घुमिफिरी रुम्जाटार
यो हिंस्रक खेलमा प्रहरी प्रशासन पनि सक्रिय रूपमा सहभागी हुन्छ । आनन्दित हुन्छ । नेताहरूका झोले र भरौटेहरू सबै मिलेर आदिम ढुङ्गेयुगको राम्रो सफल नाटक प्रदर्शन गर्छन् ।
मुकुन्द आचार्य :
मैले आफ्नो जीवनका स्वर्णिम झन्डै चार दशक जति आलाकाँचा भुराभुरीलाई लठ्ठी प्रहार र वाक् प्रहारले तर्साएर सुयोग्य नागरिक बनाउने असफल प्रयास गरेँ । त्यसैले अझ पनि कक्षामा पढाएको दृष्य सपनामा आएर मसँग जिस्किरहन्छन् । म पटमूर्ख पनि त्यसैमा रमाइरहन्छु ।
हालसालै एउटा रमाइलो सपना देखेँ । रमाइलो बाँड्यो भने बढ्छ र दुखेसो बाँड्यो भने घट्छ, भन्छन् । त्यसैले मैले देखेको ताजा सपना साझा गरौँ भन्ने सद्विचार आयो अनि फुत्त यो सुलेख जन्म्यो । जन्मना साथ तपाईंहरूको हातहातमा पुग्यो ।
कक्षाकोठामा अटाई नअटाई भविष्यका कणर्धारहरू हल्ला गर्दै चल्दै आफ्नो र देशको भविष्य उज्ज्वल पार्दै थिए । मलाई पनि पढाउने खासै मुड थिएन । तैपनि नुनको सोझो त गर्नै पर्यो भनेर कक्षामा पस्नासाथ मैले एउटा उखान फलाकेँ —घुमिफिरी रुम्जाटार । लौ यस उखानलाई कसले उदारहणसहित अथ्र्याउन सक्छ ? सक्नेले यहाँ आएर राम्ररी सबैले बुझ्ने गरी विस्तारमा बताउनुपर्यो ।
कक्षा एकैछिन लाटो भयो । एउटी छात्रा जसलाई एउटा सुन्दर युवती भन्दा पाप लाग्ने छैन होला, आएर निकै आत्मविश्वासका साथ बोल्न थालिन् । पछि महिला नेत्री होलिन् जस्तो लाग्यो । बोल्नुभन्दा पहिला उनले सारा कक्षामा नजर घुमाइन् । उनले आफ्नो ब्वाय फ्रेन्डलाई मनमनै भनिन् — तिमी पो मलाई पत्याउँदैनौ हेर, म कति जिनियस छु । ब्वाय फ्रेन्ड नि दङ्ग परेकै होला ।
ती सुकन्याले आँखाको चस्मालाई ठीकसँग मिलाएर एकपल्ट केश सम्याइन् र बोल्न थालिन् : हाम्रा बुज्रुक मानवशास्त्रीहरू भन्छन्, मानवको विकास क्रम पाषाण युगबाट आरम्भ भयो रे त्यसलाई ढुङ्गे युग पनि भन्छन् । मान्छे गुफा र ओढारमा बस्थे, ढुङ्गा हानेर शिकार गर्थे अनि त्यै सिकार आहार हुन्थ्यो । कृषि र व्यापार धेरैपछि आए । फलामे युग आएपछि मानव विकासमा ठूलो क्रान्ति नै आयो । यसरी क्रमशः विकास गर्दै जाँदा मानिस विकासबाट विनाशतिर लम्क्यो । घातक हात हतियार बनाउन तँछाडमछाड सुरु भयो । आणविक युद्धले भयङ्कर विनाश लीला देखाइसकेको छ । हाम्रो एक हातमा विकास र दोस्रोमा विनाश रहन थाल्यो ।
हाम्रो विकास गर्व गर्न लायक भएन । मानिस दुईखुट्टेबाट चारखुट्टेमा परिणत भयो । अनि हामी सम्पूणर् विनाशको ज्वालामुखीमाथि बसेका छौँ । मान्छे गर्वका साथ पशु वनिदिन्छ । ती सुकन्याले यति भन्दा उनको मुखकमलमा पसिनाका ससाना झिल्का मोती झैँ टल्कन थालेका थिए । युवावस्थातिर लम्किरहेका केटाहरू चैँ लठ्ठ परेर उनलाई हेरिरहेका थिए । उनीहरूको यो चर्तिकलालाई चै मेरो ज्ञान चक्षुले सिसिटिभीको कामगरेर आत्मसात् गर्दै थियो । त्यति पनि नबुझ्ने ग्वाँज त म पनि कहाँ हुँ र । हामी पनि जमानामा विद्यार्थी थियौँ ।
कक्षाका कन्या साथीहरू र केटाहरू सबैलाई मैले प्रभावित पार्दै छु भन्ने भाव ती सुकन्याको चेष्टाले परिलक्षित हुँदै थियो । मैले प्याच्च भनिहालेँ— अनि उखान कसरी चरितार्थ भयो त ? उनी झन् चम्कीचम्की बोल्न थालेकी थिइन् । ती सहासी प्रवक्ताले छट्टु वकिल झैँ पुनः कुरोको सूत्र समातिन् र भन्न थालिन्— तर हामी सभ्य सुशिक्षित समुन्नत भयौँ भनेर आज नाक घोक्राए पनि हाम्रो पशुत्वले हामीलाई पछारेको छ । हामी पुनः ढुङ्गे युगतिर फर्कदै छौँ । कसरी भन्नु होला ?
देश बनाउने जिम्मेवारी बोकेका बोकाहरूले लघुशङ्का र दीर्घशङ्का गरेर सिङ्गो नेपालनै डुङ्ग गन्हाउन थालेको छ । त्यति मात्रै हो र विश्व नै दुर्गन्धित भयो । नेपाल सुन्नासाथ सबैले नाकमुख खुम्च्याउन थालेका छन् । संसारको रङ्गमन्चमा नेपाल शानदार ढङ्गले असफल मुलुक भएकोछ ।
नेतृत्व बोकेका बोकाहरू दिनरात सत्ता र भत्ताका लागि सिँङौरी खेल्छन् । दिनहुँ जसो सडकमा ढुङ्गामुढा भइरहेको छ । सडकमा ढुङ्गा हानाहान गर्न खुल्लमखुल्ला चुनौती दिइन्छ । कति निर्दोष कति यात्रुहरू पीडित भएका छन् भनेर साध्य छैन । कहिलेकाहीँ त ढुङ्गा हान्नेकै आफन्तलाई ढुङ्गा लागे पनि त हुन्थ्यो नि !
यो हिंस्रक खेलमा प्रहरी प्रशासन पनि सक्रिय रूपमा सहभागी हुन्छ । आनन्दित हुन्छ । नेताहरूका झोले र भरौटेहरू सबै मिलेर आदिम ढुङ्गेयुगको राम्रो सफल नाटक प्रदर्शन गर्छन् । जुनसुकै सरकार आओस् जाओस् देश कसरी लुट्ने एक मात्र यही मूलमन्त्रले सञ्चालित हुने र देशलाई मलमूत्रको थलो बनाउने काम मात्र भएको छ ।
कन्या सुकुमारीले अतिरिक्त जोश देखाउँदै कुर्लिन थालिन्— कुनै विद्वान्ले भविष्यवाणी गरेका छन् रे अब विश्वयुद्ध भयो भने त्यसपछि पुनः पाषाण युग सुरु हुन्छ । त्यसको अभ्यास अचेल प्रायः सबैजसो देशमा देखा पर्न थालेको छ । यसैलाई भनिन्छ घुमिफिरी रुम्जाटार ।
सिङ्गो कक्षाकाले के के न बुझेजस्तो गरी भयङ्कर तालीबाजी गरे त्यो हल्लाले म ब्युँझिएछु । कतिले भन्छन् कहिलेकाहीँको सपना साँचो हुन्छ रे ! भगवान्ले गरुन्, यो सपना, कहिल्यै विपना नबनोस् । जसले जे सुकै भनोस्, हामी नेपाली कति भाग्यमानी छौँ भने अन्य देशको चै आफ्नो सपना साकार होस् भनेर प्रार्थना गर्छन्, हामी चैँ भगवान्लाई गुहार्छाैँ —हे प्रभु ! मेरो सपना साकार नहोस् ।
०००
काठमाडौं
सुलेख पूर्णाङ्क १३५, हास्यव्यङ्ग्य विशेषबाट जस्ताकाे तस्तै