फित्काैली डटकमफिट्टु पर्याबेला विश्व शाक्य, पोखराको फिट्कौलीसँग फित्कौली वार्ता
हास्यव्यङ्ग्य आगोसँग खेल्ने खेल हो । अलिकति तलवितल परे कहिले अरूलाई पोल्छ, कहिले आफैलाई पोल्छ ।

नेपाली हास्यव्यङ्ग्यको स्वणर्काल भन्न सकिने समयावधि हो २०२० देखि २०३० को दशक । भैरव अर्यालको हास्यव्यङ्ग्य लेखनले सर्वाधिक उचाइ यही कालखण्डमा प्राप्त गरेको हो । पोखराका विश्व शाक्यको हास्यव्यङ्ग्य यात्रा पनि यहीँबाट आरम्भ भएको देखिन्छ । वि.सं.२०२५ सालमा ‘माछापुछ्रे’ मा ‘हामी लाम्खुट्टे र भ्यागुतोका सन्तान’ निवन्ध प्रकाशित भएपछि आफ्नो हास्यव्यङ्ग्य लेखनको यात्रा आरम्भ भएको बताउनु हुन्छ उहाँ । शाक्य पेशाले फोटो ग्राफर हुनुहन्छ । उहाँका ‘कृष्ण उवाच’ (२०३८), ‘पुड्के मान्छेका पुड्का कविता’ (२०५०), ‘कस्तो गधा रहेछ’ (२०५०), ‘यमराको निम्तो’ (२०५४), ‘पशुमहापुराण’ (२०५७), ‘विकासे च्याङ्ग्रो’ (२०५९), ठेट्नै ठेट्ना (२०६१), ‘मेस्टर मोमो’ (२०६५), ‘फुट््या आँखा’ र ‘सोझा तस्वीर ः बाउँटा कुरा’ लगायत झण्डै एक दर्जन हास्यव्यङ्ग्य कृति प्रकाशित भइसकेका छन् । प्रस्तुत छ भैरव पुरस्कारद्वारा पुरस्कृत विश्व शाक्यसँग फित्कौली डटकमले गरेको फित्कौली वार्ता ।
दिनचर्या कसरी बित्दै छ हँ ?
– बिहान भएपछि उठ्छु । रात परेपछि सुत्छु । अनि फेरि उठ्छु, अनि फेरि सुत्छु यस्तैछ ।
विश्व शाक्यको विचारमा हास्यव्यङ्ग्य के हो ?
– हास्यव्यङ्ग्य आगोसँग खेल्ने खेल हो । अलिकति तलवितल परे कहिले अरूलाई पोल्छ, कहिले आफैलाई पोल्छ ।
हास्यव्यङ्ग्य लेखनमा कसरी प्रवेश गर्नु भयो ?
– हास्यव्यङ्ग्य लेखनमा प्रवेश गर्या होइन, हास्यव्यङ्ग्य लेखन नै ममा प्रवेश गर्या हुन् ।
स्कुले जीवनमा पनि हास्यव्यङ्ग्य कविता निबन्ध लेख्नुभएको थियो कि ?
– हो ¤ स्कुले जीवनबाटै लेख्न थाल्या हो । गाली खान थाल्या पनि उनताकबाटै हो । स्कुले जीवनमा कविता लेख्न थालियो भने कलेज पढदाताकाबाट निवन्ध लेख्न थालिए । यी २०२० को दशकका कुरा हुन् ।
तपाइँको पहिलो प्रकाशित हास्य वा व्यङ्ग्य रचना कुन हो, केमा कहिले छापियो ?
– मेरो पहिलो प्रकाशित रचना ‘हामी लाम्खुट्टे र भ्यागुतोका सन्तान’ निवन्ध हो । तात्कालिक कलेजको साहित्यिक प्रकाशन ‘माछापुछ्रे’मा वि.सं.२०२५मा छापिएको थियो ।
एउटा फोटोग्राफर हास्यव्यङ्ग्यमा रमाउने पस्थिति कसरी निर्माण भयो ?
– कला, साहित्य (हास्यव्यङ्ग्य) र फोटोग्राफी मेरामा सँगसँगै पस्या हुन् । त्यो बेला वातावरण नै त्यस्तै बन्यो । सायद मभित्र उत्सुकताको भण्डारण थियो । मलाई हर कुराहरूले छुन्थे । तिनलाई खोजीनिती गर्थेँ । यही खोजीनितीका क्रममा विस्तारो विस्तारो म कला, साहित्य र फोटोग्राफीमा लहसिंदै गएँ । मेरा सिर्जना यात्रामा फोटोग्राफी पेट पाल्ने मेसोमा प्रवल भए भने कला र साहित्य फोटोग्राफीमै मिसिन पुगे । त्यही भएर मेरा फोटोग्राफीमा कला र व्यङ्ग्यको चेत पाइन्छ भन्छन् भन्नेहरू ।
फोटोग्राफी र हास्यव्यङ्ग्य लेखन कुनमा बढी मजा ?
– फोटोग्राफीमा मजा । फोटोग्राफीमा मान र ताली पाइन्छ, हास्यव्यङ्ग्य लेख्ता गालीमात्र पाइन्छ ।
मोबाइल प्रविधिले त तपाइँको फोटो स्टुडियोलाई सुकाइदियो नि ?
– मोवाइल प्रविधि आउनुभन्दा अगाडि ६० को दशकको प्रारम्भसँगै फोटोग्राफीमा डिजिटल प्रविधि आइसकेको थियो । मैले फोटोग्राफी व्यवसाय छोड्नु र डिजिटल प्रविधि भित्रिनु सँगसँगैजस्तो भएको थियो । त्यसैले पछि आएको नयाँ प्रविधिले मलाई खासै टाउको दुखाइ भएन । उसो त नयाँ प्रविधिसँग पनि लाहाछापे नै हुन त पर्या छैन । धेर थोर जानकारी त राखिएकै छ ।
तपाइँका धेरै रचनामा बुद्धदर्शन र बौद्धकालीन सन्दर्भको प्रसङ्ग आउने गरेका छन् । बुद्धमार्गी तर व्यङ्ग्यकार यो कसरी सम्भव भयो ?
– म जन्मले बुद्धमार्गी हुँला तर व्यवहारले बुद्धमार्गी भएको पचासको प्रारम्भिक दशकबाट हो । पचासको दशक अगाडिका हास्यव्यङ्ग्य रचनाहरूमा बुद्ध शिक्षाका प्रभाव न्यून पाइन्छ तदनुपरान्तका रचनामा बुद्धदर्शन र शिक्षामा देखिएका विकृति विसङ्गति विरुद्ध पनि कलम चलाएको सत्य हो । मेरा ती रचनाहरू कुनै जाती, धर्म, वर्ग विशेषलाई होच्याउने नभएर ती क्षेत्रमा देखापरेका विकृति विसङ्गति सुधार तर्फका सङ्केत हुन्थे । तर पच्य कस्लाई पो हुन्थ्यो ? बौद्धमार्गी हुनुको मतलब विकृति विसङ्गति र अन्याय अत्याचारमा मूकदर्शक भएर बस्नु वा हेर्नु कर्तव्य होइन । तर व्यक्ति वा समाजमा हुने, भएका विकृति, विसङ्गतिका बारेमा लेख्ता वा बोल्दा ती लेख्ने वा बोल्ने व्यक्तिको मानसिक चेत कुन अवस्थाको छ त्यसमा निर्भर गर्दछ । यदि कसैले मनमा आक्रोश, क्रोध र बदलाको भाव लिएर लेख्ने वा बोल्ने काम गर्छ भने त्यो बौद्ध चरित्रको भएन । होइन पवित्र मनले समाजको भलो कल्याणको उद्देश्य राखेर सबैको भलो कल्याणका लागि विकृति विसङ्गतिका बारे कसैलाई नबिज्ने गरी लेख्छ बोल्छ भने त्यसलाई अन्यथा मान्नुपर्ने हुन्छ भन्ने लाग्दैन ।
तपाइँको हास्यव्यङ्ग्य लेखनलाई डोर्याउने मुख्य धरातल चाहिँ कुन हो ?
– सामाजिक, राजनैतिक, धार्मिक र आर्थिक विकृति विसङ्गतिहरू ।
घरपरिवारमा ठाकठुक पर्दा पनि व्यङ्ग्य वार्ता हुने गरेको छ कि ?
– ठाकठुक त ठाकठुक नै भइहाल्यो नि । त्योभन्दा अधि पछि पो व्यङ्ग्यको कुराले ठाउँ पाउने होला होइन र ?
नेपाली हास्यव्यङ्ग्य लेखनको अबको बजार कस्तो देख्नु हुन्छ ?
– कस्तो माहोलमा राजनीतिको बजार गरम हुन्छ, कस्तो वातावरणमा राजनीतिको हावा बहन्छ त्यसै अनुपातमा हास्यव्यङ्ग्यको बजार पनि गरम हुन्छ । हास्यव्यङ्ग्य लेखकहरू आफैले विशिष्टता हासिल गरेर साहित्यकार भैटोपलिएका कमै भेटिन्छन् । महान बनाइदिनु पर्छ अनि बल्ल महान बन्छन् । अन्यथा साहित्यिक जगतले हास्यव्यङ्ग्य लेखकहरूलाई साहित्यकार नै मान्दैनन् । यस्तो अवस्थामा हास्यव्यङ्ग्य बजारको आंकलन कसरी गर्ने ?
भैरव पुरस्कार पाउँदाको अनुभूति कस्तो रह्यो ?
– “बेल पाकेर कागलाई हर्ष न विस्मात” त्यस्तै भयो ।
‘मिस्टर मोमो’ पछि अर्को कुनै कृति प्रकाशित हुँदै छैन ?
– “मिस्टर मोमो” पछि ‘फुट्या आँखा’ र ‘सोझा तस्वीर : बाउँटा कुरा’ भए । मोमोको स्वाद लागेको तपाइँका जिब्रामा फुट्या आँखा पटक्कै लागेनछ ।
फित्कौलीले यो चाहिँ कुरो सोधि दिए हुन्थ्यो भन्ने लागेको कुनै प्रसङ्ग ?
– त्यस्तो केही छैन । सबै परिपूर्ण भरिपूर्ण छ ।
०००
प्रस्तुित : फित्काैली डटकम
५ भदौ २०७९
Subscribe
Login
0 Comments
Oldest












































