मुकुन्द आचार्यमर्निङ वाकिङ, हनुमानसँग टाकिङ !
हामी बाँदर भए पनि पशुको श्रेणीमा गए पनि मान्छेजस्तो नीच र पतित छैनौं त्यसैले प्रमाणित हुन्छ हामी तिम्रो पुर्खा हैनौं मान्छेको पूर्वज बाँदर हो भनेको सुन्दा हाम्रो शिर निहुरिन्छ ।

मुकुन्द आचार्य :
आजै बिहानको कुरा हो
सत्य चैं पूरा हो
म प्रातः भ्रमण गर्दै थिएँ
हन्तकाली नेपाली फोकटमा पाएको अक्सिजन
फोक्सोमा हतारहतार भर्दै थिएँ
अकस्मात् पवनपुत्र हनुमान्सँग जम्काभेट भयो
मेरो प्रणाम र उनको आशीर्वादको लेनदेनमा
केही समय गयो
मैले विनीत भएर सोधें
प्रभो ! यो अपूर्व दर्शन कसरी ?
रामदूतले भने
एक गम्भीर समस्यामा
म जिल्लिएको छु बेसरी ।
मलाई अचम्म लाग्यो
यतिन्जेलमा डर पनि अलि भाग्यो
हात जोडेर भनें
हजूर रामदूत हनुमान्
ज्ञानी र सर्वशक्तिमान
हजूरलाई कुन चिन्ताले खायो ?
कस्तो समस्याले समायो ?
उनले पुच्छर बढाए
घुमाएर आसन बनाए
त्यसैमा बसेर फरमाए-
बालक ! कुनै बाघले मान्छेलाई लखेट्यो
रुखमा चढेर ज्यान जोगाउनमा
मान्छेले आफ्नो भलो देख्यो
ॐ हतपत रूखमा चढ्यो
त्यहाँ पहिलेदेखि बसिरहेको
हाम्रो कुनै पुर्खालाई देखेर मनुवाको प्रेसर बढ्यो
बाँदर र मनुवा दुवैले सम्झौता गरे
एउटा सुत्ने अर्कोले सुरक्षा गर्ने
बाघ नजाउन्जेल रूखबाट झर्दै नझर्ने
पहिले मान्छे निदायो
बाँदरले जाग्राम र सुरक्षा गर्यो
बाघले मान्छेसँग साउती गर्यो
तिमी बाँदरलाई तल झार
उसलाई मेरो हात पार
सिकार खाएर म सन्तुष्ट भइहाल्छु
अनि आफ्नो बाटो गइहाल्छु ।
मान्छेले मित्रताको वचन तोड्यो
बाँदरलाई रूखबाट तल घचेटेर
बाघसँग मित्रता जोड्यो
बाँदर बिचरो भैंमा झर्दा
मान्छेको विश्वासघातमा पर्दा
कहालिएर रूखको हाँगो समायो
आएर मान्छेको गालामा
एक झापड जमायो
अपराधी मान्छेले माफी माग्यो
हात जोड्यो
अनि बाँदरले यति भनेर छोड्यो-
अब उप्रान्त तिमी मान्छेहरूले
आफूलाई बाँदरको सन्तान नभन्नू
त्यो डार्विन फटाहालाई महान् वैज्ञानिकमा नगन्नू
हामी बाँदर भए पनि पशुको श्रेणीमा गए पनि
मान्छेजस्तो नीच र पतित छैनौं
त्यसैले प्रमाणित हुन्छ
हामी तिम्रो पुर्खा हैनौं
मान्छेको पूर्वज बाँदर हो भनेको सुन्दा
हाम्रो शिर निहुरिन्छ
हाम्रो जातमा त धोबी पनि हुँदैन
डार्विनले लगाइदिएको कलङ्कको दाग
कसले धुन्छ ?
०००
‘नेपाली हास्यव्यङ्ग्य’ (२०७५)
Subscribe
Login
0 Comments
Oldest







































