सम्मान, पुरस्कार वितरण तथा बुढ्यौली रचना वाचन कार्यक्रम
सम्मान पुरस्कार वितरण तथा रचना वाचन कार्यक्रम भक्तपुर बुढ्यौली साहित्य समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक दीनानाथ पोख्रेलको अध्यक्षतामा भव्यताका साथ सम्पन्न गरियो ।
भक्तपुर, ०८० साउन ६ ।
सशक्त वृद्धबाट नै समाज बन्छ सुन्दर ।
मुहार चम्किलो झनै छ चाउरी सुधाघर ॥
दिएछ शुभ्र केशले हिमालनिम्ति टक्कर ।
लु लेख वृद्ध जोसका कथा व्यथा र ठक्कर ॥
भक्तपुर बुढ्यौली साहित्य समाज, मकवानपुर बुढ्यौली साहित्य समाज र नारायणविलास ज्येष्ठ नागरिक स्वास्थ्य प्रतिष्ठान ठिमीको सह आयोजनामा सम्मान पुरस्कार वितरण तथा रचना वाचन कार्यक्रम भक्तपुर बुढ्यौली साहित्य समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक दीनानाथ पोख्रेलको अध्यक्षतामा भव्यताका साथ सम्पन्न गरियो ।
संस्थाका सचिव डिल्लीप्रसाद मूलतिहुनले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमका प्रमुख अतिथि विशिष्ट व्यक्तित्व प्रा.डा. माधवप्रसाद भट्टराई हुनुहुन्थ्यो भने दाता कृष्णमुरारि गौतम, प्रा.डा. मुकेश चालिसे र डम्बर घिमिरे विशिष्ट अतिथि हुनुहुन्थ्यो । त्यस्तै अतिथिज्यूहरूमा मनोहरा साहित्य समाजका अध्यक्ष डिल्लीराज अर्याल, चाँगुनारायण सा.स. का अध्यक्ष लालबहादुर भुजेल, शिक्षाविद् शङ्कर मानन्धर एवम् शैली साहित्य समाजकी अध्यक्ष डा.मञ्जुश्री प्रधान हुनुहुन्थ्यो ।
सम्मानित व्यक्तित्व ८६ वर्षका प्रा.डा. शास्त्रदत्त पन्तज्यूलाई कृष्णमुरारि गौतम चट्याङ मास्टरद्वारा स्थापना गरिएको भीमकुमारी स्मृति बुढ्यौली साहित्य सम्मान २०७९ सहित रु २५,०००/- नगद र प्रमाणपत्रद्वारा वहाँका कृति १३८ मध्ये वार्द्धक्य जीवनबोध २०७१ कृतिका लागि प्रमुख अतिथिज्यूद्वारा सम्मानित गरियो । सम्मानित गर्नुपूर्व संस्थाका सदस्य जीवनाथ अधिकारीज्यूद्वारा प्रमाणपत्र वाचन गरिएको थियो ।
त्यस्तै अर्का सम्मानित व्यक्तित्व पं.नारायण प्रपन्नाचार्य कौशिकज्यूलाई मकवानपुर बुढ्यौली साहित्य समाज र भक्तपुर बुढ्यौली साहित्य समाजद्वारा वहाँले लेख्नुभएका १८ कृतिहरूमध्ये वृद्धौपनिषद् २०६८ कृतिका लागि बुढ्यौली साहित्य सम्मान पुरस्कार २०७९ नगद रु. २०,०००/- र प्रमाणपत्रद्वारा प्रमुख अतिथिज्यूबाट सम्मानित गरियो । सम्मानित गर्नुपूर्व प्रमाणपत्र वाचन संस्थाकै सदस्य डा. सीता सुवेदी पंथीज्यूद्वारा गरिएको थियो ।
आज उपस्थिति हुनुहुने कवि, गजलकार, मुक्तककार, गीतकार कथाकार, हास्यव्यङ्ग्य, आदि सर्जकहरूबाट आआफ्ना रचना रोचक तरिकाले गहन भावमा उत्कृष्ट तवरले प्रस्तुत भए । आफ्ना रचना प्रस्तुत गर्ने साहित्यकारहरूमा कृष्णप्रसाद पौडेल, लुमडीप्रसाद खनाल, देवीप्रसाद मिश्र, डिल्लीराज अर्याल, विधाराज सुवेदी, डम्बर घिमिरे, आर.सी. रिजाल, विधा अनामिका तिवारी, धरणीधर गुरागाईं, मञ्जुश्री प्रधान, डा. कान्ता भट्टराई, मैयाँ सुर्खेती, जीवनाथ अधिकारी, राजेन्द्रकुमार वज्राचार्य, गणेश घिमिरे मार्मिक, छन्दविज्ञान निरौला, कुन्ता पराजुली, डा.सावित्री देवी न्यौपाने, बिके माकजू, रामशरण न्यौपाने, शालिकराम दाहाल, लालबहादुर भुजेल, जुनू घिमिरे, ओम नरहरि श्रेष्ठ, तेजकृष्ण श्रेष्ठ, डा.सीता सुवेदी, ओजश्वीनिधि न्यौपाने, सम्पत काफ्ले, रञ्जु दाहाल, आर.सी. रिजाल, कृष्णमुरारि गौतम र संस्थाका अध्यक्ष कविराज घिमिरे आदि हुनुहुन्थ्यो ।
यसका अलावा आजको कार्यक्रममा उपस्थित हुने अन्य ज्येष्ठ नागरिकज्यूहरूमा महेन्द्र गोपाल कर्माचार्य (प्रतिष्ठानका सचिव), चूडाप्रसाद चौलागाईं, विष्णुप्रसाद सुवेदी, होमकुमारी रिमाल, सीता साही, अम्बिका शाह, हरिशरण सिलवाल, पुण्य सिलवाल, बच्चुराम न्यौपाने र सञ्चारकर्मी सागर गुरागाईं लगायतको उपस्तिथिति रहेको थियो ।
अन्त्यमा सम्मानित व्यक्तित्वद्वय शास्त्रदत्त पन्तज्यूले हजार वर्ष पछाडिको समग्र नेपालको चित्रण गर्ने अठोट प्रस्तुत गर्दै यो सम्मानले आफू हर्षित हुँदै धन्यवाद प्रदान गर्नुभयो भने अर्का व्यक्तित्व पं. नारायण प्रपन्नाचार्य कौशिकज्यूले वेदले भनेका कुरा हाललाई लत्याए पनि भविष्यमा यसको अनुसरण गर्नैपर्छ भनी सम्मानप्रति कृतकृत्य भएको बताउनु भयो । कार्यक्रममा चट्याङ मास्टर र मकवानपुर बुढ्यौली साहित्य समाजका अध्यक्ष आर.सी. रिजालको प्रस्तुति रोचक थियो ।
दिउँसो १ बजेबाट सञ्चालन भएको कार्यक्रम समापन गर्न बेलुकी ५.३० बजेसम्म लागेको थियो । अन्त्यमा सभाध्यक्षले सहयोग गर्नुहुने दाता, संस्था, प्रमुख अतिथिज्यू, सम्मानित व्यक्तित्वद्वय, विशिष्ट अतिथिज्यूहरू, अतिथिज्यूहरू लगायत उपस्थित सम्पूर्ण साहित्यकारज्यूहरूलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो ।
यसका साथै सभा विसर्जन पश्चात् संस्थाका अध्यक्ष कविराज घिमिरेद्वारा प्रमुख अतिथिज्यूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest