
बा !
तर पनि बा ! किन रिस पोख्दैनौ मलाई किन लडिरहन्छौ दुःख र अभावसँग किन चुपचाप हिडिरहन्छौ पानी र झरीमा ?

बा !
म अग्लिन चढ्ने तिम्रो काँध
बुढेसकाल लागे सँगै निहुरियो
आज भोलि तिमी अग्लो हुन नसक्दा
टाढा टाढा देख्न नसक्दा
मलाई कति सम्झन्छौ होला है ?
मलाई तिम्रो औंला समाएर
तातेताते हिँड्न सिकाउँथ्यौ
म लडदा चिच्याएर रुन्थेँ
तिमी उठाएर भुलाउँथ्यौ
अहिले तिम्रा खुट्टा फतक्कै गलेर
भित्ता र लौरो समाउँदै हिँड्दा
दमले बेस्सरी च्यापेर औषधी नभेट्दा
तिमीलाई मेरो आवश्यकता कति पर्छ होला है ?
हामी कहिँ कतैबाट आउँदा
सधै आमा खोइ भन्छौ
आमालाई साथी जस्तै सम्झन्छौ
बजार जाँदा आमालाई चुरा लिँदै गर्दा
तिमीलाई टोपी कहिलै ल्याइदिन्नौँ
आमाकै गीत र गुणगान गाउँछौँ
बा तिमी कत्ती सहनशील छौ है
छोराछोरीले गरेको विभेद विरुद्ध कहिले बोल्दैनौ
कहिलै मन दुखाउदैनौ
म तिम्री छोरी हुनुमा सधै गर्ब गर्छु बा
तिमी रक्सी पिउँथ्यौ तर
परिवारको खुसीलाई सितन कहिलै बनाएनौ
तिमी सुर्ती माडेर खान्थ्यौ
तर हाम्रा सपनालाई चुना कहिलै लगाएनौ
तर पनि बा !
किन रिस पोख्दैनौ मलाई
किन लडिरहन्छौ दुःख र अभावसँग
किन चुपचाप हिडिरहन्छौ पानी र झरीमा ?
बा !
तिम्रो मुख हेर्न लायक भएर
तिमीलाई सोध्न मन छ
तिम्रो सपना के थियो ?
तिमीलाई रमाउन मन लाग्छ कि नाईं ?
तिमी किन कहिलै थाकेनौ दुःखहरूसँग ?
किन कहिलै भागेनौ जिम्मेवारीसँग ?
०००
पोखरा