साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाकाले आफैँ सल्टाउँ जाडोका दुःख !

शरीर प्रतिकुल मौसममा एकै ठाउँ थुप्रिएर होइन कि चलखेल, डुलफिर र सकेको काम गरी शरीरलाई क्रियाशील राख्दा चाहिने व्यायाम पुगी औषधिले काम गर्छ अनि थप बाँच्न मद्दत पुग्नेछ ।

Nepal Telecom ad

डा. मुकेशकुमार चालिसे :

Dr Mukesh Kumar Chalishe

पाका मान्छेलाई मौसम अनुसार शरीरले वभिन्नि प्रतिक्रिया देखाउने गर्छ । दीर्घ रोगव्याध छ भने त के भन्नु ? मरणान्त पार्न बेर लगाउन्न, ओच्छ्यानमा लम्पट भएको वा गुडुल्किएको भेटिन्छ जतिबेला पनि ! अनुकुल मौसम बाहेक वर्षा र जाडो प्रायः पाका मान्छेलाई दुःखदिने मौसम हुन् । सफा पानीको अभावमा गर्मीमा पनि पाका महिला र पुरुष दुबै आक्रान्त हुन सक्छन् भने कतिजनालाई वर्षातमा अति आद्र्रताले वभिन्नि समस्याले दुःख दिएको हुन्छ । सामान्यतया शरद र बसन्त मात्र पाका मान्छेलाई अनुकुल मौसम देखिन्छ, तर फूलका परागले प्रतिकुल असर गर्नेलाई त यो मौसम पनि दिक्कका भएको पाइन्छ ।

नेपालमा ‘बलिया बाङ्गा बाघलाई, बुढाखाडा माघलाई’ भन्ने उखान त्यसै चलेको होइन होला, लामो अनुभवको प्रतिफल नै होला ! जाडो महिनामा सूर्य दक्षिणायन हुने भएकाले विशेषगरी पुसमाघ महिना नेपालका पाका उमेरकालाई समस्यै पर्छ, । तापक्रम घटेका बेला सिरेटो थपियो भने त कठ्याङ्ग्रिएर कहिले घामको मुख देखिएला भनि झ्यालबाट पुलुपुलु च्याउँदै ओच्छ्यानमै कुरिरहेका भेटिन्छन् । नेपालमा ८३ प्रतिशत भूभाग पहाडी भएकाले हिमालतिरबाट आउने चिसो हावाबाट मान्छे र गाईबस्तु बचाउनै पर्छ । त्यसैले त नेपालका परम्परागत घरगोठका ढोका र झ्यालहरू प्राय उत्तरतिर पाइँदैनन् ।

जाडोमा सामान्यतया बयस्कबाहेक रोगी मान्छे, साना उमेरका बालबलिका र अति पाका उमेरका मानिसलाई थप समस्याहरू पलाउन सक्छन् । विभिन्न थरीका बाथले सताइएका पाका मानिसलाई यतिबेला जोर्नी कडा बन्ने, दुख्ने र कम चल्ने भएर कुनै चिज समात्न तथा औँलाको भर गर्न नसक्ने भएको हुन्छ । पाका उमेरका मान्छेलाई यस्तो समस्या किन जाडो र ओसिलो मौसमको बेलामानै बढि आक्रामक किसिमले हुन्छ भनेर ठ्याक्कै भन्नचाहिँ कसैले सक्तैन । अहिलेसम्म विज्ञानले यस समस्याका वभिन्नि सैद्धान्तिक आधारहरू मात्र प्रस्तुत गर्न सकेको छ । वातावरणमा चिसोपनाले आएको न्युनचापिय अवस्थाले हाडका वभिन्नि भागहरू सुन्निन सक्ने एउटा कारण मानिन्छ । यसले रक्तसञ्चारमा परिवर्तन गरिदिन्छ भने हाडजोर्नी चलाउन सघाउने चिपचिपे रस बाक्लो बनाइदिन सक्छ । जाडोमा बाहिरफेर निस्कन पाका मान्छे नरुचाएर कम चलायमान हुँदा शारीरिक व्यायाम नपुगेर पनि अवस्था चिन्ताजनक रुपले बढि देखिन सक्छ । यिनै कारणनै पाका मान्छेका लागि जाडो र ओसिलो महिना कष्टकर भएको बाथरोग विज्ञ तथा हार्वाड स्वास्थ्य प्रकाशनका सम्पादक डा. रबर्ट श्मेरलिङ्गको रहेको छ ।

कसोगर्दा पाका मान्छेले चिसो र जाडोको असर सल्टाउन सक्लान् त ? उहाँहरू आफैँ अग्रसर भई कस्सिनु पर्छ । यो उमेरमा हुने दुःख मात्र होइन अवस्थाको भोगाई आफैँले नभोगेसम्म कसैले अनुभूत गर्नै सक्तैनन् । कोही साह्रै विवेकी र स्नेहिल भए मात्र सुन्ने, मान्ने र सघाउन सक्छन्, अरुले त पाका मान्छेका कुरा नसुनी ‘सँधैको बुढ्यौली गनगन’ भनेर तर्किने गर्छन् । त्यसैले पाका मान्छे आफैँ कसरी सुबिस्ताले बाँकी जीवन कटाउने भनि लागिपर्नु पर्छ, समय अनुसार गतिविधि गर्न अग्रसर हुनु ठिक हुन्छ । पाको उमेरका मान्छेको शारीरिक अवस्था पुरानिएको र धेरैलाई रोगव्याधले च्यापेकाले औशत तापक्रम कम भएका जाडो महिनामा हातगोडा र जोर्नी दुख्ने हुन्छ । सकेसम्म जोर्नी चलाएर व्यायाम पुग्ने गरेर कामकाजमा अग्रसर भए धेरै राहत मिल्न सक्छ । हेर्दा सामान्य लागे पनि दैनिक केटाकेटी विद्यालय पुर्‍याउन लिन जाने, बढारकुढार गर्ने, घरका अव्यवस्थित सामान मिलाउने र खानेकुरा पकाउन तयारी गर्ने कामले हाडजोर्नी व्यायाम मज्जाले हुन्छ । मनपर्ने काम उपयुक्त प्रविधि र तरिकाले धेरैबेर गर्दा पनि मनको चईनका साथै शारीरिक व्यायाम हुनगई दुःख घटाउन सकिन्छ ।

खाना पकाउनेः प्राय हिउँदका पारिला घाम लाग्दा ताप्न रमाइलो हुन्छ । त्यसैले होला धेरै पहिलेदेखि नेपालमा जाडो दिनमा बनभोज, कुलपूजा आयोजना र धेरै नसके स्थानिय पर्यटन गर्ने चलन थियो । यसै निहुँपिउँले मानिसहरू घर बाहिर खुला ठाउँमा जम्मा भई घरमा व्यक्तिगत रुपले नगरिने काम पनि गरेर दिन कटाउँथे । पानी ल्याउने, तरकारी काटकुट गर्ने, मरमसला कुट्ने मिसाउने, पिठो मुछ्ने, चामलदाल केलाइकुलाई गरी सफा बनाउने, जस्ता काममा सबैको सहभागिता हुने भएर सकेको र जानेको काम गर्न केटाकेटीदेखि पाका मान्छे सक्रियरहने अवशर पाउँछन् । यसोगर्दा हाडजार्नी र मांशपेसीले पाउनुपर्ने व्यायाम पाएर खुकुलो र लचिलो हुने मौका मिल्थ्यो । मान्छे जम्मा भएर थप अनुभवको आदानप्रदान भई आफूलाई चाहिने र फाइदा हुने कुरा थाह हुने हुन्थ्यो । शरीर तन्याकतुनुक हुने यस्तो कार्यक्रमले पाको उमेरमा शरीर व्यायामको अभावमा कुँजिएर एकै थलोमा डल्लिनुबाट जोगाउन सकिन्छ । अरुले गरेको बाहेक आफू पनि आयोजना गर्न उत्सुक रहनु ठिक होला ।

घरमा पनि धेरै नसके आफ्ना पालाका जस्ता गालेका खल्पी अचार बनाउन, ओइलाएर फाल्लिने सागपात कामलाग्दै छन् भने गुन्द्रुक, सिन्की बनाउन, तितौरा, मस्यौरा पार्न, कर्कलोका गाभा सुकाउन, चियाखाजा बनाउन, मोही पार्न आदिमा सघाउन सके ‘कस्तो स्वादिला चिज बनाउन जान्ने’मा दरिएला र ‘बसिबसी खान पल्केको’ आरोपबाट बच्न सकिएला । अनुकुल मौसममा धेरै हुने सागपात, मुला गोभी आदि बेमौसममा उमारेका खानुभन्दा बरु सुकाएर राखिएका ठिक हुन्छ भन्ने वैज्ञानिक ठहर छ । नबिर्सनु होस् सामान्य देखिने यस्ता कामले तपाइँको शरीरलाई मनग्य व्यायाम पुग्छ र त्यही कामले तपाइँले एक हजार पाइला हिँडिसक्नु हुन्छ । बरु धपेडी पर्छ भने दिनमा एउटा काम मात्र सुरु गरी पैट्याउनु होस्, त्यसले काम समयमानै फत्ते गर्ने बानी अरुलाई पनि सर्न सक्छ र तपाइँलाई चाहिएका कुरा समयमै गरिदिने चलन चल्न सक्छ ।

योजनाबद्ध : पुनर्स्थापन सञ्जालका थेरापीविज्ञ किम स्टकार्टको भनाईमा उदाहरणका लागि ‘सामुहिक काम गर्दा पानी तताउन धेरै पर्‍यो भने भाँडोमा उचाल्न सक्ने पानी राखेर चुल्होमा बसाल्ने अनि भाँडोमा तताउन सकिने पानी थप्दै जाने’ गर्नुपर्छ । त्यसोगर्दा उचाल्ने, समात्ने क्षमतामा सजिलो पर्छ भने धेरै पटक पानी थप्दा कुमको व्यायाम पनि हुन्छ । हात, कुम र पातोको समस्या भएकाले यस्तो काम बाहेक ‘मसिना कुरा काटकुट गर्ने छोडाउने काम रोज्नु फाइदाजनक हुन्छ ।’ त्यसैले आफूलाई जे समस्या छ त्यसलाई फाइदा पुग्ने काम रोज्न सहभागिता हुँदा सुरुवातमै योजना गरिहाल्नु मनासिब हुन्छ । ‘म के सकौँला, सक्दिन’ भनि त्यस्तो मौकामा चुपलागेर ट्याउँट्याउँ बोलेर आदेश लगाएर वा धुम्धुमती बसिरहने गर्नुहुन्न बरु शरीरको सक्रियता देखाउनु पर्छ । केही नसके चिजविज अड्कल गरिदिने, पाक्यो पाकेन हेरीदिने काम जिम्मालिँदा पनि हुन्छ, बेलाबेला जाँच्दा गरिने ओल्टाईपल्टाई र आगो कमबेसी नापजोखमै शरीरको व्यायाम भइसक्छ ।

सक्रियताः आफूलाई चलायमान बनाउन कामलाई विभाजन गर्नुहोस् र त्यही अनुसार चिजबिजको व्यवस्था गर्नुहोस् । आफूले पकाउने बस्तुको सामग्रीहरू ठिक अवस्था र आकारमा छन् कि छैनन् परीक्षण गर्नुहोस् । ससाना टुक्रा गरिने र ठूल्ठुला अकारमा पकाइनु पर्ने राम्ररी हेक्का गर्नुहोस् । चाहिएजस्तो नभए उपयुक्त आकार र समिश्रणमा आफैँ बनाउनु होस् । बस्तुको मात्रा अनुसारका पकाउनु अघि र पाकेपछि राख्ने भाँडा छनौट गर्नुहोस्, धेरै भाँडामा लतपत्याउने र छोइछिटो नगर्नुहोस् । प्रारम्भ र अन्तिममा गरिने काम लहरै राख्नुहोस्, त्यसोगर्दा चाहिने कुरा छुटफुट हुँदैन भने पाक पनि पुग्छ । नत्र चामल नअड्कली भाँडो बसाले जस्तो होला र तरकारी नकाटी चुल्होमा तातो भाँडोमा भुटन हालेको स्थिति होला । व्यवस्थित नगरी काम सुरु गर्दा हातगोडामा व्यायाम त पुग्ने तर काम फत्ते नहुँदै थकाई लागिसक्ने हुनसक्छ । हातगोडा जोर्नीले कामको बिचमा आराम पाउने स्थिति नरहन सक्छ, यसोहुँदा पाको उमेरमा फाइदाभन्दा बेफाइदा हुने अवस्था आउन सक्छ ।

औजार सहयोग : बजारमा घर व्यवहार, सफाई र भान्छाका वभिन्नि प्रकारले सहयोगी हुनसक्ने औजार र प्रविधि पाइन्छन् । हातगोडा सजिलै चलाउन गाहारो हुने, आफ्नो काम आफैँ गर्नुपर्ने पाका मान्छेले सम्भव छ भने किनेर ल्याउनु राम्रो हुन्छ र तिनका सहयोगमा दुख्ने भाग चलाउन मद्दत पुग्ने छ । च्याप्ने, थिच्ने, उप्काउने, खोल्ने, घच्याड्ने, बढि वजन राखी गुडाएर सजिलै ओसारपसार गर्न सकिने पाङ्ग्रा भएको झोला, वभिन्नि बस्तुका हत्यौडा, जीउ चिलाउने, दरफराउने, मयल माड्ने घिरौँलाको जालो जस्ता सामग्री हात-गोडा-जोर्नी कम चल्ने पाका मान्छेलाई सहयोगी हुन्छन् । हिँडडुलमा कठिनाई हुनेले लामोछोटो गर्न हुने टेक्ने लौरा प्रयोग गरेमा आफ्नो घर भित्रबाहिर मात्र होइन मनपरेका सामान, औषधिमूलो किनमेल गर्न बाहिरफेर सुरक्षित भएर जान सकिन्छ । घरका मान्छेलाई अह्राइरहन नि परेन, निहुँपिउँले खुट्टा तन्काउन पाइयो र मौका परे उही उमेरकासँग भेट भई सञ्चो सुबिस्ताको गफिन पनि पाइयो ।

त्यस्तै निम्तानाम्ती मान्न परिवार सदस्य घरबाहिर जानलाग्दा लगिने उपहार बसिबसी वभिन्नि झिलझिले कागजले मोरेर छरितो र आकर्षक बनाउन सघाउन सकिन्छ । चाहिँदो कागत, टाँसिने टेप र खुट्ने सानो औजार भए पुग्छ, धैर्यसाथ समयमै पोको पार्न जान्नुपर्‍यो, बस । यस्ता काम पाकाले जत्ति आजकालका ठिटामिटाले त्यति ढङ्ग पुर्‍याएर गरेको पाइँदैन । एकातिर सिप अनुसार काम गरिने परिवार खुसी हुने, अर्कोतिर मसिनो कामले आफ्ना हातगोडाका औँला चलायमान हुनेभई व्यायाम पुग्ने हुन्छ । काम सघाएको र अझै आफू कामलाग्दो भएकोमा आत्मसन्तुष्टी बढ्ने छ । विशेषगरी चाडवाड र पाहुना बोलाएको बेला सकेमा किनमेल गर्न सघाए र बनाइतुल्याईमा केही काम गर्न अग्रसर भए आफूलाई चाहिँदा घरका अरुले पनि मदत गर्न आउने सम्भावना हुन्छ । त्यसो भएगरेमा आफ्नो चलखेल पनि बढ्ने छ भने सधंै आरामी रुचाउने पाको उमेका कमजोर आदरणीय शरीरलाई ‘खाली लडिरहने, मिठोमिठो खानेमात्र र अह्राउन जान्ने’को आरोप खप्न पर्दैन ।

बढारकुडार : समान्यतया बढारकुडारलाई ठूलो सिपको काममा गनेको देखिँदैन तर साँच्चिकै राम्ररी सफा बनाउन बढार्ने काम ध्यानपूर्वक क्रमबद्ध हुनै पर्छ । बढार्नको लागि शारीरिक अवस्था र स्वास्थ्यको बिचार गरेर बसिबसी बढार्ने कुचो, थाँक्रो, झटनीदेखि अलि परिमार्जित लामो लौरो गाँसिएको पनि हुनसक्छ । धेरै निहुरिन नहुने ढाडकम्मर दुख्नेले लौरो गाँसिएको कुचो प्रयोग गर्दा सजिलै सकिन्छ भने धुलो उड्ने र छारो लाग्नेले नाकबन्दी प्रयोग गर्नु राम्रो हुन्छ । बढार्दा राम्ररी नबढार्ने र ठाउँ छोडी बढारेको ‘राँटो पारेको’ भनेर अबगाल हुन्छ, तर पाका मान्छे मतापले हेरीहेरी बढार्ने भएर सिनित्त भएको सबैले मन पराउँछन् । होस गरौँ एकोहोरो एउटै हातले बढार्दा पातो दुख्ने र हात गल्ने हुनसक्छ, हात फेरीफेरी हावा आउने दिशा विपरीत लैजाँदा सहज हुन्छ । धेरै फोहोर भए छारो उड्न नदिन हल्का पानीका छिटा छर्कनु राम्रो हुन्छ ।

हरेक काम गर्नु अगाडि शरीरलाई सामान्य तन्याकतुनुक गरे भित्रीरुपले शरीरलाई पूर्वसतर्क गराउनु हुन्छ । विशेषगरी हात, गोडा, टाउको (मुण्टो) र कम्मर चलाउने, बटार्ने तथा उठबसको अभ्यास गर्दा रक्त सञ्चालन र श्वासप्रश्वास चाहिने नियमित हुन्छ । सबैतिर चाहिने रगत पुग्न सहज हुन्छ भने कामगर्दा मांसपेसी बाउँडिने र गल्ने हुँदैन । काम गर्दा गर्मी हुन्छ भने न्याना लुगाफाटो र पञ्जामोजा नखोलेकै राम्रो, जीउ तातिरहँदा काममा सहयोग हुन्छ । चिसो भएमा काम गर्न सकिँदैन उल्टो कमजोरी देखिन सक्छ । हरेक अठोटेको र जिम्मा लिएको काम मतापले आफ्नै गतिमा गर्नु पर्दछ, सक्छु भनेर वयस्कहरू वा केटाकेटी जस्तो छिटोछिटो र हडबड गरेर गर्नु हुन्न ।

उपहारको तयारी : हिउँद महिनामा कतिपय चाडबाड, मेला, उत्सव हुन्छ र हिँडडुल सजिलो भएर पाका मान्छे भेट्न नातेदार, ईष्टमित्र आउने गर्छन् । शहरबजारमा खेतबारीको अभावमा अन्नपात र फलफूलको पउल हुँदैन, बजारको बासी पुराना बस्तुमानै भर हुन्छ । गाउँसँग सम्बन्ध भई अझै जग्गाजमिन भएका सहरियाले सम्पर्कित चिन्हारूहरूलाई मौसमी फलफूल र अन्नपात पनि फसल ठिक्क हुँदा आफ्ना सहरीया मित्रहरूमा बाँड्न सक्छन् । जाडो महिनामा पाक्ने अमिला जातका फलहरू साँधेर खाने कार्यक्रममा सहभागी गराउन सक्छन् । हरेक आगन्तुकलाई उसको चाहना र योग्यता अनुसारका चिजबिज सम्झौटो उपहार दिनु सम्बन्ध कायम गरिरहने उपयुक्त काम हो । कतिपयलाई ज्ञानबद्र्धक पुस्तक र कतिलाई लुगाफाटो दिनु राम्रो हुन्छ । बालबालिकालाई चित्रकथा वा सोच्न लगाउने खेलौना वा रङ्गिचङ्गी मसी भएको कलम र शिसाकलम दिनु ठिक हुन्छ । त्यस्तो जमघटमा मान्छे भेट हुनासाथ किन्न हिँड्ने र व्यवस्था गर्ने गर्न थाल्नु ढिलो हुन्छ, त्यसैले बेलैमा ल्याएर उपहारमा राम्ररी झिलमिले कागजले मोरेर दिँदा उपहारको शोभा बढ्छ ।

कतिपय चाडबाड र उत्सवको बेला जिन्सी सामान उपहार दिने प्रचलन हुन्छ । त्यस्तोमा पाका मान्छेले आपूुसक्दो सामान मानिस अनुसारका केहि समय अघिनै किनेर ल्याई दिन तयारी अवस्थामा सजाएर जतन गरेर राख्न सक्छन् । यसो गर्दा किन्न जाने र उपहारलाई थप आकर्षक रुपमा तयारी गर्ने प्रशस्त समय रहन्छ, दिनपर्दा छुटफुट हडबडी हुँदैन । धेरै वटा तयारी गर्ने उपहार दिनदिनै लगाएर एकदुई गरी सक्ने पनि पर्याप्त समय रहन्छ । त्यही सामान ‘तिमीलाई सम्झिएर ल्याएको थिएँ’ भनि भेटमा दिँदा सम्बन्धमा नवीकरण मात्र होइन खुसी पनि थपिन्छ । उपयुक्त समयमा उपयुक्त काम र व्यवहारले ‘गाँठ पनि गुमाई मूर्ख पनि बनि’, वा ‘बुढाबुढीको काम लस्यार लुसुर र लतपत’ भन्ने अवजस पनि आउन्न ।

अन्त्यमा,
उमेर र रोगव्याधले थलिएको ज्यानलाई हलचल गराउनुनै सबैभन्दा राम्रो व्यायाम मानिन्छ । मौसमले साथ नदिँदा घरभित्रै काम गरेर आफू अझैँ उत्पादनशील भएको देखाउनै पर्छ भने अनुकुल मौसममा बाहिरफेर घुम्न विभिन्न काम र बहानामा हिँड्नै पर्छ । सबै विपरित विकसित स्थितिले त्रसित भएर ‘के हुने हो बाँचुञ्जेलसम्म’ भनि कञ्तुस होईन कि सबै भेट्नेको हाइहाई पाउन पाका मान्छेले सम्बन्ध राख्न जान्नुपर्छ । चलनचल्तीका कुरा नपत्याए र लागु नगरे आफ्ना पालाका मन परेका तरिकाहरू लागु गरेर भए पनि सहयोग पाउने हिसाबले सम्बन्ध जोगाउनै पर्छ । शरीर प्रतिकुल मौसममा एकै ठाउँ थुप्रिएर होइन कि चलखेल, डुलफिर र सकेको काम गरी शरीरलाई क्रियाशील राख्दा चाहिने व्यायाम पुगी औषधिले काम गर्छ अनि थप बाँच्न मद्दत पुग्नेछ । केही औषधि दुखाई कम गर्ने, बाथ हलुका पार्ने पाइन्छन् तिनले पीडा घटाउन त मद्दत पुग्ला तर कतिको निमिट्यान्न पार्न सक्तैनन् । बरु थप कसरत र शारीरिक चलखेलले जोर्नीहरूमा खुकुलोपन आई जैविक प्रक्रिया नियमित भई आराम पाउन सकिन्छ । जति बाँच्यो उति मानव प्रगति र नौला उन्नति थाहा पाउने हुनाले कसले छोडोस् ?

०००
पुस २०, २०८०
चालिसेडाँडा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
हामीलाई बेवास्ता गरे विकास हुन्छ र ?

हामीलाई बेवास्ता गरे विकास...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x