साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लक्ष्मण गाम्नागेकाे व्यङ्ग्य निबन्धसङ्ग्रह ‘दलालशाला’ माथि परिचर्चा

कार्यक्रममा प्रा. डा. भरत भट्टराई, नरनाथ लुइँटेल, धिरेन्द्र प्रेमर्षि, भारती न्यौपाने, अनिता कोइरालाले पुस्तकका विविध पक्षको परिचर्चा गर्नु भएको थियो भने कवि ऋषि बस्ताकोटी र डा. कुसुमाकर शर्माले सहभागीको तर्फबाट सर्जकलाई बधाई ज्ञापन गर्नुभएको थियो।

Nepal Telecom ad

नेपाली हास्यव्यङ्ग्यको विश्वव्यापी अभियान बाङ्गा अक्षरले लक्ष्मण गाम्नागे कृत व्यङ्ग्य निबन्ध सङ्ग्रह ‘दलालशाला’ को परिचर्चा कार्यक्रम आयोजना गरेको छ।

२०२५ जुलाई २७ तारिख जुम प्लेटफर्ममा सञ्चालन गरिएको दलालशाला परिचर्चा कार्यक्रम dcnepal.com मार्फत लाइभ प्रसारण गरिएको थियो। कार्यक्रमका सञ्चालक बाङ्गा अक्षरका प्रमोद अमात्य हुनुहुन्थ्यो। उक्त कार्यक्रममा प्रा. डा. भरत भट्टराई, नरनाथ लुइँटेल, धिरेन्द्र प्रेमर्षि, भारती न्यौपाने, अनिता कोइरालाले पुस्तकका विविध पक्षको परिचर्चा गर्नु भएको थियो भने कवि ऋषि बस्ताकोटी र डा. कुसुमाकर शर्माले सहभागीको तर्फबाट सर्जकलाई बधाई ज्ञापन गर्नुभएको थियो। कार्यक्रमको अन्त्यमा लक्ष्मण गाम्नागेले किताबको लेखन र प्रकाशनको पृष्ठभूमि र आफ्नो प्रेरणाको बारेमा प्रकाश पार्नु भएको थियो।

वक्ताहरूले दलालशालामा समावेश गरिएका १३८ वटा निबन्धमाथि विभिन्न दृष्टिकोणबाट आ–आफ्नो विचार राख्नु भयो। कार्यक्रमको सुरुमा फित्कौलीका प्रधान सम्पादक नरनाथ लुइँटेलले लक्ष्मण गाम्नागेको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नु भयो।

कार्यक्रमका पहिलो वक्ता लुइँटेलले गाम्नागेले रचना गर्नु भएका विभिन्न कृतिहरूमाथि छोटो टिप्पणी गर्दै गाम्नागेका रचनाहरूले २०४६ सालपछि नेपाली राजनीतिमा उदाएका विकृति र विसङ्गतिको दस्तावेजीकरण गरेको कुरा उल्लेख गर्नुभयो। २०४४ सालमा आफैले सम्पादन गरेको रकेट मासिक मा “फाइटर ज्याक्सनलाई पत्र” नामक हास्यव्यङ्ग्य रचना प्रकाशित गरेर यस क्षेत्रमा कलम चलाउन सुरु गरेका लक्ष्मणका हालसम्म प्रकाशित दर्जनभन्दा बढी कृतिले नेपाली हास्यव्यङ्ग्य क्षेत्रलाई नयाँ उचाइमा पुर्याएको कुरा लुइँटेलले उल्लेख गर्नु भयो।

कार्यक्रमका अर्का वक्ता अनिता कोइरालालाई “दलालशाला” निबन्ध सङ्ग्रहभित्रको मन परेको निबन्ध कुन हो भनेर सोधिएको थियो। सङ्ग्रहमा रहेका १३८ वटा निबन्धमध्ये कोइरालाले “महाअभियुक्त, महान्यायाधीश” शीर्षक दिइएको निबन्धलाई प्रतिनिधिमूलक निबन्धको रूपमा विवेचना गर्नु भयो। उक्त निबन्धले एकातर्फ तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीको स्वच्छ छविको प्रशंसा गरेको छ भने अर्कोतर्फ राम्रो काम गर्न चाहने मान्छे नै अभियुक्त ठहरिनुपर्ने अवस्थाप्रति कटाक्ष गरेको छ।

देश दलाल उत्पादन गर्ने दलालशाला जस्तो भएको कुरा उल्लेख गर्दै कोइरालाले “यी राजनीतिक दलालहरूबाट देशले कहिले मुक्ति पाउला ?” भनेर प्रश्न गर्नु भयो। त्यस्तै, उक्त पुस्तकका सबल र दुर्बल पक्षहरू केलाउँदै तेस्रो वक्ता भारती न्यौपानेले दलालहरूले राष्ट्रसेवकको रूप धारण गरेर देखाइरहेको नाङ्गो नाचको शब्दचित्र दलालशालाभित्र चित्रित गरिएको उल्लेख गर्नु भयो। किताबको संरचनात्मक पाटो तर्फ औंल्याउँदै यस सङ्ग्रहका एकै साइजका १३८ वटा निबन्धहरूलाई फ्याक्ट्रीबाट उत्पादन गरिएका एकै साइजका सामानसँग तुलना गर्नु भयो र गाम्नागेको निखारिएको लेखनको प्रशंसा गर्नु भयो। राजनीतिक निबन्धहरू भए पनि विचारको गहिराइमा डुबेका छन् बताउनु भयाे ।

परिचर्चाकार भारतीले यस सङ्ग्रहको दुर्बल पक्षको रूपमा तीनवटा कुरा औंल्याउनु भयो— राजनीतिक टिप्पणी मात्र दोहोरिएर आउँदा लेखकको आग्रह झल्किने सम्भावना रहेको, घटनाप्रधान भएको कारण समयको परिवर्तनसँगै तिनको सान्दर्भिकता हराउने सम्भावना रहेको, र सङ्ग्रहका निबन्धहरू समाजमा व्याप्त अन्य विकृति र विसङ्गतिप्रति मौन रहेको बताउनु भयाे ।

चौथो वक्ता धिरेन्द्र प्रेमर्षीले नेपाली हास्यव्यङ्ग्यको वर्तमान अवस्थाको बारेमा आफ्नो धारणा राख्नु भयो। समकालीन नेपाली हास्यव्यङ्ग्यमा प्रेरणाभन्दा प्रयत्न बढी हावी भएको र धेरैजसो लेखकहरूमा हास्यव्यङ्ग्य चेत र अध्ययनको कमी रहेको उल्लेख गर्नु भयो। तुलनात्मक रूपमा समकालीन हास्यव्यङ्ग्यको अवस्था कमजोर र चुनौतिपूर्ण रहेको उहाँको भनाइ थियो। लक्ष्मण गाम्नागेको लेखनप्रति टिप्पणी गर्दै उहाँले भन्नु भयो— धेरैजसो वर्तमान हास्यव्यङ्ग्य सिर्जनाहरू प्रयत्नपूर्वक बनाइएको जस्तो देखिन्छन्, तर लक्ष्मण गाम्नागेका रचनाहरू भने स्वस्फूर्त र प्राकृत रूपमा आएका छन्। वहाँका निबन्ध र कविताहरूमा अतिरिक्त मेहनत गरिएको देखिँदैन। भैरव अर्याल, वासुदेव लुइँटेल र केशवराज पीडालीहरूको समग्रता लक्ष्मण गाम्नागेमा रहेको वहाँको जिकिर थियो। लक्ष्मण गाम्नागेको हास्यव्यङ्ग्य चेत र अभिव्यक्ति शैलीलाई भारतीय अभिनेत्री श्रीदेवीसँग तुलना गर्दै प्रेमर्षीले भन्नु भयो— गाम्नागे देख्दा चाहिँ धेरै सालिन र सरल देखिने तर जब लेख्न वा बोल्न थाल्छन्, उनको हास्यव्यङ्ग्य सिर्जना र प्रस्तुति खोलामा पानी बगेजस्तो सलल बगेर सबै विकृति र विसङ्गतिलाई बगाउने खालको भएको बताउनु भयो।

त्यस्तै, “दलालशाला” ले नेपाली हास्यव्यङ्ग्य साहित्यमा कस्तो स्थान ओगटेको छ भन्ने प्रश्नको उत्तरमा उहाँले भन्नु भयो — अहिलेको समयमा नेपाललाई हेर्ने चस्मा नै राजनीति भएको हुनाले यो किताबले उठाएका प्रसङ्गहरू राजनीतिक हुनु स्वाभाविक हो। अवस्था जे जस्तो भए पनि, राजनीति गर्नेले लेखकका कुरा सुने पनि नसुने पनि लेख्नेहरूले आफ्नो काम गरिरहेका छन्। बिहान सधैँ हुन्छ तर मैथिली संस्कृतिमा बिहानलाई बोलाउन पराती गाउने परम्परा छ। नेपाली हास्यव्यङ्ग्य पनि परातीको एक फरक श्रृङ्खला भएको प्रेमर्षीको भनाइ थियो। दलालशाला नेपालको राजनीतिक विरूपताहरूको ऐतिहासिक दस्तावेज भएको उहाँले बताउनु भयो।

प्रा. डा. भरतकुमार भट्टराईले हास्यव्यङ्ग्य साहित्य कस्तो हुनु पर्छ भन्ने कुरा उठाउँदै दलालशाला लाई हास्यव्यङ्ग्यको कसीमा परिचर्चा गर्नु भयो। उहाँले भन्नु भयो —  हास्यव्यङ्ग्य केवल अलङ्कार मात्र होइन, हास्यव्यङ्ग्य लेख्न विषयवस्तु नै व्यङ्ग्यात्मक हुनु पर्छ। स्रष्टाको व्यक्तित्व त्यसमा प्रवेश गरेको हुनुपर्छ। स्रष्टाको विषयवस्तुप्रति गहिरो बुझाइ र अध्ययनले निर्धारण गर्छ कि त्यो हास्यव्यङ्ग्य कति पानी माथि छ भन्ने कुरा। गुदी नभई बाहिर मिठा कुरा थुपार्ने मान्छेको लेखाइले समाजमा कुनै प्रभाव पार्न सक्दैन। लेखकभित्र नै दार्शनिक शक्ति हुनु पर्छ। वैचारिक संसारलाई विषयवस्तु र शैलीका माध्यमबाट प्रभावकारी ढङ्गले प्रस्तुत गरेर लेखिएको कृति नै एउटा सशक्त हास्यव्यङ्ग्य हुन सक्छ, जुन कुरा भैरव अर्यालजस्ता स्रष्टाका रचनाहरूमा पाइन्छ।

गाम्नागेको दलालशाला कुनै कालखण्डको राजनीतिक दस्तावेज मात्र नभई त्यो समयको नेपालको सम्पूर्ण चित्र यसमा उतारिएको प्रा. भट्टराईले भन्नु भयो। सङ्ग्रहमा राखिएका लगभग ४७ वटा व्यङ्ग्य निबन्ध प्यारोडी व्यङ्ग्य शैलीमा लेखिएका छन्। सङ्ग्रहका निबन्धमा प्रयुक्त अन्य शैलीहरूमा— व्यजस्थिति शैली (जहाँ स्रष्टाले उल्टो परिस्थितिको सिर्जना गरेर व्यङ्ग्य गर्छन्), आक्षेपात्मक शैली (अंग्रेजीमा “lampoon”), सैलकल्पनात्मक शैली, अतिरञ्जनात्मक व्यङ्ग्य शैली, उक्ति वैचित्र्य आदि रहेका छन्।

भट्टराईले भन्नु भयो — उहाँका समग्र व्यङ्ग्यलेखहरू बक्रोक्ति हुन्। दलालशाला बक्रोक्ति शैलीमा लेखिएको सशक्त कृति हो। यहाँ हास्यानुकृति पनि प्रयोग गरिएको छ। गाम्नागेका निबन्धहरूको कमजोरीतर्फ औँल्याउँदै भट्टराईले भन्नु भयो— निबन्धहरू राजनीति केन्द्रित मात्र भए, ज्यादै छोटा भए, व्यक्तिको नाम उल्लेख गरेर लेखिए, बारम्बार उही व्यक्तिका प्रसङ्ग आइरहे, जसका कारण निबन्धहरू शाश्वत मूल्यको कोटिमा दर्जिन अलिक चुकेका छन्।

लक्ष्मण गाम्नागेलाई शुभकामना दिँदै कवि ऋषि बस्ताकोटीले व्यङ्ग्यका झटाराले जति प्रहार गरे पनि दलालहरूको रेजिलियन्स झन् बढेको महसुस भएको उल्लेख गर्दै हास्यव्यङ्ग्यकारहरूलाई प्रश्न गर्नु भयो— झटारा हान्दा आफ्नालाई कम, अनि टाढाकालाई बढी लाग्ने गरी हानिन्छ कि, वा हानाइ निरपेक्ष हुन्छ ?

कार्यक्रमको अन्त्यमा बोल्दै दलालशालाका लेखक लक्ष्मण गाम्नागेले यस कृतिमा सङ्ग्रहित लेखहरू कान्तिपुरको नेपाल साप्ताहिकमा प्रकाशित स्तम्भका अंशहरू भएको बताउँदै यस सङ्ग्रहमा राखिएका निबन्धका वास्तविक लेखकहरू नेपालका राजनीतिज्ञहरू भएको र आफू “घोस्ट राइटर” मात्र भएको बताउनु भयो। दलालशाला का सालाहरूको अनुहारमा चाउरी थपिएर तिनका चित्र अलिक फरक भए पनि, चरित्र उही भएको हुनाले अहिले पनि यस दलालशाला का पात्रहरू उत्तिकै सान्दर्भिक रहेको उहाँको जिकिर थियो। २०६९ जेठबाट सुरु भई २०७६ फागुनसम्मका रचनाहरू दलालशाला मा रहेको वहाँले खुलाउनु भयो।

कार्यक्रममा साहित्यकारहरू विश्वराज अधिकारी, राजेन्द्र कार्की, गायत्री लम्साल, भोजराज मुखाले, चिरञ्जीवी ढुंगाना, अनिल के.एच. पौडेल आदिको पनि उपस्थिति थियो।

बाङ्गा अक्षर का संयोजक नारायण भट्टराईले बाङ्गा अक्षर को स्थापनाको प्रसङ्ग कोट्याउँदै यसका उद्देश्य र हालसम्मका उपलब्धिहरूको छोटो चर्चा गर्नु भयो। बाङ्गा अक्षर अमेरिकाको क्यालिफोर्निया राज्यमा एउटा गैरनाफामूलक सामाजिक संस्था (501(c)(3)) को रूपमा दर्ता भएको कुरा पनि वहाँले कार्यक्रममा जानकारी गराउनु भयो।

२०८१ सालमा स्थापित बाङ्गा अक्षर नेपाली हास्यव्यङ्ग्यको क्षेत्रमा सक्रिय एक साहित्यिक अभियान हो। नेपालभित्र र बाहिर रहेर हास्यव्यङ्ग्य साहित्यको साधनामा सक्रिय साहित्यकारहरू यो अभियानमा जुट्नु भएको छ। यस संस्थाको मुख्य उद्देश्य नेपाली हास्यव्यङ्ग्य साहित्यको श्रीवृद्धिमा योगदान पुर्याउनु र यसलाई विश्वव्यापी अभियानको रूपमा विस्तार गर्नु हो।

०००
नारायण भट्टराईकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x