साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सौभाग्यले पाको भइन्छ, बेलैमा मिलाऔँ !

हामी पाका महिला र पुरुष अहिलेको नेपालमा सबैभन्दा भाग्यमानी पुस्ता हौँ, कृपया आफ्नो बाँकी जीवनको खाका आफैँ कोर्नुहोस्, खुसी भई बाँच्नुहोस् र यो जीवन जितेर इतिहास रच्नुहोस् !

Nepal Telecom ad

डा. मुकेश चालिसे :

Dr Mukesh Kumar Chalishe

मान्छेलाई पाको उमेरमा पुग्दा ‘बुढो वा बुढी भइयो’ भन्ने पिर पर्न लागेको हुन्छ कि हुन्न ? धेरैजसो नेपालमा कपाल फुलेमा तालु खुइलेमा, जुँघादाह्री फुलेमा र छाला चाउरिएमा कम उमेरकालाई पनि ‘बुढ्यौली लागेको त होइन ? उमेर त पुग्याजस्तो लाग्दैन ?’ भनि टुच्च हँस्यौली गरिहाल्छन् । हुन त, शारीरिक परिवर्तन, बल घटबढ र जाँगरको मात्राले पनि उमेर धेरै नपुग्दै र कसैलाई दीर्घरोग लागेर शरीर जीणर् हुँदा बुढ्यौलीको झझल्को गराइदिन्छ । त्यस्तो भएमा साथीभाई भेट हुँदा उमेर धेरै नभइसकेका बिच गफ्फिदा ‘अब बैँश रहेन, मेरो मात्र भन्या त तिमी पनि ज्याम्तो भयौ कि क्या हो !’ भनि भलाकुसारी गरेको पाइन्छ, सुनिन्छ । उमेर अनुसार शारीरिक टलक कलिलोबाट, किशोर, वयस्क र प्रौढताको पाकोपन प्राकृतिक बृद्धिभई देखिने कुरानै हो, यसबाट कुनै पनि जीवित प्राणी अछुतो हुँदैन । त्यस्ता आफूमा आएका परिवर्तनलाई अरुका अगाडि तपाइँ आफूलाई कसरी प्रस्तुत गर्नुहुन्छ र उमेरजन्य स्वभाविक विचार राख्नुहुन्छ कि पृथक भन्नेलेनै उमेरको अभिव्यक्ति निर्धारण गरिरहेको हुन्छ ।

हार्वाड लगायत धेरै विज्ञान प्रतिष्ठानका मनोवैज्ञानिक, चिकित्सक र अनुसन्धाताको निस्कर्ष छ, मानिसमा जन्मेदेखि जीवनको अन्तिमसम्म शारीरिक परिवर्तन भइरहन्छ । त्यस्तो भएमा दिक्क मान्ने लाज मान्ने वा यसो भयो, उसो भयो भनेर चिन्तित हुनेनै होइन । तपाइँको शरीरलाई अवाञ्छित र कल्पनानै नगरेको विकासमात्र होइन, सोचाई विपरित भई पूर्वसोचाईमा ढुन्नेसो कसेको हुनसक्छ । शरीरमा आएको परिवर्तनले व्यक्तिको भावानात्मक र मस्तिष्कमा उमेरिदा ठूलो मनोवैज्ञानिक फरकपन ल्याएको सबैले भोगेकै हुन्छन् । त्यसमाथि आफूमा आएको विविधताको अरुले गर्ने नकारात्मक टिकाटिप्पणी र परम्परागत कुरा काट्ने प्रवृत्तिको छनक पाउनु भयो र त्यसमा भरगर्न थाल्नु भने त तपाइँको मनोदशा यति बिग्रन्छ कि ‘पहा पछारिएझैँ, अचेत, किम्कर्तव्यविमूढ’ बन्न थाल्नुहुन्छ । अरुको हा हामा लागेर उमेरिदाको महत्व, उपादेयता र वजनलाई अस्विकार गर्ने मानसिकता बनाउन थालेमा पाकोपन तपाइँलाई काउसो जस्तो चिलाउने मात्र होइन बारुलाले चिलेर भब्बाएर सुन्निएको ठाउँमा पिलो आएजस्तै हुनजान्छ ।

अमेरिकी उमेरिने विषयका बृन्दा एकरमानका अनुसार पाको भएकोमा ईमान्दारितापूर्वक राम्ररी व्याख्या गर्ने हो भने तपाइँ मक्खपर्ने बाहेक अरु भाउँतो केही आउँदैन । उमेरिदा समाजमा पाइने भावानात्मक फाइदा- आदर, सत्कार, मान, दया र प्राथमिकता, हरेक क्षेत्रमा हरेक व्यक्तिले सामान्यतया अरुलाई होइन पाकोलाईनै गरिरहेको देखिन्छ । पाका मान्छेले आफूसँग भएको सचेतनता, आत्मविश्वास, शारीरिक बुद्धिबर्कत र स्वच्छन्दतामाथि उमेरिदा अङ्कुसलागेकाले आफैँ अघि सरेर गर्नखोज्नु भन्दा दुधको तरको तागत जानिफकारझैँ अतिआवश्यक मात्र प्रतिक्रिया जनाउने हुन थालिन्छ । त्यसैले कतिपय कुरामा पाको हुनुअघि सोचेका र गरेका व्यवहार अब उल्टाउनु पर्ने हुन्छ । पाकाले ‘मलाई पनि यसो भएथ्यो, मैले भोगेकै कुरा हो’ भन्नुको तात्पर्य अमुकले आफ्नो जीवनमा आएपछि सहेकै दुख, कष्ट, तातो, न्यानो, ठिही र बिछोडका भुक्तभोगी घटनाले तिखारेको मानिस भनि बुझ्नु पर्छ । त्यस्ता घटनाहरू निकै निर्मम, पीडादायी तथा कतिपय साह्रै प्रेरणादायक र मनमोहक सत्यतथ्य हुनसक्छन् तर त्यसबाट सिकेको पाठ र सिपहरूलेनै पाका मान्छेका बलिष्ठ मनोविज्ञान निर्माण गर्ने पाटो बनिरहेको पाइन्छ ।

वयस्क चाहनामाथि जित :
उमेर पचासको नजिक पुग्दा हरेक देशका मान्छेहरूका औशत बाँच्ने उमेर ओरालो लाग्न थालेको हुन्छ । हुर्हुराउँउदो मन र चाहनालाई बिस्तारै संयोजन र नियन्त्रण गर्दै लग्नुपर्ने साथै परिवारका सदस्यहरू र आर्जित सम्पति भागबण्डा बारेमा उचित निर्णय लिने बेला आएको बुझ्नुपर्छ । यस उमेरतिर आएर आफ्नो क्षमता, हैसियत र सामाजिकस्तर कायम भइसकेको हुन्छ, र प्राप्त गर्न सक्ने आर्जनको सिमा निर्धारण हुन्छ । त्यसैले यसै उमेरको बिचमा नजिक र टाढा बनाउनु पर्ने बरव्यवहारको टुङ्गो सम्बन्धित बिच लगाएमा पाको उमेरमा विभिन्न झञ्झट व्यहोर्नु पर्नेछैन । जोईपोइ बिच पाको उमेरमा कुन हदसम्म मायाप्रिती रहला भन्ने छनक ढल्कँदो उमेर र एकअर्काको आनिबानीमा पाइसकिएको हुन्छभने जोडीबिच आउनसक्ने शारीरिक कमजोरीका बाबजुद आफ्नो भविष्यको आङ्कलन मसक्क गर्न सम्भव हुनेछ । आफ्नो अनुभवजन्य निर्णयले आफू र सगोलका बिच बेलैमा हरेक कुराको फरफारक यस बेलामा गरिनु व्यवहारिक र बुद्धिमानी धेरैले मानेका छन् ।

एकरमान थप्छिन्, हरेक मानिसले भावानात्मक कुरा आकर्षण, सहिष्णुता, परनिर्भरता, समन्वय र दोहोरो सहयोगिताको सारा खेल अधबैँसे उमेरमा आइपुग्दा पतिपत्नी र परिवारका अरु सदस्यहरूका आनिबानीबाट थाह पाइसकिएको हुन्छ । सबल र निर्बल पक्षको पूर्वाग्रहरहित विश्लेषणले तपाइँमा भित्री उर्जा प्रष्फुटनभई आवश्यक्तानुसार व्यवहारमा लचकता उत्पन्न हुन्छ र आत्मसम्मानका साथ भविष्य बिताउने योजना बनाउन सक्नुहुन्छ । आधा शताव्दीको दुखकष्ट, निकटका बिचको तितोमिठो र एकै भान्छाको सङ्गतले तपाइँमा व्यक्तिव्यक्तिका स्वभाव र चाहनाको अनुभव र ज्ञान मनग्य हुन्छ । त्यस्तो व्यवहार परिक्षित हेक्काले बेलैमा लिइएको निर्णय तपाइँलाई बाँकी जीवनभरी सन्तोष र शान्तिपूर्वक बिताउने आधार तयार पार्न सक्छ । घरव्यवहारमा भए गरेका सबै खालका घटनाको बस्तुगत मूल्याङ्कनलेनै तपाइँका विचार, भावना, स्नेहलाई परिमार्जन गर्नेछन् र अगाडि आउने पाको उमेरको बाटो प्रष्ट प्रस्तुत गरी सुरक्षित परिवेशमा अवतरण गराउन सक्नेछन् ।

जीवनको अधबैँसे उमेरमा विविध दोबाटो देखा परेका हुन्छन्, समय छँदै शारीरिक अवस्थाले दिन्छ भने जीउने बाँकी उमेर फरक किसिमले बिताउन चाहेमा फेर्ने बेला पनि यही हो । एउटै सङ्घसंस्था वा फरक प्रतिष्ठानमा उस्तै वा फरक विषयमा दैनिकी बिताउन चाहेमा पनि अनुभवको टाकुरामा पुगेकाले निणर्य गर्न सकिन्छ । त्यतिखेरसम्म सङालेका साथीभाइको जमघटले नयाँ व्यवशाय र बिधामा सजिलै सफल हुने बाटो निक्र्योल गर्न सकिन्छ । लामो समयदेखि गरिएको काममा उमेरिदा आउने एकोहोरोपन र अनाकर्षणको सट्टामा थप उत्सुकताले उर्जावान भई अघि बढ्ने उमेर त्यही बेला हो । यसरी कामको परिवर्तन र सफल पहुँचसँगै आफ्नो व्यक्तिगत हेरबिचार र स्वास्थ्यलाई प्राथमिकता दिने विषयमा सचेत हुन मौका पनि मिल्दछ । यस उमेरको प्रारम्भमै जीवनको ओह्राली अनुभूत हुन लागेर र भेटिएका सबैको आआफ्नै हुटहुटीमा दौडेको पाएर कुनै पनि मानिस आफ्नो भोगाईबाट आफ्नै भलाईमा अग्रसर हुन थाल्दछ । यसअघि आफूतिर नफर्किएको मानिससमेत सामाजिक भोगाईले स्वहित र भविष्यको सुरक्षित अवतरण होस् भनि केही सोच्न बाध्य हुन थाल्दछ ।

आफैँलाई माया गर्न सिक्नु :
मानिसको बालापनदेखि वयस्क होउञ्जेलसम्मको लामो जीवनयात्रामा कहिल्यै नसोचेको आफैँलाई माया गर्ने कुरा अधबैँसे उमेरमा आइपुग्दा अनुभूत हुने अनौठो र नयाँ मनोविज्ञान हो । उमेर र अनुभवले अचम्भसँग नयाँ कुरा मानिसका मानसिकता बन्न पुग्छन् र एकमात्र सहि बाटोको रुपमा निर्धारण हुन्छन् । यो मनोविज्ञान त्यस उमेरमा सबैमा लागु हुने यथार्थ सत्य हो, हेक्का नहुन सक्छ तर कसैले नकार्न मिल्दैन । त्यसबेला स्वस्विकारोक्ति र आत्मस्विकृति आफूलाई लागेकै ठिक हुन्छ, नकार्न मिल्दैमिल्दैन । यतिखेर अझै कसैको प्यादा बन्ने र कसैको साख हुनकै लागि पछिलाग्नुको कुनै अर्थ बाँकी पाको उमेरको जीवनमा भरयोग्य व्यवहारनै होइन ।

जीवनको भूलभुलैया खेलमा आत्मस्विकृतिनै सन्तोष र आनन्दीको सुरुवात हो । यसैलाई पाउन मानिसले लामो जीवनकाल बिताउँछन् । धेरै महिलाहरू सुखी जीवनका अनेक सपना सानैदेखि बुनिरहेका हुन्छन् । पैत्रिक घरबाट पति घरमा गएपछि अन्तिम सुखसुबिधाको कामना गरिरहेका हुन्छन् तर कैयौँमा त्यो तृष्णा पाकी हुन्जेल पनि अधमरो भएको पाइन्छ । हरेक उमेरको कालखण्डमा आफ्नो भविष्यबारेमा उत्सुक महिलाहरू उमेरजन्य स्वप्रेम गर्नबाट वञ्चितनै भएका देखिन्छन् । हरेक महिलाको शारीरिक बनावटसँगै अतुलनिय मनोकाङ्क्षा विकासक्रममानै अलगअलग निर्धारित हुन्छ र आफ्नै अलग विशेष माने राख्छन् । धेरै पछि मात्र धेरैले अप्ठ्यारो परिस्थितिमा पनि आफूलाई माया गर्न र आफ्नै हितमा काम गर्न सक्तछन् ।

अधबैँसे उमेरको सबैभन्दा राम्रो पक्ष भनेको बितेको जीवनमा पहिलोपल्ट अरुलाई मात्र होइन आफ्ना कमजोरी र गल्तीमा क्षमा गर्ने सामथ्र्य राख्नु हो । क्षमा दिनसक्नु भनेको नकारात्मक तुसलाई पञ्छाएर चिन्ता र पूवाग्रहबाट आफू र अरुलाई मुक्त गर्नु पनि हो । त्यसपछि त सकारात्मकता र त्यही स्तरबाट प्रगति गर्नबाट कसले रोक्न सक्छ र ? वास्तवमा अचेतन, नादान र पूर्वाग्रहीलाई (आफू वा अरु) सत्यको नजिक पुग्दा क्षमा दिनु जस्तो उच्चतम शक्तिक्षमता अरु हुन्न । यसले सकारात्मक बाटो पहिल्याउन मद्दत गर्दछ र यो अति गाह्रो मानव व्यवहार पनि हो । जो कोहीले सहजै गल्ती स्विकार गर्ने र क्षमाशील हुनै सक्तैनन् । क्षमादान भनेको अरुको हितमा मात्र होइन, त्यो त तपाइँ आफ्नै मानसिक शारीरिक भलाईको लागि हो, यत्ति पनि धेरैले बुझ्दैनन् । यस्ता अनुभव र अरु व्यवहारबाट मानिसले सहने क्षमता र आफ्नो क्रियाशिलता बढाएर आफैँलाई माया र हेरबिचार गर्न धक नमानी ह्याउ बढाउनु पर्छ । यस्ता बिचार र व्यवहारको सुरुवात अधबैँसे उमेरमा जागरुक गराएमा पाको उमेरमा समस्या पर्दा पनि धेरै अरुको मुख हेर्नुपर्ने छैन । अनुभवले देखाएको छ, बेलैमा यस दिशामा लागेका मान्छे समस्या पर्दा अरुको भनाई खपेर ‘बुढेसकालको रोइलो वा गनगन’को आरोप सहन बाध्य नभई सक्रिय, साहसी र जीउँदा भनिने छन् ।

उमेरिनुलाई सकारात्मक स्विकारोक्ति :
साँच्ची हेक्का छ कि छैन, तपाइँ पाको हुनु भनेको आफ्नो जीवनयात्राको अठोटेको नायक नायिकाको तहमा हुनुहुन्छ है । प्रसिद्ध गायक मिले साईरसको गीतले भन्छ ‘सबैकुरा पर्वतारोहणझैँ हो’ उनी शतप्रतिशत ठिक छिन् । जीवन जीउनु भनेको छिनछिनमा उकाली लाग्नुनै हो, आफूले मानेको विचार नेतृत्वलाई पच्छ्याउँदै सगरतिर उक्लनुनै जीवन हो । हो, ठिक ढङ्गले सफल हुने हिसाबले लम्कन साहसी, सहनशील र नयाँ आइपर्ने कुरालाई स्वागत गर्न सदा फराकिलो छाती पारेर अघि बढ्ने चाहना राख्नुपर्छ । यस क्रममा फटाएको भोटोको मात्र गणना हुन्छ, नत्र त भोटो घष्टिएर, मैलिएर र पुरानिएर फाटेको ठहरिन्छ । पहिले हेक्का नभएका तर जीवनमा आइलाग्ने परिवर्तनका गोरेटारुपी नयाँ मनोवैज्ञानिक चेतनाको प्रष्फुटनलाई यसरी लिपिबद्ध गर्न पनि सकिन्छ ।

डरलाई स्विकारगरी चुनौती भोग्नुहोस् : सधैंभरी मगनमस्त रहने र जे छ त्यसैमा मात्र चित्त बुझाउने लाछी नबन्नोस् बरु नयाँ काम गर्न डरमान्ने प्रवृत्ति छोडनोस् । शिर ठाडोपारी नयाँ काममा आउनसक्ने हाँकलाई स्विकार गर्नुहोस् । काँथर भई पाइला चाल्न र अघि बढ्न नरोकिनोस्, आफ्ना चाहना, सपना र राम्रा लागेका बिचारलाई प्राप्त गर्न सधैं आफूलाई अघि बढाउनु होस् । हो, हरेक कदम फुकिफुकी हिँड्नु होस्, नयाँनयाँ उपलब्धि हात पार्न उत्साहित हुनुहोस् । प्रगति र उन्नति डरको अर्को पाटोमा तपाइँलाई पर्खेर बसेका छन् र तपाइँलाई अङ्कमाल गर्न लालायित छन् भन्ने बुझ्नु होस् । उनीहरूको चाहना तपाइँले यही जीवनमा पुरा गर्नै पर्छ, बिग्री नासिएला भनि डराउने र अर्को जन्मको लागि गरौँला वा परत्रको भर पर्न छोडनुहोस् । शरीर कमजोर हुँदैमा विचार कमजोर हुँदैन, विचार र व्यवहार त अँध्यारोमा बलेको पिलपिलेनै सही दियो जस्तो हो नि, अलिकति भए पनि अँध्यारो हटाउन मद्दत गरिहाल्छ नि ! हरेक अवशर र घटनालाई तपाइँले पूरा गर्नैपर्ने हाँककोरुपमा स्विकारी अघि बढ्नुहोस्, अनि पो क्रियाशील जीवनको आनन्दी हुन्छ ।

पश्चाताप नगरी बाँच्नुहोस् : जीवन पाइसकेपछि पूणर्रुपले जीउन आफ्नो मस्तिष्कलाई तयारी र जागरुक राख्नुहोस् । ‘मानिसको जीवन एक बारको’ भन्ने आहान हाम्रा पूर्खाले अनुभव र ज्ञानका आधारमा भनेका हुन् त्यसै भनेका होइनन्, यति भन्नलाई चार्वाकको दर्शन खार्नु पर्दैन । बाँचुञ्जेल मज्जाले सुखीखुसी भई बाँच्ने हो, बहुजनहितायमा सोचिएको काम र विचार कहिल्यै खेर जाँदैन । त्यसरी सोचाई र क्रियाकलाप गर्दा आफू र समाजकै हित हुन्छ । मानिसले जीवनको पूरा मोल उठाउन त आफूबाहेक अरुको पनि हित हेर्नुपर्छ, त्यसैले त अहिले धेरैजना प्रकृतिको सुरक्षामा पनि ध्यान दिन्छन् । हरेक छनौटमा र क्रियाकलापमा आफ्नो मूल्य, मान्यता र महत्तालाई प्राथमिकतामा राख्नुहोस् । ‘पुनर्जन्म वा चौरासी लाख योनी’ को चक्करमा परेर आफ्ना चाहना अर्को जन्ममा पूरा गरौँला भन्ने मृगमरिचिकामा नपर्नोस् । सकेसम्म सम्भव हुने सबै ईच्छा पूरा गर्न लाग्नोस्, हो कतिपय पहिले नगरेका, नजानेका र आफूलाई पछार्न खोज्ने जस्ता लाग्लान् तर आँटगरी सल्ट्याउनोस् अनिपो जीवनको मज्जा पाइन्छ । आफूले पहिले गरेकाबाट सफल-असफलको पाठ सिक्नुहोस् आफू नजिक परेका अझै काम लाग्छन् कि ! मूल्याङ्कन गरेर पाको उमेरमा सम्बन्ध कायम वा विकास गर्नुहोस् । यति गरेपछि के ‘त्यसो गरेर बिगारेछु, त्यता लाग्नै हुँदैनथ्यो’ भनि थकथक गरी पश्चाताप गर्नुपर्ला त ?

पुनर्ताजगी भई समृद्धिलाई च्याप्नुहोस् : समयसापेक्ष ज्ञान र प्रगतिलाई आत्मसात गरेर आफ्नो प्रगतिको अंशलाई बहुजनको एक भागकोरुपमा स्विकार्न सिक्नुहोस् । समय, समाज र आफन्त परिवर्तन हुनसक्छन् आफ्नो मूल्यमान्यतामा बिरोधाभास देखिनसक्छ, अकाट्य दर्शनका आधारमा स्थापित विचारलाई अटलरुपले सदैब शिरोधार्य गर्नुहोस् । फलस्वरुप नयाँ परिस्थितिमा पनि कुहिरो र तुवाँलो भरिएको वातावरणमा सूर्यको आगमन भएझैँ बाटो उघारो पाउनु हुनेछ । हरेक नयाँ अवशर तपाइँ आफ्नै लागि पनि फाइदाको मुहान लिएर आएको भान हुनेछ । राजमार्ग निर्माणजस्तो फराकिलो विचारले ओतप्रोत भएपछि आफूमात्र होइन अरुका लागि पनि फाइदा पुग्ने सिप सिक्न पाको उमेरमा उद्यत हुनुहुनेछ र समाजका लागि कामलाग्नेमा दरिन पाउनु हुनेछ । त्यसपछि पाइने मान, सम्मान र हाईहाई खाङ्ग्रे डोकामा भरेर ओसार्न समेत भ्याइनभ्याई हुनेछ र पाको उमेरमा तपाइँको समृद्धि भनेर साद्दे हुनेछैन ।

हरेक नयाँ चुनौतीको हदम्याद हेर्नुहोस् : नयाँ क्षेत्र पहिल्याउँदा सिकिने पाठ र बिग्रिएमा कुन हदसम्म गल्तीनोक्सानी हुनेछ भनि विवेकी भई विचार गर्नुहोस् । हरेक गर्न सकिने र आँटेको कामले अवशर, समृद्धि र पाठ पनि सिकाउन सक्छ, खुट्ट्याएर केलाउने र बस्तुपरक विश्लेषण गर्ने जिम्बेवारी तपाइँकै हो । जीवनमा सहनशिलतालाई आफ्नो मस्तिष्कको अशल पक्ष मान्नुहुन्छ भने हरेक प्रतिगमनलाई आफ्नो र समाजको उन्नतिमा फालहाल्ने डिलमा रहेको अजङको बिरे ढुुङ्गाको रुपमा प्रयोग गर्न सक्नु हुनेछ । शारीरिक अवस्थाले नसक्ने भए पनि मानसिक रुपले स्वस्थ्य हुनुहुन्छ भने भौतिक शरीरनै उपस्थिति आवश्यक नहुन सक्छ, तपाइँको सञ्चारनै काम फत्ते गर्न सक्षम हुनेछ । हो, उही जोश र जाँगरकासाथ काम नहोला तर व्यक्तिगत मात्र नभई बहुजनहितायको लागि भएर तपाइँको बिचारको कदर अवस्य हुनेछ ।

हार नमान्ने योद्धाझैँ हुनुहोस् : जीवनमा कहिल्यै हार नमान्ने योद्धाझैँ आफ्नो सोच बनाउनु होस्, जतिसुकै परीक्षण र उँचनिच हुँदा पनि अटल हिमालयको आस्था अङ्गीकार गर्ने मानसिकता बनिरहोस् । अब, अनुभव र ज्ञानको भारी बोकेको पाको उमेरमा कसैले कुनै तरहले विपरित लछारपाटो लाउन सक्ने छैन । परिवन्दले बाधाव्यवधान आएमा अनुभवसिद्ध भित्री उर्जाको प्रकाशमा पूर्वदीक्षित ज्ञानलाई जगाउनुहोस्, समस्याले छारतोस कस्नेछ । तपाइँको सहनशिलता र दृढ मनोबल अगाडि संसारका कुनै बाधा अप्ठ्याराले तपाइँको सुमार्गमा भाँजोहाल्न सक्ने छैन । त्यस्ता गुणयुक्त विचारले लैस पाको उमेरका तपाइँलाई आफ्नो र जगतभलोमा अघिबढ्ने मन्सुवा बिरुद्ध हराउन कसैले सक्दैन, खाँचो त फगत तपाइँको इच्छाशक्ति र अग्रसरताको मात्र हुन्छ ।

स्वशक्ति पहिचान गर्नुहोस् : छ दशकभन्दा बढिको अनुभव, जीवनका उतारचढावका भोगाई र प्राप्त ज्ञानका आधारमा आफ्नो महत्ता र भित्री शक्तिलाई पहिल्याउनुहोस् । आफ्नो क्षमता साथै विश्वासलाई पत्त्याउनुहोस् र हरेक बाधाअवरोध पन्छाउने चेष्टा गर्नुहोस्, तपाइँले पार पाउनु हुनेछ । हरेक दुखलाई शक्तिमा रुपान्तरण गर्ने प्रयाश गर्नुहोस्, आफ्नो र जगतको भलो गर्ने समृद्धिका लागि आफ्ना अनुभव प्रयोग गर्नुहोस् । तपाइँका हरेक ससाना प्रयाशले आफू र दुनियाँको सशक्तीकरणमा ठूलो योगदान गरेको पाउनु हुनेछ । मानिसमा पाको उमेर जतिको साधन सम्पन्न, परिपक्व र ज्ञानयुक्त उमेर अरु उमेरसमुहमा हुँदैन भने यो उमेर जतिको कौशलयुक्त जोधाहा पनि अरु हुँदैन ।

अन्त्यमा,
पाको उमेर पुग्नुअघि अधबैँसे उमेरदेखि कसरी भविष्य सन्तोषपूणर् र सुखमय बनाउने भनि व्यवस्थापन गर्न सुरु गरिहाल्नु बुद्धिमानी हो । पाको उमेर लागेपछि अरु कसैले सहयोग नगरे पनि आफू कसरी स्वावलम्बी भई अनुभव र ज्ञानका आधारमा खुसी भई व्यक्तिगत र जगतको भलोमा कसरी लागिरहने भन्ने सक्रियता कायम राख्नुहोस् । यसबेला गरिएका हरेक विचार र कामले आधारशिविरमा पुगेका पर्वतारोहीको जस्तै हामी पनि सगरमा उक्लन कम्मर कसेका आरोहीको अवस्था जनाइरहेको नबिर्सनु होस् । हामी हाम्रा आर्जित साहस, कामप्रतिको जिद्धी र जीवनको अन्तिम प्रहरमा लिइएको बचनबद्धतामा अविचल भई हरेक नयाँ चुनौती र फाइदालाई सहर्ष स्विकार गर्ने समाजका अति मानिला महिला-पुरुष हौँ । हामी पाका महिला र पुरुष अहिलेको नेपालमा सबैभन्दा भाग्यमानी पुस्ता हौँ, कृपया आफ्नो बाँकी जीवनको खाका आफैँ कोर्नुहोस्, खुसी भई बाँच्नुहोस् र यो जीवन जितेर इतिहास रच्नुहोस् !

०००
माघ ५, २०८०
चालिसेडाँडा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x