सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

‘सत्ताको खोजमा’ एकाङ्कीको समालोचना लेख्दा पक्राउ

विजय मल्लको ‘सत्ताको खोजमा’ शीर्षक एकाङ्कीको समालोचना लेखेको थिएँ । त्यो विर्तामोडको नयाँ कामना नामक पत्रिकामा छापिएको थियो । सोही सिलसिलामा सत्ता हडप्ने अरोपमा म पक्डाउ परें । पाठ्यपुस्तक मगाएर देखाएपछि मात्र बल्लबल्ल छुटेंको थिएँ । - हास्यव्यङ्ग्यकार कोमलप्रसाद पोखरेल

Nepal Telecom ad

हास्यव्यङ्ग्यकार कोमलप्रसाद पोखरेल :

मीनारुपा र रामनाथ पोखरेलका सुपुत्र कोमलप्रसाद पोखरेल वि.सं. १९९९ असार ३ गते तोरीबारी, इलाममा जन्मिनुभए पनि हाल सुरूङ्गा, झापाका स्थायी वासिन्दा हुनुहुन्छ । प्राध्यापन सेवाबाट निवृत पोखरेलले स्नातकोत्तर तहसम्मको औपचारिक शिक्षा प्राप्त गर्नुभएको छ । २०२० सालमा ‘शिरमाथि नेपाल आमालाई’ शीर्षकको कविता प्रकाशनपछि नेपाली साहित्यमा प्रवेश गर्नुभएका पोखरेलको पहिलो कृति ‘मेरो सूर्य’ (२०५१) प्रकाशित भएको थियो । उहाँका ‘हाउडे पुराण’ (२०५२) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह, ‘अन्तरव्यथा  : आजको’ (२०६०) कथासङ्ग्रx, ‘फर्केर आएँ युएसएबाट’ हास्यव्यङ्ग्य प्रधान कवितासङ्ग्रह लगायत झण्डै आधा दर्जन कृति प्रकाशित छन् । सुललित छन्दमा बेजोड व्यङ्ग्य कविता सिर्जनाका स्रष्टा पोखरेल प्रखर समालोचक पनि हुनुहुन्छ । झापाबाट प्रकाशित भएका धेरै कृतिहरूमा समालोचकीय भूमिका लेख्नुहुने पोखरेललाई केही समयअघि फित्कौलीले उहाँको निवास सुरूङ्गामै फेला पारेको थियो । यस अङ्कमा प्रस्तुत छ पोखरेलसँगको फित्कौली वार्ता- सम्पादक ।)

फित्कौलीः बुढ्यौली वय टेक्नु भएको पनि निकै भयो । दिनचर्या कसरी बित्दै छ ?
कोमलः सकेका बेला सिर्जना गर्छु, नसकेका बेला सिर्जना पढ्छु ।

फित्कौलीः बुढ्यौली वयमा देखिने समस्या बाहेक अरु कुनै स्वास्थ्य समस्या पनि झेल्दै हुनुहुन्छ कि ?
कोमलः ब्लड प्रेसर, थाइराइड, दम, प्रोस्टेड आदि समस्या झेल्दै छु सर ! बेला बेला यिनीहरूसँग कुस्ती नै पर्ने गरेको पनि छ ।

फित्कौलीः हास्यव्यङ्ग्यकार कोमल पोखरेलको विचारमा हास्यव्यङ्ग्य के हो ?
कोमलः मेरा विचारमा हास्यव्यङ्ग्य चिमोटेर हँसाउने कला हो । यसको सैद्धान्तिक सन्दर्भमा आधारित भएर फित्कौलीसँग जमेरै कुरा गर्न मन छ । गरौँला कुनै बेला ।

फित्कौलीः तपाइँको मूल्याङ्कनमा नेपाली हास्यव्यङ्ग्यको अहिलेको अवस्था कस्तो देख्दै हुनुहुन्छ ?
कोमलः हास्यव्यङ्ग्यका बोटमा लटरम्म लागेका चिचिलाले यसको भविष्य उज्वल हुने देखाएको छ । फित्कौलीले हाल्दै गरेको अर्ग्यानिक मलले फल राम्ररी पाक्नेछ भन्ने कुरामा विश्वस्त छु ।

फित्कौलीः यहाँका प्रायजसो सिर्जना हास्यव्यङ्ग्यात्मक नै देखिन्छन् । हास्यव्यङ्ग्य अभिव्यञ्जनालाई नै किन प्राथमिकता दिनुभयो ? उत्प्रेरणाका कुनै घटना भए उल्लेख गरिदिनोस् न ।
कोमलः इलामबाट २०२५ सालमा निस्किएको सौगात पत्रिकामा मेरो सङ्कल्प शीर्षक हास्यव्यङ्यलाई धेरैले मन पराए । यही नै मेरा लागि पहिलो उत्प्रेरणा हो । त्यसपछि मलाई यतैतिर रुचि जाग्यो । अहिलेसम्म यतै रमाउँदै छु ।

फित्कौलीः जर्जर पञ्चायती कालमै पनि यहाँका हास्यव्यङ्ग्य सिर्जना र कृति प्रकाशित भएका छन् । यस किसिमको लेखनका कारण प्रशासनिक दमन या अरु कुनै समस्या झेल्नु परेको थियो कि ?
कोमलः विजय मल्लको ‘सत्ताको खोजमा’ शीर्षक एकाङ्कीको समालोचना लेखेको थिएँ । त्यो विर्तामोडको नयाँ कामना नामक पत्रिकामा छापिएको थियो । सोही सिलसिलामा सत्ता हडप्ने अरोपमा म पक्डाउ परें । पाठ्यपुस्तक मगाएर देखाएपछि मात्र बल्लबल्ल छुटेंको थिएँ ।

फित्कौलीः आज फर्केर हेर्दा शिक्षण, लेखन, सम्पादन र प्रकाशन सँगसँगै कसरी सम्भव भयो होला जस्तो लाग्दैन ?
कोमलः शिक्षण बाध्यता थियो भने लेखन र प्रकाशन रूचिका विषय थिए, त्यसैले यी तीन संगसंगै गएका हुन् ।

फित्कौलीः त्यो बेलाको लेखन प्रकाशनसँग सम्बन्धित कुनै अविस्मरणीय घटना भए सम्झिदिनोस् न ?
कोमलः २०२० सालमा ‘आमा’ पत्रिकामा मेरो पहिलो कविता छापिंँदा म जति खुसी कहिल्यै हुन सकिनँ ।

फित्कौलीः तपाइँको पहिलो प्रकाशित हास्य वा व्यङ्ग्य रचना कुन हो, के मा र कहिले छापियो ?
कोमलः सङ्कल्प (सौगात मासिक २०२५), प्रकाशक- इलाम जिल्ला पञ्चायत ।

फित्कौलीः हास्यव्यङ्ग्यकै कोटीमा गणना गर्न मिल्ने तपाइँका कृतिहरू कुन कुन हुन् ?
कोमलः ‘हाउडी पुराण’ (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह- २०५२), ‘म फर्केर आएँ’ (हास्यव्यङ्ग्य कवितासङ्ग्रह- २०७८), अर्को एउटा हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशोन्मुख ।

फित्कौलीः हास्यव्यङ्ग्य लेखनकै कारण के कस्ता औपचारिक पुरस्कार वा सम्मान पाउनु भएको छ ? सम्मान पुरस्कार पाउँदाको अनुभूति ?
कोमलः हास्यव्यङ्ग्य कविता र निबन्धमा पुर्‍याएको योगदानको कदर गर्दै लेखनाथ पुस्तकालयले रु. ५०,०००/ को श्रीप्रसाद ओली स्मृति पुरस्कार प्रदान गरेका क्षणमा आफू हास्यव्यङ्ग्य लेखक भएको सुखद अनुभूति भएको थियो ।

फित्कौलीः तपाइँको हास्यव्यङ्ग्य लेखनलाई डोर्‍याउने मुख्य धरातल चाहिँ कुन हो ?
कोमलः समाज र देशमा हुने गरेका विकृति र विसङ्गतिहरू ।

फित्कौलीः त्यो बेलाको हास्यव्यङ्ग्य लेखन र अहिलेको लेखनमा के भिन्नता देख्नुहुन्छ ?
कोमलः उहिलेभन्दा अहिले हास्यव्यङ्य लेखनका विषयवस्तु धेरै पाउन सकिन्छ ।

फित्कौली : अहिलेको अवस्थामा हास्यव्यङ्ग्य लेखनले उधिन्नुपर्ने बेथितिहरू कुन कुन होलान् ?
कोमलः अहिलेको जल्दोबल्दो बेथिति घुसखोरी र भ्रष्टाचार नै हो जस्तो लाग्छ ।

फित्कौली : साहित्य सिर्जनामा लागेर के के पाउनु भयो, के के गुमाउनु भयो ?
कोमलः मैले प्राप्त गरेको कुरा आनन्दानुभूति नै हो । केही गुमाए जस्तो लाग्दैन ।

फित्कौलीः आजका हास्यव्यङ्ग्य सिर्जनामा क्रियाशील स्रष्टाहरूलाई के सल्लाह दिनुहुन्छ ?
कोमलः उहाँहरूलाई भैरव अर्यालजस्तो हास्यव्यङ्ग्यकार बन्न अनुरोध गर्दछु ।

फित्कौलीः फित्कौलीले यो चाहिँ कुरो सोधि दिए हुन्थ्यो भन्ने लागेको कुनै प्रसङ्ग ?
कोमलः सबै कुरा सोधिएका छन् । फित्कौलीलाई हृदयतः साधुवाद ।

०००

फित्काैली, पूर्णाङ्क ४१, (२०८१ वैशाख-जेठ)

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
उत्तरआधुनिक दशैँं

उत्तरआधुनिक दशैँं

रामप्रसाद पन्थी
ङिच्चपुराण

ङिच्चपुराण

रमेश समर्थन
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
0
Would love your thoughts, please comment.x
()
x