सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सौभाग्यले पाको भइन्छ, बेलैमा मिलाऔँ !

हामी पाका महिला र पुरुष अहिलेको नेपालमा सबैभन्दा भाग्यमानी पुस्ता हौँ, कृपया आफ्नो बाँकी जीवनको खाका आफैँ कोर्नुहोस्, खुसी भई बाँच्नुहोस् र यो जीवन जितेर इतिहास रच्नुहोस् !

Nepal Telecom ad

डा. मुकेश चालिसे :

Dr Mukesh Kumar Chalishe

मान्छेलाई पाको उमेरमा पुग्दा ‘बुढो वा बुढी भइयो’ भन्ने पिर पर्न लागेको हुन्छ कि हुन्न ? धेरैजसो नेपालमा कपाल फुलेमा तालु खुइलेमा, जुँघादाह्री फुलेमा र छाला चाउरिएमा कम उमेरकालाई पनि ‘बुढ्यौली लागेको त होइन ? उमेर त पुग्याजस्तो लाग्दैन ?’ भनि टुच्च हँस्यौली गरिहाल्छन् । हुन त, शारीरिक परिवर्तन, बल घटबढ र जाँगरको मात्राले पनि उमेर धेरै नपुग्दै र कसैलाई दीर्घरोग लागेर शरीर जीणर् हुँदा बुढ्यौलीको झझल्को गराइदिन्छ । त्यस्तो भएमा साथीभाई भेट हुँदा उमेर धेरै नभइसकेका बिच गफ्फिदा ‘अब बैँश रहेन, मेरो मात्र भन्या त तिमी पनि ज्याम्तो भयौ कि क्या हो !’ भनि भलाकुसारी गरेको पाइन्छ, सुनिन्छ । उमेर अनुसार शारीरिक टलक कलिलोबाट, किशोर, वयस्क र प्रौढताको पाकोपन प्राकृतिक बृद्धिभई देखिने कुरानै हो, यसबाट कुनै पनि जीवित प्राणी अछुतो हुँदैन । त्यस्ता आफूमा आएका परिवर्तनलाई अरुका अगाडि तपाइँ आफूलाई कसरी प्रस्तुत गर्नुहुन्छ र उमेरजन्य स्वभाविक विचार राख्नुहुन्छ कि पृथक भन्नेलेनै उमेरको अभिव्यक्ति निर्धारण गरिरहेको हुन्छ ।

हार्वाड लगायत धेरै विज्ञान प्रतिष्ठानका मनोवैज्ञानिक, चिकित्सक र अनुसन्धाताको निस्कर्ष छ, मानिसमा जन्मेदेखि जीवनको अन्तिमसम्म शारीरिक परिवर्तन भइरहन्छ । त्यस्तो भएमा दिक्क मान्ने लाज मान्ने वा यसो भयो, उसो भयो भनेर चिन्तित हुनेनै होइन । तपाइँको शरीरलाई अवाञ्छित र कल्पनानै नगरेको विकासमात्र होइन, सोचाई विपरित भई पूर्वसोचाईमा ढुन्नेसो कसेको हुनसक्छ । शरीरमा आएको परिवर्तनले व्यक्तिको भावानात्मक र मस्तिष्कमा उमेरिदा ठूलो मनोवैज्ञानिक फरकपन ल्याएको सबैले भोगेकै हुन्छन् । त्यसमाथि आफूमा आएको विविधताको अरुले गर्ने नकारात्मक टिकाटिप्पणी र परम्परागत कुरा काट्ने प्रवृत्तिको छनक पाउनु भयो र त्यसमा भरगर्न थाल्नु भने त तपाइँको मनोदशा यति बिग्रन्छ कि ‘पहा पछारिएझैँ, अचेत, किम्कर्तव्यविमूढ’ बन्न थाल्नुहुन्छ । अरुको हा हामा लागेर उमेरिदाको महत्व, उपादेयता र वजनलाई अस्विकार गर्ने मानसिकता बनाउन थालेमा पाकोपन तपाइँलाई काउसो जस्तो चिलाउने मात्र होइन बारुलाले चिलेर भब्बाएर सुन्निएको ठाउँमा पिलो आएजस्तै हुनजान्छ ।

अमेरिकी उमेरिने विषयका बृन्दा एकरमानका अनुसार पाको भएकोमा ईमान्दारितापूर्वक राम्ररी व्याख्या गर्ने हो भने तपाइँ मक्खपर्ने बाहेक अरु भाउँतो केही आउँदैन । उमेरिदा समाजमा पाइने भावानात्मक फाइदा- आदर, सत्कार, मान, दया र प्राथमिकता, हरेक क्षेत्रमा हरेक व्यक्तिले सामान्यतया अरुलाई होइन पाकोलाईनै गरिरहेको देखिन्छ । पाका मान्छेले आफूसँग भएको सचेतनता, आत्मविश्वास, शारीरिक बुद्धिबर्कत र स्वच्छन्दतामाथि उमेरिदा अङ्कुसलागेकाले आफैँ अघि सरेर गर्नखोज्नु भन्दा दुधको तरको तागत जानिफकारझैँ अतिआवश्यक मात्र प्रतिक्रिया जनाउने हुन थालिन्छ । त्यसैले कतिपय कुरामा पाको हुनुअघि सोचेका र गरेका व्यवहार अब उल्टाउनु पर्ने हुन्छ । पाकाले ‘मलाई पनि यसो भएथ्यो, मैले भोगेकै कुरा हो’ भन्नुको तात्पर्य अमुकले आफ्नो जीवनमा आएपछि सहेकै दुख, कष्ट, तातो, न्यानो, ठिही र बिछोडका भुक्तभोगी घटनाले तिखारेको मानिस भनि बुझ्नु पर्छ । त्यस्ता घटनाहरू निकै निर्मम, पीडादायी तथा कतिपय साह्रै प्रेरणादायक र मनमोहक सत्यतथ्य हुनसक्छन् तर त्यसबाट सिकेको पाठ र सिपहरूलेनै पाका मान्छेका बलिष्ठ मनोविज्ञान निर्माण गर्ने पाटो बनिरहेको पाइन्छ ।

वयस्क चाहनामाथि जित :
उमेर पचासको नजिक पुग्दा हरेक देशका मान्छेहरूका औशत बाँच्ने उमेर ओरालो लाग्न थालेको हुन्छ । हुर्हुराउँउदो मन र चाहनालाई बिस्तारै संयोजन र नियन्त्रण गर्दै लग्नुपर्ने साथै परिवारका सदस्यहरू र आर्जित सम्पति भागबण्डा बारेमा उचित निर्णय लिने बेला आएको बुझ्नुपर्छ । यस उमेरतिर आएर आफ्नो क्षमता, हैसियत र सामाजिकस्तर कायम भइसकेको हुन्छ, र प्राप्त गर्न सक्ने आर्जनको सिमा निर्धारण हुन्छ । त्यसैले यसै उमेरको बिचमा नजिक र टाढा बनाउनु पर्ने बरव्यवहारको टुङ्गो सम्बन्धित बिच लगाएमा पाको उमेरमा विभिन्न झञ्झट व्यहोर्नु पर्नेछैन । जोईपोइ बिच पाको उमेरमा कुन हदसम्म मायाप्रिती रहला भन्ने छनक ढल्कँदो उमेर र एकअर्काको आनिबानीमा पाइसकिएको हुन्छभने जोडीबिच आउनसक्ने शारीरिक कमजोरीका बाबजुद आफ्नो भविष्यको आङ्कलन मसक्क गर्न सम्भव हुनेछ । आफ्नो अनुभवजन्य निर्णयले आफू र सगोलका बिच बेलैमा हरेक कुराको फरफारक यस बेलामा गरिनु व्यवहारिक र बुद्धिमानी धेरैले मानेका छन् ।

एकरमान थप्छिन्, हरेक मानिसले भावानात्मक कुरा आकर्षण, सहिष्णुता, परनिर्भरता, समन्वय र दोहोरो सहयोगिताको सारा खेल अधबैँसे उमेरमा आइपुग्दा पतिपत्नी र परिवारका अरु सदस्यहरूका आनिबानीबाट थाह पाइसकिएको हुन्छ । सबल र निर्बल पक्षको पूर्वाग्रहरहित विश्लेषणले तपाइँमा भित्री उर्जा प्रष्फुटनभई आवश्यक्तानुसार व्यवहारमा लचकता उत्पन्न हुन्छ र आत्मसम्मानका साथ भविष्य बिताउने योजना बनाउन सक्नुहुन्छ । आधा शताव्दीको दुखकष्ट, निकटका बिचको तितोमिठो र एकै भान्छाको सङ्गतले तपाइँमा व्यक्तिव्यक्तिका स्वभाव र चाहनाको अनुभव र ज्ञान मनग्य हुन्छ । त्यस्तो व्यवहार परिक्षित हेक्काले बेलैमा लिइएको निर्णय तपाइँलाई बाँकी जीवनभरी सन्तोष र शान्तिपूर्वक बिताउने आधार तयार पार्न सक्छ । घरव्यवहारमा भए गरेका सबै खालका घटनाको बस्तुगत मूल्याङ्कनलेनै तपाइँका विचार, भावना, स्नेहलाई परिमार्जन गर्नेछन् र अगाडि आउने पाको उमेरको बाटो प्रष्ट प्रस्तुत गरी सुरक्षित परिवेशमा अवतरण गराउन सक्नेछन् ।

जीवनको अधबैँसे उमेरमा विविध दोबाटो देखा परेका हुन्छन्, समय छँदै शारीरिक अवस्थाले दिन्छ भने जीउने बाँकी उमेर फरक किसिमले बिताउन चाहेमा फेर्ने बेला पनि यही हो । एउटै सङ्घसंस्था वा फरक प्रतिष्ठानमा उस्तै वा फरक विषयमा दैनिकी बिताउन चाहेमा पनि अनुभवको टाकुरामा पुगेकाले निणर्य गर्न सकिन्छ । त्यतिखेरसम्म सङालेका साथीभाइको जमघटले नयाँ व्यवशाय र बिधामा सजिलै सफल हुने बाटो निक्र्योल गर्न सकिन्छ । लामो समयदेखि गरिएको काममा उमेरिदा आउने एकोहोरोपन र अनाकर्षणको सट्टामा थप उत्सुकताले उर्जावान भई अघि बढ्ने उमेर त्यही बेला हो । यसरी कामको परिवर्तन र सफल पहुँचसँगै आफ्नो व्यक्तिगत हेरबिचार र स्वास्थ्यलाई प्राथमिकता दिने विषयमा सचेत हुन मौका पनि मिल्दछ । यस उमेरको प्रारम्भमै जीवनको ओह्राली अनुभूत हुन लागेर र भेटिएका सबैको आआफ्नै हुटहुटीमा दौडेको पाएर कुनै पनि मानिस आफ्नो भोगाईबाट आफ्नै भलाईमा अग्रसर हुन थाल्दछ । यसअघि आफूतिर नफर्किएको मानिससमेत सामाजिक भोगाईले स्वहित र भविष्यको सुरक्षित अवतरण होस् भनि केही सोच्न बाध्य हुन थाल्दछ ।

आफैँलाई माया गर्न सिक्नु :
मानिसको बालापनदेखि वयस्क होउञ्जेलसम्मको लामो जीवनयात्रामा कहिल्यै नसोचेको आफैँलाई माया गर्ने कुरा अधबैँसे उमेरमा आइपुग्दा अनुभूत हुने अनौठो र नयाँ मनोविज्ञान हो । उमेर र अनुभवले अचम्भसँग नयाँ कुरा मानिसका मानसिकता बन्न पुग्छन् र एकमात्र सहि बाटोको रुपमा निर्धारण हुन्छन् । यो मनोविज्ञान त्यस उमेरमा सबैमा लागु हुने यथार्थ सत्य हो, हेक्का नहुन सक्छ तर कसैले नकार्न मिल्दैन । त्यसबेला स्वस्विकारोक्ति र आत्मस्विकृति आफूलाई लागेकै ठिक हुन्छ, नकार्न मिल्दैमिल्दैन । यतिखेर अझै कसैको प्यादा बन्ने र कसैको साख हुनकै लागि पछिलाग्नुको कुनै अर्थ बाँकी पाको उमेरको जीवनमा भरयोग्य व्यवहारनै होइन ।

जीवनको भूलभुलैया खेलमा आत्मस्विकृतिनै सन्तोष र आनन्दीको सुरुवात हो । यसैलाई पाउन मानिसले लामो जीवनकाल बिताउँछन् । धेरै महिलाहरू सुखी जीवनका अनेक सपना सानैदेखि बुनिरहेका हुन्छन् । पैत्रिक घरबाट पति घरमा गएपछि अन्तिम सुखसुबिधाको कामना गरिरहेका हुन्छन् तर कैयौँमा त्यो तृष्णा पाकी हुन्जेल पनि अधमरो भएको पाइन्छ । हरेक उमेरको कालखण्डमा आफ्नो भविष्यबारेमा उत्सुक महिलाहरू उमेरजन्य स्वप्रेम गर्नबाट वञ्चितनै भएका देखिन्छन् । हरेक महिलाको शारीरिक बनावटसँगै अतुलनिय मनोकाङ्क्षा विकासक्रममानै अलगअलग निर्धारित हुन्छ र आफ्नै अलग विशेष माने राख्छन् । धेरै पछि मात्र धेरैले अप्ठ्यारो परिस्थितिमा पनि आफूलाई माया गर्न र आफ्नै हितमा काम गर्न सक्तछन् ।

अधबैँसे उमेरको सबैभन्दा राम्रो पक्ष भनेको बितेको जीवनमा पहिलोपल्ट अरुलाई मात्र होइन आफ्ना कमजोरी र गल्तीमा क्षमा गर्ने सामथ्र्य राख्नु हो । क्षमा दिनसक्नु भनेको नकारात्मक तुसलाई पञ्छाएर चिन्ता र पूवाग्रहबाट आफू र अरुलाई मुक्त गर्नु पनि हो । त्यसपछि त सकारात्मकता र त्यही स्तरबाट प्रगति गर्नबाट कसले रोक्न सक्छ र ? वास्तवमा अचेतन, नादान र पूर्वाग्रहीलाई (आफू वा अरु) सत्यको नजिक पुग्दा क्षमा दिनु जस्तो उच्चतम शक्तिक्षमता अरु हुन्न । यसले सकारात्मक बाटो पहिल्याउन मद्दत गर्दछ र यो अति गाह्रो मानव व्यवहार पनि हो । जो कोहीले सहजै गल्ती स्विकार गर्ने र क्षमाशील हुनै सक्तैनन् । क्षमादान भनेको अरुको हितमा मात्र होइन, त्यो त तपाइँ आफ्नै मानसिक शारीरिक भलाईको लागि हो, यत्ति पनि धेरैले बुझ्दैनन् । यस्ता अनुभव र अरु व्यवहारबाट मानिसले सहने क्षमता र आफ्नो क्रियाशिलता बढाएर आफैँलाई माया र हेरबिचार गर्न धक नमानी ह्याउ बढाउनु पर्छ । यस्ता बिचार र व्यवहारको सुरुवात अधबैँसे उमेरमा जागरुक गराएमा पाको उमेरमा समस्या पर्दा पनि धेरै अरुको मुख हेर्नुपर्ने छैन । अनुभवले देखाएको छ, बेलैमा यस दिशामा लागेका मान्छे समस्या पर्दा अरुको भनाई खपेर ‘बुढेसकालको रोइलो वा गनगन’को आरोप सहन बाध्य नभई सक्रिय, साहसी र जीउँदा भनिने छन् ।

उमेरिनुलाई सकारात्मक स्विकारोक्ति :
साँच्ची हेक्का छ कि छैन, तपाइँ पाको हुनु भनेको आफ्नो जीवनयात्राको अठोटेको नायक नायिकाको तहमा हुनुहुन्छ है । प्रसिद्ध गायक मिले साईरसको गीतले भन्छ ‘सबैकुरा पर्वतारोहणझैँ हो’ उनी शतप्रतिशत ठिक छिन् । जीवन जीउनु भनेको छिनछिनमा उकाली लाग्नुनै हो, आफूले मानेको विचार नेतृत्वलाई पच्छ्याउँदै सगरतिर उक्लनुनै जीवन हो । हो, ठिक ढङ्गले सफल हुने हिसाबले लम्कन साहसी, सहनशील र नयाँ आइपर्ने कुरालाई स्वागत गर्न सदा फराकिलो छाती पारेर अघि बढ्ने चाहना राख्नुपर्छ । यस क्रममा फटाएको भोटोको मात्र गणना हुन्छ, नत्र त भोटो घष्टिएर, मैलिएर र पुरानिएर फाटेको ठहरिन्छ । पहिले हेक्का नभएका तर जीवनमा आइलाग्ने परिवर्तनका गोरेटारुपी नयाँ मनोवैज्ञानिक चेतनाको प्रष्फुटनलाई यसरी लिपिबद्ध गर्न पनि सकिन्छ ।

डरलाई स्विकारगरी चुनौती भोग्नुहोस् : सधैंभरी मगनमस्त रहने र जे छ त्यसैमा मात्र चित्त बुझाउने लाछी नबन्नोस् बरु नयाँ काम गर्न डरमान्ने प्रवृत्ति छोडनोस् । शिर ठाडोपारी नयाँ काममा आउनसक्ने हाँकलाई स्विकार गर्नुहोस् । काँथर भई पाइला चाल्न र अघि बढ्न नरोकिनोस्, आफ्ना चाहना, सपना र राम्रा लागेका बिचारलाई प्राप्त गर्न सधैं आफूलाई अघि बढाउनु होस् । हो, हरेक कदम फुकिफुकी हिँड्नु होस्, नयाँनयाँ उपलब्धि हात पार्न उत्साहित हुनुहोस् । प्रगति र उन्नति डरको अर्को पाटोमा तपाइँलाई पर्खेर बसेका छन् र तपाइँलाई अङ्कमाल गर्न लालायित छन् भन्ने बुझ्नु होस् । उनीहरूको चाहना तपाइँले यही जीवनमा पुरा गर्नै पर्छ, बिग्री नासिएला भनि डराउने र अर्को जन्मको लागि गरौँला वा परत्रको भर पर्न छोडनुहोस् । शरीर कमजोर हुँदैमा विचार कमजोर हुँदैन, विचार र व्यवहार त अँध्यारोमा बलेको पिलपिलेनै सही दियो जस्तो हो नि, अलिकति भए पनि अँध्यारो हटाउन मद्दत गरिहाल्छ नि ! हरेक अवशर र घटनालाई तपाइँले पूरा गर्नैपर्ने हाँककोरुपमा स्विकारी अघि बढ्नुहोस्, अनि पो क्रियाशील जीवनको आनन्दी हुन्छ ।

पश्चाताप नगरी बाँच्नुहोस् : जीवन पाइसकेपछि पूणर्रुपले जीउन आफ्नो मस्तिष्कलाई तयारी र जागरुक राख्नुहोस् । ‘मानिसको जीवन एक बारको’ भन्ने आहान हाम्रा पूर्खाले अनुभव र ज्ञानका आधारमा भनेका हुन् त्यसै भनेका होइनन्, यति भन्नलाई चार्वाकको दर्शन खार्नु पर्दैन । बाँचुञ्जेल मज्जाले सुखीखुसी भई बाँच्ने हो, बहुजनहितायमा सोचिएको काम र विचार कहिल्यै खेर जाँदैन । त्यसरी सोचाई र क्रियाकलाप गर्दा आफू र समाजकै हित हुन्छ । मानिसले जीवनको पूरा मोल उठाउन त आफूबाहेक अरुको पनि हित हेर्नुपर्छ, त्यसैले त अहिले धेरैजना प्रकृतिको सुरक्षामा पनि ध्यान दिन्छन् । हरेक छनौटमा र क्रियाकलापमा आफ्नो मूल्य, मान्यता र महत्तालाई प्राथमिकतामा राख्नुहोस् । ‘पुनर्जन्म वा चौरासी लाख योनी’ को चक्करमा परेर आफ्ना चाहना अर्को जन्ममा पूरा गरौँला भन्ने मृगमरिचिकामा नपर्नोस् । सकेसम्म सम्भव हुने सबै ईच्छा पूरा गर्न लाग्नोस्, हो कतिपय पहिले नगरेका, नजानेका र आफूलाई पछार्न खोज्ने जस्ता लाग्लान् तर आँटगरी सल्ट्याउनोस् अनिपो जीवनको मज्जा पाइन्छ । आफूले पहिले गरेकाबाट सफल-असफलको पाठ सिक्नुहोस् आफू नजिक परेका अझै काम लाग्छन् कि ! मूल्याङ्कन गरेर पाको उमेरमा सम्बन्ध कायम वा विकास गर्नुहोस् । यति गरेपछि के ‘त्यसो गरेर बिगारेछु, त्यता लाग्नै हुँदैनथ्यो’ भनि थकथक गरी पश्चाताप गर्नुपर्ला त ?

पुनर्ताजगी भई समृद्धिलाई च्याप्नुहोस् : समयसापेक्ष ज्ञान र प्रगतिलाई आत्मसात गरेर आफ्नो प्रगतिको अंशलाई बहुजनको एक भागकोरुपमा स्विकार्न सिक्नुहोस् । समय, समाज र आफन्त परिवर्तन हुनसक्छन् आफ्नो मूल्यमान्यतामा बिरोधाभास देखिनसक्छ, अकाट्य दर्शनका आधारमा स्थापित विचारलाई अटलरुपले सदैब शिरोधार्य गर्नुहोस् । फलस्वरुप नयाँ परिस्थितिमा पनि कुहिरो र तुवाँलो भरिएको वातावरणमा सूर्यको आगमन भएझैँ बाटो उघारो पाउनु हुनेछ । हरेक नयाँ अवशर तपाइँ आफ्नै लागि पनि फाइदाको मुहान लिएर आएको भान हुनेछ । राजमार्ग निर्माणजस्तो फराकिलो विचारले ओतप्रोत भएपछि आफूमात्र होइन अरुका लागि पनि फाइदा पुग्ने सिप सिक्न पाको उमेरमा उद्यत हुनुहुनेछ र समाजका लागि कामलाग्नेमा दरिन पाउनु हुनेछ । त्यसपछि पाइने मान, सम्मान र हाईहाई खाङ्ग्रे डोकामा भरेर ओसार्न समेत भ्याइनभ्याई हुनेछ र पाको उमेरमा तपाइँको समृद्धि भनेर साद्दे हुनेछैन ।

हरेक नयाँ चुनौतीको हदम्याद हेर्नुहोस् : नयाँ क्षेत्र पहिल्याउँदा सिकिने पाठ र बिग्रिएमा कुन हदसम्म गल्तीनोक्सानी हुनेछ भनि विवेकी भई विचार गर्नुहोस् । हरेक गर्न सकिने र आँटेको कामले अवशर, समृद्धि र पाठ पनि सिकाउन सक्छ, खुट्ट्याएर केलाउने र बस्तुपरक विश्लेषण गर्ने जिम्बेवारी तपाइँकै हो । जीवनमा सहनशिलतालाई आफ्नो मस्तिष्कको अशल पक्ष मान्नुहुन्छ भने हरेक प्रतिगमनलाई आफ्नो र समाजको उन्नतिमा फालहाल्ने डिलमा रहेको अजङको बिरे ढुुङ्गाको रुपमा प्रयोग गर्न सक्नु हुनेछ । शारीरिक अवस्थाले नसक्ने भए पनि मानसिक रुपले स्वस्थ्य हुनुहुन्छ भने भौतिक शरीरनै उपस्थिति आवश्यक नहुन सक्छ, तपाइँको सञ्चारनै काम फत्ते गर्न सक्षम हुनेछ । हो, उही जोश र जाँगरकासाथ काम नहोला तर व्यक्तिगत मात्र नभई बहुजनहितायको लागि भएर तपाइँको बिचारको कदर अवस्य हुनेछ ।

हार नमान्ने योद्धाझैँ हुनुहोस् : जीवनमा कहिल्यै हार नमान्ने योद्धाझैँ आफ्नो सोच बनाउनु होस्, जतिसुकै परीक्षण र उँचनिच हुँदा पनि अटल हिमालयको आस्था अङ्गीकार गर्ने मानसिकता बनिरहोस् । अब, अनुभव र ज्ञानको भारी बोकेको पाको उमेरमा कसैले कुनै तरहले विपरित लछारपाटो लाउन सक्ने छैन । परिवन्दले बाधाव्यवधान आएमा अनुभवसिद्ध भित्री उर्जाको प्रकाशमा पूर्वदीक्षित ज्ञानलाई जगाउनुहोस्, समस्याले छारतोस कस्नेछ । तपाइँको सहनशिलता र दृढ मनोबल अगाडि संसारका कुनै बाधा अप्ठ्याराले तपाइँको सुमार्गमा भाँजोहाल्न सक्ने छैन । त्यस्ता गुणयुक्त विचारले लैस पाको उमेरका तपाइँलाई आफ्नो र जगतभलोमा अघिबढ्ने मन्सुवा बिरुद्ध हराउन कसैले सक्दैन, खाँचो त फगत तपाइँको इच्छाशक्ति र अग्रसरताको मात्र हुन्छ ।

स्वशक्ति पहिचान गर्नुहोस् : छ दशकभन्दा बढिको अनुभव, जीवनका उतारचढावका भोगाई र प्राप्त ज्ञानका आधारमा आफ्नो महत्ता र भित्री शक्तिलाई पहिल्याउनुहोस् । आफ्नो क्षमता साथै विश्वासलाई पत्त्याउनुहोस् र हरेक बाधाअवरोध पन्छाउने चेष्टा गर्नुहोस्, तपाइँले पार पाउनु हुनेछ । हरेक दुखलाई शक्तिमा रुपान्तरण गर्ने प्रयाश गर्नुहोस्, आफ्नो र जगतको भलो गर्ने समृद्धिका लागि आफ्ना अनुभव प्रयोग गर्नुहोस् । तपाइँका हरेक ससाना प्रयाशले आफू र दुनियाँको सशक्तीकरणमा ठूलो योगदान गरेको पाउनु हुनेछ । मानिसमा पाको उमेर जतिको साधन सम्पन्न, परिपक्व र ज्ञानयुक्त उमेर अरु उमेरसमुहमा हुँदैन भने यो उमेर जतिको कौशलयुक्त जोधाहा पनि अरु हुँदैन ।

अन्त्यमा,
पाको उमेर पुग्नुअघि अधबैँसे उमेरदेखि कसरी भविष्य सन्तोषपूणर् र सुखमय बनाउने भनि व्यवस्थापन गर्न सुरु गरिहाल्नु बुद्धिमानी हो । पाको उमेर लागेपछि अरु कसैले सहयोग नगरे पनि आफू कसरी स्वावलम्बी भई अनुभव र ज्ञानका आधारमा खुसी भई व्यक्तिगत र जगतको भलोमा कसरी लागिरहने भन्ने सक्रियता कायम राख्नुहोस् । यसबेला गरिएका हरेक विचार र कामले आधारशिविरमा पुगेका पर्वतारोहीको जस्तै हामी पनि सगरमा उक्लन कम्मर कसेका आरोहीको अवस्था जनाइरहेको नबिर्सनु होस् । हामी हाम्रा आर्जित साहस, कामप्रतिको जिद्धी र जीवनको अन्तिम प्रहरमा लिइएको बचनबद्धतामा अविचल भई हरेक नयाँ चुनौती र फाइदालाई सहर्ष स्विकार गर्ने समाजका अति मानिला महिला-पुरुष हौँ । हामी पाका महिला र पुरुष अहिलेको नेपालमा सबैभन्दा भाग्यमानी पुस्ता हौँ, कृपया आफ्नो बाँकी जीवनको खाका आफैँ कोर्नुहोस्, खुसी भई बाँच्नुहोस् र यो जीवन जितेर इतिहास रच्नुहोस् !

०००
माघ ५, २०८०
चालिसेडाँडा, ललितपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पाकाले काँतरपनको पिरलो हटाऔँ !

पाकाले काँतरपनको पिरलो हटाऔँ...

डा. मुकेशकुमार चालिसे
पाकाको एक्लोपन पनि उत्पादनशील !

पाकाको एक्लोपन पनि उत्पादनशील...

डा. मुकेशकुमार चालिसे
पाकाको औडाहा र सुन्निने समस्या !

पाकाको औडाहा र सुन्निने...

डा. मुकेशकुमार चालिसे
पाकामा मस्तिष्क क्षमता घट्ने समस्या !

पाकामा मस्तिष्क क्षमता घट्ने...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा घुर्ने समस्या !

पाका मान्छेमा घुर्ने समस्या...

डा. मुकेशकुमार चालिसे
पाकाले काँतरपनको पिरलो हटाऔँ !

पाकाले काँतरपनको पिरलो हटाऔँ...

डा. मुकेशकुमार चालिसे
पाकाको एक्लोपन पनि उत्पादनशील !

पाकाको एक्लोपन पनि उत्पादनशील...

डा. मुकेशकुमार चालिसे
सक्रियता

सक्रियता

श्रीधर लामिछाने
पाकाको औडाहा र सुन्निने समस्या !

पाकाको औडाहा र सुन्निने...

डा. मुकेशकुमार चालिसे