फित्काैली डटकमरौतहटमा मनाइयो ‘देवकोटा पदार्पण दिवस’
महाकवि देवकोटाको हस्ताक्षर लामो समयसम्म पुस्तकालयमा सुरक्षित थियो । अहिले पनि देवकोटाको हस्ताक्षरलाई पुस्तकालयले सुरक्षित राखेको जानकारी पुस्तकालय स्रोतबाट प्राप्त भएको साहित्यकार बिन्दा साहनीले जानकारी गराएका छन् ।

रौतहट, २०८१ चैत १० । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटा रौतहट आएको दिनको सम्झना गर्दै रौतहटमा ‘देवकोटा पदार्पण दिवस’ मनाइएको छ । रौतहटको ऐतिहासिक किसान आन्दोलन भएको ठाउँ महम्मदपुरमा आइतवार ‘देवकोटा पदार्पण दिवस’ मनाइएको हो ।
महाकवि देवकोटा रौतहटको गौरस्थित तत्कालीन शारदा (हाल, कलाकुञ्ज) पुस्तकालयले आयोजना गरेको साहित्यिक समारोहमा सहभागी भएका थिए । देवकोटालाई प्रगतिशील साहित्यकार श्यामप्रसाद शर्माले गौर पुर्याएर वीरगंजसम्म लगेका थिए ।
महाकवि देवकोटाको हस्ताक्षर लामो समयसम्म पुस्तकालयमा सुरक्षित थियो । अहिले पनि देवकोटाको हस्ताक्षरलाई पुस्तकालयले सुरक्षित राखेको जानकारी पुस्तकालय स्रोतबाट प्राप्त भएको साहित्यकार बिन्दा साहनीले जानकारी गराएका छन् ।
कार्यक्रममा मन्तव्य राख्दै साहनीले देवकोटालाई साहित्यको ब्रह्माण्डसित तुलना गर्दै देवकोटाको रौतहट आगमन भएको दिवसलाई ‘देवकोटा पदार्पण दिवस’को रुपमा मनाउन पाउँदा उनको व्यक्तित्व र कृतित्वबाट नयाँ पुस्ता लाभान्वित हुने विश्वास लिएको बताएका छन् । साहनीले यस किसिमको कार्यक्रम कलाकुञ्ज पुस्तकालयमै मनाउन पाए अझ राम्रो हुने बताउँदै परिस्थिति मिलेसम्म आगामी वर्ष अझ भव्यरुपमा मनाइने बताएका छन् ।
महाकवि देवकोटा र रौतहटको साहित्यसित उनको नाताको विषयमा व्यापक खोजतलास हुन बाँकी रहेको बताउँदै एउटा राम्रो सुरुआत भएको कार्यक्रमका परिकल्पनाकार सञ्जय साह मित्रले जनाएका छन् । देवकोटाबारे अध्ययनको नयाँ आयाम विस्तार भएको बताउँदै मित्रले देवकोटा रौतहट आएको ७१ वर्षमा सम्झना गर्नु पनि नयाँ सुरुआत भएको बताएका छन् ।
बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्णले देवकोटा जहाँ जहाँ पुगेका छन् र जहाँ जहाँ बास बसेका छन्, ती सबै ठाउँमा यसरी गर्व गरेर कार्यक्रम आयोजन गर्न सकिने बताएका छन् । देवकोटाजस्तो विराट व्यक्तित्बारे नयाँ पुस्तालाई जान्ने नयाँ किसिमको कार्यक्रम भएको श्रीकृष्णले बताएका छन् ।
कार्यक्रममा साहित्यकार तथा प्रअ रामअधार पासवान, विपिनबिहारी सिंह, पत्रकार तथा लेखक राजुकुमार श्रीवास्तव, पत्रकार चन्दन यादव, नवसर्जक साहित्य चौतारी नेपालकी रौतहट उपाध्यक्ष रोशनी यादव, रामप्रसाद साह लगायतले मन्तव्य राख्दै देवकोटाबारे नयाँ किसिमले कार्यक्रमको सुरुवातले नयाँ पुस्ता लाभान्वित हुने र आफ्नो क्षेत्रको महत्वबारे बुझ्न पाउने विचार व्यक्त गरेका छन् ।
०००
– सञ्जय साह मित्रद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest








































