पिँडालु पण्डितसम्माननीय थुतुनो
अब थुतुनो मात्र नभनेर सम्माननीय थुतुनो भनी सम्बोधन गर्दा पनि थुतुनोलाई यसरी गरिने सम्मानमा अझै अपुग हुने स्थिति छ । तैपनि अहिलेका लागि यी थुतुनाहरूलाई कत्ति पनि ढिल्याइँ नगरीकन सम्माननीय थुतुना भन्नैपर्छ ।

पिँडालु पण्डित :
नेपाली शब्द भण्डारमा कुनै कुनै शब्द त यस्ता अनौठा छन्, जो सुन्दै पनि मन फुरुङ्ग हुन्छ, । कुनै शब्द फेरि त्यस्ता छन् जो सुन्नेबित्तिकै जिउ जुरुङ्ग हुन्छ । कसैले ‘प्रिया’ भनेर लेग्रो पसारेर बोलायो भने तीन पुस्ताअघिदेखि उठेको रिस पनि पत्तालिन्छ र बोलाउनेका अनुहारतिर हेरेर अँगालिन मन लाग्छ । घर परिवारकै कुरा गरूँ न, कुनै नारीले आफ्ना पतिलाई ‘ए, मेरो बुढा…’ भनेर लेग्रो पसारिन् मात्र भने पनि हिजो बेलुका खाना खाने बेलामा रिसले थाल हानाहान गरेको सबै बिर्सन्छ र मुसुक्क मुस्काउँछ । थप नबोले पनि हेर्दाहेर्दै हाँस्न मन लाग्छ । नातागतले थलिएको विरामीलाई भिटामिन दियो भने खाएको एक छिनमै जुरुक्क उठ्छ नि, हो त्यस्तै जस्तो यस्ता शब्दको शक्ति र सामर्थ्य नै त्यस्तो हुन्छ, जो सुन्नेबित्तिकै सुन्नेको मन रमाउँछ । सुनाउनेको अनुहार उज्यालिन्छ । अरु लमिलस्ट कुरा केही गर्नै पर्दैन । थोरैमा धेरै उपलब्धि ।
जिउ फुरुङ्ग हुने मात्र किन ! जिउ जुरुङ्ग हुने शब्दका पनि कुरा गरूँ न । कसैले तपाईंलाई, तपाईंलाई मात्र किन ! मैलाई पनि कसैले ‘हेर हेर यो बजियाको ताल’ भन्यो भने सुन्नेबित्तिकै कहिल्यै कसै गरी नतात्ने कन्सिरीको रौँ तात्छ र प्रतिवाण खुस्की हाल्छ र भनिन्छ – हेर न हेर यसको थुतुनो ! के बोल्ने के नबोल्ने केही ठेगानै छैन ! अलिक शिष्ट भाषा बोल्न सिक्नु नि ।
यतिबेलै आफ्नो कन्सिरीको रौँ तातिरहेका बेलामा जाति हुनका लागि नजिकै हुने अर्कोले थुतुनो चलाउँछ र भन्छ – यो बजियाको थुतुनै त्यस्तो । कहिल्यै कसैलाई राम्रो बोल्न जानेको छैन । यसको थुतुनोले शिष्टता देखायो भने त्यो विश्वमा एघारौँ आश्चर्य हुन्छ ।
अनि के चाहियो ! दुइटैको शाब्दिक प्रहार एउटै थुतुनोमाथि । अनि सक्किएन त ? यति मात्र कहाँ हो र ! यसरी मन फुरुङ्ग्याउने र जिउ जुरुङ्ग्याउने शब्द नेपाली शब्द भण्डारमा खोज्दै जाने हो भने कति होलान् कति । यी सबैको बेलीबिस्तार लगाउन थाल्ने हो भने सबैका सबैको अप्रिय नायक यमराज कहाँ बिन्तीपत्र चढाएर घटीमा पनि अर्को पच्चिस वर्ष उनका डोलेहरूलाई यता नपठाउन आग्रह गर्नुपर्छ । नत्र यस्तो बेलीविस्तार सम्भव नै छैन । यमराज महाराजबाट त्यस्तो निगाह हुनु नहुनु फेरि अर्को कुरो । त्यसैले अनावश्यक रूपमा त्यस्तो लमिलस्ट गर्नुभन्दा यतिखेर थुतुनाका विषयमा मात्र थुतुनो चलाउनु श्रेयस्कर हुने यस थुतुनेको ठहर छ ।
थुतुनोको शाब्दिक अर्थ के रहेछ भनेर शब्दकोश पल्टाउने हो भने पशुको मुख, मानिसको मुख र निन्दार्थमा चोथो भनेर कोशकारले आफूले जो जानेका छन् त्यही कुरा लेखेको भेटिँदो रहेछ । सोझो अर्थमा मानिसको मुख, पशुको मुख भन्नलाई किन प्रयोग गरेको होला थुतुनो शब्द । शब्दकोशमै समाविष्ट नगरिदिएको भए जान्ने भएर कसले चलाइरहन्थ्यो र थुतुनो । सबैले मुख चलाउँथे, थुतुनोको कुरै आउँदैनथ्यो । लहरो तान्दा पहरो थर्किन्छ भने जस्तो मुख चलाउनु भनेको पनि जथाभावी बोल्नु, कसैले कसैलाई गाली गर्नु, खानेकुरा चपाउँदा मुख यताउति हल्लिनु, तलमाथि चल्नु आदि इत्यादि अर्थ र अनर्थको प्रसङ्ग पनि आउन सक्छ । यसरी विश्लेषण गर्दा भने थुतुनो शब्द शब्दकोशमा समावेश गरिदिएर कोशकारले ठिकै गरे भनेर चित्त बुझाउने ठाउँ पनि हुँदोरहेछ ।
कसैले भन्छन् – फलानाकी बुहारी त ठिकै हो नि, सासूचाहिँकै थुतुनो ठिक छैन ।
अर्कोले अर्को प्रसङ्गमा भन्छ – बाउचाहिँ त ठिकै हो, छोरोचाहिँकै थुतुनो ठिक छैन । अनि रातदिन झगडा नपरेर के गर्नू ?
हेर न नन्दचाहिँको थुतुनो, कस्ती दुच्छर छे । विचरी त्यो सोझी भाउजूलाई के भन्नू । थुतुनाकै कारण त्यो नन्दचाहिँको बिहे नभएको । कसलाई थाहा छैन र ?
लोग्नेचाहिँको थुतुनो ठिक छैन अनि बिचरी माइत गएर नबसेर के गरोस् त ?
थुतुनोका विषयमा हाम्रो नेपालीभाषी समाजमा यस्ता चर्चा परिचर्चा खुबै सुन्न पाइन्छ । अङ्गे्रजी वा अरू भाषामा थुतुनोको चलनचल्ती र हैसियत के छ तिनै भाषाका प्रयोगकर्ताले जानुन् । हुन सक्छ अरू भाषामा यस्तो शब्दको उपस्थिति नै नहुन पनि सक्छ । तैपनि ती भाषाका प्रयोगकर्ताहरू पनि आफ्नो थुतुनो बढी चलाएर चर्चामा आइरहेकै देख्न/सुन्न पाइन्छ । आखिर अङ्ग्रेजीमा राइस र नेपालीमा भात जे भने पनि खाने त्यही नै हो । जाने पेटमै हो । मर्ने भोक नै हो । दिने तागत नै हो । त्यसैले भाषाका विषयमा थुतुनो चलाउँदा पनि यति कुरो त भन्नैपर्छ, सजिलोसँग कुरो बुझ्न बुझाउनका लागि । यति भनेन भने अरूको थुतुनोले आफ्नै थुतुनो थिलथिलो बनाउन के बेर ? त्यसैले थुतुनो चलाउँदा पनि निकै विचार गरेर चलाउनुपर्छ, चानचुने तरिकाले चलाएर हुन्न ।
थुतुनो चलाउनु हुन्न तर थुतुनो चलाउनु पनि पर्छ । थुतुनाकै कारण एक देश र अर्को देशको युद्ध हुन्छ । एक टोल र अर्को टोलको झगडा पर्छ । थुतुनाकै कारण सके लोग्नेले स्वास्नीलाई मुक्क्याउँछ, नसके स्वास्नीले लोग्नेलाई मुक्क्याउँछे । थुतुनाकै कारण फक्रनै लागेको पे्रम फूल नराम्रोसँग ओइलाउँछ । लोग्नेको थुतुनाको कारण स्वास्नी अलग्गिन्छे, स्वास्नीको थुतुनाको कारण लोग्नेले थुतुनोमाथि अर्को थुतुनो थप्छ । अझ सके थुतुनो नचलाईकन थुपुक्क पारपाचुके दिन्छ ।
आफ्नै कार्यकर्तालाई चिढ्याउने आफ्नै नेताको थुतुनोका कारण कति कार्यकर्ता उता गए केही हुन्छ कि भनेर अर्को पार्टीको नेताको थुतुनोका पछि लाग्छन् । थुतुनोकै कारण एक आपसमा मिलेका एकभन्दा बढी पार्टी जान्ने भएर एक अर्कालाई थुतुनो चलाउँदा चलाउँदै दुई वा दुईभन्दा बढी पार्टीमा विभाजित हुन पुग्छन् । थुतुनोकै कारण एउटालाई नेता छान्नुपर्ने ठाउँमा अर्को छानिन पुग्छ । थुतुनोकै कारण एउटाको भागमा पर्नुपर्ने कुरा फुत्त अर्काको भागमा पुग्छ । त्यसैले थुतुनो चाहिन्छ पनि, चाहिन्न पनि । थुतुनोको व्यवस्थापनमा अलिकति तलमाथि भयो भने पनि अर्को थुतुनोले अगाडि आएको अवसर लपक्क लुटपुट्याइदिन्छ । अनि, थुतुनोको व्यवस्थापन गर्न नसक्नेचाहिँ हेरेको हेर्यै, टोलाएको टोलायै, पछाडिएको पछाडियै, धकेलिएको धकेलियै । अनि, परेन फसाद !
राजा दशरथको थतुनोको कारण रामले सिंहासन गुमाएर वनको वासमा चित्त बुझानुपर्यो । थुतुनो सन्तुलनमा नभएकै कारण बालकन्या गोमाले महादेवको श्राप खानुपर्यो । चन्द्रावतीले आफ्नै थुतुनाका कारण तत्काल महारानी हुन पाउने अवसरबाट वञ्चित भएर शालीनदीमा कुष्ठसहित रोगिएर थुप्रै समय व्यतीत गर्नुपर्यो । कंशको थुतुनाको कारण श्रीकृष्णले जन्मन र हुर्कनमा कति कष्ट बेहोर्नुपर्यो, कुरा गरी साध्य छैन । तित्रो आफ्नै थुतुनोकै कारण सिकारीको आँखामा पर्छ र भुइँमा पछारिन्छ । काग लखेटिन्छ । लामखुट्टे धपाइन्छ ।
स्वस्थानी कथामै वर्णित दक्षप्रजापतिले बढी थुतुनो चलाएकै कारण महादेवसँग त्यति राम्रो घरबार भइसकेकी छोरी सतीदेवीले अग्निकुण्डमा फाल हानेर प्राण त्याग गर्न बाध्य हुनुपर्यो । त्यही थुतुनो चलाइका कारण उनी स्वयं पनि मारिए । तेत्तिस कोटि छोरी जन्माउने क्षमता भएकी आफ्नी पत्नीको अनुनय विनयपछि बल्लतल्ल बोकाको थुतुनो जोडेर बाँच्ने अवसर पाए उनै दक्षप्रजापतिले । त्यो पनि महादेवकै ससुरा भएका कारण यति अवसर पाएका हुन्, होइन भने मरेका मर्यै हुन्थे । यता रतिले आफ्ना पति कामदेव भष्म हुँदा जति रोइकराइ गरे पनि पति वरदान पाइनन्, उता दक्षले भने तुरुन्तै त्यो अवसर पाए । त्यसैले थुतुनो चलाएर वा लुकाएर आफ्ना नातागोताकालाई विशेष रूपमा हेर्ने चलन त्यतिखेर पनि नभएको होइन । थियो ।
यसको अर्को उदाहरण हो – गणेशको पुनर्जीवन । पार्वतीको छोरा भएकै कारण आफ्नै बाबु महादेवबाट शिर काटिएका गणेशले हात्तीको थुतुनो जोडेरै भइ पनि पुनर्जीवन प्राप्त गर्ने अवसर । आफ्नै वाहन मुसाको सल्लाह भए पनि अगाडि सरेर मिलाएर थुतुनो चलाएकै कारण विश्वमै प्रख्यात हुने सुअवसर पट्काए । गणेशले राम्रोसँग सोधखोज गरेर जथाभावी थुतुनो नचलाएका भए सम्भवतः यस्तो परिस्थिति नै आउन्नथ्यो होला । उनको थुतुनो चलाइको एउटै कारणले उनको यो गति भयो । हामीले गणेशको असली अनुहार अहिलेसम्म देख्नै पाएनौँ । सायद त्यही बेलादेखि होला मान्छेलाई कि थुतुनोले बिगार्छ कि मुतुनोले भनेर उखान हालेको पनि ।
थुतुनोले ठाउँ छोडेकै कारण कतिले मन्त्री/प्रधानमन्त्री पदबाट हात धुनुपर्छ, धोएका छन्, कतिले कुनै त्यस्तै अन्य विशिष्ट पदबाट । कतिले आत्मालोचनाको सजाय भोग्नुपर्छ, कतिले क्षमायाचनाको । थुतुनोकै कारण कतिले नारी हिँसाको अभियोग बेहोर्नुपर्छ, कतिले बलात्कार प्रयासको । थुतुनोले राष्ट्रिय रूपमा मात्र नभएर अन्तर्राष्ट्रिय रूपमा पनि हलचल ल्याउँछ । चाइनाले थुतुनो चलाउँदा अमेरिका चलमलाउँछ, अमेरिकाले थुतुनो चलाउँदा रुस अकमकिन्छ, उत्तर कोरियाले थुतुनो चलाउँदा दक्षिण कोरिया तर्सिन्छ । भारतले थुतुनो चलाउँदा पाकिस्तान भकभकाउँछ । प्यालेस्टिनीले थुतुनो चलाउँदा इजरायल पुतपुतिन्छ, अमेरिका तम्सिन्छ । मान्छेहरू भन्छन् पहिलो र दोस्रो विश्वयद्धको प्रमुख कारण थुतुनै हो । त्यसैले थुतुनाको बजारका विषयमा थुतुनो चलाउँदा यी अन्तर्राष्ट्रिय थुतुनाहरूको पनि चर्चा परिचर्चा गरिनैपर्छ । यसरी अन्तर्राष्ट्रिय थुतुनाहरूले अन्तर्राष्ट्रिय रूपमा चलाएका थुतुनाका विषयमा चर्चा परिचर्चा नगर्ने हो भने त्यस्तो थुतुनो चलाइ एकाङ्गी हुन्छ । अपूर्ण हुन्छ । अनि यस्तो अवस्थामा यी थुतुनाको कुरा नगर्दा परिस्थिति नुन नहालेको तरकारी जस्तो हुन्छ ।
धेरैजसो थुतुनोले काम बिगारे पनि कतिपय अवस्थामा त्यही थुतुनोले मान्छेलाई अघि बढाउँछ । अहिलेको जमाना थुतुनो लुकाउनेको नभएर थुतुनो चलाउनेको छ । जसले बढी थुतुनो चलाउन सक्छ, उसले बढी अवसर पाउँछ । त्यो राजनीतिक क्षेत्रमा होस् कि प्रशासनिक क्षेत्रमा । व्यापारिक क्षेत्रमा होस् कि अरू सामाजिक भूमिकामा । साहित्यिक क्षेत्रमा होस् कि गैर साहित्यिक क्षेत्रमा । त्यसैले पहिला पहिला साह्रै हेलाँ र घृणा गरिने थुतुनोलाई अब औधी माया र सम्मान गरी अनिवार्य रूपमा सम्माननीय थुतुनो भन्नुपर्ने भएको छ । यसलाई अब थुतुनो मात्र नभनेर सम्माननीय थुतुनो भनी सम्बोधन गर्दा पनि थुतुनोलाई यसरी गरिने सम्मानमा अझै अपुग हुने स्थिति छ । तैपनि अहिलेका लागि यी थुतुनाहरूलाई कत्ति पनि ढिल्याइँ नगरीकन सम्माननीय थुतुना भन्नैपर्छ । अनि, यस्ता थुतुनाहरूबाट व्यक्तिने भनाइहरू महावाणी भएर हाम्रा सामु पसारो पर्नेछन् । अनि त्यसलाई हामीले घोक्नुपर्ने हुन्छ । ताली बजाएर समर्थन ठोक्नुपर्ने हुन्छ ।
थुतुनो नचलाउनेहरू चाहे त्यो राजनीतिक क्षेत्रका हुन कि प्रशासनिक क्षेत्रका, साहित्यिक क्षेत्रका हुन् कि गैर साहित्यिक क्षेत्रका, परराष्ट्रिय क्षेत्रका हुन् कि वरराष्ट्रिय क्षेत्रका सबैका सबै पछाडिको पछाडि नै हुने र बढीबढाउमा थुतुनो चलाउनेहरू अगाडि बढेको बढ्यै हुने, लुकाएर वा देखाएर थुतुनो चलाउनेहरू पुरस्कृत, प्रशंसित र सम्मानित भइरहने अरू हेरेको हेर्यै हुने, थुतुनाकै कारण सात खुन माफ हुने अरू जेलमै जाकिने जस्ता विडम्बनाधारी आजको स्थितिमा यति जाबो सम्माननीयको सम्मान त थुतुनोले पाउनै पर्छ नि ! किन नपाउनु ? कसैले न जुलुस न धर्ना यी जाबा थुतुनालाई अहिल्यै किन सम्माननीय पदवी दिइरहनु ? भनेर विवाद निकाल्छ र यस्ता सम्मानित थुतुनाको अपमान गर्छ भने त्यसलाई जनमत सङ्ग्रहको विषय बनाइनुपर्छ । यो त सानोतिनो विषय हो, छाड्दिउँ भनेर हेलचेर्क्याइँका रूपमा कदापि लिइनुहुन्न । सम्माननीय थुतुनाहरूको जय होस् ।
०००
‘रचना’ कात्तिक-मङ्सिर, २०८०
Subscribe
Login
0 Comments
Oldest







































