साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धाकका धोक्रा

समाजभित्र उदाङ्गो अवस्थामा विराजमान यस्ता धाकका धोक्राहरूका सामु छुच्चो बनेर कुर्लनुभन्दा बरु तिनकै गुणगान र प्रशंसा गर्नुमा यतिखेर सबैको कल्याण छ ।

Nepal Telecom ad

पिँडालु पण्डित :

‘धाकभन्दा धक्कु ठूलो, हिँड्न लाग्यो खुट्टा लुलो ।’
नेपाली उखानका बजारमा सबैले सानैदेखि सुन्दै आइएको हो यो उखान । गौँडा गौँडामा अनेक किसिमका गफ दिने तर लेखपढ नगर्ने, मुखले अनेक गुड्डी हाँक्ने काममा अघि नसर्ने, म यस्तो र ऊ यस्तो भनेर सके आफ्नै नसके आफ्ना र त्यतिले पनि नसके आफ्ना पुर्खाका पौरख तेस्र्याएर गफ गर्दा कहिले ठूलाबडाले ठूलाबडालाई नै र कहिले ठूलाबडाले सानाबडालाई यसो भनेको सुनिन्थ्यो । ठूलाबडाका कुरा ठूलाबडाले त बुझ्थे होलान् तर सानाबडालाई ठूलाबडाको कुरा बुझ्न गाह्रो हुन्थ्यो । के भनेको होला भनेर अलमलिन्थे । तैपनि छेउछाउ अनुमान लगाएर त्यस्ता सानाबडाहरू हरहमेसा सतर्क हुन्थे सदैव यसो भनिरहने आआफ्ना ठूलाबडासँग ।

पहिलेका सानाबडाहरू पछि ठूलाबडा भएपछि धाक भनेको के रहेछ ? धक्कु भनेको के रहेछ ? भनेर आपैmँ खोजखबर गर्न सक्ने भए । अरूका कुरा जोख्न तौलन सक्ने भए । अनि जो जानेको मूल्याङ्कन गर्न सक्ने भए । खोजखबरीका क्रममा उनीहरूले बुझे धाक भनेको भित्र कुनै पनि सार नभएको र बाहिरचाहिँ बढाइचढाइ गरिएको फोस्रो कुरो, बोक्रे रबाफ, आडम्बर, हैकम आदि के के हो के के ! यसमा अझ बढी खोजतलास गर्दै जाँदा धाकधुक, धाकपाक, धाकरबाफ, धाकधाकिलो, धाकधाकी जस्ता नामधारी पद पनि धाक शब्दकै नजिकका दाजुभाइ वा दिदीबैनी भएको ठहरमा पुग्न बेर लागेन । अझ हिन्दु संस्कारअनुसार कुरा गर्ने हो भने ती सबै शब्द तेह्र दिनभित्रकै दाजुभाइ जस्ता ठहरिँदा रहेछन् ।

साथमा छ अर्को धक्कु शब्द । धक्कुले पनि फोस्रो धाक, बोक्रे फुर्ती, रबाफ आदि अर्थ नै जनाउने भएपछि अरू के चाहियो र ! मिलीजुली सरकार, मिलीजुली खाइपिइ जस्तो तैँ चुप मैँ चुप । अनि सिद्धिएन कुरो । धाक र धक्कु औँलाको नङ र मासुजस्तो ।

धाकधक्कुको कुरो यति भनेर सिद्धिदैन । केटाकेटीको बुद्धि काँचो माटो जस्तो, जता जे बनाउन खोज्यो उस्तै हुन्छ भनेभैmँ सानाबडा छँदा उनका मनमा परेको यो धाक र धक्कुको छाप ठूलाबडा हुँदा पनि उनीहरूका दिमागमा रबर प्लान्ट झाङ्गिए जस्तै झाङ्गिएर बसेको छ-छ । त्यही भएर उनीहरू स्वमहिमामा पारङ्गत हुन्छन् । परमहिमामा सङ्कुचित र अनुदार हुन्छन् । आफ्ना कान आफ्नै कुरा सुन्नका लागि मात्र हो भन्ठान्छन् । यति भन्ठानेपछि धाक र धक्कुको खेती मौलाउने नै भयो । वरदेश परदेश जताततै फैलने नै भयो । अनि काम कुरो एकातिर कुम्लो बोकी कुन्नि कतातिर भनेजस्तो व्यक्ति र राष्ट्रको हालत हुने नै भयो । यति हुँदा पनि धाकधक्कुका मास्टरहरू तैँ चुप मैँ चुपको अवस्थामा गुडुल्किइरहने नै भए । अनि सबैतिर यथास्थिति वा त्यसभन्दा पनि मुनि पातालतिरको यात्रा । अरूले सगरमाथा चढिसक्दा आफू आधार शिविरभन्दा पनि तलतिर । अनि सकिएन विकासको कुरो !

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा यसो नियाल्दा धाकधक्कुको मूल र उर्वर थलो राजनीति नै भएको आभास हुन्छ । एकाधिकारवादी निरङ्कुश राजनीतिक व्यवस्था होस् वा नामका बहुअधिकारवादी लोकतान्त्रिक व्यवस्था होस्, ती सबैको ध्येय र पराक्रम भनेको धाकधक्कु नै हो । मैले भए यसो गर्थेँ र उसो गर्थेँ भन्ने अनि गर्ने बेलामा चाहिँ माखो नमार्ने बानीको प्रचुरता तिनै राजनीतिक व्यवस्थाको नेतृत्वकर्तामा देखिन्छ । मुलुकले लामो समयान्तरमा प्राप्त गरेको सफलतामा कुनै न कुनै रूपमा आफ्नो संलग्नता देखाउने र अरूलाई धोइपखाली गर्ने, ससुरालीतिरका सात पुस्ता र मावलीतिरका एघार पुस्तासम्मको फुर्तीफार्ती देखाउने, आफ्नो जे कुरा पनि बढाइचढाइ गर्ने अर्काको जतिसुकै राम्रो काम पनि घटाइओरालाइ गर्ने प्रवृत्तिको प्रचुरता पनि यिनैमा पाइन्छ । त्यो तपाईं भए पनि गर्नुहुन्छ, मपाईं भए पनि गर्छु । सनातनदेखि चलिआएको संस्कार र संस्कृतिलाई त्याग गरिहाल्न अरू जो कोही तयार छैनन् भने तपाईं र मपाइँ मात्र त्यसका लागि किन अघि सर्ने ? नसर्ने ।

सत्ता प्राप्तिका लागि हातहतियार देखाएर धम्क्याउने हुन् वा सत्याग्रहको बिछ्यौना ओछ्याएर सडकमा पसारो पर्ने नै किन नहुन्, ती सबैको पराक्रम र पौरख भनेको अन्ततोगत्वा धाकधक्कु नै हो । धाकधक्कुको मूल कर्म र अभीष्ट कुर्सीको कठालो नै हो । हात नपरून्जेलको कोकोहोलो हो । सत्तामा नपुगुन्जेलको रोइलो हो । सत्तामा पुगेपछि सुँगुरले आफ्ना पाठापाठीलाई आफ्नो छाती चुसाए जस्तै आफ्नाका लागि राष्ट्र चुसाउन ती सबै तल्लीन हुन्छन् । हानथाप गर्छन् । अर्काले देख्छ कि भनेर धाकधक्कुको हतियार प्रयोग गर्छन् । त्यस्तो धाकधक्कु निर्वाचन घोषणापत्र, स्थान, उपस्थिति र प्रसङ्गअनुसारका भाषण, दलीय बैठक आदिका अवसर पारेर खोकिन्छ । त्यस्तो खोकाइ खोकाइमै सीमित हुन्छ, कार्यान्वयनमा पुग्दैन । अनि कहाँबाट जन्मभूमिको माटो उर्वरिनु र देश बन्नु । अनि त्यसपछि कुरो गर्‍यो कुरैको दुःख भन्यो यताउति गर्‍यो सिद्धियो । आखिरमा बाँकी रहन्छ उही धाकधक्कु । उही रोबरबाफ । उही ताइ न तुइको फुर्तीफार्ती । अनि उही विगतमा कहिले कहिले हिङ पोको पारेको रित्तो टालो ।

कुरो माथिबडाको मात्र किन गर्नू ! तपाईं हामी जस्ता बिचबडाको पनि गरूँ न । बिचबडाका तपाईं हामी जस्ता मान्छे पनि धाकधक्कुको कुरा गरेर कसैलाई धम्क्याउन पायौँ भने दलका नेताभन्दा पनि दसगुना बढी उफ्रिन्छौँ । बिस गुना बढी मडारिन्छौँ । अनि आपूmभन्दा बढी धाकधक्कु लगाउने फेला पार्‍यौँ भने वास्तविकताभन्दा चालिस गुना बढी चाउरिन्छौँ पनि । यस्तो छ हाम्रो धाकधक्कुको सनातनता । यस्तो सनातनता यो टोल ऊ टोलमा मात्र होइन, सबैतिर छ । बालुवाटारको पनि उही गति, रुम्जाटारको पनि उही गति । कुरो सल्यानटारको होस् कि स्युचाटारको, कुनै फरक छैन । कुरो खोज्दै जाने हो भने जुन गति भुरुङखेलको सोही गति लगनखेलको । जुन गति बडीखेलको उही गति धापाखेलको । विगतका राजमार्गलाई वर्तमानमा लोकमार्ग भनेर के के न परिवर्तन गर्‍यौँ भन्दै आत्मरतिमा रमाउनेहरू सबैका सबै तोलामा फरक होलान्, केजीमा कोही छैनन् । अनि यिनका हैसियत र धाकधक्कुको के कुरा गर्नू ?

‘तपाईं राजनीतिका मात्र कुरा गर्नुहुन्छ !’ भनेर जो कसैले प्याच्च आरोपको धोक्रे फिँजार्न सक्छ । त्यसलाई पनि अन्यथा मानिनुहुन्न । त्यसो भन्न पाउने अधिकार तपाईंहरूमा पनि छ, मपाईंहरूमा पनि छ । त्यही भएर त्यस आरोपबाट मुक्ति पाउन राज्य संयन्त्रभित्रका प्रशासनतन्त्रभित्र पनि आँखा डुलाऊँ । राज्य संयन्त्रको प्रशासनतन्त्रभित्र पनि अनेकौँ धाक, धम्की र हैकम जमाउन विभिन्न बहानामा भोलि भोलि र पर्सिपर्सि भन्ने जमातको उपस्थिति कम छैन । निरङ्कुशताको झल्को दिने हैकमवादी पदमा बसिसकेका कतिपय मनुवाहरू त्यस्ता पदभन्दा कति माथि पुगिसक्दा पनि आपूmले विगतमा त्यो हैकमवादी पदमा बसेको कुरा कुनै न कुनै रूपमा प्रसङ्ग मिलाएर बताउन पछि पर्दैनन् । म फलाना ठाउँमा सिडिओ हुँदा, म फलाना ठाउँमा सिडियो हुँदा, म फलाना ठाउँमा सिडिओ हुँदा भनेर दिक्क पार्ने गरी गफ हाँक्ने महानुभावहरूको सङ्ख्या प्रशस्तै भेटिन्छ । प्रशासन संयन्त्रभित्रको उच्चतम पद सचिव, मुख्य सचिव मात्र नभएर विभिन्न आयोग वा अरू यस्तै निकायमा नियुक्ति पाएका पदाधिकारी वा प्रमुख पदाधिकारीमा बहाल रहेका मानिस पनि आफ्नो वर्तमान हैसियत बिर्सेर सिडिओ भनेको के के न हो भैmँ गरी म फलाना ठाउँमा सिडिओ हुँदा भन्ने प्रसङ्ग दिनै जस्तो निकालिरहेका भेटिन्छन् ।

चालीस वर्ष नोकरी गर्दा छ महिना वर्ष दिन सिडिओ भएको छ भने पनि अरू सबै सेवा अवधि बिर्सेर सिडिओकै रटान लगाइरहेका हुन्छन् । म गृहमा हुँदा फलानो यस्तो थियो, ढिस्कानो यस्तो थियो भन्नेहरू पनि थुप्रै भेटिन्छन्, जसले कहिल्यै सिडिओ हुने मौका पाएनन् । त्यसैले जतिसुकै प्रजातान्त्रिक/लोकतान्त्रिक व्यवस्था भए पनि डन्डाधारी शक्तियुक्त पदमा बसेका क्षण उनीहरू कहिल्यै बिर्सँदैनन् । अझ कतिपय त चालिस बर्से नोकरीमा एक महिना सिडिओ भएको छ भने पनि म पूर्व सिडिओ भनेर आफ्नो परिचय प्रदर्शन गर्न भ्याइहाल्छन् । परिचय गराउनेले पनि उहाँ पहिलाको सिडिओ सा’ब भनेर परिचय गराउँदा उनीहरू आपूmलाई जमिनबाट एक फिटमाथि उचालिएको अनुभूति गर्छन् । टोल छिमेकमा पनि यो फलानाको निवास, यो ढिस्कानाको निवास भनेर यस्तै स्वरूपका पदलाई प्राथमिकतामा राखेर परिचय बाँडिरहेका हुन्छन् । यो रोग सेना, प्रहरी र अरू यस्तै प्रकृतिका पूर्व पदाधिकारी सबैका हकमा लागू हुन्छ । यस्ता विसङ्गति सामान्य जस्तै बनेका देखिन्छन् ।

एक जना यस्ता शाखा अधिकृत तहका मान्छे पनि भेटिएका थिए जो विगतमा अञ्चलाधीश कार्यालय हुँदा उपल्ला तहका सबै पदाधिकारी कार्यालय बाहिर गएको अवस्थामा उनलाई निमित्त अञ्चलाधीश भएर काम गर्ने पत्र दिइएको रहेछ । त्यसपछि उनी जहिले पनि अरूसँग परिचय गर्दा म फलानु अञ्चलमा निमित्त अञ्चलाधीश भएर काम गरेको मान्छे भन्थे । कसैले प्रश्न उठाउला भनेर उनी उनलाई निमित्त अञ्चलाधीश दिइएको पत्र सुरक्षितसाथ साथमै राखेका हुन्थे र आवश्यक परे प्रमाणका लागि सगर्व देखाउँथे पनि । यी शाखा अधिकृतको के कुरा गर्नू ! विगतमा अञ्चलाधीश भएका कतिपय मान्छे हामी त राजाका मान्छे, जो पायो उहीसँग कुरा गरेर आफ्नो मर्यादा घटाउनु हुन्न भनेर परिवारका सदस्यलाई दीक्षा दिइरहेका हुन्थे ।

यस समाजमा एउटा यस्तो पूर्व प्रधानपञ्च पनि भेट भएको थियो । उनी आफूले के के न ठूलो काम गरेँ भनेर विगतमा उनले गरेका कतिपय किर्ते कामको फेहरिस्त निर्धक्कसाथ बक्थे । अरूका हस्ताक्षर आफैंले गरेकादेखि विभिन्न कामदारको ल्याप्चे सहिछाप आफ्नै हात र गोडाका औँलाले भ्याएको, कसैले पत्तै पाएनन् भनेर नाक फुलाउँथे । विगतका यस्ता धाकका धोक्रा मौका पर्दा व्यापारीले पनि फुकाउँथे, ठेक्कापट्टाका ठेकेदारले पनि फुकाउँथे, चिकित्सक, इन्जिनियर, नर्स आदि पेसा व्यवसायका मानिस पनि यस्तो धोक्रो फुकाउन पछि पर्दैनथे । घुमफिरकै सिलसिलामा एउटा यस्ता महानुभाव पनि फेला परेका थिए जो आपूmलाई पहिला संसद् सदस्यको निर्वाचनमा उमेदवारको दरखास्त पेस गरेर पछि फिर्ता लिएको मान्छे म भनेर आफ्नो परिचय पस्किन्थे । हेर्नुस् त धाकधक्कुको मोडल र तौरतरिका !

घर व्यवहारमै पनि यस्ता कुरा नभेटिने होइनन्, प्रशस्तै भेटिन्छन् । बाउ उमेरका बेलामा मैले यसो गरेँ, उसो गरेँ, तिमीहरूले सकेनौ भनेर छोराछोरीलाई धाक लगाइरहेको हुन्छ । आमा त्यसै गरी धाकधक्कुले बुहारीको पोल्टो भरिरहेकी हुन्छे । हामी पनि बुहारी भएर काम गरेका हौँ, तिमीहरू जस्तो हो ? भनेर सासू स्वरूपमा विगतका नाममा बुहारी पुराण सुनाइरहेकी हुन्छे । दाइले भाइलाई, दिदीले बहिनी र बूढाले युवाहरूलाई पनि यस्ता पुराण सुनाउने काम यत्रतत्र भेटिन्छ । शिक्षकले विद्यार्थीलाई र विद्यार्थीले पछिका विद्यार्थीलाई पनि यस्तै धाकधक्कु लगाइरहेका हुन्छन् । सकेका ठाउँमा सबैले सबैलाई धाक लगाउँछन् । धक्कुले वाक्कदिक्क पार्छन् । फलानो मैले गर्दा यति सिपालु भएको, यति माथि पुगेको भनेर धाक लगाउनेहरू समाजका हरकुनामा डुक्रिरहेका हुन्छन् । अर्काले अर्कालाई बनाएर हुने भए यहाँ सबै राम हुन्थे, सीता हुन्थे । कृष्ण हुन्थे, राधा हुन्थे । बुद्ध हुन्थे, गान्धी हुन्थे । साहित्यमा शेक्सपियर वा अरू यस्तै हुन्थे ।

धाकको धोक्रो फुकाइरहँदा कसैले पनि यस्ता कुरा बोध गरिरहेका हुँदैनन् । त्यसैले धाकका धोक्राहरू यहाँ दिन प्रतिदिन पुजिइरहेकै छन्, अग्लिइरहेकै छन् । समाजभित्र उदाङ्गो अवस्थामा विराजमान यस्ता धाकका धोक्राहरूका सामु छुच्चो बनेर कुर्लनुभन्दा बरु तिनकै गुणगान र प्रशंसा गर्नुमा यतिखेर सबैको कल्याण छ । त्यसैले धाकका धोक्राहरूलाई सबैले एक स्वरमा भनौँ -धाकका धोक्राहरूको सदैव जय होस् ।

०००
‘सुरभि’ १३५, हास्यव्यङ्ग्य विशेष (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
अर्दलीको खोजखबर

अर्दलीको खोजखबर

पिँडालु पण्डित
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x