प्रमाेद भट्टराई प्रतीकचार मुक्तक
सहर भन्दा, गाउँका गल्ली गल्ली हेर्दै हिँड्छौ त बाटोमा हिँड्दा पनि, हल्ली हल्ली हेर्दै हिँड्छौ त घरको मूल ढोका नै होचो भएर पो होकि क्याहो बिहे गर्ने केटी खाली डल्ली डल्ली हेर्दै हिँड्छौ त !

प्रमोद भट्टराई ‘प्रतीक’ :
१.
अहङ्कारको न सिङ हुन्छ, न जुरो हुन्छ
सबै भन्दा माथि फेरि, उसैको कुरो हुन्छ
मन्द विषले जस्तो असर बढ्न थालेपछि
परिणाम भोग्ने उस्कै अभागी पुर्पुरो हुन्छ !
२.
देशमा भविष्य नदेखे पछि, परदेश तिरै फर्किन्छन्
वर्षौँ बितेर गइसक्छ, जीवनलाई उतैतिर अर्पिन्छन्
सन्तानको इच्छामा सहमत भएका अभिभावकहरू
आफ्ना सपनालाई बिस्कुन झैँ, फिजाउँदै पर्खिन्छन् !
३.
सहर भन्दा, गाउँका गल्ली गल्ली हेर्दै हिँड्छौ त
बाटोमा हिँड्दा पनि, हल्ली हल्ली हेर्दै हिँड्छौ त
घरको मूल ढोका नै होचो भएर पो होकि क्याहो
बिहे गर्ने केटी खाली डल्ली डल्ली हेर्दै हिँड्छौ त !
४.
मौका पर्दा करोड के हो र ? अरब पनि पचाउँछन्
आँखामा छारो हाल्दै गर्छन् जनतालाई नचाउँछन्
अब चाहिँ केही होला होला कि जस्तो भइसकेपछि
माथिको आदेशबाट भन्दै अपराधीलाई बचाउँछन् !
०००
हाल विराटनगर
Subscribe
Login
0 Comments
Oldest







































