सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

डा. बस्ताकोटीको ‘विसंगत बस्ती’ लाई हरि उत्कृष्ट प्रतिभा पुरस्कार

नर्थ क्यरोलाइना नेपाली साहित्य समाजका अध्यक्ष शिखर दुलालले पुरस्कृत कृति समाजको ऐना जस्तै भएको र यसमा भएका मुक्तकहरुले वेथिति, कुसंस्कार र अव्यवस्था विरुद्द शब्दको आन्दोलन सुरु गरेका छन् अनि अग्रगामी सोचका साथ सकारात्मक पथमा अघि बढ्न आह्वान गरेका छन् भन्ने धारणा राख्नुभयो।

Nepal Telecom ad

नर्थ क्यारोलाइना, अमेरिकामा स्थानीय ५० पचास भन्दा बढी लब्ध प्रतिष्ठित तथा सहित्यप्रेमीहरूको भौतिक उपस्थिति र जूम प्रविधि मार्फत काठमान्डू, गोरखा, चितवन, क्यानाडा र अमेरिकाका विभिन्न शहरहरूबाट हरि सांस्कृतिक केन्द्रका पदाधिकारी सहितका साहित्य अनुरागीहरूको सहभागिता भएको अवस्मरणीय समारोहमा २०८१ माघ २६ गते शनिवार डा ऋषि बस्ताकोटीको “विसंगत बस्ती ” लाई “हरि उत्कृष्ट प्रतिभा पुरस्कार-२०८०” प्रदान गरियो।

कार्यक्रमको सुरुवातमा सहभागीहरूलाई स्वागत गर्दै राजेश्वर देवकोटाका पनातिनी केरी देवकोटा र पनाति नील देवकोटाले आफ्ना पितापुर्खाको नेपाली साहित्य, संस्कृति सम्बर्धनमा भएको योगदानलाई नजिकबाट बुझ्न पाएको र हजरबुवा इश्वर देवकोटाको परिकल्पना अनुसार हरि संस्कृतिक केन्द्रका कामहरूमा सहभागी हुन पाउँदा गौरव महसुस भएको उल्लेख गरे ।

केन्द्रका संरक्षक इश्वर देवकोटाले आफ्ना पिताजी राजेश्वर देवकोटाले आफूले प्राप्त गरेको मदन पुरस्कार र साझा पुरस्कारको राशीबाट २०४६ सालमा हजुरबुबा हरिभक्त देवकोटाको नाममा सांस्कृतिक केन्द्रको स्थापना गरी प्रत्येक वर्ष श्रीपंचमीका दिन गोरखा जिल्लामा जन्मेका या गोरखासम्बन्धी साहित्यिक काम गर्ने स्रष्टालाई हरि उत्कृष्ट प्रतिभा पुरस्कारले सम्मान गर्दै आएको र यस वर्ष गोरखाको लिगलिग पाथिभरामा जन्मेर तीन दशकदेखि नेपाली साहित्यमा योगदान गर्दै आएका साहित्यकार डा. ऋषि बस्ताकोटीलाई संजोगले प्रवासमा उपलब्ध प्रविधि प्रयोग गरी सम्मान गर्न सम्भव भएकोमा हर्ष व्यक्त गर्नुभयो। कवि नारायणप्रसाद पोखरेललाई राजेश्वर देवकोटा विद्वतवृत्ति पनि प्रदान पनि गरियो।

केन्द्रका अध्यक्ष डा प्रभा कैनीले जूममार्फत काठमाडौँबाट सम्बोधन गर्दै संस्थाका गतिविधि बारे प्रष्ट पर्दै यस वर्ष पुरस्कृत कृति “विसंगत बस्ती” र यसका स्रष्टा डा. ऋषि बस्ताकोटीको साहित्यिक योगदान बारे उल्लेख गर्नुभयो। बस्ताकोटीका मुक्तकहरु पुरस्कार पाउन योग्य भएकै कारण छनोट भएको भन्दै विसंगत बस्ती कृतिभित्र समय सापेक्षित अनि अत्यन्तै गहकिला र सशक्त मुक्तकहरु रहेका बताउँदै आफूलाई मन परेका दुई मुक्तक बाचन गरेर सुनाउनुभयो ।

नर्थ क्यरोलाइना नेपाली साहित्य समाजका अध्यक्ष शिखर दुलालले पुरस्कृत कृति समाजको ऐना जस्तै भएको र यसमा भएका मुक्तकहरुले वेथिति, कुसंस्कार र अव्यवस्था विरुद्द शब्दको आन्दोलन सुरु गरेका छन् अनि अग्रगामी सोचका साथ सकारात्मक पथमा अघि बढ्न आह्वान गरेका छन् भन्ने धारणा राख्नुभयो। “विसंगत बस्ती” युग सचेत पाठकले पढ्न पर्ने खालको कृति हो भन्ने थप जिकिर गर्नुभयो।

पुरस्कृत स्रस्टालाइ बधाई दिदै साहित्यकारहरू नम्रता गुरागाई, पेशल पोखरेल, भूमि नेपाली, प्रभा पोखरेल र पारु तिमल्सिनाले संग्रहभित्रबाट आफूलाई मन परेका मुक्तकहरु वाचन गर्दै यस विसङ्गत बस्तीका केही मुक्तकहरु पर्यावरण पाठ्यक्रममा पनि समावेश भएकोमा लेखकलाई बधाई पनि दिँदै सभालाई सुरम्य बनाउनुभयो।

अघिल्लो वर्ष यसै पुरस्कारबाट सम्मानित गोर्खाली लोककवि सुरेशकुमार भट्टले नेपाली साहित्य र संस्कृतिको प्रवर्धन र गोरखाली प्रतिभाको सम्मानमा हरि संस्कृतिक केन्द्रको योगदानको चर्चा गर्दै यो सम्मान पाउने आफू ३३औं स्रष्टा भएको र अहिले लिगलिगमा जन्मेका वातावरण विज्ञानमा आफ्नो विशेषज्ञता आर्जन गरेका युग सचेत साहित्यकार ऋषि बस्ताकोटीलाइ ३४ औं पुरस्कृत गरी अमेरिकाको प्रवासी भूमिमा सम्मान गर्ने समारोहको साक्षी बस्न पाउँदा खुशी लागेको बताउनुभयो।

कार्यक्रमकी प्रमुख अतिथि चर्चित साहित्यकार डा. नीलम कार्की निहारिकाले प्रमाण-पत्रको व्यहोरा पढेर सुनाउँदै डा. ऋषि बस्ताकोटी जस्तो अब्बल साधकलाई हरि उत्कृष्ट प्रतिभा पुरस्कार समर्पण गर्न पाउँदा गर्व अनुभूति भएको बताउनुभयो। पुरस्कार चयनमा हरि सांस्कृतिक केन्द्रले न्याय गरेको बताउँदै यो सम्मानले साहित्यकार बस्ताकोटीलाई थप उर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। आगामी दिनमा नेपाली साहित्यले बस्ताकोटीका विविध विधाका अन्य पुस्तकहरू पनि पाओस् भन्ने शुभकामना दिनुभयो। उहाँले साहित्यमा राजनीति घुसाएर संकुचन ल्याउन नहुने विचार व्यक्त गर्दै नेपाली समाजले राजेश्वर देवकोटाको साहित्यिक योगदानलाई मूल्यांकन गर्न नसकेको र उहाँको साहित्यिक व्यक्तित्वलाई राजनीतिक रंग दिएर हेर्न नहुने धरणा राख्नुभयो। उहाँले नेपाली साहित्यआकाशका विशेश्वरप्रसाद कोइराला, पारिजात र राजेश्वर देवकोटाका कृतिलाई उहाँहरूका राजनीतिक पक्षधरताभन्दा धेरै माथि राखेर साहित्यिक नजरबाट हेरिनुपर्ने बिचार राख्नुभयो।

कार्यक्रमको सहआयोजक संस्था नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका बारेमा चर्चा गर्दै पूर्व अध्यक्ष मनोज प्रधानले यस संस्थाले मासिक घरदैलो साहित्य कार्यक्रम निरन्तर संचालन गर्दै आइरहेकाे र यस संस्थामा आबद्ध हुने धेरै साहित्य अनुरागी मित्रहरू साहित्य लेखनमा सफल हुँदै आइरहेको थुप्रै उदारहरण भएको बताउँदै सभाको गहकिलो संयोजन गर्नुभएको थियो।
पुरस्कृत स्रष्टा बस्ताकोटीकी जीवनसंगनी कल्पना घिमिरेले यो सम्मानले आफ्नो परिवारलाई गौरव अनुभूति भएको बताउँदै ऋषिजीका सिर्जनाले सामान्यतया मानिसले ख्याल नगरेका कुराहरूमा सुक्ष्म दृष्टिकोण प्रदान गर्ने गरेको मुल्यांकन प्रस्तुत गर्नुभयो।

सम्मानित स्रष्टा बस्ताकोटीले हरि उत्कृष्ट प्रतिभा पुरस्कारलाई आफ्नो साहित्यिक जीवनमा प्राप्त महत्वपूर्ण सम्मानको रुपमा लिएको बताउंदै आफू बाल्यकालमा हरिभक्त देवकोटा र राजेश्वर देवकोटाका सामाजिक, सांस्कृतिक, साहित्यिक र राजनीतिक योगदानहरू अघिल्लो पुस्ताबाट सुन्दै हुर्केको, विद्यालयमा राजेश्वर देवकोटाद्वारा लिखित निबन्ध पाठ्यक्रममा पढ्न पाउँदा भोलि आफू पनि यस्तै साहित्यकार बन्न पाए हुने भन्ने सपना सजाएको, विभिन्न जिल्लास्तरीय प्रतियोगिताहरूमा राजेश्वर देवकोटाद्वारा लिखित पुस्तकहरू पुरस्कारस्वरुप पाएको, २०४६ सालमा गोरखाली स्रष्टाहरूलाई नेपाली साहित्यमा उत्प्रेरित गर्ने हेतु हरि सांस्कृतिक केन्द्र स्थापना भएको खबरले भविष्यमा आफू पनि संस्थाको आँखामा पर्ने लेख्न सकुँला कि भन्ने इरादा बढेको बाल्यकालका स्मरणहरू सुनाउनुभयो। आफू गोरखा लिगलिगमा जन्मेर हाल प्रवासमा रहे पनि आफ्नो लेखाइमा उतैको माटो रंग र गोरखाकै सामाजिक, सांस्कृतिक ढंग बिम्बको रुपमा आइरहने बताउंदै आफूले स्कूले जीवनदेखि चासोका साथ हेरेको संस्थाद्वारा उत्कृष्ट प्रतिभा पुरस्कारद्वारा सम्मानित ३४ औं स्रष्टा हुन पाएको र प्रविधिको प्रयोग गरी हरि साँस्कृतिक केन्द्रसँग सम्बद्ध सदस्यहरूको सहभागितामा पुरस्कार आज अमेरिकाको नर्थ क्यारोलाइनामा ग्रहण गर्न पाउँदा आफू रोमान्चित भएको बताउनुभयो। पुरस्कारका लागि आफूलाई योग्य ठानेर सम्मानित गरेकोमा हरि संस्कृतिक केन्द्रप्रति कृतज्ञता प्रकट गर्दै डा बस्ताकोटीले साहित्यिक र सामाजिक रुपमा यो सम्मानले आफूलाई थप जिम्मेवार बनाएको समेत उल्लेख गर्नुभयो।

हरि संस्कृतिक केन्द्रका पुरस्कार संरक्षक ईश्वर देवकोटाले पुरस्कृत स्रस्टा ऋषि बस्ताकोटीलाई मायाको चिनो सहित नगद रु. पच्चीस हजार छयालिसको चेक हस्तान्तरण गर्दै गोर्खाको माटोमा जन्मेका ऋषि बस्ताकोटी जस्ता नेपाली साहित्यका सशक्त स्रष्टालाई पुरस्कारद्वारा सम्मानित गर्न पाउँदा र नयाँ पुस्तालाई साहित्यको बाटोमा उत्प्रेरित गर्न पाउँदा आफ्ना पिता-पितामहको सपना साकार गर्ने बाटोमा आफू हिंडेको महसुस हुने बताउनुभयो।

कार्यक्रममा हरिभक्त देवकोटाका कान्छा सुपुत्र तथा केन्द्रका संस्थापक राजेश्वर देवकोटाका भाइ जगदिश्वर देवकोटाले जुमबाट सम्बोधन गर्दै आफ्ना पिताजीको अग्रगामी दार्शनिक आस्था “एक शक्ति सर्वशक्ति सर्वोच्च शक्ति सृष्टिकर्ता देवाशय नमः त्रिलोक त्रिभुवन त्रिपुवर त्रिदेवं आकारं विश्वबन्धु कुटुम्बकम् ज्ञानम् कर्मम् मोक्षम् त्रि धर्मम् सनातनम् सधैँ स्तुति गर्ने र आफ्ना शिक्षकहरूलाई यसको महिमा बोध गराउने गर्नुहुन्थ्यो” भन्नुभयो ।

संस्थाद्वारा प्रकाशित वार्षिक प्रकाशन “आवर्तन” को पाँचौं अंकको चितवनबाट विमोचन गर्दै केन्द्रका सल्लाहकार तथा प्रकाशनका प्रधान सम्पादक केदार खनालले यस अंकमा समेटिएका सामग्रीका बारेमा प्रकाश पर्नुभयो। “आवर्तन” लाइ विश्वभरिबाट हेर्न मिल्ने गरी संस्थाको वेवपेज (www.hskgorkha.org.np) मा समेत राखिएको पनि उहाँले जानकारी दिनुभयो।

हरि सांस्कृतिक केन्द्रले स्थापना दिवसको अवसरमा हरेक वर्ष आयोजना गर्ने अन्तर माध्यमिक विद्यालय निबन्ध प्रतियोगिता यस वर्ष पनि “सपनाको मेरो नया गाउँ” शिर्षकमा आयोजना गरी विद्यार्थी हरूलाई पुरस्कृत गरिसकिएको र उत्कृष्ट निबन्धहरू “आवर्तन” मा प्रकाशित गरिएको कुरा कार्यक्रम संयोजक विजयराज न्यौपानेले बताउनुभयो।

पुरस्कृत डा. बस्ताकाेटी फित्काैलीमा  लामाे समयदेखि बेलाकाे बाेली स्तम्भमा मुक्तक लेख्दै आउनु भएकाे छ । फित्काैली द्वैमासिकका विशिष्ट सदस्य बस्ताकाेटी पुरस्कृत हुनु भएकामा फित्काैली परिवार हार्दिक बधाई ज्ञापन गर्दछ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x