दुई मितको कथा
“त्यैँ भेर भन्छु जाँड खा । रक्सी खाएर तँ डर छेरुवा भइस् । केही नभए, भगवानको भरोसा गर । तँ पनि आँखा चिम्ली । डर लाग्दैन ।” जाँड दर्शन छाँड्यो ।
सञ्जय साह मित्र :
जँड्याहा र रक्स्याहा लँगौटिया मित्र थिए । टिमिक्क बडी र घर उस्तै मिलेका छिमेकी पनि । जँड्याहा गुरुजी र रक्स्याहा खलासी ।
एक रात रक्स्याहा बिरामी पर्यो । उसले फोन गर्यो – “ए जँड्याहा गुरुजी ! घरमै छौ कि कतै मुर्दा ओसारिरा’छौ ?”
“अघि बेल्का सँगै जाँड खाएको हैन ? त्यसपछि मुखमा माड नहाली डङ्रङ लडेको छु । तेरो फोन आ’को भेर मात्रै । अँ के भो ? अझै रात बाँकी छ त, किन फोन गरिस् ?” जँड्याहा गन्थनियो ।
“म धेरै बिरामी छु । एक्लै छु घरमा । मलाई हस्पताल पुगाइदेओ ।” रक्स्याहाले कनेर कुरो चुहायो ।
ल ल भन्दै जँड्याहा आइहाल्यो । एकले अर्कालाई सहारा दिएर एम्बुलेन्समा चढायो । साँझ परेपछि प्रायः गुरुजी एम्बुलेन्सलाई घरैमा ल्याउँथ्यो ।
गाउँबाट अस्पताल पुग्न केही बेर लाग्थ्यो । सडक सुनसान थियो । रात अझै हटेको थिएन सडकबाट । एकपछि अर्को मोड आइरहेको थियो । एम्बुलेन्सले चिर्दै गएको थियो सन्नाटालाई । मोडमा रक्स्याहालाई लागिरहेको थियो कि जँड्याहाले गाडीलाई झार्दिन्छ । उसले डराई डराई सोध्यो –“मोडमा किन उत्ताउलो बनेको ? डर लाग्यो ?”
“डरले म आँखा चिम्लन्छु अनि गाडी सोझो भएपछि आफैँ आँखा खुल्छ ।” छोटो उत्तर दियो ।
“ए बदमास ! आँखा चिम्लेपछि केही भइहाल्यो भने ? तेसो नगर । राम्रोसँग चला, आँखा हेरेर” बिरामी बर्बरायो ।
“त्यैँ भेर भन्छु जाँड खा । रक्सी खाएर तँ डर छेरुवा भइस् । केही नभए, भगवानको भरोसा गर । तँ पनि आँखा चिम्ली । डर लाग्दैन ।” जाँड दर्शन छाँड्यो ।
रक्सीले मात्तिएको जस्तै गरी एउटा गाडी अगाडिबाट सडकमा हल्लिदै आइरहेको देख्यो उसले । र, फेर ओकल्यो –“देखिस्, यो गाडीमा रक्सी लोड गरेको छ । गाडीलाई रक्सी लागेपछि सडकलाई आफ्नै ठान्छ ।”
तुरुन्तै एम्बुलेन्स रोकेर दुवै जना हत्तपत्त ओर्ले । एम्बुलेन्सलाई छुँदै मात्तिएको गाडी अगाडि बढ्यो ।
०००
१४ पुस २०८०
मित्रनगर, गरुडा, रौतहट