सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कुराको नयाँ स्वाद

प्रहारको मूूल निसानामा कायम रही शब्द-गोलीका छर्राले यत्रतत्र घायल बनाउन सक्ने सिलवालको अद्वितीय क्षमता निबन्धमा प्रकट भएको छ ।

Nepal Telecom ad

सिर्जनाकर्मका लागि धादिङे माटो निकै उर्बर छ । प्राचीनकालीन बसन्त पाध्याय र माध्यमिककालीन शिखरनाथ सुवेदीदेखि गरिव निमुखाहरूमा जागरणको दुन्दुभी फुक्ने आधुनिककालका केवलपुरे किसानसमेत जन्मेको माटो हो धादिङ.। नेपाली हास्यव्यङ्ग्य क्षेत्रका दुई वरद् हस्ती केशवराज पिडाली र श्याम गोतामेको पैत्रिक थलो पनि धादिङ नै हो भनेर उनीहरू स्वयमले उल्लेख गरेका छन् । तथापि आफ्नो उर्बरता र इतिहासको महकलाई उजिल्याउनेतर्फ, धादिङ किन हो पछि परिरहेको छ । इतिहासको उपक्रमलाई भुसुक्क बिर्सने र जगेर्ना नगर्नेहरूलाई इतिहासले पनि सम्झना गरिरहँदैन ।

धादिङको त्यही ऐतिहासिक र उर्बर माटोमा जन्मेर लडिबुडी गर्दै हुर्किनुभएका हरिप्रसाद सिलवाल पछिल्लो चरणका सशक्त स्रष्टाका रूपमा परिचित हुनुहुन्छ । रत्नराज्य क्याम्पसमा प्राध्यापनरत उहाँले ‘मदनमणि दीक्षितका उपन्यासको समाजशास्त्र शीर्षकमा वि.सं. २०७४ मा विद्यावारिधि उपाधि ग्रहण गर्नुभएको छ ।

२०३० मा धादिङको नलाङ गा.वि.स. (हालः सिद्धलेक गा.पा.-१) मा जन्मिनु भएका सिलवालको स्नातकीय तहको विध्यार्थीकालमै ‘नवआकाश‘ (२०५५) निबन्धात्मक कृति प्रकाशित भएको थियो । निबन्ध लेखनसँगै साहित्यिक यात्रा आरम्भ गर्नुभएका सिलवाल निबन्धमा मात्र टाक्सिनु भएको छैन, पछिल्लो चरणमा उहाँ समालोचना, कविता, साहित्येतिहास,बालसाहित्य, र नाट्य लेखनतिर पनि उत्तिकै सरिक हुनुहुन्छ ।

नेपाली हास्यव्यङ्ग्यको मानक खडा गर्ने भैरव अर्यालबाट अभिप्रेरित सिलवालका पछिल्लो चरणका निबन्धहरूले अर्यालकै पदचाप पछ््याएको अनुभूति हुन्छ । उहाँको ‘कुरोको कथा = कुरौटा’ सङ्ग्रहमा दश ओटा हास्यव्यङ्ग्य निबन्धहरू सङ्कलित छन् । यी निबन्धहरूमध्ये आधाजसो निबन्ध ‘फित्कौली’ हास्यव्यङ्ग्य पत्रिकामा प्रकाशित भएको जानकारी मसँग सुरक्षित छ । हास्यव्यङ्ग्य कृतिहरूमाथि गरिएका केही समालोचना पनि प्रथमोप्रथमः फित्कौलीमै प्रकाशित भएका थिए ।

हाम्रो समाजका विविध पक्षमा दैनन्दिन देखिने बिव्ल्याँटाहरूलाई हरिप्रसाद सिलवालको व्यङ्ग्यचेतले सचेतनापूर्वक र मिहिनपाराले देखेको छ । त्यो विसङ्गत पर्यावरणलाई कुशलतापूर्वक अङ्कन गर्दै बिनष्ट र उच्छेदको आव्हान गर्नु उहाँको अभीष्ट देखिन्छ । गालीलेखन हास्यव्यङ्ग्यको खेती होइन भन्ने वस्तुतथ्यलाई आत्मसात गरि निबन्ध लेखनमा ओर्लिनु भएका सिलवाल सचेष्ट हास्यव्यङ्ग्य शिल्पी हुनुहुन्छ । अनुप्रासयुक्त प्राञ्जल शैली सिलवालको वैशिष्ट्य हो । बेथिति र बिव्ल्याँटाहरूमाथि प्रहार गर्ने उहाँको शिल्प अत्यन्त मनोहर छ । खास विषयमा पसेर मियोलाई नछाडी अघि बढ्दाबढ्दै पनि वरिपरिको सन्दर्भ उठाएर जतासुकै हिर्काउन भ्याउने उपक्रम विशेष निबन्ध कला हो । प्रहारको मूूल निसानामा कायम रही शब्द-गोलीका छर्राले यत्रतत्र घायल बनाउन सक्ने सिलवालको अद्वितीय क्षमता निबन्धमा प्रकट भएको छ । यसर्थ पनि हास्यव्यङ्ग्य निबन्धका पारखीहरूले सिलवालका यस निबन्ध कृतिबाट नयाँ हास्यव्यङ्ग्य स्वाद प्राप्त भएको अनुभूति गर्नेछन् ।

सङ्ग्रहका निबन्धहरू प्रकाशन पूर्व सरसरी पढ्ने अवसर मैेले पाएँ । गणतन्त्रात्मक मुलुकमा व्याप्त हुँदै गएको लुटतन्त्रात्मक बिचौलियाहरूले बिजोक बनाइरहेको कटुसन्दर्भमाथि बेधक प्रहार गरिएको छ ‘विचौलियाको ट्रिक सफर !’ मा । कुराको कथा = कुरौटो’ निबन्धमा ककारादि एकलौटी बणर्बाटै शक्तिशाली क्षेप्यास्त्र प्रहार भएको छ भने ‘कुरावादको जय !’ र ‘कुराको छुरा‘ निबन्धमा कुरा चाहिँ ठूलठूला गर्ने तर काममा चाहिँ माखो पनि नमार्ने प्रवृत्तिमाथि मजाक मारिएको छ । ‘नाम परिवर्तन : महान् परिवर्तन !’, ‘ह्यापी’ व्रत !’ र ‘मेलम्चीलाई पत्र’ जस्ता निबन्धले हाम्रो चिन्तन, संस्कार र संस्कृतिका आडमा भइरहेको मानसिक व्यभिचारलाई उदाङ्गो पारिदिएका छन् । ‘ठक्करवाला पार्टी’ निबन्धले भने देश र जनताको भाग्य र भविष्य फेर्न छाडेर सत्ताशक्ति प्राप्तिको दाउपेचको दलदलमा फसेका राजनीतिक दलहरूको पोल खोल्दै उनीहरूमाथि शक्तिशाली दनक दिएको छ । सङ्ग्रहका थप दुई निबन्ध ‘भ्यागुता सम्मेलन र बाँकी सम्मेलनहरू !’ र ‘प्रेमशालामा आगो’ ले चाहिँ उच्च कलात्मक विम्बको माध्यमबाट तत्तत् क्षेत्रका बिव्ल्याँटाहरूका आन्द्राभुँडी केलाएका छन् । यस निबन्ध कृतिमा समाविष्ट निबन्धहरूको गम्भीर गवेषणा एवम् सन्दर्भ समीक्षा गर्ने दायित्व अब समीक्षक समालोचकहहरूकै हो, मैले त ध्यानाकृष्ट गर्ने धृष्टता मात्रै गरेको हुँ ।

अन्त्यमा, नेपाली हास्यव्यङ्ग्यको कित्तामा डा. हरिप्रसाद सिलवालले एउटा सुन्दर एवम् मनोहर कृति प्रदान गर्नुभएकामा म आल्हादित छु र उहाँप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु ।

सम्पादक, फित्कौली हास्यव्यङ्ग्य पत्रिका
हाल : फित्कौली डटकम
पुस ४, २०७७
कलङ्की, काठमाडौ ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad