गौतम पनि सहभागी हुनुहुन्थ्यो ।

नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र चीनको नेसनल एड्मिनिस्ट्रेसन अफ प्रेस एन्ड पब्लिकेसनबिच सन् २०२३ को सेप्टेम्बरमा दुई देशका शास्त्रीय ग्रन्थहरू अनुवाद एवम् प्रकाशनसम्बन्धी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएयता दुवैतर्फ विज्ञ समिति गठन भई कार्य अघि बढेको छ ।

अनुवाद एवम् प्रकाशनका लागि नेपाली पक्षले नेपाल प्रज्ञा–प्रतिष्ठानलाई र चिनियाँ पक्षले सिन्ह्वा विन्सेयर पब्लिसिङ एन्ड मिडिया कम्पनी लिमिटेडलाई जिम्मेवारी प्रदान गरेको छ ।

पाँच वर्षमा नेपाल र चीनका कम्तीमा २५/२५ ओटा पुस्तक एकअर्काका भाषामा अनुवाद एवम् प्रकाशन गर्ने योजनाअन्तर्गत चिनियाँ भाषामा अनुवाद एवम् प्रकाशनका लागि पहिलो चरणमा छानिएका लक्ष्मीप्रसाद देवकोटाको लक्ष्मी निबन्ध सङ्ग्रह, दौलतविक्रम बिष्टको चपाइएका अनुहार, भीष्म उप्रेतीको हिमाल, शेर्पा र यति, बाबुराम आचार्यको नेपालको सङ्क्षिप्त वृत्तान्त, डा. हर्क गुरुङको मैले देखेको नेपाल, ध्रुवचन्द्र गौतमको अलिखित, डा. राजु अधिकारीको यस्तो होस् जीवनशैली, सरुभक्तको चुली, सुलोचना मानन्धरको जीवनबाट जीवन सिकौँ, सत्यमोहन जोशीको कलाकार अरनिको, मञ्जुलको जाने होइन दाइ आलापोट ?, जनकलाल शर्माको हाम्रो समाजः एक अध्ययन, डोरबहादुर बिष्टको सबै जातको फूलबारी गरी १३ नेपाली पुस्तक सार्वजनिक गरिएको हो ।

त्यस्तै नेपाली भाषामा अनुवाद एवम् प्रकाशनका लागि छानिएका रिडिङ गाइड फर सि चिनफिङ थट अन सोसलिजम विथ चाइनिज क्यारेक्टरिस्टिक्स फर अ न्यु एरा, सेभेन्टी इयर्स अफ न्यु चाइना, अ सर्ट हिस्ट्री अफ चाइनिज फिलोसफी, द एनोटेटेड क्रिटिकल लाओजी, सेलेक्टेड स्टोरिज अफ जिया दसान, ह्वाई एन्ड हाउ द सीपीसी वक्र्स इन चाइना, ह्वाइट डिअर प्लेइन, रेड सर्गम, ट्रान्सलेसन एन्ड एनोटेसन अफ द बुक अफ चुआङ्जी, द ग्रास हाउस, द म्याजिक गर्ड, इस्टर्न एन्ड वेस्टर्न कल्चर्स एन्ड फिलोसफिज, अ ब्रिफ हिस्ट्री अफ एन्सिएन्ट चाइनिज आर्किटेक्चर गरी १३ ओटै चिनियाँ पुस्तक सार्वजनिक गरिएको हो ।

पुस्तक सार्वजनीकरण कार्यक्रममा बोल्दै नेपाली विज्ञ समितिका अध्यक्ष कुलपति राईले भौगोलिक जटिलता र भाषिक भिन्नताका कारण नेपाल र चीनबिचको साहित्यिक र सांस्कृतिक सम्बन्धलाई थप उचाइमा पु¥याउने चुनौती रहे पनि पछिल्लो समय दुवै पक्षले लिएको पहलबाट प्राज्ञिक, साहित्यिक एवम् सांस्कृतिक सहकार्यले गति लिन थालेको भन्दै खुसी व्यक्त गर्नुभयो । नेपाल र चीनबिचको नयाँ सहकार्यले नेपाली र चिनियाँ भाषा, साहित्य र संस्कृतिको आदानप्रदानमा अझ महत्त्वपूर्ण योगदान पुग्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

त्यस्तै चिनियाँ विज्ञ समितिका अध्यक्ष लि यानले चिनियाँ राष्ट्रपति सि चिन फिङको मार्गदर्शनअनुसार चीन सरकारले विभिन्न एसियाली देशहरूसँग शास्त्रीय ग्रन्थको अनुवादका लागि थालेको पहलअन्तर्गत नेपाली पक्षसँग सहकार्य गर्न पाउँदा उत्साही भएको बताउनुभयो ।

भ्रमणका क्रममा नेपाली टोलीले छेङ्दुमा असोज २५ गतेदेखि सुरु भएको चारदिने तियान्फु बुक फेयरको उद्घाटन कार्यक्रममा सहभागी हुनुका साथै सिचुवान प्रान्तका भाइस गभर्नर हु युनसँग औपचारिक भेटघाट गरी अनुवाद परियोजनाका सन्दर्भमा छलफल गरेको थियो ।

०००
– प्राज्ञ चेतनाथ धमलाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x