सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ओम नमः मूर्खाय

महामूर्खता अब उपमहामूर्खतासम्म आइपुगेको अनुमान छ । उनले दिएको र मैले कसैलाई नसुन्ने गरी दैनिक जप्ने मन्त्र हो- ओम नमः मूर्खायः । यो महामन्त्र जप्नुहोस्- मूर्खताबाट मुक्ति पाउनुहोस् ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

मेरो सकारात्मक आनीबानीमा पूर्ण विराम लागेपछि अलिकति ईर्ष्या गर्ने आफन्तहरूले झाँक्रीकहाँ पुर्‍याउने सल्लाह दिएका थिए । धेरै टाढा भए पो पुर्‍याउन टिकटको लागि कुर्नुपर्थ्याे ! ठूलाबडाले पिलेनको टिकट हातमा लिएर बिसौनीमा कुरिरहुञ्जेलको समयमै मलाई छिमेकी गाउँको झाँक्रीकहाँ याम्बुलेन्समा पुर्‍याए । मेरो सौभाग्य राम्रो थियो- प्रमुख झाँक्री घरमै भएको जनाउ द्वारपालले दिएपछि मेरा आफन्तहरूको अनुहार दीपावलीको साँझझैं उज्यालिएको थियो ।

झाँक्रीको प्रख्याति उनको गाउँको सीमालाई नाघेर मेरो गाउँसम्म पुगेको थियो । हेर्दै घिन लाग्दो, गन्हाउने जीउ, जिङरिङ कपाल र फोहोरी बानी उनका विशेषता छन् । नजिकै आएर कुरा गर्दा उनको गन्हाउने सास र जीउको बासले बान्ता नआउनेलाई महान् मान्नु पर्दछ । पढेलेखेका कर्मचारीलाई त उनी आफूसित पाँच मिनेट उभिएर गफ गर्न चुनौती दिन्थे । उनको नजरमा ठूलो र राम्रो जति मान्छे सबै उनीसित थर्कमान हुन्थे । उनी अगाडि टिक्नु कसरी ? वाह, गर्व हुनु त झाँक्रीजस्तो ।

मलाई तत्काल आइसियुमा भर्ना गर्ने आदेश आयो । झाँक्रीको आइसियुमा नेपाली पैसा नचल्ने, आइसी नै चल्ने अनुशासन थियो । नेपालीलाई आइसीमा बदल्न उनकै एजेन्ट छन् । अलिक बढी कमिसन पाएपछि दोहोरो फाइदा ।

आइसियुको व्यवस्था गज्जब थियो । पस्नासाथ खुर्सानीको धुलोको धुँवाले स्वागत गर्‍यो । म त बेहोस हुँलाजस्तै भएँ । झाँक्रीले बोक्सी लागेको लक्षण देखिहाले । झाँक्रीले कालो-लामो लट्ठी के उठाएको थियो मैले त कट्टुमै सु सु गरिहालें । त्यसपछिको हनुमान झापड खाएको सम्झनामात्रै छ ।

सबैले भन्छन्- मसँग बुद्धिको मात्रै अभाव छ । बाँकी सबै कुरो ठीक छ रे । म जन्मिनुपूर्व जब भगवानले बुद्धि बाँड्दै थिए, त्यत्तिबेला मेरो पालो आउँदासम्म बुद्धि सकिएको थियो । अनि भगवानले परीक्षण गर्न बिना गिद्दी र बिना बुद्धिको मान्छे पृथ्वीमा पठाएका छन् रे । म त्यहीँ नै हुँ । यही कारण हो- बुद्धिमानहरूले मलाई माया गर्दछन् । एकजना धेरै बुद्धिमानले त ममाथि नै पिएचडी गर्न विश्वविद्यालयमा प्रस्ताव पेश गरेका छन् रे ।
ममा बुद्धि आओस् भन्ने चाहनाले होला, कतिपयले मलाई बुद्धिबहादुर भनेर पनि बोलाउँछन् ।

अरूले तेरो कान कौआले लग्यो भनेर मचाहिँ आफ्नो कान पहिले छाम्छु, कौआको पछि दगुर्दिनँ । नानीदेखिकै बानी हो । अरुको नजरमा म मूर्ख हुँला तर म आफ्नो नजरमा पूरापूर बुद्धिमान छु । विद्वान् छु ।

मलाई त भर्खर निद्राबाट ब्युँझेझैँ लाग्छ तर आइसियुबाट डिस्चार्ज भएर जनरल वार्डमा आइसकेपछि मेरो होस खुल्दा मेरी पू्र्णाङ्गिणीले आफ्नो मधुर वाणी मेरो कानमा रुन्चे स्वर पारी- तीन घन्टापछि हजूरको आँखा उघ्र्यो ।

मेरो आँखाको प्रशंसा अहिलेसम्म कसैले त के इनले पनि गरेकी थिइनन् तर आँखा उघ्रिने प्रतीक्षा किन थ्यो ? मैले बुझ्नु किन पर्‍यो ? यदि बुझ्न खोज्ने हो भने पत्नीपुराण प्रारम्भ हुन्छ र कानले थेग्न नसकेर बहिरो होला भन्ने डर । केही बोलिनँ ।

जनरल वार्डमा पनि मच्छर नहुँदा मलाई अचम्म लाग्यो । अरुको घरमा मच्छर नपाए पनि हामी बाह्रमासे मच्छरको दर्शन गर्न गाउँको अस्पतालमै पुग्छौँ । किनभने हामीले देखेका छौँ, टोलभरिको बिरामी मच्छर अस्पतालमा उपचारका लागि पुग्छन् । कतै कन्याउन नपाएर दुवै हात बेरोजगार भएर अल्छी मानिरहेको बेला मलिनु स्वरमा सोधें पूर्णाङ्गिनीलाई- यहाँ मच्छरले किन नटोकेको होला ?
निराश भएर जवाफ चुहाइन्- कतै हान्न नपाएर मेरो हात चिल्लाएको छ ।

झाँक्रीको जीउको गन्ध खप्न नसकेर घरका सबै मच्छरले कुलेलम ठोकेको लख काटें । अर्को अनुमान थियो- रातो खुर्सानीको धुँवा लाग्ने भएकोले जनरल वार्डका मच्छरहरूले झाँक्रीविरुद्ध हड्ताल गरेको हुनुपर्छ ।

जन्मेदेखि नै ब्रस नगर्ने ब्रत लिएकी आवाल अब्रसालुजस्तो लाग्ने एक महिला देखा परिन् । दन्तलहर अवणर्नीय घिनलाग्दो थियो । तीक्ष्ण र कठिन प्रहार गर्ने भीषण गन्धसहित नरम स्वरमा बोलिन्- सचेत रहनू, झाँक्रीजी आउँदै हुनुहुन्छ ।

मलाई अनेक शंका, उपशंका, सहशंका र प्रशंकाहरूले घेरेको देखेर एकै छिनमा सम्पूर्ण आफन्तहरूले मलाई घेरे । वास्तवमा मलाई झाँक्रीदेखि डर लागेको थियो तर सबैले अब अन्तिम साँस लिन लागेको जस्तो मलाई ठानेछन् ।

म त त्यसै चूप छु । मूर्खहरु कि त मजस्तै चूप रहन्छन् कि त कहिलेकाहीँ धेरै जान्ने भएर मजस्तै बर्बराउँछन् । सायद झाँक्रीको अदप उसको अस्पतालभरि चल्दो हो । सबै शान्त भइदिन्छन् ।

आएर मेरो छेउको बेडमा बस्छन् । उनी बक्न सुरु गर्छन् कुनै प्रकाण्ड पण्डितजस्तो । उसले बकेको कुरो जस्ताको तस्तै राख्न चाहन्छु । सक्कलबमोजिम नक्कल भनिठान्नु होला । केही तलमाथि भए सहुँला बुझाउँला भनी सुखीराजीले स्वघटना बयान गर्दैछु । सही अन्तिम किनाराको सदर ।

यसलाई एउटा मूर्ख भूतले समातेको थियो । त्यो भूत नै यस्तै हो कि जस्तोसुकै बुद्धिमानलाई समात्यो कि विस्तारै मूर्ख बनाइहाल्ने । भूत लागेको थाहा हुनासाथ उपचार नगरे जति दिन बित्यो मानिस उति धेरै मूर्ख बन्दै जान्छ । यसलाई भूत लागेको धेरै वर्ष बितेको छ । ठीक त हुन्छ तर भूतको कारण यो महामूर्ख बनिसकेको छ । कसैले उपाधि नदिए पनि यो महामूर्ख हो ।

मेरी घरबाली (वास्तवमा घरको जग्गा मेरै नाममा हो । जग्गा मेरो नाममा हुनुको अर्थ हो घर पनि मेरै हो तर पनि घरबाली भन्नुपर्ने)ले सोधी होली- उसो भए कसरी होसियार बन्नु हुन्छ त ?

बडो सरल तरिकाले मूर्खको प्रकारको बखान उनले गरे । महामूर्ख त महामूर्खै हो । योभन्दा ठूलो हुन सक्दैन । जति बिग्रिनु थियो, यो बिग्रिसकेको छ । अब योभन्दा बढी बिग्रिने चान्सै छैन । यो कुनै रोग होइन कि यसको आयु कम होओस् ।

उसले यति भनेपछि मलाई लाग्यो मेरो आयु लामो भएको छ । फोक्सोमा अलिकति बढी हावा हुलिएको थाहा पाएँ । मनको कुनै कुनामा एउटा खुसी सञ्चार भयो ।

मूर्खको विश्लेषण जारी थियो । महामूर्खभन्दा अलि तल्लो तहको सहमहामूर्ख हुन्छ, त्यसपछि उपमहामूर्ख हुन्छ । कतिपय नजान्ने झाँक्रीले सहमहामूर्ख र उपमहामूर्खलाई उस्तै मानेर उपचार गर्दा बिग्रेको हुन्छ । यस्तो केस उपचारमा बिग्रियो भने महामूर्खभन्दा कठिन हुन्छ तर यो सोझो महामूर्ख हो ।
मेरो मनमा अलिकति फेरि सन्तोष पस्यो ।

उपमहामूर्खभन्दा तल्लो दर्जाको पटमूर्ख हुन्छ । गाउँलेहरुले सोझोरुपमा भन्ने गरेको मूर्खभन्दा पटमूर्ख माथिल्लो दर्जामा हुन्छ । पटमूर्खभन्दा तल्लो दर्जामा मूर्ख आउँछ । यस्तै सहमूर्ख, उपमूर्ख, प्रमूर्ख, निमित्त मूर्ख आउँछन् । निमित्त मूर्खले सबै ठाउँमा मूर्खता देखाउन सक्ने क्षमता राख्दैन । जानी जानी मूर्ख बन्न खोजे पनि ऊ मूर्ख होइन भन्ने कुरो दुनियाले बुझिहाल्छ ।

सहर बजारमा आजभोलि मूर्खको नाममा ठगी हुन्छ । मूर्ख भनेर धेरै विद्वान्लाई भनिन थालिएको छ । उनीहरूले को सबैभन्दा ठूलो मूर्ख भनेर कम्पटिसन गर्छन् । कम्पटिसनमा मूर्खराज, मूर्खाधिपति, मुर्खोन्मुख मूर्ख, प्रगतिशील मूर्ख, क्रान्तिकारी मूर्ख, प्रजातान्त्रिक मूर्ख, लोकतान्त्रिक मूर्ख, गणतान्त्रिक मूर्ख, आदर्श मूर्ख आदि भनेर पद र सम्मानको बाँडफाँड गर्छन् । ठूलो पद पाएँ भनेर भोज गर्छन्, रमाउँछन् । मलाई दुई चारजनाले एउटा कार्यक्रममा मूर्खोन्मुख प्रतिभा भनेर मलाई हेपेका थिए कि सम्मान गरेका थिए तर सबैले ताली बजाएर मेरो घाँटीमा फूलको माला लगाइदिएका थिए । तपाईँहरू नै भन्नोस् त म कुनै मूर्ख छु ?

मूर्खताबाट उन्मुक्तिको लागि कुनै उपाय मैले थाहा पाउन सकिनँ । सायद आइसियुमा नै मेरो उपचार भइसकेको थियो ।

घरमा आएपछि मैले मेरीलाई सोधें- मजस्तो महामूर्खको श्रीमती हुन पाएकोमा तिमीलाई गर्व लागेको हुनुपर्छ । यो गर्वले छाती फुलेको अवस्थामा एउटा सेल्फी तानौँ र फेसबुकमा अपलोड गरौँ किनभने झाँक्रीले उपचार गरेपछि त अब मभित्रको मूर्खता हरेक दिन कम हुँदै जाला । म अहिले मूर्खताको पराकाष्ठामा छु ।

मुसुक्क मुस्कुराएर मलाई भुतुक्कै पार्दै श्रीमतीले आफैँले फोटो खिचिन् र मेरो फेसबुकमा अपलोड गरिन् । अस्ति तपाईँहरूले मेरो फेसबुकमा देखेको फोटो त्यसै दिनको हो । मेरी मसँगै अस्वाभाविक मुस्कान लिएर उभिएकी फोटोले धेरै लाइक र कमेन्ट आएको थियो । एकजनाले कमेन्टमा लेखेको थियो नि- बाँदरको हातमा नरिवल । हो, त्यै फोटो ।

अस्ति तिनले भनेको एउटा कुरा भन्न चैँ बिर्सेछु- मेरो प्यारो महामूर्ख श्रीमान्को उपचार गरिदिने ती झाँक्री चाहिँ मूर्खाधिराज नै हुन् ।

आजभोलि मेरो मूर्खता कम हुँदै गएको छिमेकीहरूले बताउन थालेका छन् रे । हरेक दिन निदाउनासाथ र बिहान ब्युँझनुभन्दा पहिले तथा अरु समयमा मौका पाउनासाथ ती झाँक्रीले दिएको गुरुमन्त्र जप्ने गरेको छु । कम्तीमा पाँचपल्ट नजपी यसले काम गर्दैन रे । सुरु सुरुमा मन्त्र जप्दा होमियोपैथी औषधिजस्तो रोग बढ्न सक्छ भनेर झाँक्रीले नआतिन भनेकामा मेरो रोग चाहिँ उल्टो गतिमा दौडेको छ रे अर्थात् रिएक्सन नगरेपछि मेरो महामूर्खता अब उपमहामूर्खतासम्म आइपुगेको अनुमान छ । उनले दिएको र मैले कसैलाई नसुन्ने गरी दैनिक जप्ने मन्त्र हो- ओम नमः मूर्खायः ।
यो महामन्त्र जप्नुहोस्- मूर्खताबाट मुक्ति पाउनुहोस् ।

०००

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बच्यौली

बच्यौली

सञ्जय साह मित्र
उखाने झगडा

उखाने झगडा

सञ्जय साह मित्र
राम्रो र असलीमा फरक

राम्रो र असलीमा फरक

सञ्जय साह मित्र
दाउ

दाउ

सञ्जय साह मित्र
आरोप

आरोप

सञ्जय साह मित्र
संस्कार

संस्कार

सञ्जय साह मित्र
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा