दीनानाथ पाेखरेलबाबुआमा (काव्यांश- ५९)
खोजे सागरझैँ बगेर युगका सत्कर्म सङ्ला जति। पस्के सन्ततिमा सुयोग्य गुणले धोई सुधारे मति ।। यस्तो सद्गुण चिन्छ सन्तति भने दुर्भाव टाढा बने । पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।
दीनानाथ पोख्रेल :
सत्कर्मी पथ रोज्नुपर्छ हितको सायुज्यमा लम्कन ।
पुर्खाका कृत कर्म उर्वर चुनी सद्भ्रान्तिमा चम्कन ।।
रम्नेछन् मनभावना घर खुली उद्भ्रान्ति टाढा बने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।८६।।
खेतीज्ञान दिए रमून् सुतसुता बिर्सी नत्यागून् सब ।
खेतीभित्र रहन्छ प्राण जनको यो भाव बोलूँ अब।।
खाने अन्न र लाउने वसन हुन् पुग्नेछ मान्छे बने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।८७।।
पृथ्वीका उरमाथि बाँच्न सजिलो सङ्घर्ष पक्र्यो भने ।
पर्छन् कष्ट अनेक लड्न नसके आलस्य फक्र्यो भने।।
मिल्छन् शान्ति र सौख्य नित्य घरमा सत्कर्मप्रेमी बने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।८८।।
बेलामाफिक कर्म गर्न हितका बाटो चिनाएपछि।
ऊर्जाशील बनी उठेँ अवनिमा उम्दा बनाएँ गति ।।
यस्तो सत्य छ चेतमा यदि भने दोधार टाढा बने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।८९।।
खोजे सागरझैँ बगेर युगका सत्कर्म सङ्ला जति।
पस्के सन्ततिमा सुयोग्य गुणले धोई सुधारे मति ।।
यस्तो सद्गुण चिन्छ सन्तति भने दुर्भाव टाढा बने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।९०।।
०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम
Subscribe
Login
0 Comments
Oldest




































