सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हास्यव्यङ्ग्यको सैद्धान्तिक सन्दर्भ (१)

Nepal Telecom ad

विषय–प्रवेश 

शक्तिवल्लभ अर्यालदेखि आरम्भ भएको नेपाली हास्यव्यङ्ग्य लेखनले धेरै घुम्ती र मोडहरू पार गरिसकेको छ । नेपाली साहित्यको विधागत स्वरूप पनि नबनिसकेको अवस्थादेखि नै हास्यव्यङ्ग्य शैली अपनाएर लेख्ने गरिएको यथार्थ साहित्यको इतिहासमा अङ्कन भएकै छ । नेपाली भाषाको लेखन–परम्परा आरम्भ हुनुभन्दा अझ अगाडि पूर्वमा संस्कृत र पश्चिममा अङ्ग्रेजी विद्वान्हरूले साहित्यका सन्दर्भमा हास्यव्यङ्ग्य शैलीको स्वरूप र सिद्धान्तबारे प्रशस्त चर्चा गरेका छन् । साहित्यमा भाव, अनुभूति एवम् अनुभव अभिव्यक्त गर्ने विविध शैलीहरू हुन्छन् । स्रष्टा आफ्नो रुचि, क्षमता र अभ्यस्तताका आधारमा शैलीको छनौट गर्दछ । कोही गद्यलाई अपनाउँछ, कोही पद्यमै रमाउँछ । कोही छन्दमा बग्दछ, कोही बेछन्दमै पोखिन्छ । यसरी साहित्यका विभिन्न विधाहरू मौलाएका छन्, पन्पिएका छन् । अध्ययन गर्ने र ग्रहण गर्नेहरू पनि आफ्नो रुचिअनुरूप छनौट गर्दछन् । विभिन्न विधा तथा शाखामा छरिएका रचना–सृजनाको समुच्च रूप नै साहित्य हो । साहित्यमा प्रयुक्त विविध शैलीहरूमध्ये हास्यव्यङ्ग्यात्मक शैलीलाई एउटा विशिष्ट शैली मानिन्छ । यो अरू शैलीभन्दा बढी प्रभावकारी, मनमोहक, आल्हादकारी हुने गरेको छ । यस आलेखमा हास्यव्यङ्ग्यसम्बन्धी केही आधारभूत सन्दर्भहरूका बारेमा सङ्क्षिप्त प्रकाश पारिने छ ।

हास्यव्यङ्ग्य : सङ्क्षिप्त परिभाषा
हाँसो मानिसको खुसी, रमाइलो तथा सुखद अनुभूति प्रकट हुँदा शारीरिक अवयव खासगरी अनुहारमा देखिने भाव स्फोटनको क्रियात्मक रूप हो । यसलाई मानिसको जन्मजात र प्राकृतिक गुण (भट्टराई : हास्य र व्यङ्ग्यको सैद्धान्तिक स्वरुप, स्नातकोत्तर शोधपत्र २०४४, त्रि.वि. नेपाली विभाग, कीर्तिपुर, पृ. ९ ।) विशेष पनि मानिँदै आएको छ । यो एक प्रकारको मानवीय सम्वेगको प्रकटीकरण हो । दुःखद अनुभूतिको प्रकटीकरण रोदन वा रुवाइबाट भएजस्तै सुखद अनुभूतिको प्रकटीकरण हाँसो वा हँसाइबाट हुन्छ । मानिसबाहेक अरु प्राणीमा खुशी अभिव्यक्त गर्ने यस किसिमको क्रियात्मक रूप देखिन्न । त्यसकारण हाँसो विशुद्ध मानवीय गुण हो । मानिस जीवनभर हाँस्न चाहन्छ । आधुनिक समाजशास्त्रीहरू हाँस्न पाउनु मानिसको नैसर्गिक अधिकार हो भन्दै व्याख्या गर्दछन् भने आधुनिक उपचार पद्धतिमासमेत हाँसोले शारीरिक विकारलाई नियन्त्रण गर्न सकिन्छ भन्ने सोच विकसित भएको पाइन्छ ।

हाँसो मानव जीवनको प्राकृतिक गुण हो । हाँसो बेगरको जीवन एकदमै निरर्थक, निस्सार र निरस मानिन्छ । हास्य बिनाको जीवन जीवन नै होइन । अतएव जीवनमा हास्यलाई “एक जीवन शक्ति, जीवनरसको परिपोषक, दुःख सुख सहजतासाथ झेल्न सक्ने क्षमता आदिको रूपमा हेर्ने गरिन्छ । (डा. चतुर्वेदी, बरसानेलाल : हिन्दी साहित्यमे हास्य रस हिन्दी साहित्य संसार, ई. १९६३, नया दिल्ली, पृ. १३ ।) उन्मुक्त हाँसोले मानसिक तनावलाई नष्ट गर्दछ, रिस मर्छ, डर हराउँछ र चित्त प्रशन्न हुन्छ । तनावमुक्त भएपछि मानिसको सृजना शक्ति बढ्छ । (चट्याङ मास्टर– उन्मुक्त हाँसोको महत्व, सिस्नुपानी, बोट– १, झ्याम्टो– २, सिस्नुपानी नेपाल, २०५५, अशोज–कार्तिक, काठमाडौँ, पृ. २७ ।) यसरी जीवनको सार्थकतालाई स्वीकारिएको हास्य मानिसको शारीरिक र मनोगत क्रियासँग सम्बन्धित छ र हास वा हाँसो स्थायी भाव रहने र परिहास (हँस्यौली–ठट्यौली) को क्रीडा विनोदको अनुभवलाई पनि समेट्ने उज्ज्वल आनन्दमय सञ्चेतना मानिन्छ । (प्रा.डा. त्रिपाठी, वासुदेव : प्रज्ञा वर्ष २३, पूर्णाङ्क ८० हास्यव्यङ्ग्यको सैद्धान्तिक सन्दर्भतर्फ, २०५१, फागुन–जेठ ने.रा.प्र.प्र., काठमाडौं, पृ. ८२ ।)

हाँसो जीवन सादृश्य साहित्यमा पनि प्रविष्ट हुँदै आएको छ । पूर्वीय साहित्य शास्त्रमा नौवटा रसमध्ये हास्यलाई एउटा रस मानिएको छ । रसका विषयमा शास्त्रीय चर्चा गर्ने संस्कृत साहित्य शास्त्रका आदिआचार्य भरतमुनिले हास्यलाई श्रृङ्गारको अनुकृति मानेका छन् । (भटृराई, भरतकुमार : पूर्ववत्, पृ.९ (मा प्रस्तुत उद्धरणबाट)।) उनीपछिका धनञ्जय, विश्वनाथ आदि साहित्याचार्यहरूले भने विकृत आकार, बोली–वचन, भेष–भुषा, चेष्टा आदिद्वारा हास्य रसको आविर्भाव हुन जान्छ भनेका छन् । (भटृराई, भरतकुमार : पूर्ववत् ।) भारतीय विद्वान् रामदहिन मिश्रले हास्य सृष्टिका निम्ति असङ्गतिलाई आवश्यक ठानेका छन् । (भटृराई, भरतकुमार : पूर्ववत्, पृ.१० मा दिइएको उद्धरणबाट) । हिन्दी साहित्यका अर्का विद्वान् डा. रामकुमार वर्माको विचारमा हास्य श्रृङ्गारको अनुकृति नभई विकृति हो । भरतमुनिको मतप्रति उनी असहमत हुँदै बताउँछन्– “यो विकृत आकार–प्रकार, बोली–वचन, वेश–भुषा, हाव–भाव–चेष्टा आदिद्वारा अभिव्यक्त हुन्छ । हास्यले केवल श्रृङ्गारद्वारा प्रेरणा प्राप्त नगरेर जीवनका विविध परिस्थितिद्वारा बल ग्रहण गर्दछ ।” (चतुर्वेदी, वरसानेलाल: पूर्ववत्, पृ. २४ ।) हास्य उत्पत्तिको प्रमुख कारणका सम्बन्धमा मतैक्य देखिन्न । कसैले राग र द्वेषलाई हाँसोको स्रोत मानेका छन् भने कसैले विकृतिका साथै अनौचित्य (अशिष्टता र वैपरीत्यसमेत) लाई हाँसो उत्पन्न गर्ने कारकका रूपमा लिएका छन् । (डा. वर्मा, धीरेन्द्र (सम्पा.) : हिन्दी साहित्य कोश, भाग १, ज्ञानमण्डल लिमिटेड, २०२०, वाराणसी, दो.सं. पृ. ९६५ ।)

पूर्वीय साहित्य शास्त्रीहरूले हास्यलाई तीन भागमा बाँडेको पाइन्छ : १) उत्तम हास्य, २) मध्यम हास्य र ३) अद्यम हास्य । यी प्रत्येकमा दुई धारा रहेका छन्– स्मित र हसित । वास्तवमा अकस्मात प्रकट हुने, घत परेर निस्कने र कुतकुताएर हँसाउने तीन किसिमले हाँसोको जन्म हुन्छ । (पाँडे, रामकुमार : १०१ हास्यव्यङ्ग्य रत्न पुस्तक भण्डार, २०५१, काठमाडौं, पृ. ख ।) हाँसोका बारेमा पाश्चात्य साहित्य शास्त्रीदेखि आधुनिक साहित्य चिन्तकसम्मका विद्वान्जनले आ–आफ्ना मतहरू प्रकट गरेका छन् । मान्छे आनन्द वा हर्षका बेलामा हाँस्दा रागमूलक हाँसो हाँस्दछ भने कसैप्रति वा कोहीप्रति उपेक्षा प्रकट गरेर हाँस्दा द्वेषभावबाट प्रेरित भई हाँस्दछ । (जोशी, कुमारबहादुर : रचना : हास्यव्यङ्ग्य र हास्यव्यङ्ग्यकार भैरवको जयभुडी, वर्ष १६, अङ्क २, २०३८ पुष–माघ, पृ. १२१ ।) राग प्रकृति हो र द्वेष विकृति हो । त्यसैले रागोत्पन्न हास्यमा जुन शुद्धता पाइन्छ, त्यो द्वेषोत्पन्न हास्यमा पाइन्न । वास्तवमा रागविहीन व्यक्ति आल्हादक र आल्हादित दुवै हुन सक्दैन । त्यसैले राग र रञ्जन वा आल्हाद अन्योन्याश्रित छन् । विशुद्ध हास्यको उपादेयता वस्तुतः मनोरञ्जन वा मानसिक तनावबाट मुक्ति हो तसर्थ यसको उत्पत्तिको स्रोत र सम्प्रेषणको लक्ष्य पनि राग नै हो । (अर्याल, भैरव : ज्ञान विज्ञानको दिशा, नेपाली साहित्यमा हास्यव्यङ्ग्य : एक नालीबेली, २०३३, वाराणसी, पृ. ५१ ।) यही राग र द्वेश नै हास्य र व्यङ्ग्यको सैद्धान्तिक प्रस्थापनाका रूपमा विकसित हुँदै आएको छ ।

वरिष्ठ भारतीय व्यङ्ग्यकार तथा समीक्षक वरसानेलाल चतुर्वेदीले हास्यव्यङ्ग्यको परिभाषाका क्रमम अन्तरसम्बन्धलाई यसरी उल्लेख गरेका छन्– “हास्यको उद्देश्य विशुद्ध मनोरञ्जन गर्नु हो जब कि व्यङ्ग्यको उद्देश्य हाँसोद्वारा दण्ड दिनु हो । हास्यमा भाव तत्व प्रमुख हुन्छ । व्यङ्ग्यमा वृद्धि तत्व । हास्यकार असङ्गतिहरूको चित्रणमा रस लिन्छ । व्यङ्ग्यकार विद्रोहलाई वाणी दिन्छ ।” (पाँडे, रामकुमार : पूर्ववत्, पृ. ठ ।)
अतः यी दुवैको समूचित समन्वय भएको रचना उत्कृष्ट हास्यव्यङ्ग्य रचना हुन्छ ।

हास्यव्यङ्ग्य : अन्तर्विधात्मक एक विशिष्ट शैली
साहित्य सिर्जनामा रचनाकारले अभिव्यक्तिका विभिन्न तरीका अँगालेको हुन्छ । गद्यमा होस् या पद्यमा अभिव्यक्तिका यी तरीका हरेक स्रष्टामा अलग–अलग दृष्टिगोचर हुन्छन् । रचनाको संरचना, अर्थबोध, प्रस्तुति आदिमा अन्तर्निहित अभिव्यक्तिका यी तरीकालाई नै शैली भनिन्छ । शैलीका सम्बन्धमा प्रा. मोहनराज शर्माले भनेका छन्– “रचनाकारको यस्तो विशिष्ट रचना–प्रकार वा अभिव्यक्तिलाई शैली भनिन्छ, जसमा भाषिक एकाईको सौन्दर्यबोधक समुच्चय हुन्छ र भाषा एवम् विषयका दृष्टिबाट विचलन हुन्छ ।” (शर्मा, मोहनराज : शैली विज्ञान नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान २०४८, काठमाडौँ, पृ. ३ ।) यो उनको शैलीसम्बन्धी विभिन्न परिभाषाहरूको समन्वयात्मक निचोड हो । उपर्युक्त कथ्यमा शैलीसँग सम्बद्ध निम्नलिखित महत्वपूर्ण बुँदाहरू परेका छन्– १. शैली रचनाकारको रचना–प्रकार वा अभिव्यक्ति हो । २. यो (अभिव्यक्ति वा शैली) सामान्य नभएर विशिष्ट हुन्छ । ३. यो एकभन्दा बढी भाषिक एकाईहरूको सौन्दर्यबोधक समुच्चय हुन्छ । ४. यसमा सामान्य वा मानक (भाषा, विषय)– को अतिक्रमणद्वारा विचलन गरिएको हुन्छ । (शर्मा, मोहनराज : पूर्ववत्, पृ. ३४ ।)

के त्यसो भए शैली भनेको भाषिक विचलन हो ? होइन । अभिव्यक्तिका प्रकारको कुरा गर्दा गद्य वा पद्य अथवा कविता, नाटक, उपन्यास, निबन्धजस्ता विधागत स्वरूपहरूको स्मरण हुन सक्छ तर यो स्वरूप माध्यम मात्रै हो । शैली भनेको भाषिक विचलन होइन अनि स्वरूप मात्र पनि शैली हुन सक्दैन । अन्तर्वस्तुविहीन स्वरूपको कल्पना गर्न नसकिए जस्तै भाषिक सङ्गतिबिनाको प्रस्तुतीकरण एउटा शैली त बन्न सक्ला तर त्यो सौन्दर्यबोधक समुच्चय बन्न सक्दैन, किनभने सिर्जनात्मक सौन्दर्यको अवबोधन विसङ्गतिपूर्ण भाषिक प्रस्तुतिमा सम्भव हुँदैन । विचलनलाई व्यञ्जना मान्ने हो भने पनि अर्थ–सङ्गतिको अभावमा त्यसले भाव सम्प्रेषण गर्न सक्दैन । तर अन्तर्वस्तुको रूपगत अभिव्यञ्जना भने विविधतापूर्ण नै हुन्छ । यही विविधता व्यक्ति लेखकमार्फत् प्रकट हुँदा विशिष्ट शैली निर्माण हुनपुग्छ । विसङ्गतिमा सङ्गति खोज्ने र सङ्गतिमा विसङ्गति केलाउने क्रममा नै कला साहित्यका विविध रूप, विविध रूपात्मक शैली र स्वरूपहरू निर्माण भएका छन् । अभिव्यक्तिका अनेक विधा, उपविधा र शैली–प्रवृत्तिहरूका बीच सिर्जनाले विधागत मान्यता, शैलीगत पहिचान र मानकहरू निर्माण गरेका छन् । यद्यपि कला, साहित्य र सङ्गीतका मानकहरू युगीन चेतनाका आँगनमा नै रहिआएका छन् । यति बेला हामी बीसौँ शताब्दी नाघेर अघि बढिरहेको परिप्रेक्ष्यमा विधा र शैलीसम्बन्धी मान्यतामा पनि परिवर्तन आइरहेको छ । सङ्गतिपूर्ण परिवर्तन र असङ्गतिपूर्ण परिवर्तन दुवै देखापरेका छन् । सङ्गतिपूर्ण परिवर्तनका क्रममा देखापरेका रूपहरू हुन्– जन–शैलीका, जन–बोलीका मानक भाषाका सरल प्रस्तुतिहरू, क्षेत्रीय र जातीय भाषा र विभिन्न भाषिकामा भएका अभिव्यक्तिहरू आदि । विसङ्गतिपूर्ण परिवर्तनका क्रममा देखापरेका शैलीहरू भने रूपहीनता, विषयहीनता, अर्थहीनता, दुर्वोध्यता, विनिर्माण, विखण्डन र विषयवस्तुको अस्पष्टता आदि छन् । त्यसैले शैली र विधामा प्रष्ट भिन्नता छ । ती भिन्नताहरूलाई सङ्क्षेपमा यसरी केलाउन सकिन्छ ।

विधा विषयवस्तुलाई विन्यास गर्दै गरिने रचना–सिर्जनाको एउटा माध्यम हो भने शैली त्यही विन्यस्त विषयलाई विशेष ढङ्गमा प्रस्तुतीकरण गर्ने एउटा कला हो ।

विधाले रचना पद्धति र प्रक्रियाको आधार प्रकट गर्दछ भने शैलीले त्यो आधारमा उभिएर शब्द र भावको संयोजनमा कटाक्ष प्रस्तुत गर्दछ ।

विधाको निश्चित मानक निर्माण भएको छ, यो साहित्यको गद्य वा पद्य, दृश्य वा श्रब्य रूपमा मात्र होइन विषयवस्तुका आधारमा, आख्यानकलाका आधारमा, छन्दकला तथा लयविधानका आधारमा, लामो या छोटो अभिव्यक्तिका आधारमा, गायन वा वाचनका आधारमासमेत रूपगत वर्गीकरण गरिएको छ । कथा, निबन्ध, उपन्यास, समालोचना, प्रतिवेदनजस्ता गद्य रूप र कविता, छोक, खण्डकाव्य, महाकाव्य, गीत, गजलजस्ता रूपहरू यहाँ सम्झन सकिन्छ । तर शैलीको उपस्थिति कहीँ उपर्युक्त विधाहरूकै आश्रयमा अन्तर्विधात्मक, भाषिक, शास्त्रीय, स्वच्छन्द आदि ढाँचामा रहिआएको छ । बोध दुर्बोध, सरल जटिल, श्रृङ्खलित विश्रृङ्खलित आदि ढाँचामा पनि लेखकै पिच्छेका शैलीहरू फरक–फरक देखा पर्दैछन् ।

विधा स्रष्टाको निजी पहिचान बन्न सक्दैन तर शैली भने निजी पहिचान बन्न सक्छ र बन्दै आएको छ ।
हास्यव्यङ्ग्य शैली कुनै एउटा साहित्यिक सृजनाका रूपमा नटाक्सिई विधा उप–विधामा अन्तर्निहित भएर प्रयोग भइआएको छ । गद्य, पद्य दुवै क्षेत्रमा मात्र होइन कथा, कविता, काव्य महाकाव्य, निबन्ध, उपन्यास सबैमा व्याप्त छ । कुनै लेखक विशेषको पहिचान त यसले दिन्छ नै, यसभन्दा बढ्ता उपर्युक्त विधाका अतिरिक्त पनि गम्भीर राजनीतिक, सामाजिक र सामयिक चिन्तनका लेखनमासमेत व्यङ्ग्य शैलीको प्रयोग भएको पाइन्छ । व्यङ्ग्य शालिन सीमाभन्दा बाहिर गएर लेख्ने लेखकहरू पनि देखिएका छन् तर तिनीहरूलाई आक्षेप आदि संज्ञाले सम्बोधन गरे पुग्छ ।

विधा र शैलीका बीचमा यति स्पष्ट भिन्नता रहँदारहँदै पनि हास्यव्यङ्ग्यलाई विधाको रूपमा बुझ्ने र विधाकै रूपमा उल्लेखसमेत गर्ने गरिएको पाइन्छ । हास्य विकृतिमूलक तत्वबाट सिर्जना हुने एउटा परिणति हो, त्यसै विकृतिका कारणले हास्यमा केही विभेदात्मक अवस्थाको निर्माण भइदिन्छ । व्यङ्ग्य विसङ्गतिको परिणाम हो । जीवन बाँच्ने परिधि र शैलीभित्र देखिने विकृतिमा हास्यको बीज निहित हुन्छ भने विसङ्गतिमा व्यङ्ग्यको बीज निहित हुन्छ । यद्यपि हास्यव्यङ्ग्य प्रस्तुतीकरणको एउटा पक्ष हो र एउटा शिल्प मात्र हो । (सुवेदी, राजेन्द्र : स्रष्टा–सृष्टि : द्रष्टा–दृष्टि साझा प्रकाशन, ०४३, पुल्चोक ललितपुर, दो.सं., पृ. ३५ ।) हास्यव्यङ्ग्य स्वतन्त्र विधाको रूपमा मान्य छैन । संस्कृत र युरोपेली साहित्यमा पनि व्यङ्ग्यलाई हास्यकै अङ्ग मान्ने गरिएको छ । कुनै स्वतन्त्र सत्ता भएको स्वयम्मा परिपूर्ण विषय–विशेष मात्र विधा अन्तरर्गत पर्छ । व्यङ्ग्य यस परिभाषाभित्र पर्दैन । व्यङ्ग्य वा हास्य आफंैमा कुनै एउटा विषय होइन, त्यस विषयलाई प्रस्तुत गर्ने एउटा पारा वा ढाँचा मात्र हो । त्यसकारण हास्यव्यङ्ग्यलाई विधा भन्नु अज्ञानता प्रकट गर्नु मात्रै हो ।

हास्यव्यङ्ग्यसम्बन्धी पूर्वीय मत
पूर्वीय साहित्यमा प्राचीन कालदेखि नै हास्यलाई नवरसमध्येको एउटा महत्वपूर्ण रसका रूपमा व्याख्या गरिंदै आएको छ । मान्छेका सवलताहरूले मान्छेकै दुर्वलताहरूलाई र मान्छेका सामान्य प्रवृत्तिहरूले उसकै दुस्प्रवृत्तिहरूलाई गिज्याउनुबाट पनि एउटा बेग्लै स्वादको रस चुहिन्छ, जसलाई शास्त्रीहरूले हास्यरस भनी नवरसको पङ्क्तिमा राखेका छन् । (अर्याल, भैरव : छ्याकन (खेस्रा संस्करण) ०२५ को भूमिका, पृ. ख–२०२५) ।
हास्यरसलाई रसराजका रूपमा स्थापित गर्ने प्रयास नरसिंह चिन्तामणि केलकरले गरे । यो कुराको उल्लेख केलकरको पुस्तक शुभाषित आणिवाणी विनोदमा गरिएको छ । यसैलाई आधार मानी सन् १९१५–१६ मा वनारसबाट प्रकाशित हुने नागरी प्रचारिणी पत्रिकामा हास्यरस शीर्षकमा एक लेखमाला प्रकाशन गरियो, जसमा हास्यरसलाई रसराज सिद्ध गरिएको थियो । (डा. चतुर्वेदी, वरसानेलाल : पूर्ववत्, पृ. ३१।)

पूर्वीय मान्यता अनुरूप हास्य र व्यङ्ग्यलाई अलग–अलग तत्वका रूपमा लिइन्थ्यो । सामान्य दृष्टिले हेर्दा हास्यव्यङ्ग्य मठ्याहा भाइ जस्ता लाग्छन् । दुवैको क्रियाकलाप, गुण विशेषमा समानता छैन । यस भिन्नताले हास्यअन्तर्गतको विभेदलाई देखाउ»छ तर जातीय भिन्नतालाई नै होइन, यसकारण समानधर्मी हुन् र समानार्थी पनि । (प्रधान कृष्णचन्द्रसिंह : छ्याकन पूर्ववत, पृ. १५ ।) प्राचीन आचार्यहरू ‘राग’ बाट हास्यको सृष्टि भयो भन्छन् । भरतले श्रृङ्गारबाट यसको उत्पत्ति भएको हो, यो श्रृङ्गारको अनुकृति हो भनेका छन् । यस प्रकार रजोगुणको अभाव र सत्व गुणको अविर्भावले अथवा सबै किसिमका रसाभाषबाट हास्य जन्मन्छ भन्ने आचार्यहरूको मत छ । वास्तवमा प्राचीन कालदेखि नै जीवनमा हास्य रसले महत्वपूर्ण ठाउ ओगटेको छ । यसले सर्वसाधारणलाई आकर्षित गर्दै सबैको प्रेम र श्रद्धा पाएको छ । सुखी जीवनको निर्माण हेतु रसाइ बसाई मनोविनोद र आनन्द प्रदान गर्ने हास्य नै एउटा निर्विवाद सत्य हो, सबै वादविवाद र प्रतिवादबाट मुक्त । (प्रधान, कृष्णचन्द्र सिंह : पूर्ववत्, पृ. १८–१६ ।)

‘राग’बाट हास्यको सृष्टि भयो भन्ने प्राचीन आचार्यहरूको मतप्रति सहमति जनाउदै वरिष्ठ हास्यव्यङ्ग्यकार भैरव अर्यालले भनेका छन्– ‘राग प्रकृति हो र द्वेष विकृति हो । त्यसैले रागोत्पन्न हास्यमा शुद्धता पाइन्छ, त्यो द्वेषोत्पन्न हास्यमा पाइन्न । वास्तवमा रागविहीन व्यक्ति आल्हादक र आल्हादित दुवै हुन सक्दैन । त्यसैले राग र रञ्जन वा आल्हाद अन्योन्याश्रित छन् । विशुद्ध हास्यको उपादेयता वस्तुतः मनोरञ्जन वा मानसिक तनाउबाट मुक्ति हो, त्यसर्थ यसको उत्पत्तिको श्रोत र सम्प्रेषणको लक्ष्य पनि राग नै हो भन्ने दृष्टिकोण पनि रहेको छ ।’ (अर्याल, भैरव : ज्ञान विज्ञानको दिशा पूर्ववत्, पृ. ५१ ।) साहित्य शास्त्रमा स्वीकृत नौरसहरूका आ–आफ्नै स्थायी भाव रहेका हुन्छन् र यिनका विभाव, अनुभाव र व्यभिचारी भावहरू पनि फरक फरक हुन्छन् । विरोधी वा अविरोधी भावले हानी नगरी पुस्ट हुने, चित्तमा वासना रूपमा स्थित काव्य नाटकादिमा आद्यन्त रहिरहने प्रधान भाव, जो विभावादिद्वारा सम्बन्धित भएर रस रूपमा परिणत हुन सक्छ त्यो स्थायी भाव भाव हो । (शर्मा, सोमनाथ : सोमनाथ शर्मा– साहित्य प्रदीप पुस्तक संसार, २०२८, काठमाडौं, दो.सं. पृ. ४–७ ।) सबै रसका आ–आफ्ना स्थायी भाव हुन्छन् । हास्यरसको स्थायी भाव ‘हास’ हो । यही हास स्थायी भावको विकसित स्वरूप नै हास्यरसका रूपमा निष्पन्न हुन्छ । (भट्टराई, भरतकुमार : पूर्ववत्, पृ. १२ ।) यसै सन्दर्भमा व्यङ्ग्यसम्बन्धी पूर्वीय चिन्तन र मान्यताहरूको सङ्क्षिप्त अध्ययन गर्नुपर्ने हुन्छ ।

पूर्वीय साहित्य सिद्धान्तका रूपमा स्थापित ध्वनिवादले काव्यमा व्यङ्ग्यलाई प्रमुख तत्वका रूपमा स्वीकारेको पाइन्छ । ध्वनिवादका प्रवर्तक आनन्द वद्र्धनले आफ्नो ध्वन्यालोकमा काव्यमा रहने व्यङ्ग्यार्थ वा ध्वनिलाई नै काव्यको आत्मा मानेका छन् । ध्वनिवादको स्थापना हुनुभन्दा पूर्व अभिदा तथा लक्षणा शब्दशक्तिलाई नै काव्यको शब्दार्थबोध गराउने मूल्यवृत्ति मानिन्थ्यो । त्यसैले आनन्द वद्र्धनले व्यञ्जनावृत्तिको स्थापनाद्वारा ध्वनिविरोधी विविध मतलाई खण्डन गर्दै आङ्कनो ध्वनिवादी मान्यतालाई स्थापित गरेका छन् । (भट्टराई, भरतकुमार : पूर्ववत्, पृ. ११५ ।) उनी र उनका अनुयायीहरूका दृष्टिमा ध्वनिको मूलआधार व्यञ्जनावृत्ति हो र यसै वृत्तिले काव्य वा साहित्यमा व्यङ्ग्यार्थ, प्रतीयमानार्थ वा ध्वन्यार्थ प्रकट गर्न सक्दछ । काव्यको प्राण, मूलतत्व ध्वन्यार्थलाई नै काव्यको मूलात्मा घोषित गर्दै पूर्वीय काव्यशास्त्रीहरूले अत्यन्त सशक्त साहित्य सिद्धान्तका रूपमा ध्वनिवाद स्थापना गरेको पाइन्छ । ध्वनिवादको मूलआधार व्यञ्जना शक्ति हो र व्यञ्जनावृत्तिद्वारा प्रकट हुने अर्थलाई ध्वनि भनिन्छ । अर्थात् ध्वनि भनेकै व्यञ्जना शक्तिद्वारा व्यञ्जित हुने व्यङ्ग्य अर्थ हो । (भट्टराई, भरतकुमार : पूर्ववत्, पृ. ११६ ।) पूर्वीय काव्यशास्त्रीहरूले व्यञ्जनालाई अनियन्त्रित शब्दशक्ति मानेका छन् र यसले व्यापक अर्थलाई प्रकट गर्ने सामथ्र्य राख्छ भन्ने दृष्टिकोण प्रस्तुत गरेका छन् । व्यञ्जना प्रकट गर्ने शब्दलाई व्यञ्जक र व्यञ्जनाबाट प्रकट हुने अर्थलाई व्यङ्ग्यार्थ भनिन्छ । (भट्टराई, भरतकुमार : पूर्ववत्, पृ. ११८ ।)

व्यङ्ग्यार्थ साहित्यका पददेखि लिएर प्रबन्धसम्म व्याप्त रहन्छ भन्ने मान्यतालाई ध्वनिवादीहरूले सोदाहरण प्रस्तुत गरेका छन् । तसर्थ व्यङ्ग्य शब्द र वाक्यमा मात्र होइन सिङ्गो साहित्य कृतिमा नै रहन सक्छ । ध्वनिवादीहरूले सङ्केत गरेको व्यङ्ग्य शब्द र वाक्यका स्तरमा मात्र होइन, सिङ्गो प्रबन्धका स्तरसम्म व्याप्त हुन्छ । त्यसै हुनाले ध्वनिवादी आचार्य आनन्दवद्र्धनले काव्यको वर्गीकरणका क्रममा व्यङ्ग्यार्थ प्रधान ध्वनि काव्यलाई उत्तम, वाच्यार्थ प्रधान व्यङ्ग्यार्थ गौण भएको गुणीभूत व्यङ्ग्य काव्यलाई मध्यम र व्यङ्ग्यार्थरहित चित्र काव्यलाई अद्यम काव्यका रूपमा विभाजित गरेका छन् । (भट्टराई, भरतकुमार : पूर्ववत्, पृ. १२४ ।)

वस्तुतः ध्वनि भन्नु नै प्रतीयमान अर्थ वा व्यङ्ग्यार्थ हो । ध्वनिका सन्दर्भमा नै पूर्वीय व्यङ्ग्यको टक प्रस्तुत भएको छ । यस प्रसङ्गमा भावगत व्यङ्ग्यार्थद्वारा नै काव्य वा साहित्यमा स्रष्टाले वाह्य सौन्दर्यका साथै अन्तर्निगुढ भाव सौन्दर्यलाई अभिव्यक्त गरेको हुन्छ । अतः व्यङ्ग्यको मूलतात्पर्य शब्दार्थमा प्रकटित सौन्दर्यका साथै समग्र साहित्यगत व्यङ्ग्यार्थ विशिष्ट काव्य रचनाको बाह्य प्रशोधनका साथै वस्तु वा भाव सौन्दर्य पनि हो । अर्थात् बाह्य सौन्दर्यद्वारा प्रस्फुटन हुने चमत्कारपूर्ण विशिष्ट सौन्दर्य शिल्पमण्डित भाव परिपाकको संश्लिष्ट परिणति नै व्यङ्ग्य वा व्यङ्ग्यार्थ हो । (भट्टराई, भरतकुमार : पूर्ववत्, पृ. १२५ ।) यसरी पूर्वीय साहित्यशास्त्रमा हास्यलाई हास्य रस र व्यङ्ग्यलाई व्यञ्जना शब्दशक्तिका रूपमा व्याख्या र विश्लेषण गर्दै हास्यव्यङ्ग्यको परिभाषा गरिएको छ ।

पाश्चात्य मतमा हास्यव्यङ्ग्य
पूर्वीय साहित्यशास्त्रीले झैँ पाश्चात्य विद्वान्हरूले पनि हास्य र व्यङ्ग्यका बारेमा अध्ययन विवेचन गरी आदिकालदेखि नै आफ्ना विचार र मतहरू राख्दै आएका छन् । पश्चिममा हास्यसम्बन्धी चिन्तन परम्पराको प्रारम्भ ग्रीसका कलाचिन्तक अरस्तुदेखि भएको मानिन्छ । अरस्तुले प्रतिपादन गरेको लघुता दर्शन  सम्बन्धी सिद्धान्तको प्रभावबाट प्रभावित हुदै अङ्ग्रेज दार्शनिक हब्सले लेवियाथान ग्रन्थमार्फत उत्कर्ष सिद्धान्तको प्रतिपादन गरे । हब्स भन्छन्– ‘हास्य भनेको गौरवको अनुभूतिद्वारा उद्भूत प्रशन्नताको प्रकाशन हो ।’ (डा, चतुर्वेदी, वरसानेलाल : पूर्ववत्, पृ. ५६ (मा प्रस्तुत उद्धरण अनुसार) । अरुको मूर्खतालाई देखेर आफूलाई गर्वको अनुभव हुदा हामीमा प्रशन्नताको भाव जागृत हुन्छ र त्यस गर्वद्वारा उत्पन्न प्रशन्नतालाई हामी हास्यको माध्यमद्वारा प्रकट गर्दछौं । (भटृराई, भरतकुमार : पूर्ववत्, पृ. २७ मा प्रस्तुत उद्धरण अनुसार) । जर्मनका दार्शनिक कान्टको विचारमा अपेक्षित कल्पना अचानक रूपमा अस्तित्वहीन हुनपुग्दा उत्पन्न हुने मनोविकारजन्य क्रिया नै हास्य हो । उनी विषयगत विकृतिलाई नै हास्यको जनक मान्दछन् ।

हास्यसम्बन्धी पाश्चात्य विद्वान्हरूका विविध विचारहरूलाई सारसङ्ग्रह गरी भारतीय व्यङ्ग्यकार तथा समीक्षक डा. वरसानेलाल चतुर्वेदीले हास्य अभिव्यक्तिका प्रमुख पाच आधारहरूलाई सूत्रबद्ध गरेका छन् : (१) शारीरिक (२) मानसिक (३) घटना वा कार्यकलाप (४) रहनसहन (५) विशिष्ट शब्दावली । यी आधारहरूबारे उनले विस्तारपूर्वक विवेचना पनि गरेका छन् । (डा. चतुर्वेदी, वरसानेलाल : पूर्ववत्, पृ. ६१ ।)

अरस्तु पछिका हास्य चिन्तकहरूमध्ये कतिपय विद्वान्हरू हास्यस्रष्टाका कृति विश्लेषणका सन्दर्भतर्फ अभिमुख बनेका छन् भने कतिपय विद्वानहरू मनोवैज्ञानिक दृष्टिकोणले हास्यको सृष्टि कसरी हुन्छ भन्नेतर्फ मनोविज्ञानका क्षेत्रबाट अध्ययनमा संलग्न बनेका छन् । यसैगरी कतिपय पाश्चात्य साहित्य चिन्तकहरू शरीर विज्ञानसग हास्यको सम्बन्ध पहिल्याउने उद्देश्यले पनि हास्यविषयक अध्ययनमा अभिप्रेरित भएको देखिन्छ । यसरी पश्चिममा हास्यसम्बन्धी चिन्तनका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्बाह गर्ने विद्वान्हरूमा अरस्तु, हब्स, स्पेन्स, वर्गशा, ह्याजलिट, कान्ट, फ्रायड, म्याडुगल आदि पर्दछन् । (भट्टराई, भरतकुमार : पूर्ववत्, पृ. २५ ।)

कुनै पनि वस्तुमा पाइने लघुता वा हीनतालाई देखेर स्वभावतः मान्छेका मनमा आनन्ददायी नया वृत्ति उत्पन्न हुन्छ र त्यो वृत्तिद्वारा हास्यको अविर्भाव हुन पुग्दछ । अनेक वस्तुहरूको कुनै विवक्षित सम्बन्ध देखिएमा बुझिने लघुता वा हीनतास»ग यसको साझो सम्बन्ध रहन्छ । यही अवधारणा लघुता दर्शनको रूपमा स्थापित छ । प्राचीन ग्रीसका प्रसिद्ध साहित्यचिन्तक अरस्तु यस सिद्धान्तका प्रतिपादक हुन् । (इन्साइक्लोपेडिया व्रिटानिका भोलम ९, पृ. ६ ।) अरस्तुका दृष्टिमा हास्यास्पद व्यक्तिमा दृष्टता होइन कुरूपता, दोष वा भद्धापन हुन्छ र यसले मान्छेका हीनता वा लघुता प्रदर्शित गरिरहेको हुन्छ । यही लघुता वा हीनतायुक्त पात्र उपहास्य बन्दछ र हास्यको आलम्बन हुन जान्छ । यो प्राचीन सिद्धान्तको मूलमर्म चाहि“ हास्यको आलम्बन रहेको पात्र विशेषको क्षुद्र मनोवृत्ति तथा कुरूप वा विकलाङ्ग प्रदर्शन हो ।

अरस्तुपछि अङ्ग्रेज दार्शनिक हब्सद्वारा उत्कर्ष सिद्धान्त, अङ्ग्रेजीका प्रसिद्ध समालोचक हार्वट स्पेन्सरद्वारा असङ्गतिको निरीक्षण सिद्धान्त, फ्रान्सेली दार्शनिक हेनरी वर्गसाद्वारा यान्त्रिक प्रक्रिया तथा विपरितताको सिद्धान्त, फ्रायडद्वारा मनोवैज्ञानिक सिद्धान्त र प्रतिपादक किटान नभएका चिन्तकहरूको शरीर वैज्ञानिक सिद्धान्तजस्ता सिद्धान्तहरू प्रतिपादित भएका छन् । यी सबै सिद्धान्तका मूलभूत पक्षलाई समन्वय गर्दै हिन्दी साहित्यका समीक्षकहरू डा. वरसानेलाल चतुवेर्दी र सरोज खन्नाले हास्योत्पतिसम्बन्धी दृष्टिकोण प्रस्तुत गरेका छन् ।

उनीहरूका अनुसार हास्योत्पति सम्बन्धी पाश्चात्य सिद्धान्तका सारभूत पक्षलाई समाहार गर्दा हास्योद्रेक तथा हास्य अभिव्यक्तिका प्रमुख आधारहरू निम्न हुन्छन्ः (क) शारीरिक (ख) मानसिक (ग) घटना वा कार्यकलाप (घ) रहनसहन (ङ) विशिष्ट शब्दावली । (क) चतुर्वेदी, डा. वरसानेलाल : पूर्ववत्, पृ. ६१, (ख) खन्ना, पूर्ववत् : पृ. ३८ ।)
वर्गसाले हास्य उत्पन्न हुने मूलभूत तीनवटा कारणहरू देखाएका छन् । पहिलो हो, हास्यको आलम्बन समाजप्रिय नहुनु तथा घटना, शब्दावली र पात्रमा यान्त्रिक क्रियाहरू हुनु आवश्यक छ । दोस्रो हो, हास्यको आलम्बनको अचेतनता वा अनभिज्ञता सफल हास्यको अनिवार्य शर्त मानिन्छ । हास्यका निम्ति आलम्बन बनेको कुनै व्यक्ति वा पात्रले आफूमा रहेको हास्यास्पद पक्षप्रति कुनै ज्ञान पाएको हुनु हुदैन । तेस्रो, हास्य सिर्जना हुने मूलकारणमा यान्त्रिक क्रियालाई मानिन्छ । यान्त्रिक क्रिया घटनागत, वाणीगत तथा शारीरिक मानसिक पनि हुनसक्दछ । (चतुर्वेदी, डा. वरसानेलाल : पूर्ववत्, पृ. ५८–६०)

व्यङ्ग्यका सन्दर्भमा पनि पाश्चात्य मान्यताहरू निसृत र विकसित हुदै आएको पाइन्छ । यहा व्यङ्ग्यसम्बन्धी पाश्चात्य विद्वान्हरूका केही विचारहरूको पनि अध्ययन गर्न उपयुक्त हुन्छ ।

अङ्ग्रेजीका प्रसिद्ध समालोचक पाट्सले भनेका छन्– ‘व्यङ्ग्यमा आलम्बनको विकृत रूपको हाँसो उडाइन्छ, अथवा त्यही सरहको कुनै हास्यास्पद वा असामाजिक तत्वसग त्यसलाई वचन वैदग्ध्यका सहायताले उपहास गरिन्छ ।’ ( चतुर्वेदी, डा. वरसानेलाल : आधुनिक हिन्दी काव्यमे व्यङ्ग्य ई. १९७३, प्रभात प्रकाशन दिल्ली, पृ. १० (मा प्रस्तुत उद्धरणअनुसार) । हार्वट उल्फले भनेका छन्– ‘व्यङ्ग्यकार केवल सत्यको प्रतिष्ठामा मात्र जोड दिँदैन परन्तु वाग्वैदग्ध्यका सहायताले पापको घैंटो फोर्दछ र ढोंगको पर्दाफास गर्दछ ।’ (पूर्ववत्, पृ. १०) अर्का पाश्चात्य विद्वान् मैयु होगायले व्यङ्ग्यको परिभाषा दिने क्रममा भनेका छन्– ‘व्यङ्ग्यले के चेतावनी दिन्छ भने मानव त्यस्तो अद्भूत जनावर हो जसमा मूर्खतापूर्ण कार्य गर्ने असीमित क्षमता छ र यदि व्यङ्ग्यद्वारा यस सत्यको स्पष्ट अभिव्यक्ति भएका खण्डमा त्यो पर्याप्त हुनेछ । मनुष्यको गौरवको वर्णन गर्नु कठिन कार्य हो ।’ त्यसैगरी प्रसिद्ध व्यङ्ग्यकार स्वीङ्कट्ले भनेका छन्– ‘व्यङ्ग्य एक प्रकारको ऐना हो जसमा हेर्नेले आङ्कनो अनुहारबाहेक अरु साराको अनुहार देख्दछ । त्यसैले गर्दा विश्वमा व्यङ्ग्यको स्वागत गरिन्छ र अति अल्पसंख्यक मानिसले मात्र यसद्वारा आफूलाई पीडित तुल्याएको अनुभव गर्छन् ।’ (भटृराई, भरतकुमार : पूर्ववत्, पृ. ५६ (मा प्रस्तुत उद्धरण अनुसार) ।

हास्यव्यङ्ग्यसम्बन्धी पाश्चात्य यी मतहरूले यसको परिभाषालाई स्पष्टतः अगाडि सारेका छन् । पाश्चात्य मतअनुसार हास्यबाटै व्यङ्ग्यको प्रादुर्भाव भएको हो । हास्यास्पद वस्तु वा व्यक्तिको दर्शन, आनन्द वा प्रशन्नताको अनुभूति तथा हास्यमय परिस्थितिको ज्ञानसग यसको सम्बन्ध रहेको छ । यसैको सेरोफेरोमा हास्योत्पत्तिसम्बन्धी चिन्तनका क्रममा अनेक सिद्धान्तहरूको प्रतिपादनसमेत भएको छ । यही हास्यले व्यङ्ग्यको स्तरमा उक्लिएपछि यसले यथार्थलाई पक्रेर आनन्द र मनोरञ्जनलाई त्याग्दछ । हास्य आलम्बनप्रति तिरस्कार उपेक्षा वा भत्र्सनाको भावनाले प्रेरित भएपछि स्वतः व्यङ्ग्य बन्दछ । पाश्चात्य विद्वान एवम् विश्लेषकहरूका यी अभिव्यक्तिहरूको सार सङ्ग्रह गर्दा यो निश्कर्षमा पुग्न सकिन्छ, हास्यव्यङ्ग्य भनेको पापको घैटौं फोर्ने र ढोंगको पर्दाफास गर्ने अभिव्यक्तिको एउटा सशक्त कला हो । यसले विषयवस्तुका रूपमा अनेकानेक विसङ्गतिका घटना परिघटनाहरूलाई सफलतापूर्वक चित्रण मात्रै गर्दैन, त्यसलाई उच्छेद् गर्न, विनष्ट गर्न अभिप्रेरित पनि गर्दछ ।

000

लुइँटेल, नरनाथ , स्नातकाेत्तर (एम्.ए.) तहकाे शाेधपत्र, २०५४, त्रि.वि. कीर्तिपुर, (सान्दर्भिक अंश)   

Fitkauli Publication Books comming soon
Nepal Telecom ad