साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नचिन्ने रोग

अरुलाई नचिन्ने यो आफैंमा ठूलो घातक रोग हो । सर्लक्क आँखा देख्तादेख्तै पनि कसैलाई नचिन्ने कामरेड कुटिलकान्तको यो रोगको उपचार तत्काल आवश्यक छ । कामरेड- स्वास्थ्य नै मान्छेको ठूलो धन हो, अरु त तपसिलका कुरा हुन् ।

Nepal Telecom ad

कामरेड कुटिलकान्त काश्यप मुलुकभरकै सबैभन्दा चतुर कामरेड हुन् भन्दा बाँकी अरु ऐतिहासिक एवं नवोदित कामरेडहरुको चित्त दुख्न सक्छ । सकेसम्म अरुलाई चित्त दुखाउने कसरत हामी किन गरौँ ? त्यसैले हाम्रा तर्पmबाट भन्नुपर्दा उनलाई ‘चतुर कामरेड’ को मात्र संज्ञा दिऊँ, ‘सबैभन्दा चतुर’ होइन । तर के गर्नु, यसोभन्दा बञ्चराले चिर्दै गरेको दाउरालाई जति चित्त दुख्छ त्योभन्दा सयौँ गुना बढी चित्त दुख्न सक्छ कामरेड कुटिलकान्तलाई । हुन पनि ‘चतुर कामरेड’ त अरु कामरेडको अनुहार हेरेर हामीले उनलाई अलिक अवमूल्यन गरेर गुथाइदिएको पदवी मात्र हो, होइन भने यति सानो चतुर कामरेडको पदवीले मात्र उनलाई पूरापूर न्याय गर्न सक्तैन । उनी आपैmँ पनि आपूmलाई कुनै पनि हालतमा अरुभन्दा तल राख्न चाहँदैनन् । कामरेड कुटिलकान्तको आफ्नै बम्काइमा पनि यस माटोमा उनी सबैभन्दा चतुर कामरेड हुन् आजका मितिसम्म । अरु कामरेड रिसाउन् वा खुसाउन् हामीलाई के मतलब भन्ने हो भने उनले आफ्ना लागि आपैmँले गरेको यस मूल्याङ्कनमा जान्ने भएर हामीले अङ्क घटाइरहनु पर्ने जरुरत पनि त्यति देखिन्न । त्यसैले उनले आफ्ना लागि गरेको मूल्याङ्कन हाम्रा लागि पनि स्वीकार्य छ । सहर्ष सुपाच्य छ ।

कामरेड भनेका कामरेड नै हुन् चाहे चतुर हुन् चाहे फतुर । ताकपर्दा तर्साउन र मौका पर्दा मर्काउन सके त भैगो अरु के नै चाहियो र ? यसो भनेर समग्र कामरेडका आत्मामा आघात पुर्‍याउने कसरत पनि यो होइन ? त्यसैले नजाने गाउँको बाटो नसोध्नु भनेझैँ यतातिर पनि बढी नखोतलुँ ।

कामरेड कुटिलकान्त काश्यप जन्मदैका सक्कली कामरेड होइनन्, पछि बने/बनाइएका कामरेड हुन् । अरु सर्वसाधारण जस्तै सुरुमा उनी पनि स्वदेशी माटोमा नाङ्गै जन्मेका थिए । जन्मदा उनी कसैलाई चिन्दैनथे । बिस्तारबिस्तार जन्म दिने आमालाई चिन्न थाले । समयक्रममा बाबु र घरका अरुलाई चिन्न थाले । अनि वल्ला घर पल्ला घर हुँदै टोल छिमेक र गाउँलेलाई चिन्न थाले । यति मात्र नभएर आफ्नो काम पर्दा वल्ला गाउँ, पल्ला गाउँ, जिल्ला, अञ्चल सबैका सबैलाई चिन्न थाले ।

विद्यालयका शिक्षक र किताबी अक्षरलाई भने उनले अलिक कम चिने । यिनीहरुसँग उनको सङ्गत त्यतिविधि फस्टाउन सकेन । तैपनि यिनमा अरुको विद्यावारिधि उपाधिसँग उखान टुक्कामा सजिलै जुहारी खेल्न सक्ने क्षमता प्रचुर मात्रामा विकास भइसकेको छ । जस्तासुकै विद्यावारिधिहरु पनि उनका अगाडि निहुरिन वाध्य छन् । उखान टुक्का र अभिव्यञ्जनापूर्ण प्रस्तुतिको प्रसङ्ग आउनेबित्तिकै सबैले यिनै कामरेडको नाम लिन थाल्छन् । यसरी उनमा विकसित यस विलक्षणतालाई कदर गरेर यिनलाई ‘डक्टर्स इन उखान टुक्का’ शीर्षकमा मानार्थ उपाधि दिने हो भने सायद चरा मुसा कसैले पनि यस कुराको विरोध गरोइन ।

यिनको खेतीपातीको थलो राजनीति बन्यो । आफ्ना कानमा तेल र जनताका आँखामा छारो हाल्न खप्पिस भएर निस्के यिनी । काममा सिन्को नभाँचे पनि बोलीमा ब्बाँसोपन यिनको अर्को विशेषता बन्दै गयो । नागबेली परेको खोलोजस्तो कहिले उतापट्टि कहिले यतापट्टि टाँसिनमा पनि यिनी औधी पोख्त देखिन थालेका छन् । कम्पोस्ट भने पनि रासायनिक भने पनि राजनीतिमा प्रयोग हुने मल यही हो भन्ने कुरामा उनमा कुनै द्विविधा छैन । आवश्यकताअनुसार ‘पल्ला घरका नरे वल्ला घरमा सरे, वल्ला घरका नरे पल्ला घरमा सरे’ गर्नु गराउनु यिनका लागि सामान्य बन्न थाल्यो । यही क्षमताले उनको ख्याति देश विदेश सबैतिर एकनासले फैलिन थाल्यो । उनको खेतीपाती मौलाउँदै जान थाल्यो । यही प्रसिद्धिले उचालिएर उनी एक दिन देशकै ठूलो जमिनदार हुने धुनमा आफ्नो कुटो कोदालो चलाउन तल्लीन भएर लागिरहेछन् । उनका खेतीपातीका यी औजारहरु आफ्नै परिवार वा छरछिमेकी कसैले आँखा छलेर भाँचिदिएन भने उनको यो आकांक्षा पूरा नहोला भन्न पनि सकिन्न । आखिर भारोपर्म चल्दै गयो, मलजल मिल्दै गयो, किरा फट्याङ्ग्रा लागेन र मौसमले पनि साथ दियो भने यस्ता किसानका दिन आउन कत्ति नै बेर लाग्छ र ! यति भइसकेपछि बजारको मेलोमेसो मिलाउन त आफैंले पनि सकिहालिन्छ ।

सबैका दिन एकनास हुँदा रै’नछन् । राजा दशरथलाई दिन लागेर आफूपछि राजा हुने छोरो रामचन्द्रलाई चौध वर्षसम्म वनबासमा पठाउनु पर्‍यो, वनबासमा गएका तिनै रामचन्द्रलाई पनि फेरि दिन लागेर भरभराउँदी यौवनकी आफ्नी पत्नी सीतासँग जङ्गलमा बिछोड हुनुपर्‍यो, रावणलाई दिन लागेर लङ्का डढ्यो, सात वर्षकी गोमालाई दिन लागेर सत्तरी वर्षका बूढासँग विबाह भयो, हिरण्यकशिपुलाई दिन लागेर नङले कोट्टिएर मर्नु पर्‍यो, दानवीर बलिलाई दिन लागेर पातालमा भासिनु पर्‍यो, युधिष्ठिर जस्तालाई दिन लागेर राज्य हारेर मात्र नपुगी भाइहरुसहित एकैसाथ वनबास र गुप्तबास जानु पर्‍यो, दसनङ्ग्री खियाएर शान्तिपूर्वक आफ्नो गुजारा गरिआएका नेपाली जनतालाई दिन लागेर अरबौँको लगानीमा निर्वाचनद्वारा छानिएका आ-आफ्नै प्रतिनिधिहरुबाट चार-चार वर्षसम्म संविधान बन्न सकेन र कुन्नि के गर्नेलाई भन्दा देख्नेलाई लाज भनेझैं त्योभन्दा बढी लगानीमा फेरि त्यही काम दोहोर्‍याउनु पर्‍यो ।

हो, अहिले त्यस्तै दिन लागेको छ कामरेड कुटिलकान्तलाई । उहिले उहिले सबैलाई चिन्ने उनलाई यतिखेर आफूबाहेक अरुलाई नचिन्ने असाध्य रोग लागेको छ । उनले आफ्नै घर, परिवार र आफन्तलाई चिन्न छाडे । टोल छिमेकीलाई चिन्न छाडे । गाउँलेलाई चिन्न छाडे । उनलाई ठूलो जमिनदार बनाउन भारोपर्म गर्ने खेतालारुपी महान् जनतालाई चिन्न छाडे । यति मात्र कहाँ हो र ! उनी जुन देशमा बस्छन् त्यही देशका राष्ट्र प्रमुख र उपप्रमुखलाई चिन्न छाडे । मुलुककै कार्यकारी प्रमुखलाई चिन्न छाडे । उनको रोग सुन्दा पनि अनौठो लाग्ने खालको छ । उस्तैले त पत्याउन पनि गाह्रो छ । उनलाई लागेको रोग हेर्दा यसको उपचार स्वदेशमा हुने सम्भावना निकै न्यून छ । उनलाई स्वदेशी चिकित्सकले उपचार गर्न सक्ने सम्भावना पनि क्षीण हुँदै गइरहेछ । विदेशी चिकित्सकको उपचारले मात्र उनको रोगले उन्मुक्ति पाउने सम्भावना दृष्टिगोचर हुँदैछ ।

त्यसैले सामान्यभन्दा सामान्य रोगमा पनि विदेशी चिकित्सकबाट उपचार गराउनेहरुको भीडमा यी होनहार कामरेड कुटिलकान्त उभिन पुगे भने पनि त्यस कुरामा हामी कसैले कुनै अनौठो मान्नु पर्दैन । आखिर उनलाई लागेको रोगको उपचार त सम्भव भएसम्म गरिदिनै पर्छ । किनकि, उनी देशकै एउटा अमूल्य निधि हुन् । यस कुरामा कसैको पनि दुई मत हुन सक्तैन । होइन भने- आज घर परिवार र आफन्त नचिन्ने, टोल छिमेकी र गाउँले नचिन्ने, वल्ला-पल्ला गाउँ, जिल्ला र अञ्चल नचिन्ने, आफ्नै खेतीपातीमा भारोपर्म गर्नेलाई नचिन्ने, हुन सक्छ आफ्नै जीवन सँगिनीलाई नचिन्ने, जुन घरमा बस्यो त्यही घरको घरपेटी भनुँ वा जुन देशमा बस्यो त्यही देशको राष्ट्र प्रमुख नचिन्नेले आउने दिनमा रोग अझ बिस्तार हुँदै जाँदा भोलि उनले आफैंलाई पनि नचिन्न सक्छन् । आफू हिँड्नुपर्ने बाटो नचिन्न सक्छन्, खाने थाल र चुठ्ने भाँडो नचिन्न सक्छन् ।

यदि त्यस्तो भयो भने छिमेकीले डोर्‍याइदिए मात्र उनी यताउति गर्न सक्छन् । जिन्दगीभर छिमेकीकै भरमा बाँच्नु पर्छ । ‘खा भने खा, जा भने जा’ मा चल्नुपर्छ । अनि परेन फसाद ! अरुलाई नचिन्ने यो आफैंमा ठूलो घातक रोग हो । सर्लक्क आँखा देख्तादेख्तै पनि कसैलाई नचिन्ने कामरेड कुटिलकान्तको यो रोगको उपचार तत्काल आवश्यक छ । कामरेड- स्वास्थ्य नै मान्छेको ठूलो धन हो, अरु त तपसिलका कुरा हुन् । बेलैमा चेतना भया ।

युवामञ्च, २०७० चैत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुँगा निर्मूल अभियान

जुँगा निर्मूल अभियान

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
पेसा

पेसा

रमेश समर्थन
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x