सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

थुतुनु के हेर्छौ फोटामा !

एउटा मान्छे थियो जुन अनुहारले त दानी देखिन्थ्यो तर ऊ सहर छोडेर गइसकेपछि पो थाहा भयो बजियाले त कैयौंको पैसा झ्वाम पारेको रहेछ । संसारभरको छुच्याइँ छ छोटामा, थुतुनु के हेर्छौ फोटामा ।

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद : रमेश समर्थन

मेरा अगाडि एउटा चित्र छ । त्यसमा एउटा प्रदेशको मन्त्री प्रधामन्त्रीलाई खेडेरीले ग्रस्त क्षेत्र देखाउँदै छ । खडेरी, बाढी र दङ्गा यी सबैभन्दा राम्रा प्राकृतिक दृश्यहरू हुन् यस देशका जुन प्रधानमन्त्री तथा विदेशी अतिथिहरूलाई देखाइने गरिन्छ । यस चित्रमा मन्त्री हाँसिरहेको छ, मानौं कुनै विकासप्रदर्शनी देखाइरहेको होस् ।

खेडेरी परेको देखाउँदा पनि यो मन्त्री किन हाँसेको होला ? हुनसक्दछ सधैं हाँसिरहने उसको बानी होला । किनभने हरेक छ महिनामा कांग्रेसका नयाँ नयाँ गुटको सरकार बनिरहन्छ । फेरि पनि त्यो व्यक्ति मन्त्रिमण्डलमा परिरहन्छ । उसले सरकार बनाउने गुटको नेतालाई भन्ने गर्छ, ‘सरकार ! कांग्रेस पार्टी त एउटा घर हो । घरका मालिकहरू फेरिइरहन्छन् । तर म भने त्यो घरमा कुचो लगाउने मान्छे हुँ । जब उनीहरू यस घरका मालिक थिए तब मैले उनीहरूको घरमा कुचो लगाएँ । अब हजुर नयाँ मालिक भएर आएपछि म हजुरको घरमा कुचो लगाउँछु ।’ यसरी निरन्तर कांग्रेस पार्टीको घरमा कुचो लगाएर मन्त्री बनिरहने आफ्नो सफलताप्रति ऊ हाँसिरहेको होला । फेरि खडेरी त प्रत्येक वर्ष परिरहन्छ भने मान्छेले कतिसम्म उदासी मात्र देखाउने ?

एउटा अर्को कुरो पनि मेरो मनमा उब्जिन्छ । त्यो के भने सार्वजनिक जीवनमा नायकहरू जहाँ उत्सवहरू हुन्छन् र जहाँ क्यामेराहरू हुन्छन् त्यस्तो अवसर पाउनासाथ हाँस्न थाल्छन् । अर्को एउटा चित्र छ । कुनै देशको राजदूतले हाम्रो प्रदेशको स्वास्थ्यमन्त्रीलाई बाढीपीडितका निम्ति औषधिहरू हस्तान्तरण गर्दै छ । बाढीमा सयौं गाउँहरू स्वाहा भए । हजारौं ज्यान गए । हैजा फैलिएर मानिसहरू धमाधम मरिरहेका छन् । यस्तो स्थितिमा राजदूतले रुँदै औषधि हस्तान्तरण गर्नुपर्ने थियो तर त्यो विदेशी राजदूत मुस्कुराइरहेको छ र यो वापे मन्त्री हाँसिरहेको छ । मानौं राजदूतले भनिरहेको छ, ‘तपाईंको देशमा भएको यो बाढीको विनाश देखेर मलाई हार्दिक प्रसन्नता भइरहेको छ । हैजाको प्रकोप बढ्नुले मेरो प्रसन्नतामा थप वृद्धि नै गरेको छ । म यस खुसीको अवसरमा यी औषधिहरू तपाईंलाई अर्पण गर्दछु । अनि यस्ता शुभ अवसरहरू फेरि फेरि पनि आउने छन् भन्ने पनि आशा गर्दछु ।’ अनि हाम्रो यो मन्त्री मानौं भन्दै छ, ‘हाम्रा मानिसहरूको विनाश देखेर तपाईंलाई प्रसन्नता भएको थाहा पाएर हामी आभारी भएका छौं । हामी आगौं पनि यस मौसममा योभन्दा बढी नै विनाश होस् भनेर हाम्रा प्रयासहरू जारी राख्ने छौं ।’

यस्ता कुराहरू क्यामेराका कारणले हुने गर्दछन् । मेरो एउटो साथी नेता छ । जब ऊ आफ्ना बाबुको चितामा दागबत्ती दिँदै थियो त्यसै बेला क्यामेरामा उसको ध्यान गयो । अनि त ऊ मुस्कुराउन पो थाल्यो । त्यो फोटो पछि समाचारपत्रमा छापियो । मैले उसलाई भनें, ‘यार, तँ बाबुलाई दागबत्ती दिँदा पनि किन मुस्कुराइस् हँ ?’ उसले उत्तर दियो, ‘यार, जब क्यामेरा देखें नि तब मलाई के लाग्यो भने म त स्वर्गमा मेरा बाका निम्ति बनाइएको नयाँ भवनको उद्घाटन गर्दैै छु ।’

पण्डित नेहरूका अस्थिपात्रहरू सबै प्रदेशहरूमा पुर्‍याइएका थिए । प्रदेशका मन्त्रीहरूले ती पात्रहरूलाई आआफ्नो प्रदेशको सिमानामा ग्रहण गरेका थिए । त्यति बेलाका चित्रहरू पनि मैले हेरेको थिएँ । मन्त्री नेहरूको अस्थिपात्र लिँदा हाँसिरहेको छ । मानौं भनिरहेको होस् ‘यो अति प्रसन्नताको कुरो हो । नेहरूजीको नेतृत्वमा हामीले यतिका वर्ष सहकार्य गर्‍यौं आज उहाँको यो अस्थिभस्म मेरा हातमा छ ।’

यो फोटोमोह पनि अचम्मको हुन्छ । क्यामेराले मानिसबाट ठुल्ठुला अनौठाहरू गराउँछ । जबसम्म यो क्यामेराको आविष्कार भएको थिएन, जरसिसस पानीको क्यामेरामा आफ्नो फोटो हेथ्र्यो । ऊ आफ्नै चित्र देखेर यति मोहित भयो कि ऊ मर्‍यो । आफ्नै मुहुनीमा पर्नेहरूलाई प्रायः मरेको देखिएको छ । राजनीतिमा र साहित्यमा पनि मैले कैयौं यस्तालाई देखेको छु जो आफैसित मस्किँदामस्किँदै मरेका छन् ।

तर नरसिससको ‘ट्रयाजडी’ व्यर्थ भयो । उसको बलिदानबाट सिक्न कोही तयार देखिएन । एउटा महाशयको एलबममा सयौं फोटाहरू छन् जुन उनका मात्र हुन् । विभिन्न मुद्रा, विभिन्न स्थान र विभिन्न प्रसङ्गका । यदि कसैले उनलाई सबैभन्दा सुन्दर प्राकृतिक दृश्य के हो भनेर सोध्यो भने उनी भन्ने छन्, ‘मेरो थुतुनु !’ दाह्री वन भयो, मुख ओडार भयो र नाक पहाड भयो । यदि कुनै चित्रकारले ल्यान्डस्क्याप चित्रणका निम्ति कुनै सुन्दर दृश्यको खोजी गरेको थाहा पाए भने उनी भन्ने छन्, ‘किन यताउता भौंतारिन्छौ ! मेरै अनुहार छँदै छ नि ! यसैको चित्रण गर न !’

एउटा अर्का साहेब छन् जसको एलबममा निकै ठुला र निकै साना व्यक्तिहरूका साथमा उनका तस्बिरहरू छन् । जब मैले यसको रहस्य जान्न चाहें, अनि उनले सम्झाउँदै भने, ‘हेर बाबु, जति बेला मनमा उच्चताको भावना जागेर अहङ्कारको अनुभूति गर्न थाल्छु अनि तुरुन्तै कुनै ठुला मान्छेसित खिँचेको फोटो हेर्छु र सोच्छु – म कति सानो छु । अनि यसरी मेरो अहङ्कारको लोप हुन्छ । अनि जब मनमा हीनता जाग्छ तब कुनै सानो मान्छेसित खिँचेको फोटो हेर्छु र सोच्छु – यिनीहरूको तुलनामा त म कति हो कति ठुलो छु नि ! अनि मेरो हीनता हराएर जान्छ ।

यदि ताजमहलका साथमा उनीहरूको फोटो छैन भने ताजमहललाई नै तुच्छ ठान्नेहरू पनि छन् । यदि कोही कुनै सुन्दर प्राकृतिक दृश्यमा आफू फोटायित छैन भने उसका निम्ति त्यो प्राकृतिक सौन्दर्य पनि बेकामको लाग्छ । एक पटक म एक जना साहेबसित उनकै कारमा एउटा लामो यात्रामा गएको थिएँ । हामी चार जना साथी थियौं । एक जनासँग क्यामेरा थियो । बाटामा कुनै सुन्दर दृश्य देखियो भने उनी कार रोक्न लगाउँथे । हामी त दृश्यावलोकनको आनन्द लिन्थ्यौं, तर उनी भने त्यस दृश्यमा स्वयम्लाई टाँसिदिन्थे र भन्थे, ‘फोटो खिँच ।’ कुनै राम्रो पहाड देखियो र हामी त त्यसको सौन्दर्य हेर्न थाल्यौं तर उनी त त्यस सुन्दर पहाडतिर पिठ्युँ पारेर उभिए अनि भन्न थाले, ‘फोटो खिँच ।’ कलकल गर्दै साना साना खोल्सीहरू बगिरहेका छन् र हामी त्यो हेर्न व्यस्त छौं तर ती महाशय भने एउटा ढुङ्गामाथि चढेर भन्दै छन्, ‘फोटो खिँच ।’ यसरी तिनले कुनै पनि प्राकृतिक दृश्यको आनन्द लिएनन् । उनी त केवल तिनीहरूसित फोटामा खिँचिइरहे ।

ठुलो मान्छे पनि एक प्रकारको ल्यान्डस्क्याप नै हो जसका साथमा हर फोटोप्रेमी खिँचिन चाहन्छ । ठुलो मान्छे राम्रो मात्र नभएर केही लाभदायक पनि हुन्छ । भेडाघाटको झरनाभन्दा शिक्षामन्त्री बढी सुन्दर प्राकृतिक दृश्य हुन् भन्ने त मैले आफै देखेको छु एक पटक । त्यति बेला कसैले पनि झरनालाई हेरिरहेको थिएन । सबैले मन्त्रीलाई मात्र हेरिरहेका थिए । मन्त्री त टाढाको कुरा भयो, एउटा कलक्टर (सिडिओ) पनि ताजमहलभन्दा भव्य हुन्छ किनभने ताजमहलले त परमिट (स्वीकृति) दिन सक्दैन तर कलक्टरले सक्छ । त्यसैले चलाख मान्छे ताजमहललाई छोडेर कलक्टरसित फोटो खिँचाउन चाहन्छ ।

ठुला मान्छेसित फोटो खिँचाउन भएको हानथाप मैले देखेको छु । एक पटक मुख्यमन्त्री एउटा समारोहको उद्घाटन गर्न आएका थिए । उद्घाटनपछि फोटोसेसन हुनेवाला थियो । त्यसमा उनको दाहिनेतिर को बस्ने भन्ने त निश्चित भइसकेको थियो । स्थानीय संसद् सदस्यलाई हटाउनु असम्भव थियो । तर देब्रेपट्टि उनको छेउमै बस्न मेरा दुई आदरणीय साहित्यकारहमा तँछाड्मछाड् थियो । हिँड्दा पनि दुबै जना उनको देब्रेपट्टि टाँसिँदै हिँडिरहेका थिए । कुनै बेला एउटा नजिक पथ्र्यो र सोधिहाल्थ्यो, ‘अचेल हजुरको स्वास्थ्य कस्तो छ ?’ फेरि अर्काले कुइनाले घचेटेर उसलाई पाखा लाउँथ्यो र भन्थ्यो, ‘हजुर स्वयम् बिरामी होइसिन्छ र पनि आफ्नो एक एक समय देशका निम्ति अर्पण गरिस्या छ ।’ म भने पछाडिबाट यो सर्कस हेर्दै थिएँ । वास्तवमा जसलाई कसैसित फोटोमा खिँचिनु छैन ऊ निकै सुखी प्राणी हुन्छ ।

तर यस प्रकारको कुनै पनि हानथाप नगरेरै सजिलै ठुला मान्छेसित टाँसिने एउटा उपाय देखेर त म दङ्ग परें । जब ख्रुश्चेभ र बुलगानिन भारतयात्रामा आएका थिए त्यति बेलाको एउटा चित्र मैले एक जना संसद् सदस्यको कोठामा झुन्डिएको देखें । ख्रुश्चेभ र बुलगानिनसँग जवाहरलाल र डा. राजेन्द्रप्रसाद उभिएका छन् । पछाडिको तेस्रो लहरमा ती संसद् सदस्य उभिएका छन् र दुई जनाको काँधको बिचबाट चियाएर मानौं भनिरहेका छन्, ‘अलिकति मेरो पनि ख्याल गर न यार !’ अनि त्यसै चित्रमुनि संसद् सदस्यले लेखेका छन् – रूसी प्रधानमन्त्री बुलगानिन तथा पार्टी नेता ख्रुश्चेभका साथमा संसद् सदस्य फलाना । चित्रमा जवाहरलाल नेहरू र डा. राजेन्द्रप्रसाद पनि हुनुहुन्छ ।’ नर्थ एभेन्युमा कुनै संसद् सदस्यको बैठकमा अहिले पनि यो चित्र झुन्डिएको होला ।

यस्तै यस्तै गडबड देखेर कबिरले भनेका थिए – तेरे दया धरम नहिँ मन में, मुखडा क्या देखे दरपन में !’ (तेरो मनमा दयाधर्म केही छैन भने ऐनामा थुतुनु के हेर्छस् ?) के कबिरले मनमा दया धर्मको भावना छैन भने फोटो पनि राम्रो आउँदैन भन्ने सोच्थे त ? पटक्कै होइन । मक्कारीको फोटो आउँदैन । एउटा मान्छे थियो जुन अनुहारले त दानी देखिन्थ्यो तर ऊ सहर छोडेर गइसकेपछि पो थाहा भयो बजियाले त कैयौंको पैसा झ्वाम पारेको रहेछ ।

त्यसैले आफ्नो त एउटा फोटो पनि मुस्कुराएको पाइँदैन । फोटोग्राफरहरूले ‘स्माइल’ भन्दै निकै प्रयास गरे तर मलाई स्माइल गराउन सकेनन् । ऊ भन्छ -यसो मुस्कुराउनुस् न ! तर म भने मानौं भन्थें, ‘म मुस्कुराउन्नँ रे ! तैंले के नाप्न सक्छस् ? मभित्र कुटिलता, घृणा, द्वेष भरिएका छन् अनि तँ भन्छस् म निर्मल मुस्कान ल्याऊँ ! यस्तो त हुँदैन ।

संसारभरको छुच्याइँ छ छोटामा,
थुतुनु के हेर्छौ फोटामा ।

०००
‘परसाईं ग्रन्थावली’ भाग- ३ बाट ‘मुखडा क्या देखें फोटू मे’ को नेपाली अनुवाद

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
एउटा ठुलो चोरी

एउटा ठुलो चोरी

हरिशंकर परसाईं
इन्डियन टाइम

इन्डियन टाइम

हरिशंकर परसाईं
सर्कसमण्डलीको शासन

सर्कसमण्डलीको शासन

हरिशंकर परसाईं
छिनौरा ! नेता या जनता ?

छिनौरा ! नेता या...

हरिशंकर परसाईं
लोकतन्त्रको नौटङ्की

लोकतन्त्रको नौटङ्की

हरिशंकर परसाईं
पैसाकाे खेल

पैसाकाे खेल

हरिशंकर परसाईं
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे
क्वालिटी एजुकेसन

क्वालिटी एजुकेसन

देवीप्रसाद घिमिरे
आइडिया

आइडिया

भोजराज रेग्मी ‘मुखाले’