
फेरि सम्झौता-फर्मुला झिक
साधु हो ! लौ, चरणसिंहले बयान दिए भन्ने खबर पनि आइहाल्यो । उनी र उनका साथीहरू सरकारमा नजाने रे ! मोरारजीका सर्तहरू उनलाई मन्जुर छैनन् रे ! अब यता चन्द्रशेखर के भन्दै छन् रे भने उनीसँग अझै एउटा सम्झौता फर्मुला छ रे !

हरिशंकर परसाईं :
व्यङ्ग्यानुवाद : रमेश समर्थन
साधु हो ! इन्दिरा कांग्रेसले दुईवटा उपचुनाव हार्यो । अनि यसको क्रान्तिकारी प्रभाव जनता पार्टीमाथि पर्यो । इन्दिरा कांग्रेसको हार वा जितले जनता पार्टीको आन्तरिक कलहको भोल्टेज तलमाथि हुन्छ । यी नेताहरू चुनावमा जितेर अब इन्दिरा गान्धी फिर्ता आउने कुनै खतरा छैन भन्ने ठान्दछन् । अनि यो जुन चैन र आरामको समय प्राप्त भएको छ त्यसको भरपुर सदुपयोग आन्तरिक लडाइँमा नै गरौं न ! भन्ने सोच्दछन् । साधु हो ! भयो के भने एक जना नेता आफ्नो विरोधी नेतासित सम्झौता वार्ता गर्न भनेर निस्के । बाटामै ट्राँजिस्टरमा फतेहपुरमा इन्दिरा कांग्रेस हार्यो भन्ने समाचार सुने । अनि नेताले ड्राइभरलाई गाडी आफ्नो भवनतिर घुमाउने आदेश दिए । सुनेर सचिवले भन्यो, ‘हजुर त फलानासित वार्ता गर्न जाँदै होइसिन्थ्यो ।’ अनि नेताले जवाफ दिए, ‘अहिले सम्झौता जरुरी छैन किनभने उनी (इन्दिरा) हारिन् ।’
साधु हो ! एक पटक नेताहरूले पारस्परिक भोज गर्ने भएका थिए । भेट्ने समय पनि निश्चित गरेका थिए । तर इन्दिराले हारिन् भन्ने समाचार सुन्नासाथ सबै कार्यक्रम स्थगित भए । आयोजकले फोन गर्दै भने, ‘तपाईं साँझ खाना खान त आउनुहुन्छ नि ?’ यताको नेताले उत्तर दियो, ‘आउन्नँ । मैले कहिले तपाईं सित बसेर खान्छु भनेको थिएँ र ?’ अनि आयोजकले भन्यो, ‘ए हजुर, हिँजै त तपाईंले निम्तो स्वीकार गर्नुभएको हो ।’ यताबाट उत्तर गयो, ‘गरें होला । तर म तपाईंको नुन खान्नँ । तपाईंको गुटको कसैको पनि नुन खान्नँ ।’
साधु हो ! अर्को उपचुनावसम्मको समय त लड्नका निम्ति पो हो । त्यसो त चुनाव नै लडाइँ हो । दुई उपचुनावका बिचको समय शान्तिको समय हुनुपर्ने हो तर जनता पार्र्टीका मान्छेका निम्ति यो समय महायुद्धको हुन्छ । यदि कुनै पार्टीका मान्छेले लातै खाइन्छ, जुत्तै खाइन्छ, थुकिन्छ र मुतिन्छ पनि तर छोडिन्न, लागिरहिन्छ, सरकारलाई पनि बनाइरहिन्छ भन्ने पक्कापक्की नै गरेका छन् भने आपसी महायुद्ध त केवल कसैको बगली मारौं, कसैको फर्निचर चोरौं र कसैको जाली चेकबाट पैसा झिकौं भनेर मात्र गरिन्छ !
साधु, हो ! यो घरझगडा निकै रोचक र रहस्यमय छ । चरणसिंह धेरै समयसम्म सत्ताबाट बाहिर बस्न सक्दैनन् । सत्ताबाट टाढा बस्नु उनको स्वास्थ्यका निम्ति कहिल्यै सुपाच्य भएन । गृहमन्त्रीको पद छोडेपछि आखिर उनी कहिलेसम्म जाटहरूको स्तुतिगान सुनेर दिन बिताउन् ? मोरारजीले उनलाई यसरी निकाले जसरी कुनै मानिसले आफ्ना कैयौं रखौटीहरूबाट एउटीलाई ‘तँ त मेरो टाउकैमा टेक्ने पो भइस् ए ! निस्की यो घरबाट ।’ भनेर निकाल्छ र त्यो धर्मशालामा गएर बस्न थाल्छे र बिचौलियाहरूसित भन्छे, ‘म त अडानमै बस्छु । तर तिमीहरू भने मेलमिलाप गराउने कोसिस गरिराख ।’ अनि त बिजु पटनायकजस्ता घरी यता ढलक घरी उता ढलक गर्न थाल्छन् । साधु हो ! सबभन्दा पहिले त चरणसिंहले जगजीवन रामलाई धर्मशालामा पठाउनु छ र आफै उपप्रधानमन्त्री बन्नु छ । उनी के ठान्छन् भने मन्त्रिपद त कुनै खरिदारको जागिर हो जसमा वरिष्ठताका आधारमा बढुवा हुन्छ । तर मोरारजी भाइ पनि त १९६९ सम्म प्रधामन्त्री थिए । उनी बढुवा भएर प्रधानमन्त्री भएका भने होइनन् । उनी पनि नौ वर्षसम्म धर्मशालामा बसेपछि बल्ल प्रधानमन्त्री भएका हुन् । चरणसिंह ७६ वर्षका छन् । नौ वर्षसम्म धर्मशालामा बस्लान् ? बस्लान् पनि । राजनेतामा जिजीविषा र लालसाको मात्रा अपार हुन्छ । अन्तिम समयमा उसको मुखमा गङ्गाजल पार्न खोजियो भने ऊ भन्छ, ‘ए…., गङ्गाजल हैन पोर्टफोलियो (मर्यादाक्रम) हाल न !
साधु हो ! यी हरफहरू छापिँदासम्म त सके समझौता पनि भइसक्छ होला, नभए झगडा भए पनि बढ्छ होला । २३ तारिखका दिन किसान र्याली त हुने नै छ जसमा यस्ता नाराहरू लाग्नेछन्— लाठी गोली खाइन्छ चरणसिंहलाई ल्याइन्छ । अहिले त उनी केही बोलेका छैनन् । मोरारजीले उनलाई अँगालो हाले वा धपाइदिए भन्ने केही पनि भनेका छैनन् । उनी त भन्दै थिए, ‘बिजु पटनायकले रोके, ‘ए चनमती, तँ त केही बोल्दै नबोल् । कुटुनीबुढीहरू कोसिस गर्दै छन् । तेरो फिर्ती त भइहाल्छ नि ! सम्पत्तिमा हक त तेरो पनि छ नि ! जगजीवनरामलाई कब्जा गर्न दिइएला त !’
साधु हो ! लौ, चरणसिंहले बयान दिए भन्ने खबर पनि आइहाल्यो । उनी र उनका साथीहरू सरकारमा नजाने रे ! मोरारजीका सर्तहरू उनलाई मन्जुर छैनन् रे ! अब यता चन्द्रशेखर के भन्दै छन् रे भने उनीसँग अझै एउटा सम्झौता फर्मुला छ रे ! फर्मुला नं. ७१, प्राय ठोकुवा उपचार गरिदिन्छ रे !
यो फर्मुला हो हकिम (वैद्य) चन्द्रशेखरमलको ।
०००
‘परसाई. रचनावली’, भाग- ५ बाट
‘फिर सम्झौता-फर्मुला निकालो’ को नेपाली अनुवाद