साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाका मान्छेमा मुटुको हेरविचार !

अहिलेकाले प्रयोग गर्ने भौतिक सुविधा, खानपानमा बढी हौसिँदा र लोभ्भिँदा तिनीहरूका अनावश्यक थेग्रिन शरीरमानै बस्न गएर रोगब्याध पलाएका हुन सक्छन् । त्यस्तै रोगमध्ये उपचार त हुने तर साह्रै खतरनाक रोगहरूमा मुटुको असफलता र हृदयघात पर्छन् ।

Nepal Telecom ad

डा. मुकेशकुमार चालिसे :

मुटुको कुरा आउँदा हामीले रक्तसञ्चालनको केन्द्रबिन्दुमा रहेको अङ्गलाई बुझ्छौँ । पृथ्वीमा भएका सबै प्राणीमा प्रजातिगत स्तरअनुसार शरीरभित्र जैविक रस हुन्छ । प्राणीको शारीरिक जटिलताअनुसार त्यस्ता रसको रङ, उत्पत्ति, सञ्चालन र खास उमेरसम्म नवीकरण भइरहेको हुन्छ । त्यसैले कतिपय मसिना प्राणीमा रगत हाम्रो जस्तो रातो र हावामा तुरून्त जम्ने खालको पनि हुन्न । मसिना र मेरूदण्डविहिन प्राणीमा मुटुको संरचना नभएको पनि हुन्छ भने विकसित प्राणीमा पनि दुईकोठे, तीनकोठे र हामी मानिसको जस्तै चारकोठे मुटु हुन्छ । हरेक प्राणीमा यस्ता आन्तरिक जैविक प्रणाली जन्मेदेखि मर्नुअघिसम्म आफैं चलिरहेका हुन्छन् । त्यस्ता प्रक्रिया कुनै पनि जीवको अधिनमा हुँदैन ती स्वयम सञ्चालित हुन्छन् ।

सामान्य स्वास्थ्य भएको मानिसको दिनको १,१५,२०० पटक मुटुले धड्कने गर्छ । त्यस हिसाबले निजको तलमाथि नभएमा एक वर्षमा ४२,०४८,००० पटक मुटु धड्किएर शरीरभरी रक्तसञ्चालन भइरहेको हुन्छ । त्यो मानिस साठी वर्षसम्म बाँचेमा उसको मुटु २,५२,२८,८०,००० पटक धड्किएर उसलाई जीवित राखेको हुन्छ । त्यस पछिका पाका मान्छेको मुटु कति पटक धड्की सक्या होला ? हामीलाई हाम्रो खानाको पौष्टिक तत्वसहित श्वास-प्रश्वासबाट प्राप्त प्राणवायु (अक्सिजन) शरीर भरी अविराम पुर्‍याउन रगत दौडिरहन्छ र त्यसलाई नियमित पार्न मुटु नरोकिई चलिरहेको हुन्छ । तपाईंको आदेश नपर्खिई तपाईंलाई बचाउन मुटुले ज्याला माग्छ र ? सोझै त होइन घुमाउरो तरिकाले हेरविचार र उसलाई सहयोग गरिनु पर्ने कुरा चाहिँ मागिरहेको हुन्छ । तपाईंको खानपान जथाभावी हुँदा र त्यसबाट रगत बिग्रँदा उसले पनि आफू असफल हुन थालेको र आफूलाई असाध्य भएर घात हुन थालेको लक्षण देखाउन थाल्छ ।

मुटु असफल हुनुः
औँलाको टुप्पादेखि टाउकोमा कपालको फेदसम्म जीवित राख्न रगत प्राणवायु र पोषण तत्व लिएर पुग्नु पर्छ, त्यसैले मुटु अशुद्ध रगत जम्मा गर्दै शुद्ध रगत ठाउँठाउँ पुर्‍याउन धड्किरहन्छ । विभिन्न कारणले मुटुकै मांसपेशी थाकेर वा केही रोगको सङ्क्रमण भएर र हेरविचार नगरिएमा प्रभावकारी ढङ्गले प्राकृतिक रूपले मुटुले रगत घच्याड्न र जम्मा गर्न सक्तैन । त्यसले गर्दा मानिसका अङ्गहरूमा समयमानै रगत पुग्न, फर्किन सक्तैन भने पुर्‍याउनका लागि मुटुले कडा मिहेनत गर्नुपर्छ र समूह भएको विभिन्न लक्षण देखा पर्दछ । यसरी मुटुको रगत सञ्चालनमा असक्षमतालाई हर्टफेल भएको वा असफल भएको भनिन्छ भन्ने नेपालका मुटु विशेषज्ञ र हार्वाड मेडिकल कलेजका चिकित्सकहरूको ठम्याई छ ।

सामान्यतया पाको उमेर हुँदा अरबौँ पटक मुटुले धड्कन गरिसकेको हुन्छ भने उमेरिँदै जाँदा कमजोर स्वास्थ्य हुँदा झन बढी कष्टसाथ रगत सञ्चालन गर्न मुटु प्रयासरत हुन्छ । शरीरका विभिन्न अङ्गमा सफा रगत पुर्‍याउन नसक्नुनै मुटु असफल भएको भनिन्छ । त्यसो हुँदा सामान्यतया थकाई लाग्ने, श्वास-प्रश्वास अनियमित हुने, एक्कासी स्याँक्क भई श्वास तान्ने, फेर्ने र गोडा सुन्निने हुनसक्छ । घ्याच्चघुच्च यस्तो कहिलेकाहीँ हुनु स्वाभाविक देखिए पनि नियमित भयो र निम्न लक्षणहरू पनि देखिएमा खतराको सङ्केत भनेर उपचारतिर लाग्नु पर्छ । विकसित भनिएको अमेरिकामा विभिन्न प्रकारले स्वस्थ्यकर जीवन बिताउने भन्ने सुनिए पनि ६२ लाखभन्दा बढी वयस्कहरू मुटुको यस्तै समस्याले ग्रसित भएको आँकडा छ । समयमा निरोपण गरी उपचार गरिएकाले कम्तीमा जीवन धानिरहेछन् भने पाकाहरूमा समस्या बढ्दो छ ।

यस्तो भयो कि ? :
‘पाको उमेरमा शरीर अथुलायो, बूढोमासु लागेको’ भन्ने होइन, सतर्क हुने हो । दैनिक एक किलो बढ्ने वा हप्तामा दुईतीन किलो वा बढी तौल हुनथाल्यो भने मुटुलाई धेरै दबाव पर्दैछ भन्ने बुझ्नु पर्छ । त्यस्तै, सामान्य हिँड्डुल गर्दा, एकोहोरो काम पछि वा नगरीकन पनि गोलीगाँठा, पैताला र गोडा सुन्निने गरेको छ भने होसियार हुनुपर्छ है । बेलाबखत पेट फुल्ने र सामान्य खाना सेवनमा पनि पेट दुख्ने गरेको छ कि ? व्यायामनै नगर्दा, हिँड्डुल र हलुका काम गर्दा पनि स्याँस्याँ हुने, श्वास फुल्ने वा एक्कासी स्याँक्क भइरहन्छ कि ? उत्तानो तन्किएर सुत्दा असजिलो हुने र श्वास-प्रश्वासमानै अप्ठ्यारो हुन्छ कि ? निद्रा लाग्न खोज्दा र निद्रापछि आँखा खुल्न लाग्दा श्वास तलमाथि परेको वा फेर्न समूह भएको जस्तो लाग्छ कि ?

अन्य रोगब्याधको लक्षण नहुँदै बेलाकुबेला एक्कासी खोकी लाग्ने र हाच्छ्युँ आउँछ कि ? लामो हिँडाई वा काम गराईले होइन घरमै लर्‍याङलुरूङ गर्दै पनि अति थकाई लाग्छ कि ? झुनीलाग्ने वा कुनै कुरा र काममा चित्त लगाएर गर्न नसकिने नियमित भएको, किंकर्तव्यविमुढ वा अन्यौलता अतिसय भइरहन्छ कि ? बेलाबेला ओठ, हातगोडाका नङ्ग निला हुने र कुनै नङ्गमा रगत फुटी कालो हुने र मर्ने गरेको दोहोरिईरहन्छ कि ? अनेक कारण बढ्दै गएपछि खानामा रूचि नहुने वा जस्तोसुकै खानेकुरा देख्दा पनि अरूचि हुन्छ कि ? यस्ता सबै कारण समग्रमा वा भिन्दाभिन्दै केहि भएको छ भने मुटुलाई रगत सञ्चालनमा धेरै दबाव छ र यो दबाव रोगको रूपमा घातक रूपले बिग्रँदै छ भन्ने बुझ्नु पर्छ । ‘पाको उमेरमा यस्तै हो, बूढेसकाल भनेकै काल हो नि’ भन्ने होइन, विज्ञबाट नीतिखोजी गरी एउटा टुङ्गोमा उपचार हुनै पर्दछ ।

उपचारका कुराः
मुटु असफल भएको कारण र स्तरअनुसार अचेल औषधोपचार गरिन्छ, डराउनु पर्दैन । औषधि गर्नैपर्ने भएमा प्रारम्भमा सामान्य बानीमा फेरबदलसहित औषधि र क्रियाकलापमा विविधता आदि पर्दछन् । शरीरमा भएको अतिरिक्त पानी र नुन (सोडियम) पिसाबबाट निकाल्नको लागि पिसाबलाग्ने औषधि सेवन गर्ने पनि हुनसक्छ । मुटुको चाल बढेमा कम बनाउने र सामान्य पार्न सहयोग गर्ने औषधि सेवन पनि हुनसक्छ । रक्तनलीलाई लचिलो बनाई आरामसाथ रक्तप्रवाह गराउने र मुटुको धड्कन बलियो र नियमित गराउने प्रविधि र प्रक्रिया लागु गर्ने पनि हुनसक्छ ।

यसरी उपचार गर्दा पनि मुटुले असफलता देखाइरह्यो भने मुटुलाई नियमित पार्न केही चिकित्सकीय उपकरण छाती वा मुटुमा प्रत्यारोपण गरिने पनि सामान्य भएको छ । नेपालमा पनि त्यस्ता उपकरण राखेर पथपरहेजसहित दैनिक सामान्य काम गरिरहेका अचेल हरेक संस्थामा कोही न कोही भेटिन्छन् । मुटुको चाल प्राकृतिक जस्तै सामान्य बनाउन र स्वस्थ्य जीवन जिउने यन्त्रसञ्चालक (पेसमेकर) लगाएका मानिस जताततै भेटिन्छन् । मुटुको तल्ला कोठाले रगत घच्याड्न मद्धत गर्दछ, त्यसको करणले हुने मुटुको चाल गडबडीलाई त्यहीँ मद्धत गर्ने उपकरण पनि जडान गर्ने प्रचलन छ । समग्र मुटुको चाल गडबडी भएकोलाई दुरूस्त पार्ने उपकरण पनि अचेल प्रयोगमा आउन थालेको छ । मुटुमा धेरैतिर ससाना भए पनि थुनिएको अवस्था छ र विभिन्न नियन्त्रक भागहरू र नसाभित्र अतिरिक्त पदार्थ जमोट भई रगत सञ्चालनमा अवरोध भए अति खतरनाक अवस्थामा मुटुको प्रत्यारोपण पनि गरिन्छ । यस्ता बिरामीले शल्यक्रिया र उपचारपछि हृदयाघातका बिरामीले लागु गर्ने जस्तै दैनिक जीवनमा पथपरहेज गर्नु थप खतरा ननिम्त्याउनु हो ।

हिजोआज मुटुको असफलता वा दबाव कम गर्ने औषधि सेवनका लागि विज्ञ चिकित्सकले सल्लाह दिनसक्ने भएको छ । आफ्नो
पथपरहेजबाहेक नियमित औषधि सेवनले समस्या सुल्झिन सक्छ । चाहिँदो दैनिक व्यायामको सन्तुलन, खानपानमा नुनचिनीको कमी, अन्य पेयपदार्थ र नियमित पानी पिउने मात्रामा सन्तुलनले मुटुमा पर्ने दबाव रोकथाम गर्न सकिन्छ । कहिलेकाहीँ समस्या अति हुने र मुटुले थेग्न नसकी असाध्य भएर अचानक मानिस सिकिस्त हुन सक्छन् । त्यसबेला जीवन रक्षाका लागि अस्पताल दौडाउनु पर्ने अवस्था आउन सक्छ तर यस्तो कहिले होला भनिे भविष्यवाणी गर्न भने सकिन्न ।

उपरोक्त केहि लक्षणहरू देखिएका छन् भने बिरामी आफैंले दैनिक शरीरको आँकडा हरेक साँझ लिई चिकित्सकसँग सल्लाह लिइरहनु सुरक्षाको उपाय हो । दैनिक रूपले निसास्सिएको वा श्वास फुलेको, गोडा सुन्निएको मात्रा, थकाई लागेको वा सानो कामले गलन्तु र तौल बढेको समस्यालाई १ देखि ५ अङ्कभार दिएर सामान्यदेखि अतिको अङ्क दिने । यदि दैनिक आँकडा तलमाथि छ भने प्रारम्भमा खानपान र पथपरहेजमा ध्यान दिऊँ, रोग बढाउने बस्तु सेवन घटाउँ वा त्यागौँ । तर समस्या बढ्नेतिर आकर्षित छ भने तुरून्त सम्बन्धित चिकित्सकसँग परामर्श गरिहाल्नु पर्छ । ‘बूढेसकालमा यस्तै हो, अब चटपटाउने दिन गए’ भनि मन मार्ने र परिवारले बेवास्ता गर्ने गर्नु हुन्न । आवश्यक पर्दा अस्पताल भर्ना भई विज्ञको निगरानीमा उपचार ढिलो नगरौँ ।

मुटुको घातः
हृदयघात वा मुटुमा घात हुने भनेको मुटुको खासखास भागमा सहजतापूर्वक रगत सञ्चालन नहुनु हो । विभिन्न अवरोधका कारण त्यहाँ भएका तन्तुहरूमा तिनलाई बाँच्न र काम गर्न चाहिने शुद्ध, प्राणवायु मिश्रित रगत पुग्न सक्तैन । विशेषगरी कोरोनरी आर्टरीको रगत सञ्चालनको थोरै वा धेरै अवरूद्धताले हृदयघात भएको देखिन्छ । तुरून्तै पत्तो लगाई औषधोपचार गर्नतिर लागिएन भने त्यो प्रभावित तन्तु बेकामे भई नष्ट हुनसक्छ र मर्न सक्छ, फलस्वरूप मानिसको ज्याननै जोखिममा पर्छ । चिकित्सकीय भाषामा मायोकार्डियल ईन्फ्राक्सन भनिने यस रोगबाट अमेरिकीहरू हरेक ४० सेकेण्डमा एउटालाई आक्रान्त पारिरहेकै पाइन्छ । नेपालमा पनि बढ्दो तथाकथित विकास, जीवनस्तर उक्सिएको स्वाङमा व्यक्तिका शारीरिक श्रममा कमी, गरिष्ट, अप्राकृतिक र बेमौसमी खानपानको कारण हृदयघातका समस्या बढिरहेको सुनिन्छ । मुटु रोगकै अलग्गै सरकारी र नीजि अस्पतालहरू खुल्नुको पछाडि रोगको गाम्भीर्यता र पीडितहरूको सङ्ख्या वृद्धिलेनै सङ्केत गरेको होइन र ?

लक्षणहरूः
हृदयघातको प्रमुख लक्षणमा छाती दुख्नु अर्थात मुटु दुख्नुनै प्रमुख मानिन्छ । छाती दुख्ने स्तर सामान्यदेखि एक्कासी बेस्सरी दुःखेको हुनसक्छ । दुखाई भने फरक व्यक्तिमा फरक किसिमले- कसैलाई बेस्सरी दबावले थिचेको जस्तो, कसैलाई गरुङ्गो बस्तुले किचेको जस्तो र कसैलाई मुटुनै बटारिएको वा निचोरेको जस्तो हुनसक्छ । हृदयघात हुँदा शरीरका मुटु नजिकका अरू भागमा पनि दुखाई सर्ने वा ती भाग पनि दुख्ने हुनसक्छ । मुख्यतया पाखुरा, काँध, पातो, ढाड, गर्धन र चिउँडोतिर दुख्ने हुनसक्छ । यसरी मुटु वरपर र नजिकका भागमा हुने र सर्दै गएको अनुभव हुने पीडानै हृदयघातका प्रमुख र प्राथमिक लक्षण भए पनि अरू खालका पनि हुन्छन् । दुखाई भए नभए पनि स्याँस्याँ हुने, एक्कासी स्याँक्क भई स्वास फेरिने, चिसा पसिना आउने र सामान्य अवस्थामानै चिडचिड पसिना छुट्ने पनि हुनसक्छ । थप लक्षणमा मगज शून्य भए जस्तो लाग्ने, एक तमासको रिङ्गटा लाग्ने, दिगमिग लाग्ने, मुखमा तम्तमिदो स्वाद हुने, अचानक वान्ता हुने र केही गर्न नसक्ने जस्तो थकान महसुस भई मानिस लल्याकलुलुक हुन सक्छ । उमेरिँदा ‘धनु कमजोर भएको हो, बैँसमा कहाँ हुन्थ्यो र !’ भनि निच मारेर उपचारतिर नलागी बस्नु हुन्न ।

उपचारका कुराः
हृदयघातमा उपचार भनेको मुख्य गरेर शरीरभरी, मुटुभित्र र बाहिरी मांसपेशीमा रक्तसञ्चालन दुरूस्त र निर्बाध गराउनु नै हो । त्यसो भएमा जहाँजहाँ रक्तसञ्चालन अवरोध भएर तन्तु मर्ने सम्भावना छ त्यो कम हुने वा थप नमर्न सक्छ । हृदयघात भएको बिरामीलाई अस्पतालनै लैजानु पर्छ, त्यहाँ विविध एकीकृत प्रयासले बिरामीलाई बचाउन सकिन्छ । हृदयघातमा हुने विभिन्न कारणमा रक्तनली र मुटुभित्र रगत जमेर रक्तप्रवाहमा अवरोध प्रमुख कारणमा पर्छ । औषधिले त्यस्ता जमोटलाई फुटालेर रगत बग्न सहज बनाउँछ । नाइट्रोग्लिसिरिनले रगतका नसालाई खुल्ला बनाउन र रगत बग्न सहज बनाउने हुनाले घात भएकालाई प्रयोग गरेको पनि पाइन्छ ।

रगत पातलो पारी नजम्ने बनाउने अरू त्यस्तै औषधि प्रयोग गरेर रगत थप नजम्न र प्रवाह अनुकुल बनाइन्छ । भएको दुखाईलाई घटाउन र थप पीडा बिरामीलाई नहोस् भनि दुखाई कम गर्ने औषधि पनि प्रयोग गरेर बिरामीको अवस्थालाई सहज बनाइन्छ । त्यस्तै विभिन्न औषधि प्रयोग गरेर रक्तचाप उच्च हुन नदिने र कोलेस्टेरोल बढ्न नदिने उपाय गरिन्छ । मुटुमा रगत जमेर वा कोरोनरी आर्टरीमा अवरोध भएर रगत प्रवाह थुनिन खाजेको छ भने पिसिआई भनिने प्रक्रिया र प्रविधिबाट जमोट हटाइन्छ र रक्तसञ्चालन गरि हृदयघात सल्ट्याइन्छ । त्यस्तोमा स्टण्ट राखेर पनि धेरै वर्षसम्म त्यस अड्किने ठाउँबाट रगत चल्न सजिलो बनाइन्छ । अवरोध भएको ठाउँ खुल्ला गराउन समस्या भए बिरामीको शरीरको कुनै भागबाट रगत बग्ने स्वस्थ्य नसा निकालिन्छ र कोरोनरी आर्टरीको अवरोध भागलाई छलेर अगाडि र पछाडिको भागमा जोडिन्छ । यस खालको बाटो छल्ने प्रक्रियालाईनै मुटुको बाईपास शल्यक्रिया सामान्यतया भनिएको हो । यसो गरिसकेर एक पटकको हृदयघातबाट बचेपछि मुटुको स्वस्थ्य र घातको पुनरावृति नहोस् भनि खानपान र जीवनपद्धतिमा सुधार ल्याउनु भने आवश्यक छ ।

अन्त्यमा,
मूलकुरा भनेको कुनै पनि जीवको रहनसहन, दैनिक क्रियाकलाप प्राकृतिक आवश्यकता अनुरूप छ कि उसको पहुँचअनुसार छ भन्ने नै हो । जबजब जीव प्राकृतिक कुराबाट टाढा कृतिमता र स्वईच्छाको लोभमा गरिष्ट बस्तुमा डुबुल्की मार्न थाल्दछ तबतब रोगब्याध सल्कन्छन् र नयाँनयाँ रोग थपिँदै जान्छन् । आधुनिकतामा नाममा भौतिक सुखसुविधामा र्‍याल चुहाएर शारीरिक श्रमलाई हेयको दृष्टिले नाक खुम्च्याउने धेरै नवधनाढ्यहरूनै नानाथरिका रोगले परन्तुमा ग्रसित भएको पाइन्छ ।

हामी मानिसका शरीरमा जिउँदो रहुन्जेल अविराम काम गरिरहने तन्तु, अङ्ग र प्रणालीहरू छन् । तिनीहरूको उचित आराम, रेखदेख र स्याहार सम्भार आवश्यक हुन्छ, अलिकति तलमाथि पर्दैमा आत्तिने होइन उपाय खोज्नु पर्छ । पाका मानिसमा लामो जीवनको उमेरिने क्रममा यसअघिका असहज परिस्थितिले ‘कहिले मकै कहिले भोकै’को स्थिति पनि थियो होला ! धेरैका अविरल शारीरिक श्रम पर्ने काममा जोतिएर, आरामको कमी र उचित खुराकको अभावले शरीर छिनेको हुनसक्छ । स्वादे जिब्रो, टक्क नुनचिनी र चिल्लोचाप्लोमा मन गएर तागतिलो भनि धेरै मात्राको सेवन, व्यायामको कमी सुखको दिन होइन भन्ने नबुझ्दा रोग बेसाएका धेरै छन् । अहिलेकाले प्रयोग गर्ने भौतिक सुविधा, खानपानमा बढी हौसिँदा र लोभ्भिँदा तिनीहरूका अनावश्यक थेग्रिन शरीरमानै बस्न गएर रोगब्याध पलाएका हुन सक्छन् । त्यस्तै रोगमध्ये उपचार त हुने तर साह्रै खतरनाक रोगहरूमा मुटुको असफलता र हृदयघात पर्छन् ।

दुबै रोगका केन्द्रबिन्दुमा मुटुको स्वास्थ्य अवस्थाको कुरा र अस्वस्थ्यताका स्तर उस्तैउस्तै हुनसक्छन् । मुटुको असफलताले मुटुले शरीरका सबै भागमा पुग्ने गरी रगत पठाउन घच्याड्ने काम गर्न नसकेको भन्ने बुझिन्छ । यस समस्यामा मुटुमा अरू केही नभए पनि रगत फाल्ने र जम्मा गर्ने अनि शरीरको अन्तिम छेउसम्म पुर्‍याउन नसक्ने र सकेमा पनि निकै थोरै पर्ने हुन्छ । हृदयघातमा मुटुकै कुनै भागमा अल्पकालिन वा पूणर्तया रगतको सञ्चालन नहुने अवस्था जनाउँछ । मुटुकै क्रियाशील हुने कोठाचोटा, नियन्त्रक ढोका-कप्टेरा र शुद्ध-अशुद्ध रगत ल्याउने-लैजाने नसाका भागमा भित्री कारणले यस्तो अवरूद्ध हुने अवस्था सिर्जना गर्छ । हृदयघात र मुटुको असफलतालाई रोकथाम गर्ने र पथपरहेज गर्ने चरणहरू उस्तै हुन्छन् तापनि दुबै समस्याका कारण, लक्षण र उपचारहरू फरकनै हुन्छन् । समग्रमा निक्र्यौल गर्दा स्वस्थ्यकर उचित खानपान, शरीरको नियमित व्यायाम र सम्भावित खतराको विज्ञानसम्मत व्यवस्थापननै ज्यान लिन सक्ने मुटुका दुबै समस्याको समाधान हो । नियमित श्रम र स्वस्थ्य बानी-व्यहोराले शताब्दी उमेरका मान्छे नेपालमा पनि धेरै भएको बिर्सनु हुन्न है ।

०००
चालिसेडाँडा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x