साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तासको तलतल तिरिमिरिझ्याइँ

आजकल लाखौँ रकम खर्चिएर उच्चपदस्थ हाकिमका टेबुल-टेबुलमा जडित कम्प्युटरमा जतिखेर पनि तपाईं सुटुक्क पसेर हेर्नुस् त त्यहाँ हाकिमसाहेब भनाउँदाहरू तासकै तमासामा तड्पिइरहेका हुन्छन् ।

Nepal Telecom ad

वासुदेव गुरागाइँ :

नेपाली वर्णमालाको कोदालीपाते ‘त’ खार्न सुरु गर्नुभन्दा तीन दिन अगाडिदेखि नै तल्लाघरे तुलबहादुरले नेताको ‘ता’ र सरकारको ‘स’ मिलाउन जानिसकेको थियो । त्यसैले सहस्र किताप पढेर अपारदर्शी ज्ञान हासिल गर्नेतिर भन्दा उसको ज्ञानराशि यसैतर्फ बढी खारिएर आयो । अहिले आएर तुलबहादुर र तास एकअर्काका पर्याय नै भइसकेका छन् ।

तासको आविष्कार कसले-कहिले-कहाँ-किन-कसरी-कसका लागि गर्‍यो भन्दा पनि यसको तलतल कस्तो हुन्छ भनी अनुसन्धान गर्नु लाभदायक हुन्छ । यसको सङ्गतमा मान्छे फसेपछि उसलाई लाग्ने तलतलको अनुमान तलतल लाग्नेले नै गर्न सक्छ, अरूले सक्तैन, फेरि, यो तलतल लाग्ने विषय भएकाले यसमा लागेपछि जो कोही पनि ‘तल-तल’ भासिन्छन् । यो नै यसको मुख्य विशेषता हो । कसैले यसको अनुसन्धानमा कम्मर कस्न सक्नुहुन्छ भने छिट्टै कस्नुस्- पिएचडी. कहीँ नजा । यसका परिकारहरू पस्केपछि पाँचतारे होटेलले पनि हात धोएर लाग्नुपर्ने हुन्छ । समयको गतिसँगै यसका परिकारहरू परिवर्तन भइरहन्छन् । यसका पारखीहरू पनि छानी-छानी त्यसको स्वाद लिइरहन्छन् । यसो विचार गर्दा चरेसका खानदानी धावकभन्दा तासका राहदानीबाहक बढी लग्गू र भलाद्मी पनि देखिन्छन् ।

सुनेकै कुरा हो- भनूँ कि नभनूँ ? नभन्दा कुरा लुकाए जस्तो हुन्छ, भन्दा कुरा बनाए जस्तो हुन्छ । एकपटक कहीँ कतै मस्तसँग तास खेलिरहेका एकजना बूढाको तास खेल खेल्दै वरलोकको भिसा सकिएर परलोक जानुपर्ने बेला भइसकेछ, न उसलाई थाहा छ न अरू खेलाडीलाई । उसलाई फिर्ता गराउन त्यतिखेरै यमराजका दूतहरू तासको खालमै आइपुगेछन् । संयोगवश यमराजका ती दूतहरू पनि तासका होनहार पारखी नै परेछन् । बूढाको समय केही पल बाँकी भएकाले उठाउन मिलेन भनेर दूतहरू पनि त्यहीँ बसेर तासको रमिता हेर्न थालेछन् । बाउन्न पत्तीको त्रिपन्न खेल- कहिले झेल कहिले मेल । तासको खेल हेर्दाहेर्दै बूढालाई लिन आएको कुरा तिनले भुसुक्कै बिर्सेछन् । अलिअलि हो र ! एक घण्टा ढिलो भइसकेछ । अब के गर्ने के नगर्ने ? दूतहरू अलमल्ल । तोकिएको समयभन्दा त्यत्रो ढिला भइसकेपछि लैजान मिल्ने नमिल्ने ?

उनीहरूले एकआपसमा गोप्य रूपमै छलफल गरे र तोकिएको समय फरक पारी लैजान नमिल्ने निष्कर्ष उनीहरूले निकाले । परिणामतः उनीहरू रित्तै हात यमलोक फर्के । यतातिर बूढालाई चिठ्ठा पर्‍यो । हेर्नुस्- कहिलेकाहीँ यसरी पनि चिट्ठा पर्छ । जीवनकै चिट्ठा । तर पर्नेलाई नै थाहा छैन । हेर्नुस् यस्तो छ तासको तमासा ।

यस्तै एउटा रोचक घटना पशुपति आर्यघाटमा पनि घटेको थियो । नबोल्ने देउतालाई केको चाकडी गर्नु भनेर कहिल्यै मन्दिर नधाउने सुकुलगुन्डो म ‘म’ लाई पनि एकदिन बूढीले घिच्याएर लगिन् पशुपति । ए, बूढी ! सकनिसकी अहिल्यै किन घिच्च्याउँछेस्, भोलिपर्सि अरूले नै बोकेर लगिदिइहाल्छन् नि भनेको बूढीले पर्लक्क आँखा तरी । अर्काको आँखा तराइमा परेर घरमा कराइरहनुभन्दा बलिको बोको जस्तो बूढीको तनाइमा लुखुरलुखुर पुगेँ पशुपति । मरेका छालाको जुत्ता र कम्मरपेटी जे त होला भनेर कुकुरलाई बाहिरैपट्टि जिम्मा लगाएर जिउँदो छालासँगै टाँसेर पसेँ भित्र ।

मनैदेखि बडा आस्तिक जस्तो देखिएर दायाँ-बायाँ हेर्दे नहेरी शिवस्तुति भट्टयाउँदै शिवसेनाको वास्तै नगरी गन्तव्यतिर पाइला चालेँ । मेरो गन्तव्यको मन्तव्य बुझेझैँ गरी शिवबाहनज्यूले ‘प्वाँ’ गरेर मलाई हच्काइहाले । कुरो नबुझेझैँ गरी मैले ट्वाल्ल हेरेँ । ‘कहाँ हिँडेको ?’ शिववाहनज्यू राता आँखा पार्दै गर्जे- ‘पशुहरूका पति अर्थात् पशुपति मनै हूँ । शङ्का लाग्छ भने त्यहाँ बाहिर गाईमाताहरू छन्, तिनैलाई सोध । म यत्रो पशुपतिलाई छाडेर तिमी कहाँ जान्छौ ? जाऊ पछाडि गएर साक्षत् पशुका पतिको दर्शन गर । जे हूँ म नै हुँ ।’ शिवबाहनज्यू अर्थात् साँढेको यो ‘भुइँमा न भाँडामा’ को गर्जन सुनेर मलाई मन्त्रालयतिरका मन्त्रीज्यूका उहिलेउहिलेका पि.ए.हरूको झलक्क याद आयो । सात दिन सात रात हिँडेर मन्त्रालय धायो । मन्त्रीसँगको भेटघाट र कामकुरो बन्नु त काँ हो कता ! पि.ए.ज्यूको झापड खाएर लन्ठिनु पर्ने । मन्त्रीज्यू त सीलबन्दी जस्तो । अनि सम्झेँ हिजोसम्म घाँस खाने साँढेको आज आएर यस्तो फूर्ति ! यस्तै भएुर त हो नि मान्छेमा आस्तिकता हुँदाहुँदै पनि नास्तिकता बढेर गएको । अनि सम्झेँ साँढेसँग किन बढ्ता कुरा भन्दै म पनि झरेँ वाग्मतीका किनारपट्टि ।

मैले गर्न खोजेका कुरा तासको थियो । बीचैमा साँढेतन्त्रले अल्मल्यायो । तासका कुरा भन्ने बित्तिकै तपाईंको मन पनि के हो ल त भनी जान्न आतुर भइसकेको होला । नआत्तिनुस्, दुई शब्दको मन्तव्य व्यक्त गर्ने अख्तियारी पाएका अतिथिले दुई घण्टैमा दुई शब्द सिध्याएझैँ म पनि अब आफ्नो कुरा सिध्याउनतिर लाग्छु ।

अँ, म झरेँ वाग्मतीको किनारपट्टि । चिता तयार हुँदै थियो । एकजना मृतक बूढा ब्रह्मनालमा पल्टिरहेका थिए- रामनामीले मुख छोपेर । अन्तिम संस्कारमा जुटेका केही उरन्ठेउलाहरू हल्ला गर्दै तासको खाल नार्न तम्तयार भए । मर्ने मरिहाले, बाँच्नेले एकछिन भए पनि समय कटाउने मेसो झिके । तपाईंहरू नपत्याउनुहोला- ब्रह्मनालमा पल्टाइएका बूढालाई धनञ्जय वायुले छाडिसकेको रहेनछ । तासका कुरा सुन्नेबित्तिकै बूढा जुरुक्क उठे र केटाहरूलाई गुहारे- ‘ए ! केटा हो चाँडो गर दुईचार हात म पनि भ्याउँछु । चिता अझै तयार भइसकेको छैन ।’ लौ अब भन्नुस् त ! पत्याउने कि नपत्याउने ? तास भनेपछि मान्छे यसरी हुरुक्क हुन्छ ।

‘यो कुन अनौठो कुरा भयो र ? राजनीतिमा लागेका मान्छेहरूको कुरा थाह छ ? तिनलाई त अझै धनञ्जय वायुले छाडिसकेको रहेछ भने पनि कुर्सी दिन्छु भन्ने हो भने जुरुक्क उठेर आउँछन् । बुझ्नु भो ! तासको तलतलभन्दा कुर्सीको करामत कडा हुन्छ । यसर्थ यसलाई अनौठो रूपमा नलिनुस् ।’ भनेर तपाईंहरू मलाई भन्न सक्नुहुन्छ । तर म त्यो अनुमानका कुरा पत्याउने पक्षमा छैन । कोही त्यसरी उठेर आएको छ भने भन्नुस्, होइन भने मैले देखेको सत्य नै अन्तिम अनौठो सत्य हो । अनुमानकै भरमा कसैलाई प्याच्च भन्न मिल्दैन । चाहे पत्याउनुस्, चाहे नपत्याउनुस् । त्यो तपाईंको मौलिक अधिकार ।

हुन त तासको खेल र कुर्सीको खेलमा खासै फरक छैन । यी दुवै खेल प्रजातान्त्रिक प्रणालीमा आधारित छन् । दलियतामा यिनीहरू विश्वास गर्छन् । एकजना मात्र बसेर न कुर्सीको खेल चल्छ न तासको । यी दुवै खेलमा बेलाबेलामा खेलाडीहरूको ठाउँसारी भइरहन्छ । खेलाडीमा आलोपालो फेरिरहन्छन् । यी दुवै खेलमा खेल्नेलाई मात्र मज्जा आउँछ, अरूलाई आउँदैन । अरू सबै हरूवा च्याँखे जस्ता । एक आपसमा झेल गरेर सबै आफैँ सोहोर्ने नीति यी दुवैमा एकनास हुन्छ । जतिसुकै झूटा कुरा भए पनि आफ्नो पक्षको छ भने त्यसलाई मरिमेटेर सत्याउने प्रयास गर्नु यी दुवैको धर्म हो । चाहे अमेरिकी कुर्सीका लागि अलगोर र बुसको वकालत होस् चाहे नेपली कुर्सीका लगि फलाना फलानाको वकालत होस् । हो, तासमा पनि यस्तै हुन्छ । आफ्नो झेल र खेललाई सबै मनैमा राख्छन् । बाहिर व्यक्त्याउँदैनन् । अनि यी दुवै खेलमा खेलाउने मान्छे सकेसम्म अगाडि पर्दैनन् । अर्थात् गोटीवाल र भट्टीवाल दुवै अदृश्य । यी दुईमा फरक भनेको यत्ति हो कि तास कागजका पत्ती बाँडेर खेल्ने खेल हो भने कुर्सी खेलमा यस्ता कुनै पनि दृश्य पत्तीको जरुरत पर्दैन ।

‘हाड नएको जिब्रो कता लट्पटिन्छ कता’ भन्नेसम्म त धेरै पहिला सुनेको । तर ‘खुट्टा नभएको मन कता दौडिन्छ कता’ भन्ने चाहिँ पहिले नसुनेकै भए पनि अहिले बुझेँ । कहाँ तासको तलतलको कुरा गर्न लागेको कहाँ कुर्सी र साँढेसम्म पुगेर यो मन रङमङियो । वास्तवमा यो मनलाई पनि खुट्टा चाहिखो रहेछ । खुट्टा नभएर न यो जथाभावी दौडेको हो । ब्रह्माजीलई बिन्त्याएर व्यवस्था गर्ने अवस्था अहिले नभएकोले वैज्ञानिक बुद्धिजीवीहरूसँग यो बालक बबुराको विनम्र निवेदन छ कि मान्छेको मलाई कसै गरी पनि खुट्टा हालिदिने व्यवस्था होस् । दसतिर डुल्ने मनलाई खुट्टा जोड्नेबित्तिकै बरालिएको केटोलाई बिहे गराएर साङलामा पारे जस्तो कक्र्‍याककुक्रुक्क पार्न नसकिने कुरै छेन । त्यसैले यो निवेदनमाथि जतिसक्दो छिटो अग्राधिकार दिई कारवाही हुनुपर्छ । जति बिलम्ब उति बरबाद । मनरूपी त्यान्द्राले आखिर तपाईं हामीलाई मात्र होइन तिनै वैज्ञानिकहरूलाई पनि त त्यत्तिकै सताएको छ नि ! त्यसैले यो सामूहिक समस्यामा सबैको ध्यान जानैपर्छ । जसरी पनि मनको खुट्टा हुनैपर्छ ।

कुरो पर्‍यो तासको । त्यसमाथि तलतल । अनि तिरिमिरझ्याइँ । तासको तलतलमा फसेपछि मान्छेलाई लहरेखोकी लागेभन्दा चर्को हुन्छ । एकोहोरो लागेको छ, छ । न बेलामा भात खान पाइन्छ न त बिस्तरामा पल्टन । न आफ्नो काम बेलामा बन्छ न अर्काको । न आफ्नो घरपरिवारमा शान्ति हुन्छ न अर्काको । न आफ्नो खल्तीमा आफ्नो स्वामित्व हुन्छ न अर्काका खल्तीमा ।

‘रातभर करायो दक्षिणा हरायो’- भन्ने उखान तासको सन्त्रास पृथ्वीमा भित्रिएपछि सुरु भएको हुनुपर्छ । नेतालाई भोट दिएपछि जनता जति सबै हारे जस्तो खेल सिद्धिँदा खेल्ने जति सबै हार्छन् । जित्ने जति भट्टीवालनी । खल्तीमा भएजति हारे त अर्को दिन खेल चल्दैनथ्यो, खेलै खत्तम । तर होइन खेल नचल्दा खेलाडी त बिग्रेबिग्रे भट्टीवालनी पनि बिग्रने भएकीले उसले त्यहीँ चलाइदिन्छे- वाणिज्य बैँकको कारोबार । मुखका भरमा साहु-आसामी । घरखेत बाँकी भए त्यो पनि रजिष्ट्रेसन । घरस्त्रीभन्दा परस्त्रीमा विश्वास । राखनधरन सबै उसैको । खेलाडी त बनज्वाइँ मात्र ।

अन्यत्र सबैलाई हल्ला नगरिदिने भएभए मेरी श्रीमतीले मात्र थाहा पाएकी एउटा कुरा म तपाईंलाई खुसुक्क भन्छु । श्रीमतीसँगको गोप्य कारोबार हामीलाई किन सुनाउँछस् ? भनेर तपाईंहरू तरक्क तर्किनु होला पर्दैन । कुरा यसै सेरोफेरोमा बताइसकेपछि ए’ यसलाई पनि यस्तो परिसकेको रहेछ भनेर सबैले मनमनै हाँस्ने विषय हो । यस्तो विषय भएर पनि मैले अहिलेसम्म कसैलाई भनेको छैन । यो कसैलाई नभन्ने विषयभन्दा पनि खासैमा चाणक्य नीतिको मर्यादाका लागि मैले सार्वजनिक नगरेको हूँ- हनुमानले ब्रह्मपासको मर्यादाका लागि इन्द्रजीतसित बाँधिएर रावणछेउ पुगेजस्तो । मलाई पनि अरूथोक नराम्रा कुरा गर्न चाणक्य नीतिले रोकेन, तर यति कुरा चाहिँ स्वाङ पारिटोपल्यो । नीतिले यस्तो भन्दो रहेछ –
‘अर्थनाशं मनस्तापं गृहे दुश्चरितानि च
वञ्चनं चापमानं मतिमान्न प्रकाशयेत् ।’
संस्कृतमा लेखिएको उल्लिखित श्लोकको नेपाली भाव यस्तो हुँदो रहेछ- धन नास भएको, मनमा भएको पीर, घरमा नराम्रा कुराहरू, कसैद्वारा आफू ठगिएको र अपमानित हुनु परेका कुराहर बुद्धिमान मानिसले प्रकट गर्नु हुँदैन ।’

नीतिले यहाँ जे जे कुरा प्रकट गर्नुहुन्न भनेको छ- ती सबै मेरो एउटै परम् पुरुषार्थी कारोबारमा परेका छन् । अनि के गर्ने ? र पनि, सबै कुरा पारदर्शी गर्नुपर्ने आजको जमानामा यति कुरा मात्र किन अपारदर्शी बनाइराख्ने त्यसैले लौ सुन्नुहोस्- घटना के हो भने नि एकदिन मध्यरातमा खल्ती खेल सकेर पुसका ठण्डीमा घरस्त्रीलाई सम्झँदै पुगेँ घर । लरखरिएका स्वरमा परपरिएको जिब्रो फट्कारेर ढोका ढयाक्ढयाक् पारेँ । ढोका बोलने कुरा भएन, बोलेन । बज्यो मात्र । बूढीले थाहा पाई कि पाइन मैले मेसो पाइन । तर यति कुरा पक्का हो कि ढोका खुल्दै खुलेन । हेर्नुहोस् मेरो समस्या- न हो हल्ला गरेर छिमेकी गुहार्न मिल्यो, न आफ्नै घरको ढोका आफैँले प्mयाङ्ल्याङ्ङ फुटाउन मिल्यो । तीन दिन तीन रातको निन्द्रा न दीर्घशङ्का न लघुशङ्का । भोक बजिया त कता हरायो कता ? आफूले बोकेर आएको जीउ आफ्नै हो कि अर्काको हो राम्रोसँग चाल नपाउने अवस्था थियो । केही सीप नलागेपछि टाउकापट्टि सिरान गरेर पधारिएँ चिसा भुइँमा । बूढीले एकाबिहानै दैलो पोत्दा कानमा तुरुक्क पानी हालेर खिस्स हाँसी र पो झल्याँस्स बिउँझेँ । बूढीभन्दा पहिला अरू बिउँझिएका भए मेरो यो परम् पुरुषार्थी हरिबिजोग घरका आमपरिवारले थाहा पाउँथे । एकान दुईकान मैदान भइहाल्थ्यो । तर मेरी श्रीमतीजी चाहिँ त्यस्तै खानदानमा हुर्की बढी कुल परम्परा राम्रोसँग बुझेकी हुनाले यतिसम्मका कुरालाई सामान्य रूपमा लिइदिएर मात्र मेरो इज्जत बच्यो नत्र….।

ओकल्ने मौका नपाएर छट्पटाइरहनु भएका तपाईंहरूमध्ये कतिले यसलाई एकचोटि यस्तो पर्‍यो भन्दैमा यत्रोविघ्न उकुस्मुकुस् हुने ! हामीलाई जस्तो परेको भए के गथ्र्यो होला । तर अनौठो नमान्नुस् । यसरी खासै लुकाउनुपर्ने कुरा छैन किनकि यो हाम्रो साझा सहमतिमा चलेको दिव्य परम्पराको मौलिक संस्कृति हो, कतैबाट आयातित होइन । यसमा हाम्रो आफ्नै नेपालीपन छ ।

तुलबहादुरको सानैदेखिको साथी भएर पनि कुलबहादुर र तुलबहादुरबीच बेलाबखतमा खट्पट परिरहन्थ्यो । अहिलेका जमानामा पनि कुलबहादुर पहिला जस्तो ठाउँकुठाउँ नैतिकताको कुरा झिकेर सबैलाई दिक्याइरहन्थ्यो । फेरि तासको पर्यायवाची भइसकेको तुलबहादुरका अगाडि कुलबहदुरको नैतिकताका गफ ऊसँग जोरी खोज्ने निहुँ जस्तो हुन्थ्यो । सधैँझैँ कुले र तुलेको भेटघाट हुनेबित्तिकै कुलेले आफ्नो कुल-परम्परा नै नैतिकता होझँै गरी तुलेलाई अथ्र्याउन थाल्यो । दुईजनाका बीच वादविवाद-प्रतिवाद निकै चक्र्यो । तुलेले तासका पक्षमा आफ्ना भएभरका तर्क कुलेका अगाडि तेस्र्यायो – ‘बुझ्यौ ! तासका जस्तो मात्र नैतिकता र नियम अन्यत्र भइदिएको भए यो मुलुकै कहाँ पुग्थ्यो कहाँ !! के कुरा गर्छौ कुलबहादुर ?’- उसले निष्कर्ष वाक्य फलाक्यो । कुले बोलेन ।

यी दृश्यका कुरा सुनेर मलाई भने तत्काल ब्रह्मज्ञान भएजस्तो भयो । अनि यसो सम्झेँ- हो बा ! तासमा जस्तो नैतिकता र नियम त बेलायतको संविधानमा पनि छैन होला । वास्तवमा नढाँटी भन्ने हो भने तासको विधान र बेलायतको संविधान एउटै कोटिको छ भन्नुपर्छ । किनकि यी दुवै ‘विधान’ र संविधान’ अलिखित रूपमै चलिआएका छन् । परम्परामा यी दुवै उत्तिकै विश्वास गर्छन् । फरक यत्ति छ कि बेलायतको संविधानको क्षेत्रले आफ्नो राष्ट्रको भूभागलाई मात्र समेट्छ भने तासको विधानले दुईजनाको समूहदेखि परिवार, टोल, गाउँ, सहर, जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पनि एउटै किसिम वा केही फरक-फरक ढङ्गले समेट्दछ । फेरि तासको विधानमा यति लचकता छ कि यसको निर्माणदेखि खारेजी र समसामयिक संशोधनसमेत न संसदले पास गर्नुपर्छ, न राष्ट्रप्रमुखको स्वीकृति नै त्यसमा आवश्यक पर्छ । यी सबै काम दुईचार जनाको सहमतिमा भइहाल्छ । न त खारेज भएको विषय फेरि समावेश गर्नु नै अप्ठयारो छ । यसरी हेर्दा बेलायतको संविधानभन्दा पनि तासको विधान उच्चकोटिको ठहरिन सक्छ ।

उच्चकोटिको विधानमा पक्कै पनि उच्चकोटिकै नैतिकता वैधानिकता विद्यमान हुनु कुनै अनौठो कुरा पनि होइन नि । नपत्याए आजकल लाखौँ रकम खर्चिएर उच्चपदस्थ हाकिमका टेबुल-टेबुलमा जडित कम्प्युटरमा जतिखेर पनि तपाईं सुटुक्क पसेर हेर्नुस् त त्यहाँ हाकिमसाहेब भनाउँदाहरू तासकै तमासामा तड्पिइरहेका हुन्छन् । यतिखेर के तपाईं नैतिकता र बैधानिकतामाथि प्रश्न गर्ने क्षमता राख्न सक्नुहुन्छ ? सक्नुहुन्छ भने मलाई भन्नुस् । अनि कुरा गराैँला ।

यति निष्कर्षमा पुगेपछि म पनि आजकल तीन न तेह्रका तासका विरोधीहरूलाई तिरिमिरिझ्याइँ पार्न थालेको छु । तर तासको तलतल भने मलाई पटक्कै छैन । विकासका कुरा सुन्दा सुन्दा जनता अघाएजस्तो म पनि आजकल तासका कुरैले अघाउन थालेको छु । नरिसाउने भए तपाईंलाई पनि म जस्तै हुने शुभकामना । स्वीकार्नु हुन्छ ? गाह्रो छ !

०००

‘थोते हाँसो’ निबन्धसङ्ग्रह (२०६२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
अर्दलीको खोजखबर

अर्दलीको खोजखबर

पिँडालु पण्डित
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x