सुलसुलेजेष्ठ नागरिकपरक कविता प्रतियोगितामा ऋजु गौतम प्रथम
कार्यक्रमको सभापतित्व भक्तपुर बुढ्यौली साहित्य समाजका उपाध्यक्ष दीनानाथ पोख्रेलले गर्नुभएको थियो भने जेरियाट्रिक अध्यक्ष कृष्णमुरारी गौतम चट्याङ मास्टरकाे प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

भक्तपुर, ०८० जेठ १९ । भक्तपुर बुढ्यौली साहित्य समाज र क्वालिटी इङ्लिस सेकेन्डरी स्कुल चाँगुनारायण -६ को संयुक्त आयोजनामा चाँगुनारायण नगरस्तरीय अन्तरविद्यालय ज्येष्ठ नागरिकपरक विषयमा कक्षा ६ देखि १० सम्मका छात्राछात्रहरूबिच कविता प्रतियोगिता सम्पन्न गरियो ।
सशक्त पार्न खोजियो समाज वृद्धको यहाँ ।
छ साथ दानवीरको कहाँ अडिन्छ कामना ॥
न बाढ चल्छ त्यत्तिकै न हुन्छ कत्ति भूक्षय ।
लिएर लक्ष खट्तछौँ सलल्ल बग्छ वाङ्मय ॥
विद्यार्थीहरूबाटै लेखिएका कविता उनीहरूकै आवाजमा प्रस्तुति गरिएको उक्त कार्यक्रमको सभापतित्व भक्तपुर बुढ्यौली साहित्य समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजकदीनानाथ पोख्रेलले गर्नुभएको थियो । जेरियाट्रिक अध्यक्ष कृष्णमुरारी गौतम चट्याङ मास्टरकाे प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
अतिथिज्यूहरूमा शङ्कर मानन्धर(पूर्व जिल्ला शिक्षा अधिकारी) सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिवोदन बाँसतोला, भक्तपुर बुढ्यौली साहित्य समाजका सल्लाहकार विश्वनाथ ढुङ्गेल, चाँगुनारायण साहित्य समाजका अध्यक्ष लालबहादुर भुजेल, क्वालिटी इङ्लिस सेकेण्डरी स्कुलका प्रिन्सिपल जी.बी. खड्का, दाता व्यक्तित्व टीकाराम गेलाल हुनुहुन्थ्यो ।
सूर्यकान्त चित्रकुमारी बुढ्यौली साहित्य प्रतिभा २०८० पुरस्कार रकम रु. ५,५५५ । र प्रमाणपत्रबाट सम्मानित व्यक्तित्व साहित्यकार देवीप्रसाद मिश्र,आजका मूल्याङ्कन समितिमा बस्नुहुने व्यक्तित्व जीवनाथ अधिकारीज्यू, रामशरण कार्की र रामशरण न्यौपानेज्यू पत्रकारहरू, प्राविधिक मित्रहरू र संस्थाका अध्यक्ष लगायत पदाधिकारीज्यूहरू विभिन्न विध्यालयबाट आउनुभएका शिक्षक सहभागी विद्यार्थी, दर्शक विद्यार्थीलगायत जम्मा १५० भन्दा बढीको उपस्थिति रहेको थियो ।
जम्मा १५ विद्यालयबाट २९ जना विद्यार्थीहरूबिचमा भएको प्रतियोगितामा गोल्डेन सुनगाभा विद्यालयकी छात्रा ऋजु गौतम प्रथम, पारिजात इङ्लिस स्कुलका समीर मुसिख्वाल द्वितीय र पारिजात इङ्लिस स्कुलबाटै दीपशिखा लामिछाने तृतीय भएका थिए । विद्यालयदेखि नै वृद्धवृद्धाप्रति साहित्यका माध्यमले भावनात्मक रूपमा बच्चाहरूलाई घुलमिल गराई पछिसम्म आफ्ना मातापिताप्रति माया सद्भाव प्रेम र दायित्वबोध गरून् भन्ने उद्देश्य राखेर सञ्चालन गरिएको यो कार्यक्रम राष्ट्रियगान गाएर सुरु गरिएको थियो भने जी.बी.खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सञ्चालन साहित्यकार र संस्थाका सचिव डिल्लीप्रसाद मूलतिहुनले गर्नुभएको थियो ।
कार्यक्रमबाट अत्यन्त प्रभावित बनेर आगामी वर्ष यस्तै कार्यक्रम सञ्चालन गर्नका निमित्त प्रमुख अतिथि हास्य व्यङ्ग्यकार एजिङ्ग नेपालका प्रवन्धक अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तित्वबाट रु. २५,०००। यस बुढ्यौली साहित्य समाजलाई प्रदान गर्ने घोषणा गरेर आयोजकलाई थप हौसला प्रदान गर्नुभएकोमा चट्याङ मास्टरप्रति आयोजक अनुग्रिहीत भएको छ ।
वृद्धवृद्धाप्रति सशक्त रूपले कलम चलाउँदै आउनुभएका साहित्यकार कवि देवीप्रसाद मिश्रलाई सूर्यकान्त चित्रकुमारी बुढ्यौली साहित्य प्रतिभा पुरस्कार २०८० द्वारा सम्मानित गरियो । उहाँलाई सम्मानित गर्न पाउँदा संस्थाले गर्व महसुस गरेको छ । आगामी दिनमा वहाँको कलम अझ सशक्त बनोस् हार्दिक शुभकामना एवम् दानवीर दाताप्रति हार्दिक कृतज्ञता धन्यवाद व्यक्त गरिएको थियो ।
०००
– कविराज घिमिरे
Subscribe
Login
0 Comments
Oldest












































