आर.सी. रिजालबुढ्याैलीका दुइ छाेटा कथा
भोलि मैले भन्नसक्नुपर्छ- त्यो रुख मेरो साथी हो। त्यसका मुढाहरुलाइ जोगाएर राख्नु जसले हामी दुबै एकैपटक खाक हुन सकौँ ।

आर.सी. रिजाल :
१. खाक
सुकेको आँपको रुखलाई टोलाएर बसेको बुढा वृक्षकुमारको मनमा कुरा खेल्छ – “भोलि छोराले यो आँपको रुख कटाउदै छ। यो रुख रोपेको पचास वर्ष भयो होला। केही वर्ष मैले मलजल गरेँ। रोपेको ८/१० वर्षपछि फल दिन सुरु गर्यो । कयौं घाम, पानी, हुरि, बतास सहेर हुर्क्यो। फल आफूले नखाई हामीलगायत अन्य जीवलाई खुवायो। केही वर्षपछि फल्न छोड्यो र हामीलाई छहारी दिने काममात्र गर्यो। परार सालबाट पालुवा फेर्न सकेन। खङ्ग्रङ्ग भयो। चराचुरुङ्गीको बासस्थानसमेत हरायो।
केहिबेरपछि उसलाई अर्कै तर्कनाले तान्छ र आफ्नो जिन्दगीलाई रुखसँग दाँज्न पुग्छ – सानोमा मैले सन्तानलाई आँपको बिरुवालाई झैँ मलजल गरेर हुर्काएँ। रुखले आफू दुषित कारवण्डाइ अक्साइड तानेर जीवित प्राणीलाई सुध्द अक्सिजन दिए झैँ मैले सुकिलोमुकिलो, मिठोपिठो खाएर सन्तानलाई असल शिक्षा र स्वस्थ खानपानको प्रबन्ध गरेँ । उनीहरु हुर्किए आआफ्नो काम गर्नलागे। ऎले सन्तान मेरो छहारीमा आनन्दित छ्न्। मेरा हातपाउले धर्म छाड्न लागे तापनि सन्तानले त्यस्तो महसुस हुन दिएका छैनन् । तर रुखले मेरो जीवनचक्र देखाउँदै छ। जुन मैले भोग्नै पर्छ। म बुझ्दैछु प्राकृति त हाम्रो गुरु रहेछन् ।
भोलि मैले भन्नसक्नुपर्छ- त्यो रुख मेरो साथी हो। त्यसका मुढाहरुलाइ जोगाएर राख्नु जसले हामी दुबै एकैपटक खाक हुन सकौँ ।
०००
२. खुराफाती
वृद्धजन भन्दैमा सबै जाती हुँदैनन् । उदाहरण – हाम्रो टोलको ज्ञानप्रसादलाई लिनसक्छौं। उनलाई अर्काको कुरा काट्न नपाए छेरौटीले भेट्ला झैँ हुन्छ। समाजको संघसंस्थामा प्रवेश गर्न साह्रै चाह राख्छन् । तर उनको लोभीपापी बानीको कारण हानी पुगेको छ।
आज टोलको एक अधबैसे व्यक्ति (जोसँग प्रतिस्पर्धा गर्दा ज्ञानकुमारले एकभोट मात्र ल्याएका थिए) बितेपछि उनले सारै थकथक मानेर- हेर भाइ ! तँ हामी भन्या त घरले जाजा, घाटले आआ” भन्ने उमेरका पर्यौं । बिचरा ! रविकुमार खाउँखाउँ लाउँलाउँ भन्ने उमेरमा बिते तापनि समाजलाई ठूलो योगदान दिएर गएका छ्न्। समाजले यस्ताको कदर गर्नुपर्छ।मैले बिहानदेखि पाँचपटक त समवेदना व्यक्त गरिसकेँ । वास्तवमा – “राम्रो मान्छे चाँडै ईश्वरको प्यारो हुन्छ” भन्ने भनाई सत्य साबित भयो भने ।
मैले – हो दाइ ! त्यसको ज्वलन्त उदाहरण तपाईं हामी यहीँ छौँ भनेँ। उनले के बुझे, के सोचे कुनि ? एकशब्द नबोली, जुत्ता बजारेर, अनुहार कालोनिलो पारेर हिँडे।
०००
मकवानपुर
Subscribe
Login
0 Comments
Oldest




































