फित्काैली डटकमएआइको प्रयोगले अनुवादको परिदृश्य नै बदलिदिएको हाे ?
नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (अनुवाद) विभाग र अनुवादक समाज नेपालको सहकार्यमा आयोजित 'कृत्रिम बौद्धिकता (ए.आइ.) र अनुवाद अवसर र चुनौती' विषयक विचारगोष्ठीको आयोजना देवकोटा सभाकक्षमा गरियाे ।

काठमाडौँ, असार । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (अनुवाद) विभाग र अनुवादक समाज नेपालको सहकार्यमा आयोजित ‘कृत्रिम बौद्धिकता (ए.आइ.) र अनुवाद अवसर र चुनौती’ विषयक विचारगोष्ठीको आयोजना देवकोटा सभाकक्षमा गरियाे ।
प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले ब्यानर वाचन गरेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो। उहाँले एआइको प्रयोग र सूचनाको तथ्य डाटा इन्ट्रीमा निर्भर हुने बताउनुभयाे । भरपर्दो डाटा इन्ट्री नभएमा एआइको सूचना पनि गलत हुने बताउँदै यसको प्रयोग सहज र सजिलोका लागि हुने भएकाले दुरूपयाे कसैले पनि गर्न नहुने बताउनुभयाे । एआइ जस्तो मेसिनको प्रयोग गर्दै कृतिहरू अनुवाद गरिएका छन्,जसको मौलिकतामा ह्रास नआउने उपाय स्वयम् अनुवादकले अपनाउन सक्नुपर्ने बताउनुभयाे ।
अनुवादक समाज नेपालका महासचिव डा.ऋषिराम अधिकारीले स्वागत मन्तव्यसहित कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै कृत्रिम बौद्धिकता (एआइ)को प्रयोग कुन हदसम्म गर्न सकिन्छ, यसबारे अनुवादक स्वयम् सजग रहनुपर्छ।अनुवाद एउटा आशयले गर्यो तर अर्कै बन्दिने खतरा छ, यो चुनौतीको विषय हो। एआइ प्रयोगमा भाषाको अनुवाद कस्तो हुने हो। यो पनि चिन्ता र चासोको विषय बनेको छ। अनुवाद कम्युनिकेसनमा ग्याप भयो भने भाषामा अराजकता पैदा हुन्छ। कस्तो अवस्थाको अनुवादमा एआइको प्रयोग गरिन्छ वा गरिँदैन,स्पष्ट हुनु जरुरी छ।अनुवाद भाषाको महत्त्वपूर्ण सञ्चार भए पनि एआइ प्रयोगले मानव सभ्यताका लागि ठुलै चुनौती भएको कुरा हकिन्स लगायतका वैज्ञानिकहरूले स्विकार गरेको बताउनुभएको थियो।
कार्यक्रममा ‘कृत्रिम बौद्धिकता र अनुवाद: अवसर र चुनौती’ विषयक विमर्शको प्यानलिस्टमा डा. बलराम अधिकारी, प्रदीपकुमार लामा र शरद के.सी. तथा सहजकर्ताको भूमिकामा चन्द्रबहादुर लामा रहनुभएको थियो ।
कार्यक्रममा अनुवादक समाज नेपालका अध्यक्ष डा. बलराम अधिकारीले आफ्नो कृति ‘टेक्निकल एन्ड कल्चरल ट्रान्सलेसन’ (२००४) को छैटौँ अध्यायमा मेसिन अनुवाद (MT) बारे चर्चा गर्दै यसलाई एक युटोपियन आशा (utopian hope) आफूले भन्ने गरेको बताउनु भएको थियो। यसका प्रारम्भिक नतिजाहरूलाई अविकसित र निराशाजनक भनेर समेत चित्रण गरेको ठिक दुई दशकपछि न्युरल मेसिन ट्रान्सलेसन’ (NMT) को युगमा आइपुग्दा अनुवादको परिदृश्य नै बदलिदिएको प्रस्टीकरण दिनुभएको थियो ।
आफ्नो ‘अनुभव र विचार’ उल्लेख गर्दै डा. अधिकारीले अमेरिका र रस्साबिच शीतयुद्ध हुँदा संवादको अभाव भएर अनुवादको खाँचो रह्यो।अमेरिकन लगायतका वैज्ञानिकहरूले भाषा अनुवादका लागि पूर्ण स्वचालित ‘भाषा अनुवाद मेसिन’को आविष्कार गर्न पुगेको चर्चा गर्दै अन्य क्षेत्रमा जस्तै एआइको प्रयोग अनुवादमा समेत व्यापक हुन थालेकाले मौलिकता बारे अनुवादक गम्भीर हुनुपर्ने बताउनुभएको थियो।
उहाँले युटोपियन आशादेखि आजको यथार्थसम्मको प्राविधिक क्रान्तिलाई एक अनुवादक, अध्येताको दृष्टिकोणले मेसिन अनुवाद प्रतिको तत्कालीन दृष्टिकोणमा अहिले व्यापक परिवर्तन आएको र मानव मौलिक सभ्यतालाई सोचणीय ठाउँमा पुर्याएको बताउनुभएको थियो । डा. अधिकारीका अनुसार अनुवादकले साहित्यिक कृति लगायतका क्षेत्रमा एआइलाई एक प्रतिस्पर्धीको रूपमा नभएर एउटा राम्रो सहयोगी (assistant) को रूपमा प्रयोग गर्न सक्नुपर्ने बताउँदै अनुसन्धान, ड्राफ्ट तयार पार्न वा प्राविधिक शब्दावली खोजमा एआइले मानव अनुवादकको सिर्जनशीलतालाई थप निखार्न र समय बचत गर्न मानव र मेसिनको सहकार्य महत्त्वपूर्ण मोडेल बन्न थालेको बताउनु भयो ।
उहाँले साहित्यिक र सांस्कृतिक अनुवादमा सबैभन्दा गम्भीर प्रश्न आउने गरेको बताउँदै एआइले अर्थ त सार्न सक्ला तर यसले कहिल्यै कुनै कृतिको भाव, लय, संस्कृति, मौलिकता र आत्मालाई सार्न नसक्ने बताउँदै एआइ-अनुवादित सतही सामग्रीको बाढीले समाजमा भाषा र साहित्य प्रतिको गहिरो बुझाइ र संवेदनशीलतालाई कमजोर हुनबाट जोगाउने दायित्व पनि स्वयम् अनुवादककै भएको बताउनुभएको थियोे । जहाँ ‘न्युरल मेसिन ट्रान्सलेसन’ (NMT) जस्ता आर्टिफिसियल इन्टेलिजेन्स (AI) उपकरणहरूले अनुवादको ‘उत्पादन’ (product) केही सेकेन्डमै तयार पारिदिए पनि अनुवादकीय सिर्जनात्मक स्रोत तथा लक्ष्य भाषा प्रतिको प्रामाणिकताको कसीमा राखेर हेर्ने दृष्टिकोण, उत्पादन र अनुवादकको प्रक्रियामा केही अर्थपूर्ण भूमिका रहेको चर्चा गर्दै आफ्नो धारणा राख्नुभएको थियो।
अनुसन्धाता प्रदीप लामाले अनुवादमा एआइको प्रयोग टेक्स्ट-टु-टेक्स्ट अनुवादमा मात्र सीमित छैन। आज अनुवादकहरूले ‘क्याट टुल्स’ (CAT Tools) देखि ट्रान्सलेसन मेमोरी र ‘टर्निनोलोजी म्यानेजमेन्ट सिस्टम’ जस्ता अनेकौँ एआइ-सञ्चालित उपकरणहरू प्रयोग, सहायक प्रविधिहरूको विकासक्रम र अनुवादकको कार्यप्रवाहमा यिनीहरूले ल्याएको परिवर्तनबारे प्रकाश पार्नुभएको थियो। लामाका अनुसार नेपालीमा डाटाको अभाव रहेको चर्चा गर्दै एआइ मेसिनको प्रयोग प्रयाप्त डाटामा भरपर्ने बताउनुभएको थियो।
उहाँले एआइले नेपाली भाषाको प्रयोगमा तत्कालै बोली अनुवाद (real-time speech translation), नेपालका लोपोन्मुख भाषाहरूको संरक्षण र दस्तावेजीकरण वा फरक नेपाली भाषिका (dialects) हरूको अनुवादमा एआइको सम्भावनाका बारेमा धारणा राख्दै एआइको प्रयोगले अनुवादमा मौलिकता मर्ने नमर्ने कुरा स्वयम् व्यक्तिमा भरपर्ने बताउनुभएको थियो।
यसको प्रयोगबाट लोपोन्मुख भाषालाई केही केही संरक्षण गर्न सहज हुने बताउँदै त्यसै अनुरूपको डाटा इन्ट्री हुनुपर्ने बताउनुभएको थियो । नेपाली भाषा जस्तो लो रिसोर्स र डाटा अभाव, व्याकरणको जटिलता, अनेकार्थी शब्द र भाषिक विविधतालाई एआइ मोडेलहरूमा प्रभावकारी रूपमा अघि बढाउनलाई विधागत दक्ष जनशक्तिको आवश्यकता बारे लामाले ओैँल्याउनु भएको थियो । एआइले सहज रूपमा आफ्नो कथाव्यथा भनिदिन्छ तर भाषा प्रयोगमा अनपेक्षित परिवर्तन हुने सम्भावना रहेको बारेमा उहाँले चिन्ता व्यक्त गर्नुभएको थियो ।
अनुवादमा एआइको प्रयोगबारेको विमर्शमा अनुवादक शरद के.सी.ले अनुवादको क्षेत्रमा कृत्रिम बौद्धिकता (एआइ) को Rule Based New Network विकासक्रमलाई हेर्दा प्रारम्भिक नियममा-आधारित प्रणालीदेखि न्युरल नेटवर्कसम्म आइपुग्दा साहित्यिक कृतिको मेसिन अनुवादमा पुरै मौलिकता नमरे पनि असर भने पर्ने भएकाले व्यक्ति स्वयम् चनाखो हुनुपर्ने बताउनुभएको थियो । मेसिनलाई सहयोगीको रूपमा अपनाउँदै अनुवादको मूलस्प्रिटलाई अनुवादले के कति आत्मसात् गर्न सक्छ ।त्यसैमा निर्भर हुने बताउनुभएको थियो ।
अनुवादक के.सी.ले एआइलाई एउटा ‘समकारक’ (Equalizer) को रूपमा हेरिन्छ। यसले साना व्यवसायी, विद्यार्थी वा नयाँ सर्जकहरूलाई पनि जो महङ्गो व्यावसायिक अनुवादक राख्ख सक्दैनन्, विश्वव्यापी मञ्चमा आफ्नो कुरा राख्ने अवसर दिन्छ। यसले ज्ञान र सूचनामाथिको पहुँचलाई प्रजातान्त्रिक बनाउँछ। तर अर्कोतर्फ एआइ प्रविधि डेटामा निर्भर हुन्छ। अङ्ग्रेजी जस्ता ‘उच्च स्रोत (high-resource) भएका भाषाहरूमा एआइ झन् झन् शक्तिशाली हुँदै जाने तर नेपाली जस्ता कम-स्रोत (low-resource) भएका भाषाहरू प्राविधिक रूपमा पछि पर्दै जाने खतरा छ। यसले त भाषिक डिजिटल डिभाइड (digital divide) लाई झनै बढाउँछ।एआइ वास्तवमा अनुवादको क्षेत्रमा एक समकारक हो या यसले भाषिक र आर्थिक असमानताको खाडललाई झनै फराकिलो बनाउने विभाजक (Divider) को भूमिका खेल्ने सम्भावना बारे केसीले धारणा राख्नुभएको थियो ।
एआइ अनुवादको बढ्दो प्रयोगले अनुवादकको भूमिकालाई सृष्टिकर्ताबाट सम्पादक (Post-Editor) मा सीमित गर्ने सम्भावना पनि छ,यो चाहिँ अनुवादकको क्षमतामा भरपर्ने कुरा हो। अनुवाद पेसाको भविष्य र अनुवादकको मौलिकता, बौद्धिक सम्पत्ति र पारिश्रमिकमा पार्ने असर त छँदै छ। तर अनुवादकको बौद्धिकताले यी सबै कुरालाई मापन गर्ने बताउँदै एआइले अन्धाधुन्ध गरेको अनुवाद सामग्रीले सम्प्रेषण गरेको गलत सूचना (misinformation) आफैँमा समस्या बन्न थालेको छ। यसको नैतिक र व्यावसायिक प्रश्नमा पनि प्रयोगकर्ता नै जिम्मेवार रहनुपर्ने जोड केसीको रहेको थियो। एआइ ज्ञानभन्दा अहिले सूचनाको माध्यम भएकाले सांस्कृतिक चेतना यसमा नहुने कुरा विमर्श कर्ताहरूको धारणा रहेको थियो।
उक्त विमर्श कार्यक्रममा सहभागीका तर्फबाट प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमला, आरआर क्याम्पसका उपप्राध्यापक डा.हरिप्रसाद सिलवाल, सुरेन शाक्य, अञ्जु राजवंशी र रवि गुरागाईले आआफ्नो जिज्ञासा राख्नुभएको थियो ।
प्रज्ञा-प्रतिष्ठानका योजना तथा कार्यक्रम महाशाखा प्रमुख लक्ष्मी गौतमले कार्यक्रमको उद्घोषण गर्नुभएको थियो।
०००
प्राज्ञ चेतनाथ धमलाद्वारा सम्प्रेषित
Subscribe
Login
0 Comments
Oldest





































