सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कमाइ खाने धन्दा

कमाइ खाने धन्दा गर्ने पारखीहरूलाई कसैले रोक्न सक्दैनन्, कसैले छेक्न सक्दैनन, कसैले देख्न सक्दैनन्, कसैले भेट्न सक्दैन । उनीहरूको बहुरुपी, बहुगुणी, बहुमुखी प्रतिभालाई बयान गरी साध्य छैन ।

Nepal Telecom ad

धेरै भो कसैका कुरा नकाटेको । पहिला-पहिला त सबैका कुरा काट्ने भएकोले मलाई नारद जस्तो छ भनेर उल्टै मेरै कुरा काट्थे । कुरा काट्ने विषयवस्तु नपाएसम्म निद्रा नै आउँदैनथ्यो । तपाइँहरूले पक्कै कुरा बुझ्नु भो नि, बच्चादेखि लाको बानी, बुढेसकालमा कहाँ पो जानी ? आजको रोजाइमा, आजको भोगाइमा कुरा काट्ने गहन विषयवस्तु आइलागेको छ कमाइ खाने धन्दा ।

आहा, शब्द-शब्दमा कर्मको तरङ्ग तुर्लुङ्ग झुण्डिएको जस्तो छ । कसैले अल्छी भन्नै सक्दैनन् । अरु पेशामा जस्तो छ घण्टा, सात घण्टा तथा आठ घण्टाको डुयूटी मात्र होइन, यसमा त चौबीसै घण्टाको ड्यूटी जोडिन्छ । यो धन्दालाई पेशा भन्दा पनि ठिकै, व्यवसाय भन्दा पनि कुनै फरक पर्दैन । कसै कसैले त रोजगारी अनि सहकारी, सहचारी अनि सबै बन्द बेरोजगारी पनि भन्दारहेछन् । जस-जसले जे-जे भने पनि यो धन्दा सबै भन्दा उत्कृष्ट धन्दा हो । यो काम गर्नलाई कसैको अनुमति लिनै पर्दैन । कसैलाई ढोग गरी भेटी पनि चढाउनु पर्दैन । बूढेस कालको जिउनी बेचेर सरकारलाई आय कर भन्दै तिर्नु पनि पर्दैन । अरु जागिरमा जस्तो दस-बीस हजार कमाउनलाई दिनभर गिर्नु पनि पर्दैन ।

नाम कमालको छ अनि काम पनि कमालको । यत्ति मात्र कहाँ हो र हजूर ? यसका रुप, रङ्, गुण र विशेषतातिर खोतल्दै जाने हो भने त कति राम्रा छन् कति । त्यसै त कहाँ कमाइ खाने धन्दा भन्थे र ? बेरोजगारीको प्रतिशतमा एक जना शेयर होल्डर म पनि हुँ । रहरले बेरोजगार कहाँ भएको हुँ र ? सत्कर्मी, सत्धर्मी, इमान्दार बाबुले बूढेसकालमा पाएको एक्लो छोरो हुँ । बाबुकै इज्जत थाम्दा थाम्दै ठिकै भो जागिर खाने पढाइ कहिल्यै पढिएन । इज्जत पढेँ, इमान पढेँ, इमान्दार पढेँ, सत्कर्म पढेँ, दीनदुःखीहरूलाई पढेँ, असहायहरूलाई पढेँ, एकल, वृद्ध, असक्त लगायत अन्य त सबै पढेँ हजूर तर के गर्ने सबैभन्दा चाहिने कुरो कमाइ खाने धन्दा नै पढ्न बिर्सेछु ।

जमाना आधुनिक भएर के गर्नू ? आफू आधुनिक हुन जानिएन । सबैले मिल्ने जति सबै कुरा तान्छन् आफूले त कहिलेकाहीँ मिल्यो भने गोरस र भोरस हो तान्ने भनेको, त्यसले पनि आजभोलि बन्द व्यवसायको इजाजत कार्ड लिइसकेछ । सबैले जी.एफ. र वी.अफ. का कुरा गर्छन्, आफ्नो त धर्मपत्नी, सानेकी आमा, काली, बूढी जति वटा नामले बोलाए पनि मान्छे त एउटी मात्रै हो । उनीबाहेक कसैलाई आँखा सम्म झिम्क्याइएन । भन्न त भन्ने गर्थे मेरै साथीहरूले धेरै सोझो नहो रामे, सोझो औँलाले त घिउ पनि आउँँदैन । त्यो बेलामा केटाकेटी बुद्धि साथीहरूको कुरा के पो बुझ्नु ? उल्टै जवाफ फर्काउथँे घिउ निकाल्नलाई किन औँलो प्रयोग गर्नुपर्‍यो, तेरा घराँ थुर्मी छैन कि कसो ?
बच्चा हँुदाखेरीको आफ्नै बुद्धि सम्झेर दिक्क लाग्छ आजभोलि त । आफन्त, इष्टमित्र, छरछिमेक अनि साथीभाइ जति सबै कमाइ खाने धन्दामा व्यस्त छन् । उनीहरूको कत्रो इज्जत छ, मान छ, सम्मान छ । पेशा अनि व्यवसाय खातैखात । उनीहरूलाई सबैले चिन्छन् । आवश्यकता अनुसार परेको बेलामा अलिकति सबैले किन्छन् । बहुरुपी, बहुगुणी, बहुमुखी प्रतिभाका धनी उनीहरूलाई मानसम्मानको ओइरो लाग्छ । नेता पनि उनै, समाजसेवी उनै, उद्योगपति उनै, बहुपति उनै, कुकुरदेखि वरिष्ठ ओहोदाका नामी गुण्डाहरू पाल्नेहरू पनि उनै । वा, कत्रो खुबी छ उनीहरूको ।

एकबारको जिन्दगी हो भन्दै मज्जाको जिन्दगी जिउछन् । पिउने कुरामा लोक्कल ठर्रा, रातो लेवल, कालो लेवल र हरियो लेवल मात्र होइन इमान, जमान, इज्जत, प्रतिष्ठा सबै निसंकोच सजिलै स्वात्तै पिउँछन् । लाउने कुरामा पनि पटक्कै कन्जुस छैनन् उनीहरू । फाइदा र काइदाका स्रोत अनुसार कहिले समाजवाद, कहिले पूँजीवाद, कहिले साम्यवाद मात्र हैन मौका साथै चौका मिलेको बेलामा एकै रातमा पारसवादको बिल्ला सजिलै लाउँछन् ।

कमाइ खाने धन्दा गर्ने पारखीहरूलाई कसैले रोक्न सक्दैनन्, कसैले छेक्न सक्दैनन, कसैले देख्न सक्दैनन्, कसैले भेट्न सक्दैन । उनीहरूको बहुरुपी, बहुगुणी, बहुमुखी प्रतिभालाई बयान गरी साध्य छैन । उनीहरूको विश्वविद्यालयबिनाको विभिन्न विषयको विद्यावारिधिको क्षमतालाई यहाँ कसरी व्याख्या गरौँ खै ? वा कमालकै हो यो कमाई खाने धन्दा । बेरोजगार कहिल्यै बन्न नपर्ने । जे मन लाग्छ त्यही गर्न पाइने । तुरुन्तै, फटाफट र सटासट । छेकबार कसैको केही छैन । यो कमाइ खाने धन्दाभित्र के कस्ता धन्दाहरू पर्दछन् भन्ने कुरामा सोधखोज गर्ने हो भने त हामीले देखेजानेका, भोगेका, सोचेका, खोजेका सबै सबै कामहरू कुनै पनि अछुतो रहने छैनन् । मात्र मात्रात्मक रुपमा कुनैमा बढी र कुनैमा घटी भने हुनसक्छ ।

कसैले कमाइ खाने धन्दा नामका सहकारी खोल्छन् । त्यसैमा आफ्ना बेरोजगार भएका तीन पुस्ता सम्मलाई रोजगारी दिएर आफूले सञ्चालकको नाममा कमाइ खाने धन्दा समाउँछन् । तपाइँहरूले कमाइ खाने धन्दाको मूल्य सोह्र श्राद्धमा आउने बाहुनको जस्तै होला भन्ने सोच्नुभएको छ भने त्यो सरासर गलत हो । उनीहरूले त अन्तर्राष्ट्रिय बैँकको सी.इ.ओ.ले भन्दा बढी कमाउँछन् । अरुले कमाएको रिस गरेर आफ्नो टाउको ठोक्न नहुने । यही एउटा मात्र कमाइ खाने धन्दा गर्नेहरू विल गेट्सभन्दा अझै ठूला गेट्स बन्न लागेसके आफूले भने बिहानदेखि रातीसम्म मिलेसम्मका सोझा धन्दाहरू गर्दा पनि कहिल्यै मिठोमसिनो खान पुग्दैन ।

बाबु नै कमाइ खाने धन्दा गर्ने भएपछि छोराछोरीहरू पनि त्यही पेशामा पारङ्गत हुँदारहेछन् । सानो उमेरमै सम्पत्ति मात्र होइन हजुर घरबार पनि थुप्रै बनाएका छन् । नयाँ नयाँ ठाउँमा चार पाँच वटा घर, सबै घरमा एउटैका धेरै जी.एफ. र बी.एफहरू । घरि घरि त चम्चामा पानी तताएर मरुँ मरुँ लाग्छ । दुईवटा सन्तान, इश्वरका वरदान भन्ने थाहा हुँदाहुदै पनि एउटाको नाइटो काटेपछि अर्को जन्माउने हिम्मत गरिएन । त्यही एउटोको पनि मेरा हजुरबाबासँग तुलना गर्ने हो भने त ऊ हजुरबाबु बन्ने उमेर भैसक्यो तर एउटी बुहारी जोडिदिन सकेको छैन । तेरी कुनै जी.एफ. छ भने ल्या केटा भन्दा उल्टै मलाई थर्काउँछ- “बाउको जी.एफ. भए पो छोरोको पनि हिम्मत आउँथ्यो ।” अरुका छोराले यसो भनेको भए मैले तोरीको फूल देखाइदिन्थँे, बल्ल-बल्ल हुर्काएको एउटो प्युसो जे-जे भने पनि चुपचाप पचाउनु बाहेक के पो गर्नु र ?

ढङ्ग भयो भने जहाँ पनि, जसमा पनि, जहिले पनि, जसरी पनि गर्न सकिन्छ कमाइ खाने धन्दा । तन हुन पर्‍यो, मन हुन पर्‍यो धन नभए पनि गर्न सकिन्छ यो धन्दा । लगानी जिरो भए तापनि कमाइले हिरो बन्ने काम हो यो । जमाना जति आधुनिक हँु्दै जान्छ उति नै यो धन्दाको व्यापार निकै फस्टाउने गरेको छ । यसो विचार गर्‍यो भने राजनीतिमा गर्न सकिन्छ यो धन्दा । मिठा-मिठा भाषण बाँडेर भोट किन्यो, भोटले कुर्चि दिन्छ, कुर्चिले आशन दिन्छ अनि आशन भएपछि रासनपानी कति कति कसरी थन्क्याउनु, कसरी सक्नु खर्च गरेर । पुस्तौँपुस्तालाई हाइसञ्चो कसो ?

राजनीतिमा मात्रै होइन हजुर शिक्षामा त झन् दिनमा पाँच गुणा, रातमा दश गुणा फस्टाउन सक्छ यो धन्दा । एउटै परिवारभित्रका सबै सदस्य संलग्न भएर शिक्षण संस्थाको नाम दाम इन्टरनेशनल बोर्डिङ स्कूल राख्यो । काम पनि सबै डलरकै भाउमा । भर्ना फी ५ हजार डलर, मासिक फी २ हजार डलर, कम्प्यूटर फी १ हजार डलर, कोचिङ् फी ५ सय डलर, अन्य सबै भैपरी फि जम्मा ५ सय डलर । एउटै परिवारका विभिन्न सदस्यले पढाएको शिक्षा पनि निकै गुणस्तरीय र इन्टरनेशनल लेभलकै हुन्छ । स्कूलमै मात्र होइन घरमा पनि सिकाइ निरन्तर जारी रहन्छ । अस्ति मात्र को कुरो हो मेरो साथीको छोरी पनि त्यही स्कूलमा पढ्थिन् । मलाई अस्ती सोधेकी थिइन्- अंकल दुई हजार अठहत्तर साल भनेको के हो ? म एकछिन अलपत्रै परेर नजानी- नजानी उत्तर दिएँ । नानी टू जेरो सेभेन यट साल हो भनेर । उनले कुरो बुझिन् कि बुझिनन् जे होस् मुन्टो भने हल्लाइन् ।

स्वास्थ्यमा त झन् विचित्रै फस्टाउँछ यो कमाइ खाने धन्दा । कुरो हिजोको मात्रै हो एघार नम्बरको गाडीमा लखरलखर हिँड्दै थिएँ । आकाशबाट दर्केर पानी पर्न थाल्यो । ओत लाग्न यसो सडक किनारको पेटीमा बसेको त प्राइभेट हस्पिटल परेछ । मलाई फटाफट कुर्चिमा बसालेर भन्न थाल्यो । ल दिसा, पिसाप, रगत, एक्सरे, भिडियो एक्सरे, इ.सि.जी., इको, इन्डोसकोपी, एम.आर.आई, सिटी स्क्यान यी सबैको बिल तिरेर आउनुहोस् तपाइँको रोग पत्ता लाग्छ । म त तीन छक्क परेँ । हस् हजुर भन्दै पानी न सानी भिज्दै आफ्नै बाटो तताइँहालेँ ।

व्यापार, व्यवसायमा त झन् यो धन्दा यति धेरै सप्रन्छ कि न त भनीसाध्य छ, न त गनीसाध्य । खुबी भएपछि कुकुरको मासुलाई खसीको भनेर बेचिन्छ । पित्तललाई सुन, मामालाई भान्जा, बाबालाई काका, जहरलाई रहर आदि जे जसरी बेच्दा कमाइ गुणस्तरको हुन्छ त्यसरी नै व्यापार फटाफट । कमाइ सटासट । एकै रातमा सुकुम्बासीबाट करोडपति । त्यसै कहाँ नाम राखेका हुन् र कमाइ खाने धन्दा भनेर ।

तपाइँहरूलाई मनपर्छ कि पर्दैन मलाई थाहा भएन, मलाई त यो लाग्छ कि अहिलेको अवस्थामा बढ्दो बेरोजगारीलाई हटाउने र घटाउने एक मात्र उत्तम विकल्प भनेको कमाइ खाने धन्दा नै हो । यो धन्दालाई कतिले रुचाउने भनेर जनमत संग्रहमा जाने हो भने बहुमतिय सरकारको दुई तिहाई भन्दा झन् बलियो तीन तिहाई आउने कुरामा कुनै दुविधा नै छैन । वास्तवमा भन्नुपर्दा देशको विकासलाई वास्ता नगरेर आफ्नो विकासमा एकै रातमा छलाङ मार्ने उच्चकोटिको धन्दा भनेकै कमाइ खाने धन्दा रहेछ भन्ने कुरो आफूलाई बूढेशकालमा मात्रै थाहा भयो । बेलैमा थाहा भएको भए त के-के मा छलाङ मारिन्थ्यो होला । अब त मर्ने बेलामा हरियो काक्रो जानेर के गर्नु ?

हजुरहरूलाई मनपर्नै पर्छ भन्ने अनिवार्य केही छैन । मेरो कमाइ खाने धन्दा भनेको यस्तै आफूले देखेका, भोगेका, सुनेका र बुझेका कुराहरूको बेलिविस्तार लगाउनु हो । अरुले यही धन्दाबाट सहकारी, शिक्षा, स्वास्थ्य, राजनीति, व्यापार, व्यवसाय, जागिर, समाजसेवा आदिलाई कमाइ खाने धन्दा बनाए भनेर रिस गरेर हामी पनि यसैमा लाग्नुपर्छ भन्ने नजिर अहिलेसम्म त्यति साह्रै बनिसकेको छैन । रहर बढी लागेको छैन भने एकै रातमा प्रगतिको छलाङ मार्न किन आत्तिनु ? आखिर सबैको अन्तिम गन्तव्य भनेको त आर्यघाटसम्म मात्रै त हो नि । सबै हामीहरू आफूलाई धन मात्रै होइन, इज्जत, मान-सम्मान आउने गरी कमाइ खाने धन्दामा रमाउने गरौँ । अहिलेलाई यति ल, अरु बेलिविस्तार अर्को भेटमा हजुर ।

स्याङ्जा, हाल काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
नयाँ वर्षको शुभकामना

नयाँ वर्षको शुभकामना

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना !

जन्मदिनको शुभकामना !

गायत्री परिरोशनी
तीन ठोक्तक

तीन ठोक्तक

गायत्री परिरोशनी
रुद्रघण्टी हरायो !

रुद्रघण्टी हरायो !

गायत्री परिरोशनी
रुद्रघण्टी हरायो !

रुद्रघण्टी हरायो !

गायत्री परिरोशनी
ज्युनार गोष्ठी !

ज्युनार गोष्ठी !

गायत्री परिरोशनी
कुरा काट्नुको मज्जा !

कुरा काट्नुको मज्जा !

गायत्री परिरोशनी
सहकारी खेती

सहकारी खेती

गायत्री परिरोशनी
सिंहदरबार माने बाघदरबार

सिंहदरबार माने बाघदरबार

गायत्री परिरोशनी