साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साइकलको सत्ता

जतिसुकै फुर्तीफार्ती गरे पनि साइकलले गति लिन नसकेको कुरामा उनीहरू आफैँ पनि त्रसित छन् । तर, बाहिरी रूपमा भने उनीहरू ठुला गाडी त के हवाईजहाजको गतिलाई पनि उछिनेर चन्द्रमा पुग्ने बताइरहेछन् ।

Nepal Telecom ad

पिँडालु पण्डित :

ठूला गाडी सबै ग्यारेजभित्र छन् । बाहिर सडकमा भएका केही गाडी पनि सडकका किनारमा हावा खाएर बसिरहेछन्। चाहे ती कार हुन् वा जीप, ट्रक हुन् वा मिनी टाटा, बस हुन् वा माइक्रो बस, टाटा सुमो हुन् वा अरु कुनै । यतिसम्म कि मोटर साइकलले पनि सडकमा सहज प्रवेश पाइरहेका छैनन् । सबैको एउटै हालत छ । सडक सबै साइकलका कब्जामा छन् । साइकल पनि नयाँ हैनन् । सबै साइकल हावा खुस्केर मर्मतले पुनर्जीवन पाएका मात्र छन् । कहिल्यै नभएको एउटा अचम्मैको दृश्य छ सडकमा ।

केही वर्षअघि सडकमा ठुलो आन्दोलन भएको थियो । आन्दोलनमा ठुलादेखि सानासम्म सबैले भाग लिएका थिए । ठुलालाई सके लत्याउने, नसके होच्याउने र सानालाई स्थान दिने आन्दोलनको अनौठो आवाज थियो । त्यसले पार्ने असरका विषयमा मिहिन रूपमा कसैले विश्लेषण गरेको थिएन । सबै हामी साना हौँ, हामीले स्थान पाउँछौँ भन्नेमा ढुक्क थिए । सानाका नाममा आफूभन्दा तल अर्को ठुलो जमात छ भन्ने हेक्का आन्दोलनका सहभागीमा थिएन । र, हेक्का नै भए पनि यत्तिकालाई पेलेर गइन्छ भन्ने सोच तिनमा थियो ।

केही वर्षअघिको त्यस सडक आन्दोलनमा मान्छेलाई लागेको थियो, यस आन्दोलनमा हामी मान्छेको मात्र सहभागिता छ । मान्छेको मात्र जमात छ । मान्छेविरुद्ध मान्छेको मात्र आन्दोलन छ । तर, परिस्थिति त्यस्तो थिएन । त्यस आन्दोलनमा मान्छेका अतिरिक्त ठुला गाडीदेखि साना गाडीसम्म, तेल खाने मोटर साइकलदेखि हावा खाने साइकलसम्म, हात्तीदेखि भुसुनासम्म, गिद्धदेखि भँगेरासम्म, लामखुट्टेदेखि उड्स-उपियाँसम्म, भिँगादेखि कनसुत्लोसम्म, जुकादेखि सुलसुलेसम्म, परेवादेखि चमेरासम्म, डाँसदेखि हाँससम्म सबैको सहभागिता थियो । सर्प, भ्यागुता, बिच्छी, गङ्गटा, बट्टाई, कुखुरा, दुम्सी, स्याल सबका सबको सहभागिता थियो । अन्डादेखि झन्डासम्म, काक्रोदेखि थाँकोसम्म, भन्टादेखि मन्टासम्म सबैको उपस्थिति आन्दोलनमा देखिन्थ्यो । अगाडि हिँड्नेले आफू मात्र छु भन्ठाने पनि तिनका पछिपछि यी सबको सहभागिता थियो । आन्दोलनको सफलतापछि आन्दोलनमा अधि लाग्नेले जति नाक फुलाएका थिए, त्यसभन्दा बढी पछि लाग्नेले फुलाएका थिए । सबैको उल्लेख्य सहभागिता रहेकै कारण आन्दोलन आन्दोलनकारीका भाषामा सकारात्मक रूपमा टुङ्गिएको थियो ।

सडकमा साइकलको हर्न/ घन्टीलाई सरकारले निषेध गरेको थिएन । सडकमा जता गए पनि टिरिरिरिरि साइकलको मात्र हर्न/ धन्टीको आवाज सुनिन्थ्यो । लोप भइसकेका हर्नबिनाका तीन चक्के हाते ठेला गाडा पनि सडकमा प्रशस्तै देखिन थाले। रिक्साहरू साँझ बिहान जतिखेर पनि हामी पनि एक खुट्टा बढी भएका साइकल नै हौँ भन्दै सडकमा भाले भएर नाच्न थाले। हामी पनि दुई पाङ्ग्रे भन्दै फाट्टफुट्ट लुकेर चल्ने मोटरसाइकलले सामान ओसार्ने काममा टुकलाई जित्न थाले । सडकको स्वरूप नै कहाँबाट कहाँ पुग्यो, कसैले चालै पाउन सकेन । ठुला साधन नभएपछि ट्राफिक पुलिसको उपस्थिति पनि कहीँ कतै देखिएन । सडक आफ्नै हिसाबमा मनमोजी तालले चल्न थाल्यो ।

सडकको सत्ता साइकलले कब्जा गरे पनि उसलाई त्यति सहज भने भइरहेको छैन । सडकमा साइकलको एकछत्र राज हुन सकिरहेको छैन । साइकलहरू भुईमा न भाँडामा हुँदै आफै जान्ने भएर अरुलाई वास्ता नगर्दा उसलाई सडकको सत्ता चलाउन हम्मेहम्मे परिरहेछ । साइकलको एकछत्र राजमा विगतको आन्दोलनमा सहभागी उड्स-उपियाँदेखि भन्टा र मन्टासम्मले अवरोध पुऱ्याइरहेछन् । उनीहरू सडकमा आआफ्ना लागि छुट्टाछुट्टै सुरक्षित लेन हुनुपर्ने माग तेस्यांएर साइकलहरूलाई बल्लबल्ल मिलेको सत्ता निल्नु न ओकल्नु बनाइरहेछन् । आन्दोलनमा सहभागी सबैले आआफ्ना लागि छुट्टाछुट्टै सुरक्षित भाग खोज्नाले सबैको गति अवरुद्ध भइरहेको छ । साइकलहरू अरुलाई पेलेरै जाने मनस्थितिमा देखिन्छन् भने अरुहरू सातालाई सत्तामा पुर्‍याउने पूर्वयोजना लागु गर्न गराउन जस्तोसुकै दबाबी कदम चाल्न परे पनि पछि नपर्ने बताइरहेछन् । यसले साइकलको सत्तालाई दिनप्रतिदिन धरापमा पार्दै गइरहेछ । जतिखेर पनि पञ्चट हुन सक्ने देखाइरहेछ ।

कतिपय साइकलवालाहरू भोलिका दिनमा ठुला साधनको फेरि पनि चुरीफुरी र बोलबाला हुन सक्ने कुरालाई दृष्टिगत गरी उनीहरूलाई पनि स्थान दिनुपर्ने बताइरहेछन् । यसले कथङ्कदाचित् भविष्यमा ठुला साधनको बोलवाला भइहालेको अवस्थामा उनीहरू आफूलाई सुरक्षित बनाउने योजनामा रहेको अनुमानको सङ्केत गर्छ । यस्तो परिस्थितिले जतिखेर पनि साइकल् क्षतविक्षत हुन सक्ने अनुमानलाई बल पुर्‍याइरहेको आभास हुन्छ ।

सडकको सत्ता साइकलबाट खोस्ने योजना अनुसार सडकमा हाँसहरू हिलोको माग गरिरहेछन् भने कुखुराहरू दानाको । स्यालहरू सिनुको माग गरिरहेछन् भने कनसुत्लाहरू मानुको । जाबो सडकको आकार कत्रो नै छ र । त्यसमा पनि सबैले आफ्नो औकात अनुसार भाग खोज्नाले साइकलहरू विचलित हुन थालेका छन् । जतिसुकै फुर्तीफार्ती गरे पनि साइकलले गति लिन नसकेको कुरामा उनीहरू आफैँ पनि त्रसित छन् । तर, बाहिरी रूपमा भने उनीहरू ठुला गाडी त के हवाईजहाजको गतिलाई पनि उछिनेर चन्द्रमा पुग्ने बताइरहेछन् ।

साइकलहरूले जतिसुकै फकाइफुल्याइ र फुर्तीकार्ती गरे पनि पुस्तौँदेखि थिचिँदै र मिचिँदै आएका उडुस, उपियाँ, भिँगा, डाँस, कनसुत्ला, हाँस, कुखुरा, चमेरा, रिक्सा, ठेला गाडा, भन्टा, मन्टा, सर्प, बिच्छी, भ्यागुता, दुम्सी, स्याल आदिले साइकललाई त्यत्तिकै छाड्ने अवस्था देखिँदैन । किनकि, उनीहरूले पहिल्यै सुनेबुझेका छन्- “अबको सत्ता सानाको, कानुनका कुरा पानाको । न्याय र निसाफ मानाको, भेदभाव हुन्न छानाको ।”

०००
नुवाकोट, हाल काठमाडौं
‘समकालीन साहित्य’ (२०७६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
अर्दलीको खोजखबर

अर्दलीको खोजखबर

पिँडालु पण्डित
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x