नदी भट्टराई‘कोशी प्रदेश नेपाली साहित्यको अभिलेख ग्रन्थ’ को लोकार्पण
गणेश रसिक फाउण्डेशन, सूनपा- ८, फिक्कल इलामको आयोजना र कोशी प्रदेश सरकारको आर्थिक लगानी रहेको कार्यक्रममा ‘कोशी प्रदेश नेपाली साहित्यको अभिलेखीकरण ग्रन्थ’ नामक पुस्तकको लोकार्पण भएको हो ।

इलाम, ०८० साउन ६ । इलाम जिल्लाको सूर्योदय नगरपालिकाअन्तर्गत सूनपाको सभाहलमा एक भव्य साहित्यिक कार्यक्रम सम्पन्न भयो । गणेश रसिक फाउण्डेशन, सूनपा- ८, फिक्कल इलामको आयोजना र कोशी प्रदेश सरकारको आर्थिक लगानी रहेको कार्यक्रममा ‘कोशी प्रदेश नेपाली साहित्यको अभिलेखीकरण ग्रन्थ’ नामक पुस्तकको लोकार्पण भएको हो ।
गणेश रसिक फाउण्डेशनका अध्यक्ष तथा एउटै कित्ताका दुई शिखर व्यक्तित्व (साहित्य र सङ्गीत) हामी सबैका अभिभावकसमेत रहेका स्रष्टा गणेश रसिकको सम्पादन रहेको सो पुस्तक रु. पन्ध्रसय मूल्य बराबरको रहेको र कोशी प्रदेशअन्तर्गत १४ वटा जिल्लाका प्रतिनिधि व्यक्तिहरूका प्रतिनिधिमूलक साहित्यिक तथा साहित्तेतर रचनाहरू समावेश भएका छन् ।
साहित्यिक तथा साङ्गीतिक स्रष्टा गणेश रसिकको अध्यक्षता, माननीय सांसद तथा पूर्वमन्त्री खिनु लङ्बा लिम्बूको प्रमुख आतिथ्य, सूपनापाका प्रमुख रणबहादुर राईको विशेष आतिथ्य र आमन्त्रित अतिथिहरू सञ्चारकर्मी चन्द्र भण्डारी, प्रा.डा. गङ्गाप्रसाद अधिकारी, सेवानिवृत्त प्राध्यापक तथा सञ्चारकर्मी शिरोमणि खतिवडा, छविलालाल खतिवडा, आख्यानकार पुण्य खरेल, कवि विमल वैद्य, प्रकाश थाम्सुहाङ, सीमा सापकोटा, छवि बैरागी घिमिरे, रविमान लम्जेल त्यसैगरी राजनीतिक प्रतिनिधि लता गौतम अधिकारी, डोलेन्द्र भारद्वज, लालबहादुर राई तथा स्थानीय कवि तथा साङ्गीतिक स्रष्टाहरूमा डिल्लीप्रसाद सुवेदी, पूजन प्रधान, मानसिँह थुलुङ, भूपेन्द्र राई, नदी भट्टराई, कुलप्रसाद ढकाल, कविता राई गाउँले, खेम राई, कमल राई सुच्चा, टिङ्कु भट्टराई, सुभाष राई, निर्मला कट्टेल अग्रवाल र अन्य उत्तमकुमार श्रेष्ठ, प्रमोद राई, सोनाम छिरिङ, अमृता राई र कृष्णप्रसाद सुवेदी लगायतका अतिथिहरूको आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रगान बजाएर देशलाई सम्झँदै तुल पढेर कार्यक्रमको उद्घाटन भएको थियो ।
उक्त लोकार्पित पुस्तकमाथि कुलप्रसाद ढकाल र चन्द्र भण्डारीले समीक्षा गरेका थिए भने आमन्त्रित अतिथिहरूबाट स्रष्टा गणेश रसिकको यो महान् कर्मप्रति सम्मान व्यक्त गर्दै वहाँकै शीघ्र स्वास्थ्य लाभको कामना मन्तव्यको क्रममा राखेका थिए ।
पत्रमा साढे बाह्र बजे कार्यक्रम शुरु भनेर लेखिए तापनि झण्डै दुई बजे मात्र शुरु भएकाले कविता वाचनको आशालाई निमोठिएको पाइयो । आमन्त्रित अतिथिलेसमेत कविता वाचनको प्रसङ्ग त्याइए पनि त्यो संभव भएन । बक्ताहरू नै आफै सार्वभौमसत्ता सम्पन्नमा हावी भएपछि साहित्यिक कार्यक्रममा समयको पहिचान र कविता वाचन ओझेलमा पर्नु स्वभाविक नै लाग्छ । सानालाई परिचय र सम्बोधनसमेत गर्न आङ्कुशे तेस्र्याउने विद्वान्हरूबाटै आफ्नो पालो आएपछि इतिहास खोतल्नदेखि आफ्नै आत्मश्लाघा मात्रै प्रस्तुत गर्ने र विषयवस्तु नै भुल्ने परिपाटीको अन्त्य कहिले होला ? जेहोस् कार्यक्रमले एउटा गतिलो दस्तावेज खडा गरेको छ । यसको लागि गणेश रसिक फाउण्डेशन र गणेश रसिकलाई हार्दिक आभार व्यक्त गर्दछु ।
कार्यक्रममा कार्यक्रम किन र केका लागि आयोजना गरिएको हो भन्ने कुरा कार्यक्रमको औचित्यमाथि प्रकाश नपारे पनि भूवनराज ढुङ्गानाको स्वागत मन्तव्य रहेको कार्यक्रममा सञ्चारकर्मी मित्र राजकुमार दाहालको सहजीकरण रहेको थियो ।
०००
फित्कौली डटकमका लागि मेची प्रतिनिधि नदी भट्टराई
Subscribe
Login
0 Comments
Oldest







































