सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कति हेर्नु जात्रा ?

जात्राको नायक बन्न सजिलो छ, जात्राको दर्शक बन्न सजिलो छ, जात्राको आयोजना र समापन गर्न सजिलो छ । हामी जात्राप्रेमी गाईजात्रा मात्र किन हेर्ने ?

Nepal Telecom ad

हजुरहरूले सम्झनु हुन्छ कि हुन्न कुन्नि ? मैले त आमाको पेटमा नौ महिनासम्म बसेर धर्तीमा खसेको पहिलो दिन, पहिलो पटक आँखा खोल्दा नै जात्रा देखेको थिएँ । कस्तो जात्रा भन्नुहुन्छ भने, मेरी आमालाई घरकाले छोरो पा- छोरो पा भन्दाभन्दै नौ वटा छोरी पाउनु भएछ । अनि बाबा वैज्ञानिकले हेराउने, चराउने, खेलाउने सबैथोक गर्दागर्दै पुन दोस्रो विवाह गरेपछि बल्ल छोरोको आविष्कार हुने कुराको नयाँ तात्तातो महाज्ञान हासिल गर्नुभएछ । आफू बल्ल ५५ वर्षको कलिलो उमेरमा प्रवेश गर्न नपाउँदै उमेरले झण्डै नेटो काट्न लागेकी पूरापूर १४ वर्षकी वयोवृद्ध महिलालाई मेरी सानीआमा बनाइदिनु भएछ ।

विचरा बाबाको वैज्ञानिक आविष्कारको कुरा सानी आमाले के के पत्तो पाउनु ? बिहे गरेको पाँच वर्षमा नै चार वटा छोरीको आमा बन्नु भएछ । नयाँ ज्ञानको फरमुलाले हावा खाएपछि मेरा पिताश्री पुन मेरी माताश्रीमा प्रवेश गर्न त मान्नुभएको थिएन रे । अनि मेरी आमाले बाबालाई जवरजस्ती गरेपछि मात्र म पाएको हो रे ।

आमाको जबरजस्तीले जन्मिएको म छोरो भन्ने जन्तुले जन्मिदासाथ रुन छोडेर यसो आँखा खोलेको त केको धर्ती देख्नु ? चारैतिर मान्छे नै मान्छेको जात्रा । यसो परिचयको क्रम अगाडि बढ्यो । मेरी आमा र सानीआमा, दुई वटा आमातिरका तेह्र वटी दिदीहरू, तेह्रवटी दिदीमध्ये दस वटी दिदीहरूले जन्माउनुभएका करिब एक सय जना सन्तानमध्ये पन्चानब्बे जना मेरा भान्जी अनि पाँच जना भान्जा । सबैले मेरो मुख हेर्न तम्तयार भएर बस्नुभएका । बाबा कता हुनुहुन्छ भनेर यसो आँखा घुमाउँदै थिएँ । उहाँ त फेरि पनि छोरी नै हो कि भनेर- त्यत्रा मान्छेको अगाडि मेरै लिङ्ग हेरिरहनु भएको । कुरो बुझ्नु भो नि ? यसलाई जात्रा नभनेर के भन्नु ?

जन्मदै जात्रा हेर्न पाएको छोरोलाई, छैटौं दिनमा भाग्य लेख्न आउने भावीले पनि तैंले जिन्दगीभर जात्रैजात्रा हेर्न पाएस भनेर लेखेछ कि खै क्या हो कुन्नि ? उमेरले आफ्नै नाममा अरुले जात्रा देखाउने बेला हुन लागिसक्यो, दिनहुँ जात्रा हेर्ने क्रम टुटेको छैन, छुटेको छैन । भाग्य भनौँ कि अहोभाग्य, सरकारले धन्न गाईजात्राको दिन मात्र सार्वजनिक विदा दिने चलन चलाएछ । नत्र भने त गाईजात्रा भन्दा ठूला जात्रा त कति हेरियो कति । सबैमा विदा दिने चलाएको भए त सधँै सार्वजनिक विदा । कामकाजमा कुरा जे-जे सुकै भए पनि यस्तो चलन चलाएको भए त कर्मचारी र विद्यार्थी त निकै खुशी हुन्थे होला है ।

हैन हजुर, जात्राको वणर्न गर्न कताबाट शुरु गरौँ ? राष्ट्रिय जनावर भएर होला गाईको जात्रा त बरु सामान्य, सबैले पचाउने खालको हुन्छ । यहाँ त महामहिमहरूको जात्रा, श्रीपुरुषहरूको जात्रा, श्रीमतीपुरुषहरूको जात्रा, माननीयहरूको जात्रा, जाननीयहरूको जात्रा, हाननीयहरूको जात्रा, इज्जत-मान-सम्मान-प्रतिष्ठाको जात्रा त झन् पचाउनै निकै गाह्रो पर्ने वाई । पखाला नै लाग्ने खालको, निकै गुणस्तरीय । वा कमालका जात्रा, देखाउनेलाई भन्दा हेर्नेलाई ….लाग्ने वाई ।

जात्रा हेर्नलाई निकै शौखिन मान्छे म । कहिले वालुवाटार जान्छु, कहिले बाघदरबार जान्छु, कहिले हात्ती दरबार, गैंडा दरबार, यत्ति मात्र कहाँ हो र हजुर ? नीति दरवार, संविधान, नियम, वाद, तराजु, सिद्धान्त, इज्जत, मान र प्रतिष्ठाका सबै दरवारहरूमा छिर्छु । जता छिरे पनि जात्रैजात्रा । समय क्रममा विकास भएका निकै आधुनिक जात्रा । कहिल्यै देख्न नपाएका निकै नयाँ-नयाँ जात्राहरू । एक हप्ताको आठौँ दिन कतै जात्रा देखिन भने आफ्नै माइतीघर मण्डलामा जान्छु जात्रा हेर्नलाई ।

जता गए पनि, जहाँँ गए पनि, जहिले गए पनि, जसरी गए पनि उच्च कोटिका जात्रा भेटिन्छन् । पहिला पहिलाका जात्राहरूले त अलि अलि मनलाई मात्र छुन्थ्यो । आजभोलिका सभ्य, सूचना प्रविधिमा आधारित जात्राले त मन मात्र होइन, हजुर आँखा, मुटु, कलेजो, फोक्सो, मस्तिष्क सबैलाई सजिलै छुन्छ । नपत्याए यसो अस्पतालभित्र छिर्नोस् त आँखाका बिरामी, मुटुका बिरामी, मष्तिष्कका बिरामी, फोक्सोका बिरामी, कलेजोका बिरामी अनि नभनीकन गोप्य राख्ने अंगहरूका पनि बिरामी त कति छन् कति । जात्राको विकास दिनमा १० गुणा र रातमा २० गुणा बढ्दो छ ।

हामी नेपालीहरू अरु जे-जे सुकै भए पनि जात्रा हेर्ने काम/कुरामा निकै भाग्यमानी छौं । फाइदा र काइदा आउने कुरा छ भने दिनमै मर्छौ- दिनमा नै जन्मन्छौँ । धन्न जात्रा देखाउने काममा केटाकेटी सहभागी हुँदैनन् । नत्र भने त एउटै मान्छेका दिनदिनै बर्थ डे । केक पसलले पनि कालोबजारी बजाइसक्ने थियो ।

हजुरहरूलाई पक्कै पनि थाहा छ है । साना मान्छेको जात्रा भन्दा ठूला मान्छेको जात्रा हेर्न निकै मज्जा आउँछ क्या ! आफूहरूले यो-यो कामकुरा गर्न हुन्न भनेर नियम बनाउँछन् । अनि तिनै गर्न नहुने कामकुराहरू आफैले मज्जासँग गर्छन् । ठूला मान्छेहरू त निकै मज्जाका हुन्छन् बाई-जन्मेदेखि नमरुन्जेलसम्म आफैले बीऊ रोपेर आमाले जन्माएका छोराछोरीलाई त मेरा हुन्, यिनीहरूको बाबा म हुँ भन्न नसके पनि विदेशीलाई त एकै दिनमा कति वटालाई नेपाली नागरिकता दिन सक्छन् । यस्तो शक्ति भनेको चानेचुने शक्ति हो र ? जात्रा हेर्नु यस्तो जात्रा नहेरेर कस्तो हेर्नु त ? हाम्रा जात्रामा त इमान्दार मान्छे बेइमान हुन्छन्, बेइमान मान्छेले मान, सम्मान र प्रतिष्ठाको पगरी लाउँछन् । यस्ता कमालका जात्रा त कति हेर्नु कति ।

समयको आधुनिकतासँगै जात्रामा पनि आधुनिकता मिसिएको छ । पहिला-पहिलाको लोककथामा हुने कुराहरू आजभोलिको जात्रामा यथार्थ हुन थालेको छ । दुई-चार जना सुरक्षाकर्मीकोे आँखा छलेर जात्राकर्मीहरू जात्रास्थलमा सजिलै प्रवेश गर्छन् । एअरपोर्टबाट जादुको छडी हराए जस्तै गरी पहेँलो धातुका पोका हराउँछ । कोही-कसैले नछोइकन सी.सी. टि.भी.फुटेजको स्क्रिन सट हराउँछ । यत्ति मात्र कहाँ हो र हजुर ? आजभोलिका सबै ठूलामान्छेहरूका आपसेआफ विचार हराउँछ, विवेक हराउँछ, बुद्धि हराउँछ, इमान-जमान हराउँछ, नीति, नियम, सिद्धान्त हराउँछ र त पनि देशमा दु्रतगतिमा चलिरहेकै छ जात्रा । हामी जात्रा हेर्नलाई निकै रमाउने दर्शकहरू । आज एउटा जात्रा हेर्छौ र अघाउँछौँ । अर्को दिन भोक लाग्छ, मनमा थाहा छ खाना खानलाई परिश्रम गनुपर्छ, काम गर्नुपर्छ । अँ हँ, हामीलाई काम गर्न मन लाग्दैन किनकि काम गर्न भन्दा जात्रा हेर्न सजिलो छ, जात्राको नायक बन्न सजिलो छ, जात्राको दर्शक बन्न सजिलो छ, जात्राको आयोजना र समापन गर्न सजिलो छ । हामी जात्राप्रेमी गाईजात्रा मात्र किन हेर्ने ? अब त हरेक दिन घरघरमै सबै कामकुराको जात्रा उमार्न कसो होला ?

आउनुहोस् अब एक पटक सबैले अन्तिम जात्राको तयारीमा जुटौँ । जसले जे छ, जे गर्न सकिन्छ त्यही गरौँ । यसो गरेमा बाँझो जमिनमा खेती उम्रिएको जात्रा हेर्न पाइन्छ । आफैले परिश्रमले फलाएको खाना खाएर मस्तसँग गाई मात्र नभई भैंसी, भेडाबाख्रा, पशुपंशी लगायतका आधुनिक पशुपालकको जात्रा हेरिन्छ । सबैले यसो गर्न थाल्यौँ भने मुलुकमा उद्योग करकारखानाका जात्रा, रोजगारी सिर्जनाको जात्रा, पर्यटन विकासको जात्रा, हाम्रा पुराना राम्रा सभ्यता, अनि संस्कृतिका जात्रा हेर्ने बानी पर्दा धेरै आनन्द आउँछ होला है ।

अझ एकछिन सोचाइमा हराउँन थालौँ त हजुर- काम नगरी बस्न नसक्ने बानीको जात्रा, अरुको कुरा नकाट्ने बानीको जात्रा, जे छ त्यसैमा रमाउने बानीको जात्रा, राम्रो काम गरेर मात्र पैसा कमाउने बानीको जात्रामा पल्किन थालेपछि त के के हुन्छ होला भन्ने कुरा एक पटक सबैले पहिला काम गरौँ अनि जात्रा हेरौँ है त । यहाँहरूलाई जबरजस्ती जन्मिएर जन्मदै जात्रा हेरेको छोरो मोरोको कुरा कस्तो लाग्यो कुन्नि ? खबर गर्नुहोला ल !

०००
स्याङ्जा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
नयाँ वर्षको शुभकामना

नयाँ वर्षको शुभकामना

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना !

जन्मदिनको शुभकामना !

गायत्री परिरोशनी
तीन ठोक्तक

तीन ठोक्तक

गायत्री परिरोशनी
रुद्रघण्टी हरायो !

रुद्रघण्टी हरायो !

गायत्री परिरोशनी
रुद्रघण्टी हरायो !

रुद्रघण्टी हरायो !

गायत्री परिरोशनी
ज्युनार गोष्ठी !

ज्युनार गोष्ठी !

गायत्री परिरोशनी
कुरा काट्नुको मज्जा !

कुरा काट्नुको मज्जा !

गायत्री परिरोशनी
सहकारी खेती

सहकारी खेती

गायत्री परिरोशनी
सिंहदरबार माने बाघदरबार

सिंहदरबार माने बाघदरबार

गायत्री परिरोशनी