साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उमेरसँगै बढ्दै जाने महिलाका स्वास्थ्य समस्या

कामको झन्झट मानेर ठिक्क नभई बढी पकाउने, बाँकी बचेका खानपान फ्रिजमा थुपार्ने र घर चलाउन सञ्चिता गरिएका चिजबिजमा नै दैनिकी गुजार्ने बानीले पनि मधुमेहलाई प्रश्रय दिइरहेको हुन्छ ।

Nepal Telecom ad

डा. मुकेशकुमार चालिसे :

Dr Mukesh Kumar Chalishe
Dr. Mukesh Kumar Chalishe

पुरुषको तुलनामा महिलाको औसत आयु बढी देखिन्छ । भन्नलाई उहिल्यैबाट ‘महिला सहन सक्ने र सजिलै हुर्कन सक्ने ज्यामिरको बोट अनि छोरा चाहिँ हुर्काउन गाह्रो सुन्तलाको बोट भन्ने गरिन्छ । यसबाट प्रस्ट हुन्छ: छोरी सानैदेखि बलियो र छोरा कमजोर । हुन पनि वंशाणुको हिसाबले पुरुष कमजोर पक्षको उत्पादन हो, सामाजिक हिसाबले मात्र हैकम बनाएको हो । प्राकृतिक रूपले नै महिलाको शारीरिक प्रतिरोधी क्षमता विकसित छ र थप कुरा पछिल्लो समय स्वास्थ्य सेवामा विकास भएर उमेर दीर्घ भएको पनि हुन सक्छ । अहिलेको समयमा चेतनाको विकाससँगै महिलाको स्वास्थ्य अवस्थामा परिवर्तन भएको छ र मृत्युदर घटेको छ ।

पोषणसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञान पत्रिकाका अनुसार उही उमेर समूहका महिला र पुरुषमा उही प्रकारको काम गर्दा पुरुषले चार हजार क्यालोरी शक्ति नाश गर्छन् भने महिलाले पाँच सय क्यालोरी मात्र । यसको मतलब महिलाले आफूमा रहेको जैविक ऊर्जा संरक्षण गर्न सक्छन् । उही उमेर र उत्ति नै तौल भएका पुरुषलाई १५ प्रतिशत बोसो आवश्यक हुन्छ भने महिलालाई २५ प्रतिशत चाहिन्छ । पुरुषले जीवन धान्न प्रतिदिन ३ हजार ८ सयसम्म क्यालोरी चाहिन्छ भने महिलालाई ३ हजार ३ सय हाराहारीमा भए पुग्छ । वैज्ञानिक डाक्टरहरू गार्वि एल, कुर्जर एमएस, लामार्ट ओ, नाईल्सेन ई लगायतको समूहको अध्ययन महिलाहरू बलियो प्राणी भएको इङ्गित गरेका छन् ।

२०६८ सालको जनगणनामा पुरुष र महिलाको हिस्सा क्रमशः ४८.५ र ५१.५ प्रतिशत थियो । २०७८ को जनगणनाको आँकडा हेर्दा कुल जनसङ्ख्यामा ५१.०४ प्रतिशत महिला र ४८.९६ प्रतिशत पुरुष रहेको देखिन्छ । जनगणना २०७८ अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । २०६८ सालको जनसङ्ख्या २ करोड ६४ लाख ९४ हजार ५०४ को तुलनामा २६ लाख ९७ हजार ९७६ ले बढी हो । १० वर्षमा नेपालको जनसङ्ख्या १०.१८ प्रतिशतले बढेको देखिन्छ । यसरी लैङ्गिक अनुपात (प्रति १०० महिलामा पुरुषको सङ्ख्या) ९५.९१ रहेको छ ।

यो अनुपात २०६८को जनगणनामा ९४.१६ रहेको थियो । जम्मा २१ लाख ६९ हजार ४७८ व्यक्ति धेरैजसो विदेशमा बसोबास गरेका देखिन्छन् । यसमा पुरुष १७ लाख ६३ हजार ३१५ (८१.२८%) र महिला ४,०६,१०३ (१८.७२%) रहेका छन् । २०६८ सालमा घरपरिवारमा अनुपस्थित (विदेशमा बढी समय बसोबास गर्नेहरू) सङ्ख्या १९ लाख २१ हजार ४९४ थियो । त्यसमध्ये पुरुष ८७.६४% र महिला १२.३६% थिए । यसरी समग्रमा हेर्दा २०६८ को तुलनामा २०७८ मा विदेसिने महिलाको सङ्ख्या ७१.०९% ले बढेको देखिन्छ । अहिलेको आँकडामा २० वर्षसम्मका उमेर समूहमा मात्र पुरुषहरू बढी प्रतिशतमा देखिन्छन् भने त्यसमाथिको हरेक उमेर समूहमा महिला प्रतिशत नै बढी छन् । अझ दीर्घ जीवनको आँकडा अर्थात् ९५ वर्ष माथिका पुरुष ६ हजार ८१० हुँदा महिला १० हजार ४२४ भेटिएका छन् ।

यो आँकडाअनुसार बराबरी मात्र सुविधा पाए भने पनि स्वास्थ्यको हिसाबले पनि पुरुषको दाँजोमा महिला नै बलियो, उत्कृष्ट र बढी आयु भएको देखाउँछ । नेपालमा महिलाको सङ्ख्यात्मक आँकडा वृद्धिसँगै महिला स्वास्थ्यका बारेमा अझ बढी ध्यान दिनुपर्ने देखिन्छ । नत्र त मानिसको ठुलो भाग परित्यक्ततामा पर्न सक्छ । यस हिसाबले पनि अहिले महिला स्वास्थ्य, अझ पाका महिलाको स्वास्थ्यका बारेमा जानकारी र निदानका उपाय बेलैमा सुझाई हाल्नु बाञ्छनीय हुन आउँछ । त्यसकालागि केही सामान्यतया लागिहाल्ने रोग व्याधबारे जानकारी लिनु ठिक होला ।

महिलाका रोग
पाका हुँदै गएका महिला उही उमेर समूहका पुरुषको दाँजोमा उस्तै रोग व्याधमा पनि फरक किसिमले सङ्क्रमण भएको पाइन्छ । यो तथ्य महिला स्वास्थ्यबारेमा विविध अनुसन्धानात्मक लेखहरू समीक्षा गरिएको रिपोर्ट डा. मेलिण्डा रतिनीले सन् २०२१ मा प्रकाशित गरेर प्रस्ट पारिएको छ । पाका महिला पनि पुरुषकै जस्ता मुटु रोग, अबुर्द रोग, स्वास प्रश्वास आदि रोगबाट ग्रसित हुन सक्छन् । तर मधुमेह, उच्च रक्तचाप, उन्माद र बाथ रोग पनि थप धेरैलाई हुन्छ । यसरी कुनै असाध्य रोगसँगै महिलामा बढी रोग जटिलतायुक्त लक्षणसहित देखा पर्ने गरेको छ ।

मुटुरोग
पाका महिलाको मृत्युको प्रमुख कारणमा मुटु रोग पर्दछ । उमेरले ७० नाघे पछि महिला पुरुषसरह र अझ बढी सङ्ख्यामा मुटु रोगबाट ग्रसित हुने गरेका छन् । यससँगै हाड खिइने र कमजोर हुने ओष्टियोपोरोसिस् भन्ने रोगबाट धेरै पाका महिला पीडित भएको पाइन्छ । शरीरले चाहिँदो मात्रामा क्याल्सियम उत्पादन गर्न नसक्दा हाड जोर्नी कमजोर हुने, खिइने र भाँच्चिने हाडको रोगलाई ओष्टियोपोरोसिस् भनिन्छ ।

शरीरभित्र उत्पादन हुने खनिज क्याल्सियम उमेरिँदै जाँदा प्राकृतिक तवरले महिला पुरुष दुबैमा मात्रात्मक कमी हुन लाग्छ । यसले अस्थिपञ्जर प्रणालीका सबै हाडको नवीकरण र मोटाइमा कमी आई जोर्नीहरूमा पनि असर गर्न थाल्छ । शरीरका अङ्गहरूका भार बहन गर्ने कुम, मेरुदण्ड, कम्मर, गोडा र पाइतालाका भागमा रहेका हाडहरू क्याल्सियमको अभावमा पुष्ट नहुने, खिइएको नभरिने र भाँच्चिने पनि हुनसक्छ ।

पाका महिला महिनावारी सुकेपछि र पाठेघरको शल्यक्रिया गरिएका महिलामा शरीरभित्र उत्पन्न हुने एस्ट्रोजन भन्ने जैविक रसको कमी स्वाभाविक हुन्छ । यस हर्मोनको अनुपस्थितिमा महिलामा हाड खिइने प्रक्रिया झन् प्रोत्साहित हुन्छ र बढी कमजोर भएमा भाँच्चिने पनि हुन्छ । ७५ देखि ८५ वर्षका हरेक तीनमध्ये एक महिलामा क्याल्सियमको समस्या भएको तथ्याङ्क अमेरिकी महिला स्वास्थ्यमा काम गर्ने संस्थाहरूको रहेको छ ।

कोही कोही महिला मुटुको ढुकढुकी तलमाथि भएको गुनासो गर्छन् । सामान्यतया विभिन्न खालका श्रम गर्दा, चिन्तित हुँदा, अनावश्यक डराउँदा र आराम गर्दा फरक पर्नु स्वाभाविक हो । आराम गर्दा पनि छिटो छिटो वा तलमाथि हुन्छ भने विज्ञ चिकित्सकलाई देखाइहाल्नु पर्दछ । कतिपयमा मुटुमा विभिन्न खराबीले पहिलेदेखि भएको उमेरको मनोविज्ञानले अहिले चाल पाएको हुनसक्छ ।

अबुर्द अर्थात क्यान्सर रोग
६५ वर्ष माथिका हरेक पाँच जनामा एक जनालाई कुनै न कुनै प्रकारको अबुर्द रोग लागेको हुनसक्छ । डा. मेलिण्डा रतिनीको अध्ययनमा अमेरिकी पाका महिलाको मृत्युमा अर्बुद रोग दोस्रो प्रमुख कारणमा पर्दछ । सन् २०२१ सम्मको अध्ययन र महिला स्तनमा हुने अर्बुद रोगको पछिल्लो पहिचानले ६० वर्ष माथिका पाका महिला धेरै थपिएको देखिन्छ । त्यस्तै ७० वर्ष माथिका पाका महिलामा पाठेघरको अबुर्दरोग उच्चतामा रहेको आँकडा छ । शरीरमा विभिन्न खालका गाँठा गुठी र पाचन प्रणालीको अर्बुद रोग पनि कुनै न कुनै स्तरको फेला परेका छन् । पुरुषहरूमा विकसित स्तन र पाठेघरको अभावमा पाका महिला अबुर्द रोगबाट पुरुषको दाँजोमा बढी ग्रसित भएको देखिन्छ ।

घातः
हृदयाघात र मस्तिष्क घात अमेरिकी पाका महिलाको मृत्यु हुने तेस्रो प्रमुख कारणमा पर्दछ । रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी अमेरिकी संस्थाकाअनुसार हरेक पाँच जना पाका महिलामा एउटालाई सानो ठुलो घात भएको देखिन्छ । घात भएकामध्ये आधाभन्दा बढी पाका महिला हुनासाथ मृत्युवरण गरेको देखिन्छ । घात पछि बाँचेका पाका महिलाका शारीरिक अङ्गहरूमा विभिन्न किसिमका पक्षाघात र अक्षमता भएका पनि थुप्रै महिला भेटिएका छन् । पाको उमेरमा घात भएपछि कतिपय महिला आफ्ना दैनिकी अरूको भरमा चलाउनुपर्ने अवस्थामा पुगेका हुन्छन् ।

यस्तो हुँदा पाका महिलाको जीवनस्तर सा¥है कष्टकर हुन्छ र परिवारले बेवास्ता गरिँदा सहाराहीन देखिन्छन् । मस्तिष्क घातको कारण मृत्यु नभएमा कतिपयमा पूरा वा आंशिक पक्षाघातले असर गरेको देखिन्छ । यसले पनि सर्साउँदो जीवनमा निकै अड्चन र समस्या छोडेर गएको हुनसक्छ । कसैको हात गोडा नचल्ने र कसैको ओर्कोफर्को गर्न नसक्ने भई दैनिकी हेरालुको भरमा हुन जान्छ । कतिपय महिलामा सबै सके पनि हात गोडाको औँलाहरूले काम नगरी लेख्न, खान समात्न, लुगा लगाउन, टाँक अल्झाउन र चट्टी लगाएर हिँड्नसमेत नसक्ने हुन सक्छन् ।

मधुमेहः
मधुमेहको शिकारमा पुरुषको दाँजोमा महिला बढी खतरामा हुन्छन् । अमेरिकामा मात्रै हरेक नाै जना महिलामध्ये एक जना असाध्य मधुमेहले आक्रान्त भएको पाइन्छ । पाका महिलामा मधुमेह आफैँ कष्टसाध्य रोग हो भने पुरुषको तुलनामा पाका महिला यस रोगबाट ग्रसित भएमा मुटु रोग, अन्धोपन र विस्मृतिमा जाने खतरा बढी नै देखिएको छ ।

कामको झन्झट मानेर ठिक्क नभई बढी पकाउने, बाँकी बचेका खानपान फ्रिजमा थुपार्ने र घर चलाउन सञ्चिता गरिएका चिजबिजमा नै दैनिकी गुजार्ने बानीले पनि मधुमेहलाई प्रश्रय दिइरहेको हुन्छ । लामो समय त्यस्ता खानपानले अरू रोगका साथै मधुमेह पनि निम्त्याएको पाइन्छ ।

यस प्रक्रियामा पाका महिला नै फारुतिनोको नाममा अग्रसर भई रोगको सिकार भएका हुन सक्छन् । घरायसी काममा व्यस्त वा विविध कारणले शारीरिक व्यायाम कम गर्ने पाका महिलामा त यस्तो रोगले मौका पाई हाल्छ ।

मस्तिष्क र स्नायु रोग
सामाजिक दबाब, जिम्मेवारीको चापले पनि पुरुषको दाँजोमा महिला बढी चिन्तित र मानसिक तनावमा रहन्छन् । प्राकृतिक कारणले पनि महिलाले चाँडै प्रजनन क्षमता गुमाउँछन् । आन्तरिक जैविक रस (हर्मोन)को उत्पादन महिलामा महिनावारी हुन छाडेपछि अनियमित र विश्रृङ्खलित नै भएको हुन्छ ।

यसबाट पाका महिलामा मस्तिष्क र स्नायुसम्बन्धी असामान्य स्थिति उत्पन्न भई बिर्सने, उन्माद र अल्जाइमर जस्ता रोगले च्याप्न सक्छ । युरोप अमेरिकाका चिकित्सकहरूका विज्ञानसम्मत लेखहरूमा ६५ वर्ष माथिका नौमध्ये एक जना महिलामा स्नायुसम्बन्धी कुनै न कुनै रोग रहेको उल्लेख गरिएको छ । यस्ता रोगहरू पाका पुरुषमा भन्दा दोब्बर प्रतिशतमा पाका महिलामा हुने गरेको देखिन्छ भन्ने डरलाग्दो आँकडा लेखहरूको छ । सामान्य विस्मृतिको लक्षण र रोगकै रूपमा पनि पाका महिलामा दोब्बर मात्रामा आक्रान्त भएको पाइन्छ ।

युवती हुँदादेखि नै महिलामा आफ्नो भविष्य, जीवनसाथी र आर्थिक चाँजोपाँजो बारेमा बढी संवेदनशील भई सोच बिचार गर्ने गरेको धेरै मनोवैज्ञानिकले बताउने गरेका छन् । भौतिक सम्पन्नता भएका देशमा उस्तै खालका चाहना भए पनि कम विकसित देशका युवायुवतीमा आगामी जीवनबारेमा बढी चिन्तित र अस्थिर मनोदशा नै पाइन्छ ।

त्यसमा पनि युवतीहरू सामाजिक विभेद तथा सांस्कृतिक चपेटामा आफ्ना आगामी दिनका बारेमा मनमा कुरा बढी खेलाउने स्वभाव कै हुन्छन् । हरेक समस्यामा सुरक्षित अवतरण गर्न खोज्ने महिलाहरू सन्तान पाए पछिको आवश्यकता र हुर्काई उत्तम स्तरमा होस् भन्ने चाहनामा आफूलाई समर्पित गर्छन् । सन्तानको खुसीमा सबै आफ्ना आकाङ्क्षा त्याग्ने महिला पाको हुँदै जाँदा तिनै सन्तानबाट परित्यक्त र वास्ताहीन हुँदा कस्तो मनोदशा बन्ला ? फलस्वरूप धेरै पाका महिला परिवार र आफन्तका बानी ब्यहोराबाट आजित भई मनोरोगको सिकार हुन पुग्छन् ।

बाथ
बाथ सामान्यतया मान्छेको साझा समस्या हो । महिलामा क्याल्सियमको असन्तुलित उत्पादनले चाँडै हाड सम्बन्धी रोग लागेसँगै जोर्नीका बाथले गाँज्न थाल्छ । सन्तान उत्पादन, भरण पोषणको जिम्मा तथा त्यस्ता प्रक्रियामा महिलाको योगदान पूर्ति गर्न कतिपय समुदायमा उचित पौष्टिक आहारको व्यवस्थापन नहुँदा शारीरिक प्रतिरोधी क्षमता ह्रास भएर पाको उमेरमा पुग्दा महिलामा यस्ता रोगले च्याप्छ । संसारकै ६५ वर्ष माथिका पाका मान्छेमध्ये आधालाई कुनै न कुनै प्रकारको बाथरोग भएको पाइन्छ भने पाका महिला त झन् बढी खतरामा नै परेका हुन्छन् ।

यस परिप्रेक्ष्य विभिन्न बस्तु, गन्ध, कीटाणु आदिको लसपसबाट शरीरमा तीव्र प्रतिक्रिया (एलर्जी) उत्पन्न हुने सङ्केत शरीरमा देखा पर्छ । औषधिबाटै हुने यस्ता प्रतिक्रियामा पेन्सिलिनबाट एलर्जी हुने मानिसले मृत्युबरण गरेका घटना पनि पाइन्छन् । एलर्जीका प्रतिक्रियाबाट दुख पाउनेमा पुरुषको दाँजोमा महिला त्यसमाथि पाका महिला झन् बढी भेटिन्छन् ।

मोटोपन
अमेरिकाका ६५ देख ७४ वर्षसम्मका पाका महिलाको स्वास्थ्य अध्ययनमा करिब ४१ प्रतिशत महिलामा कुनै न कुनै प्रकारको ‘रोगी मासु’ भनिएको मोटोपन भएको पाइयो । उमेरमा खानाको रुचाइमा नियन्त्रण नहुँदा र आन्तरिक स्वस्थताको कारणले पनि शरीर मोटोघाटो हुनु स्वाभाविक हो । सन्तान उत्पादन, तागत र पौष्टिकताको नाममा बढी बोसोजन्य तथा गुलिया पदार्थ सेवन र शरीरको निष्क्रियता लगायत कारणले महिलामा शरीरभित्र बोसो जम्मा हुन्छ । घर बाहिर हिँडडुल कम गर्ने हुँदा व्यायाम नपुगी मासु बढ्नुभन्दा कमजोर हुने र बोसो थुप्रिने भएको हुन सक्छ । पेट बोक्दा बच्चा दानीको बढाईसँगै फैलिएको भित्री भागमा बच्चा जन्मिएपछि ठाउँ पूर्ताल गर्न एडिपोज तन्तु फैलिन थाल्दछ । यसैको कारण छाती तलदेखिका भागमा मासुका लुँदा जस्ता बढेका बोसोको मात्रा बढ्छ ।

कतिपय अवस्थामा मोटाउनु राम्रो हो भन्ठानेर घटाउनतिर लाग्दैनन् । अथवा कृत्रिम तरिकाले दुब्लाउन खोज्ने तरिका पनि ठिक छैन । यी दुवै प्रक्रियाले पाका महिलामा ‘बुढो मासु’ भनिने अछन्द्याईलो मासु पेट, कम्मरमा थुप्रिन पुग्छ । मोटोपन रोगको घर हो र यसबाट पाका महिलामा अरू रोग निम्त्याइरहेको छ । सचेतना बढेसँगै अचेल सहरमा बिहान बेलुका सहरतिर हिँड्ने क्रम बढेको देखिन्छ । शारीरिक सुगठनका लागि व्यायामशालातिर पनि गएको देखिन्छ । कयौँलाई अल्पाहारमा जोड दिएको पाइन्छ ।

आङ झर्ने
प्राय बच्चा पाइसके पछि उचित हेर बिचार नपुग्दा र आलो सुत्केरी छँदै भारी बोक्नेलगायत शारीरिक श्रम बढी गर्नुपरेका महिलामा आङ झर्ने समस्या हुन्छ भनी नेपालमा बुझिन्छ । यो समस्या पाका महिलामा अत्यधिक भएको र सामाजिक लाज मान्ने प्रवृत्ति नेपाली महिलामा बढी भएकाले प्रकाशमा आइरहेको हुँदैन । पाठेघरदेखि योनि मुखसम्मको ढुङ्ग्रो जस्तो अङ्गलाई स्थिर बनाउन मद्दत गर्ने मांसपेशीहरू विभिन्न कारणले कमजोर भएपछि आङ झर्न थाल्छ र रोगको रूपमा देखा पर्छ ।

सङ्क्रमण पनि छ भने पिसाबजन्य समस्या सर्वसाधारण धेरै महिलामा भएको नेपाली विज्ञहरू बताउँछन् । गर्भधारणको बेलाको जटिल समस्या, बच्चा पाउँदा लामो व्यथा लाग्नु, भित्री जैविक रसको अनियमित उत्पादन, कडा कब्जियत, लामो समय लगातार खोकी, अप्राकृतिक यौन सम्पर्क, मोटोपन आदिले आङ झर्ने भएको हुनसक्छ ।

धेरै वटा बच्चा पाएका र बढी तौलका बच्चा पाउने महिलामा बारम्बारको प्रसव वेदनाले सानो ठूलो आङ झर्ने अवस्था आउँछ भने विशेष गरी विवाहपछि यौन सफाइ र स्वास्थ्य बारेमा ध्यान नपुर्‍याउँदा पनि पाको उमेर हुँदै जाँदा आङ झर्ने हुनसक्छ । पाको उमेरमा महिला रजोनिबृत्तभई अति तौल बढ्दा ओईस्ट्रोजिन हर्मोनको कमी र पाठेघर वरपरका मांसपेशी कमजोर हुँदा पनि आङ झर्ने समस्या हुने गरेको छ ।

०००

चालिसे डाँडा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
हामीलाई बेवास्ता गरे विकास हुन्छ र ?

हामीलाई बेवास्ता गरे विकास...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x