डा. मुकेशकुमार चालिसेपाका मान्छेका तथ्यकुरा बुझौँ !
हामी सबै पाका मानिसहरू सक्रिय र स्वस्थ्य भएको नै हेर्न चाहन्छौँ । पाका मानिसहरू ८०–९० वर्षमा पनि काम गरिरहेका, नयाँनयाँ कुरा सिकिरहेका र सकुशल घुमफिर गरिरहेका देखेर कसलाई आनन्द नलाग्ला र ?
प्रा.डा. मुकेशकुमार चालिसे :
संसारभर नै पाका मानिसहरू भने पछि करिब ६० वर्ष माथिकालाई भनिन्छ, जानिन्छ । नेपालमा त पाका मानिसलाई ‘बूढाखाडा’, ‘बलियाबाङ्गा बाघलाई, बूढाखाडा माघलाई’, ‘बूढो भयो सब रङ्ग गयो, आँगन भयो परदेश’ जस्ता अति होच्याउने भनाई पनि सुनिन्छ । तर सँगसँगै ‘कुरा सुन्नु बूढाको आगो ताप्नु मुढाको’, ‘बूढापाकाको अर्ति माने बिग्रँदैन’ ‘बूढाबूढी मरे भाषा सरे’ भन्ने पनि प्रचलित नै छ । कतिपय जातजाति, समुदाय र संस्कृति अनुरूप पनि पाका मानिससँग गरिने व्यवहार र भनाई फरक पाइन्छन् । आजको विकसित समाजमा सञ्चारको चहलपहलले र मानिसका भेटघाटले फेरी ‘संसार एक गाउँ’ अर्थात् बसुधैव कुटुम्बकम्मा नै फर्किरहेछ । त्यसैको फल हिजोआज ज्येष्ठ नागरिकका कुरा हुन थालेका छन् । व्यक्तिव्यक्ति मात्र होइन समाज र सरकार पनि केहि वर्षदेखि पाका मानिसका कुरा नभनी सुखै पाइरहेका छैनन् । पछिल्लो खेप नेपालमा बजारवादले बुई चढ्दा ‘खानाका काल, नकमाउने वा घरको बोझ’को रूपमा भन्ने गर्ने कुरा फेरिएर बिस्तारै पाका मानिस आदरणीय भन्न थालेका छन् ।
हुन त यस्तो ‘सुनौलो उमेर’मा प्रवेश गर्दा पनि कसैकसैलाई चिन्ता हुनथाल्छ, पाको हुँदा चमकदमक भन्दा असक्त र चाउरीपर्ने होला भनेर । समुदाय र परिवारको औषधिगर्ने धेरै चिकित्सक भने उमेर पाको हुनासाथ सबैलाई त्यस्तै हुन्छ भन्ने कुरा साँचो होइन भन्छन् । हो, करिब ७० वर्ष पार गरेपछि शारीरिक र मानसिक केही परिवर्तनहरू आउँछन्, तर सबैले भन्ने गरेको दन्त्यकथा जस्तो पाका मानिसमा विपरीत असरहरू देखा नपर्न सक्छ । वास्तवमा जीवन भनेकै जीवनपर्यन्त गरिने स्वास्थ्यको मर्मत र संरक्षण हो । तपाईंको स्वस्थ्य बानीव्यहोरा छ र बानी नबिगारी बिगत जीवनभर नियम कायम राख्नुभएको छ भने दीर्घजीवन र सुखी पाका मानिसमा दरिन सक्ने सम्भावना बढि हुन्छ । केहि अनुभवी र अनुसन्धाता चिकित्सकको सल्लाहहरू संयोजन गर्ने हो भने उमेर जतिसुकै बढे पनि पाको उमेरमा हामी स्वस्थ्य, चलायमान र तीक्ष्ण भइरहन सकिन्छ । संसारभरि धेरैतिर जस्तै नेपाली समाजमा चलेका केही भनाइलाई अनुसन्धाता चिकित्सक डा.कार्ल लाम्बेर्टका सल्लाहबाट प्रष्ट पारौँ ।
१. कसरत पाका मानिसले गर्नुहुन्नः
भन्दै ‘उमेरदार मान्छे पो बलियोबाङ्गो हुन्छ, बूढापाकाले कहाँ सकिन्छ? तरुनातरुनी पो बलिया हुन्छन र जीउको बल तह लगाउन कसरत गर्छन्’ भनिन्छ । त्यसैले, पाका मानिस धेरै जर्याकजुरुक गर्नुहुन्न र सकेसम्म ट्याउँट्याउँ बोल्ने अर्तीउपदेश दिने हो पो भन्छन् । ठूलो काम गर्न नसक्ने भएपछि बरु चुपलाग्ने र एकातिर आराम गरिरहने गर्नुपर्छ भन्छन् । तर कुरा त्यसो होइन, उल्टो भनाई हो त्यो । अनुसन्धानबाट देखिएको छ कि शारीरिक श्रम नगर्ने, आराममात्रै गर्ने र कसरत नगर्ने पाका मानिसमा अरू समस्याका साथै मोटोपना, मुटुरोग र मधुमेहको खतरा अति बढिरहेको पाइन्छ । बिग्रेको उपकरणजस्तो घरी यसो भयो, घरी उसो भयो भन्यो, आफैँ केही उपाय गर्नु साटो पैसा छ भने चिकित्सक भेट्यो औषधि थप्यो । औषधिको रसायनले गर्ने बाह्य असरले अन्यत्र हान्छ, अर्को अङ्गमा असर गर्छ अनि अर्को समस्या देखिन्छ, फेरी कुद्यो अस्पताल वा चिकित्सक भेट्न । त्यस्ता पाका मानिसका दैनिकीको रूपमा नियमित अस्पताल र चिकित्सकको भेटघाटमा नै बाँकी जीवन बितिरहेको हुन्छन् ।
नियन्त्रण यसरी गरौँः
पाका मानिसले पनि शरीरलाई दखल नपर्ने गरेर गाह्रो होइन हलुका शारीरिक व्यायाम गरौँ । नियमित व्यायाम गर्नाले तपाईंको मुटु र फोक्सोलाई बलियो बनाउँछ र चिन्तालिने मौका कमभएर तनाव व्यवस्थित गर्दछ । शरीरको तौल नियन्त्रण गर्दै सन्तुलनमा गरिने व्यायामले– विशेष गरेर हरेक दिनको नियमित हिँडाईबाट तपाईंको हाडको स्वास्थ्य, बलियोपन र सन्तुलनको समस्या हल हुन थाल्दछ । हाड बलियो र जीउको सन्तुलन भएमा तपाईंहरू लरबराउने र पछारिने समस्या कम हुँदै जान्छ । यसो भएमा यस्तो उमेर समूहका पाका मानिसहरू ठूलो दुर्घटनाबाट बच्न सकिन्छ ।
सावधानीः यदि तपाईं पाका मानिसहरू पहिलो पटक व्यायाम गर्न जानु हुँदैछ भने चिकित्सकसँग सल्लाह लिएर व्यायामशालाका प्रशिक्षकहरूलाई आफ्नो स्वास्थ्यस्थितिबारे जानकारी गराउनु होला । हौसेर म पनि सक्छु भनी गाह्रो व्यायाम सुरु गरी नहाल्नोस् । योग गरे राम्रो भन्ने नाममा एउटा अति उच्च रक्तचाप भएका पाका मानिसले शीर्षासन गर्दा सधैंका लागि बिदा भएका थिए ।
२. पाका मानिसले यौनक्रीडा गर्न सक्दैनन्ः
महिला र पुरुषदुवैै थरी प्राणीमा यौनक्रीडा वयस्क भएपछि हुने जैविक आवश्यक्ता र प्रक्रिया हो । धेरै उमेर पुगेपछि यौनक्रीडा गर्न पाका मानिस सक्दैनन् भन्नेकुरा गलत हो । रोगले सताइएका जीर्ण भएका र स्वासप्रस्वास– मुटुको समस्याले अति विरामी भएका बाहेक रक्तचाप–फोक्सोलाई परिश्रम पर्ने यो जैविक क्रियागर्न पाका मानिस सक्षम हुन्छन् । हो, कसैकसैमा मानसिक चिन्ता बढि भएर अथवा आन्तरिक जैविक उत्तेजक रसायन उत्पादन नभएर अथवा पाठेघर वा अण्डकोशकै समस्या भएर यौनक्रियाप्रति अनाकर्षक हुन सक्छन् ।
नियन्त्रण यसरी गरौँः
विभिन्न शारीरिक र भौतिक कारणले पाका मानिसमा यौनप्रति उदासिनता हुनसक्छ । आफू हुर्केको संस्कृति, चलन, बुझाई र यौनसाथीको व्यवहारले पनि यौन क्रियाप्रति नकारात्मक सोचाई आउन सक्छ र अनिच्छुक भइन्छ । शरीर र भावनामा परेको गलत प्रभावलाई हल गरेर पाका मानिसले पनि यौन आनन्द लिन सक्छन् । यौनचाहना र क्षमतालाई विभिन्न माध्यमबाट सम्बोधन गरेर यौनक्रीडा गर्न र पुनः तरुनो हुँदाको जस्तै सन्तुष्टी प्राप्त गर्न सकिन्छ ।
उदाहरणका लागि, महिला योनीको रस उत्पादन नभएर धेरै महिलाहरू आफ्ना पुरुष साथीलाई अनाकर्षक बन्छन् । यस्तो समस्या महिनावारी नहुने भएपछि र भइरहँदा पनि हुनसक्छ । यस्तोमा यौनाङ्गमा चिप्लोपन बढाउने विभिन्न गुणका तेलहरू प्रयोग गर्नु लाभदायक हुन्छ । पुरुषहरूमा पनि लिङ्ग यौनक्रियामा तयार नहुने वा दह्रो नहुने समस्या हुनसक्छ । जैविक रसायनको कमी वा अनियन्त्रणले हुने यस्ता समस्याका लागि अहिले लगाउने र खाने प्रशस्त औषधि बजारमा पाइन्छन् । उचित विश्वसनीय चिकित्सकको सल्लाहमा सेवन गर्न सकिन्छ र आफ्नो यौन जीवन सुखमय बनाउन सकिन्छ । हुन त, बढी उमेरकालाई चिकित्सकसँग यौनका कुरा गर्न असजिलो लाग्नसक्छ, यस्तो उमेरमा यस्ता कुरा भनेर । सम्बन्धित विषयका चिकित्सकको भनाई र सल्लाह मान्दा नै बाँकी जीवन सुखमय हुन्छ भने किन धक मान्नु ? कुरा गर्नै पर्दछ अन्यथा उदासिनता बढ्न सक्छ ।
३. पाका मानिसलाई कम सुते पुग्छः
वयस्क र कम उमेरका मानिसलाई पाका मानिसको तुलनामा बढि सुत्नु आवश्यक छ । तर ख्यालरहोस् पाका मानिसलाई वयस्कभन्दा बढिमा एक घण्टा मात्र कम सुत्ने हो । उमेर बढि भएकाले सुत्नैपर्दैन, निद्रै लाग्दैन भन्ने कुरा गलत हो । रोग वा चिन्ताले वा अन्य कारणले निद्रा राम्ररी नपर्ने पाका मानिसले त अझ बढि आराम गर्नुपर्दछ । त्यसैले पाका मानिसले हरेक रात ६ देखि ७ घण्टा निदाउनेगरी सुत्नै पर्दछ ।
नियन्त्रण यसरी गरौँः
राम्ररी नसुत्ने वा निद्रा नपरे धेरै खालका गल्ती कमजोरी देखिन थाल्छन् । पाका मानिसले मस्तसँग निदाउने बानी बसाल्नु पर्छ । ठिक समयमा सुत्ने, ठिक समयमा उठने र आवश्यक पर्दा दिउँसो एकछिन झकाउने गर्नुपर्छ, त्यस्तो भएन भने असाध्य रोगहरू लाग्नसक्छ र अलि दुख पाइन्छ । कुनैकुनै औषधिहरू, कफी, मादकपदार्थ र धुमपानको असरले पनि कम निद्रालाग्ने हुनसक्छ । सकेमा आफैँ सचेत हुने र यथायोग्य बानी बसाल्ने नसकेमा सुताई विज्ञ चिकित्सकसँग परामर्श लिएर समस्या समाधान गर्नुपर्दछ ।
४. हाडजोर्नी समस्या र बाथ पाका मानिसलाई अवश्यम्भावी छः
उमेर र समयअनुसार हाडजोर्नीका समस्या हुनसक्छन, तर सधैं होइन । अमेरिकी स्वास्थ्य संस्थानका अनुसार ६५ वर्ष माथिका आधाजसो त्यहाँका पाकामानिसलाई मात्र सामान्य खालको हड्डीको बाथ भएको पाइएको छ । तिनीहरूको जाँच गर्दा समस्या भएको जोर्नी र रोगग्रस्तता भने उमेरजन्य खिइएर वा सुन्निएर भन्दा अन्य खतरनाक कारणले भएको पुष्टि भएको छ । त्यस्ता कारणमा मोटोपना, वंशानुगत र पहिले भएका जोर्नीका चोटपटक रहेको छ । भनेपछि जीउ दुख्ने, जोर्नी सुन्निने, हाड चर्कने वा हातखुट्टा करकर खाने समस्यामा ‘बूढेसकालको बाथ’ भनेर मात्र निचमानेर पाका मानिसले नहुने रहेछ, कारणहरू खोज्नु र उचित उपचार गर्नुपर्ने हुन्छ ।
नियन्त्रण यसरी गरौँः
हाडजोर्नीका बाथ र समस्याको खतरा कम गर्नका लागि डा.लाम्बेर्टको सल्लाहलाई एकएक शब्दअनुसार आफ्नो गतिविधिको मापन बनाउनुहोस् । जोर्नीलाई जोड्ने ठाउँमा रहेका मांसपेसी र कुरकुरे हाडको स्वास्थ्य रक्षाका लागि नियमित, हलुका शारीरिक गतिविधि गरिरहनु होस् । यसबाट कुरकुरे हाड च्यात्तिने, हाडको टुप्पा खिइनबाट जोगिन्छ र मांसपेसीहरू बलियो हुँदै जान्छन् । व्यायाम गर्नाले थप वजन बढ्न पाउँदैन र शरीरलाई थपभार पर्दैन । यसले तपाईंका जोर्नीमा थप भार नपरेर हलुका भई चलायमान हुन मद्दत पुग्दछ, दुखाई घटछ र रोगको रूपमा रहन्न ।
मिलाएर गरौँः
लामो समयसम्म जोर्नीहरूमा भार पर्ने एकोहोरो कामगर्दा बारम्बारको घर्षणले जोर्नीका जोडिने तन्तु र हाडको टुप्पो खिइने र फुट्ने हुनसक्छ । यस्तै कारणले हाडजोर्नीमा समस्या देखिन आउँछ । त्यसैले काम फेरीफेरी गर्नुहोस्– वजनदार सामान उठाउने र बोक्ने गरेपछि अलि लामो समय सोझो वजनबिना हिंडनु होस् अथवा साईकल वा मोटर हाँक्नुहोस् । बाथ भइसकेको छ भने पानीमा गरिने व्यायाम काम लाग्न सक्छ । पौडिखेल्ने वा विभिन्न तरिकाले सामान्य जीउ चलाउने काम पानीमा गर्दा जोर्नीहरूको राम्रो व्यायाम पुग्छ र स्वस्थ्य हुन सकिन्छ । अध्ययन अनुसन्धानले स्थापित गरेको छ कि पाका मानिसले नयाँनयाँ कुरा सिक्नमात्र नसक्ने होइन जीवनभरि सिकाईलाई बानी बनाएर धेरै लाभान्वित भएका थुप्रै उदाहरण छन् ।
५. छालाको क्रिमले उमेर घटाउँछः
बजारमा उपलब्ध महगा क्रिम, अनुहार र शरीरको आवरण छालामा दल्ने औषधिले के उमेरजन्य पाकोपनालाई उल्टाउन सक्ला त ? के चाउरीहरू, छाला झोल्लिएका लाम्टाहरू, काला दागहरू, पोतो र चायाहरू हराउलान् त ? डा. श्रीमती लाम्बेर्टको भनाई चाहिँ अँ.. भन्दै हुन नि सक्छ नहुन पनि सक्छ भन्छिन् । छाला विशेषज्ञहरूले त्यस्तो भएको बाहिरी छालामा घस्नका लागि विधिसहित केही उत्पादन सिफारिस गरेका छन् । त्यस्ता क्रिममा यदि अम्लको मात्रा छ भने छालाको बाहिरी काँचुलीजस्तो पत्रमा सफाई गरेर तपाईंको छाला नरम, तन्किएको र चिल्लो देखिन सक्छ तर यो परिवर्तन त अस्थाई हो । केटाकेटीको कुपोषण भएको भए छाला चाउरिन्छ नत्र चाउरिन्न । वयस्कको रोगव्याधमा छाला चाउरिन्छ नत्र चाउरिन्न । बलियोबाङ्गो उमेरमा वयस्क मान्छेका बढ्नुजति मांसपेसी बढ्छन्, हाड र अरू अङ्ग बढेका हुन्छन् । ती सबैलाई खोलको रूपमा काम गरिरहेको छाला त्यही अनुसार तन्किएको र ठूलो भएको हुन्छ । अब पाको उमेरमा भित्री अङ्ग उस्तै रहे पनि मांसपेसी घटेकै हुन्छ अनि बोसो पनि थेग्रिएको हुन्छ । अब बाहिर देखिने भनेको छाला नै हो । उमेरजन्य सुखा खुम्चिएका छाला र पाको भएर आएका दागहरू तपाईंका बाँकी जीवनका सम्पत्ति हुन, ती तपाईंसँग नै रहन्छन् ।
नियन्त्रण यसरी गरौँः
उपायजति सबै तपाईंको हातमा छ । तपाईंका छाला चिल्लो, चम्किलो, राम्रो र वयस्कको जस्तो देखिन सक्छः
धुमपान त्यागौँः भर्खरका केही अनुसन्धानले देखाएको छ कि धुमपान गर्नेका मुख वरपरका छाला चाँडै चाउरिन्छन् । धुमपान नगर्नेभन्दा गर्नेको कम उमेरमा नै आँखाका तलपट्टि सुन्निएकोजस्तो हुने र च्यापुको लोती झोल्लिने हुन्छ । पाको मानिसमा यो असर अझ बढि हुन्छ । अब मर्दा नै छोड्ने हो भनि निच नमारौँ, बरु जतिन्जेल बाँचिन्छ राम्रो देखिएर बाँच्नु मज्जा नि ! ‘यो उमेरमा पनि कस्तो पट्ठो वा पट्ठीे’ भनेको नराम्रो हुन्न, रमाइलै हुन्छ । बानी छ र सकिन्छ भने धुमपान आजै छाडौँ है ।
घामको असर रोकौँः घाम हामीलाई चाहिन्छ, खानेकुराबाट नपाइने भिटामिन शरीरमा लिन सूर्यको किरण हाम्रो छालामा परेपछि उत्पादन हुनथाल्छ । सित्तैमा पाइने यो अति आवश्यक पदार्थ शरीर बलियो र निरोगी बनाउन काम लाग्छ । तर घामको दहन काम लाग्दैन, छाला बिगार्छ । लुगा वा केही कुराले छोपिएको छाला र बाहिर देखिने छालाको रङ्ग हेर्दा फरक त देख्नु भएको होला ! कत्ति फरक पर्छ ? अबदेखि खप्नसक्ने केहीबेर घाममा बसे पनि बाहिरफेर गर्दा बदली दिनमा पनि आफ्नो छालालाई समयअगावै सूर्यको प्रभावबाट बचाउन घामको असर रोक्ने वा नियन्त्रण गर्ने चस्मा, क्रिम र लुगा लगाउनु बेस हुन्छ ।
छालालाई तिर्खालु हुन नदिउँः आर्द्रता वा पानीको मात्रा कम भएमा छाला सुख्खा हन्छ । त्यस्तो छालामा बढी चाउरी पर्छ । हात, गोडा र अनुहारमात्र होईन ढाडको छालासमेत फुस्रो, खस्रो र दरफरिएको जस्तो देखिन्छ । पानी मात्र पिएर फुटेका छाला राम्रो हुँदैन बरु हातगोडा धोएपछि वा नुहाएपछि चिसो छँदै आद्र्रता कायमराख्ने झोलहरू दल्नु र लगाउनु राम्रो हुन्छ । त्यसले छालामा भएको आर्द्रतालाई किताबमा जिल्दाले झैँ ढाकेर धेरैबेर छालाको आर्द्रता कायमराख्न मद्दत गर्छ अनि छाला फुटन र चाउरिनबाट बचाउँछ ।
६. बूढो सुगालाई सिकाउन सकिन्नः
हुनत धेरै पहिलेदेखि भनिने यो भनाइ हो तर हाम्रो मस्तिष्क केटाकेटीदेखि नरोकिई वयस्क होउन्जेल विकसित भई रहन्छ । डा. लाम्बेर्टको भनाइमा यसो नभएको अध्ययन अनुसन्धानले स्थापित गरेको छ । पाका मानिसहरूले नयाँ–नयाँ कुरा सिक्नमात्र सक्ने होइन जीवनभरि सिकाईलाई बानी बनाएर धेरै लाभान्वित भएका थुप्रै उदाहरण छन् । के आजका पाका मानिसले आफ्नो बालापन र वयस्क हुँदासम्म यसअघि कहिले नदेखेका मोबाइल, कम्प्युटर, माइक्रो ओभन, राईस कुकर, वासिङ मेसिन, आदि चलाउन सिकेका छैनन् र ? महिला वा प्रौढ कक्षामा उमेर धेरै भएका महिला र पुरुषले पढ्न लेख्न सिकेका छैनन् र ? निरक्षरी महिला नै पचास वर्ष नाघे पनि पढ्न आएर एसएलसी पास गरेको त प्रेरणा महिला विद्यालय, ललितपुरलाई सोधे पनि थाहा पाइन्छ है । त्यस विद्यालयबाट पचासौँले उत्तीर्ण भएर उच्च शिक्षा समेत अध्ययन गरिरहेछन् ।
नियन्त्रण यसरी गर्नेः
वैज्ञानिकहरूको भनाइमा बालबालिका र किशोरकिशोरीलाई भन्दा भिन्न प्रक्रिया पाका मानिसलाई सिकाउन प्रयोग गर्नुपर्छ । उहाँहरूलाई जाने, सुनेको र भोगेको पुराना कुरामा कर गरेर हुन्न, अप्ठ्यारो पर्ने गरेर भन्न लगाउने होइन । बरु नयाँ तरिका र दृष्टिकोणबाट हरेक भनाई हेर्न मद्दत गरेर पुराना अप्रमाणित सोचाई र अवधारणाको विरुद्ध डट्न सिकाउनु पर्छ । जस्तो पहिला कहिल्यै नपढेको विषयमा कक्षा लिन कोसिस गर्न लगाउनु होस् । नयाँ भाषा, सिप वा गाँठो फुकाउने वा शव्द भण्डार खेल सिक्न अभ्यास गराएर प्रतिस्पर्धा गराउने । उहाँहरूले नयाँ कुरामा चाख लिन थालिहाल्नु हुन्छ । यो भनेको व्यायाम अगाडि शरीरलाई तयारी बनाउन गरिने हातखुट्टा तन्काई जस्तै हो । मस्तिष्कलाई तन्काइयो भने अथवा केन्द्रित गरियो भने यो बलियो, लचकदार र स्वस्थ्य हुन थाल्दछ । अनि सिक्न सकिहालिन्छ नि ।
७. जैविक आन्तरिक क्रिया सुस्त भएकाले मोटाइन्छः
पाका मानिसमा जैविक आन्तरिक क्रिया उमेर बढ्दै गएपछि सुस्त हुँदैजान्छ भनेको ठिकै हो । यसको मतलब तपाईंको शरीरले चाहिँदो मात्रामा शक्ति खर्च गरेर अतिरिक्त कुरा नास गर्न सक्तैन । त्यसैले पाका मानिसमा देखिने पेट, छाती र कम्मरतिर थुप्रिएको भागलाई ‘बूढ्यौली मासु वा बोसो लागेको’ भन्छन् । तर त्यसो हुनैपर्छ भन्ने छैन, मुख्यकुरा तपाईंले कसरी सन्तुलन गर्ने भन्ने नै हो, मिलाउन सके चुस्त दुरुस्त शरीर बनाउन सकिन्छ ।
नियन्त्रण यसरी गर्नेः
यस्तो अछन्द्याइलो मोटाइबाट स्वस्थ्य रहन शारीरिक तौल आवश्यक भएको जति राख्न सकिन्छ, यस्तो गरौँ न–
खाना चाहिनेमात्रः उमेरिदै गएर पाको हुन लागेपछि तपाईंको दैनिक काम गर्न शरीरलाई थोरैमात्र शक्ति चाहिन्छ । शरीरमा शक्ति आउने प्रमुख कुरा नै दैनिक गरिने खानपान हो । त्यसैले पाका मानिसले शरीरले गर्ने श्रमअनुसार कति र के के खान हुन्छ भनेर हेक्का राख्नु महत्त्वपूर्ण हुन्छ । समान्यतया घरकाज गरिरहेका सक्रिय ६५ वर्ष वरपरका पुरुष मानिसलाई २४०० क्यालोरी आवश्यक हुन्छ भने महिला मानिसलाई १८०० क्यालोरी उत्पादन गर्ने खानेकुरा भए पुग्छ । त्यसैले त यस उमेरका मानिसलाई शारीरिक मर्मत उर्जा भए पुग्छ भन्ने आम भनाइ छ ।
शारीरिक कामः उमेरिदै गएर पाका मानिस हुनलागे पछि हप्तामा न्यूनतम अढाई घण्टा मुटु र फोक्सोमा व्यायाम हुने गरेर ठिक्क खालको कसरत गर्नैपर्छ । त्यस्तै, मांसपेसी बलियो बनाउन दुई पटक सकेको काम गर्नै पर्दछ । यस्तो शारीरिक व्यायाम गर्न व्यायामशाला जान सक्नुहुन्छ । त्यस्तोमा जान मन लाग्दैन वा टाढा पर्छ वा पैसाको अपुग छ भने बगैँचामा काम गर्न सक्नुहुन्छ । यस्तो मिल्दैन भने पाका मानिस आफ्नो घरपालुवा आज्ञाकारी कुकुर लिएर बिहान बेलुका टहल्न सक्नुहुन्छ । केहि मिल्दैन यस्ता चाँजो भने सक्ने र थाक्ने गरेर सामाजिक जमघटमा गीतमा, नाचमा भाग लिएर आफ्नो शरीरको व्यायाम पूरा गर्न सक्नुहुन्छ । डाक्टर लाम्बेर्टको भनाइमा स्वस्थ्य रहन हामी जसरी भए पनि सक्रिय र गतिशील भइरहनु पर्छ, यसै गर्नुपर्छ भन्ने होइन, शरीरका सबै भाग चले पुग्छ ।
चिन्ता रहितः लगातारको चिन्ताले पाका मानिसको शरीरको वजन बिस्तारै बढ्न थाल्दछ । जैविक असरहरूका कारण पनि हुन्छ भने साथै चिल्लोचाप्लो, तिख्खर र सजिलै पाकेका वस्तु खान ेहुनाले यस्तो हुन थाल्दछ । शारीरिक गतिविधि र श्रमले चिन्तारहित हुन मद्दत पुर्याउँछ । त्यसमाथि बेलाबेला आराम गर्ने, जीउ लुलो पारेर गरिने आधुनिक वा परम्परागत योगध्यान गर्ने र खानामा पथ–परहेजले पनि वजन घटाउन मद्दत गर्दछ । हामी सबै पाका मानिसहरू सक्रिय र स्वस्थ्य भएको नै हेर्न चाहन्छौँ । पाका मानिसहरू ८०–९० वर्षमा पनि काम गरिरहेका, नयाँनयाँ कुरा सिकिरहेका र सकुशल घुमफिर गरिरहेका देखेर कसलाई आनन्द नलाग्ला र ?
८. पाका मानिसहरू अप्ठ्यारा र एकलकाँटे हुन्छन्ः
पाका मानिसहरू एकान्त चाहने र एकालकाँटे हुन सक्छन् । आफन्त प्रियजन गुमाएका अथवा नातेदार टाढा बस्छन् भने उमेरिदा मानिस अन्तरमुखी भएर त्यस्तो स्वभाव विकसित हुनसक्छ । तर उमेर बढ्दै जाँदा आफ्नो सामाजिक जीवन खुम्चिने वा घटने गराउनु हुन्न । वास्तवमा यतिखेर तपाईंसँग पहिले कहिल्यै नभएको फुर्सद पनि हुनसक्छ । कुनै ठाउँमा सेवा गरिरहँदा वा केटाकेटी हुर्काउने बेला बरु तपाईंसँग सम्बन्ध विकास गर्ने वा सामाजिक जमघटमा बिताउने समय नमिलेको हुनसक्छ ।
नियन्त्रण यसरी गरौँः
पाका मानिसलाई आफूलाई मनपर्ने, उस्तै उमेर समूहका र ईष्टमित्र भेटघाट गर्ने अवसर यस्तो उमेरमा धेरै हुनसक्छ । विश्वासिला साथीभाइ भेट्ने, पुस्तकालयमा अध्ययन गर्ने, विषय मिल्ने ठाउँमा कक्षा लिने वा नौला र आफ्नो सिपअनुसार स्वयम्सेवक भई विभिन्न सामाजिक संस्थामा आवद्ध हुने अवसर मिल्छ । केही नभए आफ्ना बेलाका कक्षासाथीको जमघट गर्नुहोस्, कहिले स्कुलका, कहिले कलेजका, कहिले विश्वविद्यालयका । अनि कहिँ सार्वजनिक संस्था वा कार्यालयमा सेवा गरेको छ भने सेवानिवृतको भेला गर्नोस्, वा त्यस संस्थामा अझै काम गरिरहेका र निवृतको जमघट गराउनोस् । अनुभवको आदानप्रदान गर्नोस्, हेर्नोस् त कति रमाइलो र आनन्द भई सामाजिक होइन्छ ?
०००
१८ जुन २०२२
मानिला मान्छेका धामा (२०७९)
Subscribe
Login
0 Comments
Oldest



































