देवीप्रसाद मिश्रबुढ्यौली (काव्य शृङ्खला-२६)
हाम्रा पूर्व परम्परा विविधता छन् धर्ममा आश्रित । चल्दै छन् अझसम्म सुस्त गतिमा मिल्दै छ केही हित ॥ हेर्दा झन् खतरा भयो दिनदिनै हाम्रो गृहस्थाश्रम । छोरो बस्छ युरोप वृद्ध जननी राखेर वृद्धाश्रम ॥

देवीप्रसाद मिश्र :
जेठाबा यसो भन्छन्
वृद्धावृद्ध समस्तका हितकरी गर्दै कुरा कामना ।
केही राहतसाथ राष्ट्र तहले राख्दै छ सद्भावना ॥
उठ्छन् बात घुमाउरा कथनका वृद्धत्वका खातिर ।
पाका मानिसभित्रका जटिलता को बुझ्छ खै आखिर ॥१३०॥
भन्ने गर्छ समाज मात्र ,बिचरा पाका बढे लोकमा ।
आत्मग्लानि भएर वृद्ध अझ छन्, झन् हीनताबोधमा ॥
मान्दैनन् बिचरा कुनै तरहले पाका बनेका तन ।
भन्छन् होस् अधिकार मात्र दरिलो पारेर हिँड्छौँ मन ॥१३१॥
सारा बालक वा युवा र महिला सान्निध्य सद्भावका ।
आआफ्ना अधिकार सङ्गठन छन् देखिन्न खै वृद्धका ॥
हेर्ने यन्त्र भएन यो मुलुकमा पाकाहरूको कद ।
सक्दैनौँ तर बेच्न आज बिचरा बन्दै भएको पद ॥१३२॥
हाम्रो देह बुढो हुँदा प्रकृति नै सम्मानमा झुक्दछ ।
लौरो एक दियो सहायक बनी सान्निध्यमा जुट्दछ ॥
आत्मज्ञान छ पत्रपत्र दरिलो साथै छ झन् चेतना ।
को गर्ला कदको समादर यता छन् वृद्धका वेदना ॥१३३॥
पाका मानिसको समादर हुने निष्कर्षका खोजमा ।
लागोस् यो सरकार नीति दरिलो निर्माणले रोजमा ॥
पाका छन् सरकारमा तर नयाँ मात्रै लिँदा चिन्तन ।
खासै छैन निकास यो विषयमा लागून् सबै सज्जन ॥१३४॥
पाकाको हित कुञ्ज मन्दिर भनी छन् धेर वृद्धाश्रम ।
लाग्ने गर्दछ अर्थहीन किन हो भत्क्यो गृहस्थाश्रम ॥
उठ्छन् वृद्ध हुँदा तरङ्ग मनमा सामान्य छन् चिन्तन ।
कुद्ने गर्दछ वृद्धआश्रम भनी दौडेर चाँडो मन ॥१३५॥
आफ्ना सन्ततिमा समर्पित भई आयो बुढ्यौली हक ।
त्यो वृद्धाश्रम जानुपर्दछ भने के नै भयो सार्थक ॥
सुन्दै नाम असभ्यझैँ हृदयमा लाग्दै छ वृद्धाश्रम ।
पार्ने गर्दछ छिन्नभिन्न यसले हाम्रो गृहस्थाश्रम ॥१३६॥
सेवा खातिर नाम हो यदि भने राखौँ अनाथाश्रम ।
सारा वृद्ध अनाथ पार्छ नभए भुल्छन् सबैले श्रम ॥
आफ्नो छैन कुनै सहायक भने जान्छन् अनाथाश्रम ।
सिङ्गो वृद्धसमाजमा छ कुभलो चाहिन्न वृद्धाश्रम ॥१३७॥
आआफ्ना कुलदेवता सँगसँगै अध्यात्मका चिन्तन ।
छन् हाम्रासँगमा भुली नसकिने आनन्दका नन्दन ॥
छोरो जान्छ विदेश बस्दछ उतै सम्झन्छ को देवत ा।
बाआमा अब वृद्धआश्रम गए आस्था हरायो कता ॥१३८॥
हाम्रा पूर्व परम्परा विविधता छन् धर्ममा आश्रित ।
चल्दै छन् अझसम्म सुस्त गतिमा मिल्दै छ केही हित ॥
हेर्दा झन् खतरा भयो दिनदिनै हाम्रो गृहस्थाश्रम ।
छोरो बस्छ युरोप वृद्ध जननी राखेर वृद्धाश्रम ॥१३९॥
०००
ताप्लेजुङ
हाल- काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































