फित्काैली डटकमपाँचथरमा डा. रमेश शुभेच्छुको ‘तिहारमा छैनौं दिदी’ पुस्तक चर्चा
पाँचथर क्याम्पसका उप प्राध्यापक लक्ष्मी ढुङ्गानाले कृतिको समीक्षा गर्नुभएको थियो। बीचबीचमा स्थानीय स्रष्टाले रचनावाचन गर्नका साथै श्रोताहरुले लेखक र समीक्षकलाई केही प्रश्नहरू सहित कृतिको चर्चा गरिएको थियो ।

पाँचथर, २०८१ चैत ८ । पाँचथर मा जन्मिएर काठमाडौँलाई कर्मथलो बनाइरहेका स्रष्टा डाक्टर रमेश शुभेच्छुको गजल काव्य ‘तिहारमा छैनौं दिदी’ कृतिमाथि गृह जिल्ला पाँचथरमा अन्तरक्रिया गरिएको छ ।
डा. शुभेच्छुद्वारा लिखित नवीनतम पुस्तकको चर्चा कार्यक्रम पाँचथरको पुरानो साहित्यिक संस्था नौलो साहित्यिक अभियान समाजले आयोजना गरेको हो।
तिहारमा छैनौ दिदी कृतिमा समेटिएका गजल र तिनले दिन खोजेको सन्देशका सन्दर्भमा फिदिममा आयोजित विशेष कार्यक्रममा कार्यक्रममा स्रष्टा र साहित्यानुरागीहरुको बाक्लो उपस्थिति रहेको थियो।
पाँचथरका अग्रज स्रष्टा प्रेम ओझाले सहजीकरण गर्नुभएको सो कार्यक्रम कार्यक्रममा शभेच्छुले कृतिको रचना गर्व खोतल्नु भएको थियो भने पाँचथर क्याम्पसका उप प्राध्यापक लक्ष्मी ढुङ्गानाले कृतिको समीक्षा गर्नुभएको थियो। बीचबीचमा स्थानीय स्रष्टाले रचनावाचन गर्नका साथै श्रोताहरुले लेखक र समीक्षकलाई केही प्रश्नहरू सहित कृतिको चर्चा गरिएको थियो ।
पुस्तकमा चाड नजिकिँदै गर्दा चेली गुमाउनु पर्दा माइतीका मन मस्तिष्कमा परेका चोट र बेदनालाई गजल मार्फत प्रश्तुत गरिएको छ ।
पुस्तक समीक्षा गर्दै पाँचथर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख लक्ष्मी ढुङ्गानाले प्रश्तुत गजलहरुमा ग्रामीण परिवेशको सुगन्ध रहेको, ग्रामीण सामाजिक सांस्कृतिक मूल्य हरू प्रतिबिम्बन भएको, रचनालाई परिस्कृत र परिमार्जित रुपमा प्रस्तुत गरिएको, मूलत ग्रामीण परिवेशका नारीहरूका जीवन सङ्घर्षको साझा कथा प्रस्तुत गरिएको पक्ष उजागर गर्दै एउटी नारीले घर व्यवहार चलाउनका खातिर गर्ने, संघर्ष त्याग र मिहिनेतलाई प्रस्फुटित गरेको बताउनुभयो ।
ढुङ्गानाले गजलका शास्त्रीय मूल्यहरू सहित गजलमा काव्य का रुपमा यो कृति प्रयोगशील रुपमा आएको बताउनुभयो। कार्यक्रममा अधिकारी बिमला, हिक्मत रावल, जीवन गौतम, पवित्रा प्रयत्न र दु:खी महल तिम्सिनाले पुस्तकमा रहेका गजल बाचन गर्नुभएको थियो ! सहभागी कविहरू मध्येबाट चिरण कोइराला,रमेश अधिकारी, लक्ष्मी गौतम, पूर्ण खड्का र प्रेम नेपालले आ आफ्ना रचना बाचन गर्नुभएको थियो ।
कार्यक्रममा पाँचथर क्याम्पसका प्रमुख खेमनाथ खतिवडा र नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य हरिचन्द्र लावतीलगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा बोल्दै डाक्टर शुभेच्छुले पुस्तकमा उल्लेखित गजलमा केवल शोक र करुणा मात्रै नभएर एउटी महिलाले परिवार र समाजमा निर्वाह गर्ने भूमिकालाई उजागर गर्न खोजिएको बताउनुभयो । उहाँले यो काव्य एक किसिम शोककाव्य, स्मृतिकाव्य भएको बताउनुभएको छ। उहाँले एक प्रश्नको जवाफका क्रममा गजलको प्रबन्धात्मक स्वरूपका बारेमा शास्त्रीय बहस नभएकाले यो एक किसिम प्रयोगात्मक काव्य पनि भएको बताउनुभयो ।
उहाँले यस काव्यलाई दिदी र बच्चु पात्रका केन्द्रीयतामा प्रस्तुत गरिएको भएता पनि आम नेपाली आमा दिदीहरूको साझा कथा व्यथा को काव्य बनाएको धारणा राख्नुभयो। उहाँले काव्यको बच्चु पात्र रुन्चे सोगी मात्र नभएर बहुविवाह, अनमेल विवाह, बहुमातृत्व, सांस्कृतिक अन्धविश्वास, रूढि परम्परा आदिका रूढ परम्पराप्रति विद्रोही रहेको पनि बताउनुभयो।
नौलो साहित्यिक विहान समाज पाँचथरका कार्यबाहक अध्यक्ष खड्ग बोहोराको अध्यक्षतामा सम्पन्न कार्यक्रम को उद्देश्यमाथि संस्थाका सचिव राधा गौतमले प्रकाश पार्दै सबैलाई स्वागत गर्नुभयो।
संस्थाका महासचिव प्रेम ओझाले सञ्चालन गर्नु भएको थियो । ओझाले शुभेच्छुलाई पाँचथरमा बोलाएर सुन्न पाएकामा खुसी व्यक्त गर्दै सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
०००
Subscribe
Login
0 Comments
Oldest






































