नरेन्द्रराज पौडेलम-हान् साहित्यकार
व्यङ्ग्यको बोझले थिचिँदै जानु नेपाली हास्यव्यङ्ग्य लेखनको मूलप्रवृत्ति बन्दै गएको परिवेशमा नरेन्द्रराज पौडेलका निबन्धहरूले हास्यलाई कम नआँक्न खबरदारी गरिरहेका छन् । फित्कौली अनलाइन मिडियाले हास्यव्यङ्ग्यकार पौडेलको नयाँ हास्यव्यङ्ग्य कृति ‘भ्यागुताको श्वेतपत्र’ प्रकाशित गरेको छ । आगामि भदौ ९ गते लोकार्पण हुने त्यही कृतिबाट प्रस्तुत छ एउटा निबन्ध :

नरेन्द्रराज पौडेल :
खै अरू अगतिला लागेर हो कि आफैं गतिलो छु भन्ने हुङ्कार पलाएर हो, या आत्मसम्मानको तीनपाने दुरूमपानीको रङ चढेर हो ! अरूका कुरा गर्नुभन्दा आफ्नै प्रशंसा सुन्न सुनाउन मन पर्छ यो लेखन्तेलाई ! आँत सुकुञ्जेल अरुका गुणगान फलाक्नुभन्दा आफ्नै झ्याली ढोल पिटेको मन पर्छ । अरुले तँ यस्तो उस्तो भनिदियो र ती भनिएका शब्दहरू कञ्चट तताउने खालका परे भने हप्तादिनको निद्रा पेस्कीको रूपमा उतिवेरै सटसुट्ट गायब । फेरि अर्को मालिशप्रेमी मित्रले उल्टो प्रशंसाको पक्की पुल तयार गरिदियो भने खुशीले कोक्किएर अरु तीन रात निद्रा गायब । हँन, कति साह्रो मलुवा हो यो कवि मन ?
हुन त सबै साहित्यकार आपूmजत्तिकै पाइन्दार नहुन पनि सक्छन् त्यसैले तपाइँलाई बेलैमा यो कुराको भलीभाँती भेऊ दिनु कर्तव्य ठानिलियो यो मरिचमार्का खाँटी साहित्यकारले । विराम त पक्कै गरेन होला नि ! किन त भन्दा ऊ आफैलाई आफू महान् नभनेर हान् साहित्यकार चैं भएको ढिपी कस्दछ । हान् साहित्यकै रटना रटेर भट्टी अगाडिका पेटी पौवामा बेलाकुबेला लित्ती कसेर बस्दछ । भन्छ सिर्जनाको मुहान भनेकै हान् हो र सिर्जना जम्मा हुने स्रोत भण्डार नै हानका पुङ, ग्यालेन ड्रम, घ्याम्पा वा झयाँगा फोसी अनि कारखाना । यो एउटा आफैं प्रभावशाली मनचिन्ते तीर्थ हो, जसले लेख्ने मसलाको अभाव हुने लुरेलारे स्रस्टालाई भीमसेनको ज्यान र गणेशको पहिचान दिन्छ । फिस्टालाई हात्तीकै औकातको महान् बनाउँछ । परिआउँदा उसले आफ्ना पूर्ववर्तीदेखि सीमावर्ती समकालीन साहित्यमहारथीको नाम लिएर प्रशंसाको रथ चडाउँदै विश्व परिक्रमा गराउन पनि अबेर गर्दैन ।
“असारे खलु संसारे कविरेकः प्रजापतिः । यथास्मै रोचने विश्वम्” यो असार संसारमा अनन्त शाखावान् वृक्ष काल हो । त्यसका हाँगाबिँगा, फेद, चौतारी अनि कान्ला र भोक्सी भँड्खारा फड्कदै जाँदा हातलागी हुने चीज साहित्य याने कि कविकर्म रहेछ । त्यसैलाई काव्य भन्दै आए पारखीहरूले अनि त्यसका रचयिता स्रष्टा नै आफ्नो इच्छा अनुसार संसारको निर्माण गर्ने एकमात्र प्रजापति हुन् रे । तर हिजो आजका असली स्रष्टालाई प्रजापति नभनेर जा पति, जायापति र बेलामौकामा परजाया पतिमात्र पनि भन्न थालिएको छ । किन त भन्दा खाँटी कुरा समाउनतिर नलागेर कुकुरातिर बरालिँने भएकाले तिनीहरूलाई लुइँचे, वनकुखुराका सिकारी भनिदिँदा पनि उति फरक पर्दैन ।
हुन त विश्वका होचा, अपठेरा ठाउँ चाहार्ने बानी पनि कविवर्गको मौलिक वर्गीय चरित्रभित्र नै पर्छ । कुनैबेला राजमार्गका पेटी, घाँसदाउरा खोज्ने महिलाहरू वन जाने बाटो, गौचरनका चउरमा योगासन कसेर बस्नुहुन्छ
कविजी । यदाकदा सुराग्रस्त कविजीलाई के सुर चलेर हो कुन्नि ! अनौठो र साहसपूणर् घटनाको आविष्कारै गरि दिनुहुन्छ । एकपटक पोखरा छँदा हानकै सुरमा बेसुरे भएर सेतीको प्रवाह खोज्दै पुलमाथिबाट हामफाल्नु भएछ तर लुुकेको सेती नदी कवि महोदयले खोज्दैमा कताको फेला पर्नु र ? पहरामा लर्किएको बाबियाको झाँङमा अल्झिएर उहाँको सदीच्छा अधूरै रहेछ । भोलिपल्ट बिहानै परेडका सिपाही र मन्दिर जाने भक्तालु वृन्दले उहँको हारगुहारको भाका सुनेर खोजखवर टोली पठाएपछि ऐजन मत्र्यलोकमा अवतरण भएछ । त्यसपछि पनि बानीमा सुधार या हान पानमा कमी आएको हैन । आप्mनै मनको मर्जीमुताबिक कुनै बेला पनि भट्टीअगाडि र पाटीपछाडिका पेटी बाटो चउरमा योगासन कसेर बस्नु हुन्छ । ?
जायाका एकछत्र पति भएर निर्माण गर्नु पर्ने काव्य सन्ततिमा घोष्ट राइटिङ्ग र भाइरस ग्रस्त टाइपिङ्गको कोरोना पसिदिन्छ कहिले । कहिले भने डेङ्गू पसेर अर्थकै अनर्थ लाग्ने गरी उत्पात मच्चाउने भएको छ । यस्तै घटनाले हो कि या पतिविना नै जायाले सन्तान जन्माउने यो कलिजुगमा कवि पनि प्रजापति नभएर उपेक्षित कित्ताका जा पति बन्न पुगेका हुन् ? बेर छैन । कतै त जायापति पनि बनेका छन् भने कतै जा पनि छुटेर पकारमात्रै बाँकी रहेका स्रष्टा आप्mनैजस्तो अनुहारले खाली पेट कविता फलाक्नमा सीमित बनेका छन् । दिनमा भेटेको समसाले परिश्रमिकको गर्जो गुजार्नॅ पर्ने दिन आयो भने प्रजा बनेर त्यो अवस्था सहजै भोग्न सक्छन् । उहिले इच्छाअनुसारका अनेकन रस भाव व्यञ्जना र अलङ्कारमण्डित काव्य संसार तयार गर्ने महापण्डित स्रष्टा हाल आएर म-हान् साहित्यका प्रजापति बन्न पुगेका हुन् त ?
म साहित्यको सिर्जनमा रमाउने स्रष्टा तँ, तिमी तपाइँका साहित्यमा निरर्थक अक्षरको गोदाम मात्र देख्छन् । उनीहरूको ध्यान ध्याउन्न र धारणा भनेकै आफू र आफ्ना लेख रचनाको प्रशंसामा ध्याउन्न कस्नु हो । म साहित्यमा म दर्शन हावी हुन्छ । स्रष्टाले मै जान्नेसुन्ने मै असल, मै ठूलो, मै अग्लो, मै विचारवान, मै सदाचारी अरू सबै दूराचारी पथभ्रष्ट पापाचारी भन्ने ठान्दछन् । म वाद सप्रिएर मपाइँवादमा परिपाक भएपछि यसको दार्शनिक सतह उचनीच दुवैतिर बढ्दै गएको पाउन सकिन्छ । अनि त हानशास्त्रको ठेली नै तयार भएर त्यसको शिक्षा दीक्षाले तिन लोक चौध भुवन ढाक्न बेर मान्दैन ।
मसाहित्यमा अ पनि थुप्रै विशेषता पाइन्छन् । शिर पाउ जामा लगाएर मामाघर धाउने मवादी दर्शनका प्रणेता खाउवादी दर्शनमा जण्ड खाले भेटिन्छन् । जेष्ठ नागरिकको ओर्याइँको मूल स्रोत मवाद हो भने कनिष्ठ बालबच्चाको हठधर्मिता पनि मवादकै उपज हो भन्ने लाग्छ । त्यस्तै मसाहित्यको परिपाकले मपाइँवादी दर्शनको उत्पति हुन्छ र त्यस्तो दर्शन संसारमा उज्यालो देखाउने इमर्जेन्सी लाइट बन्न पुग्छ ।
अर्काको रचना ठ्याक्कै नपढ्ने पढिहाले पनि बुझ्ने प्रयास नगर्ने अनि अलि अलि बुझिहाले पनि त्यसलाई कागजमसीको हदैसममको दुरूपयोग मान्ने उदात्त बानी हानकविका मौलिक र अलौकिक विशेषता पनि हुन् । अर्कोतर्फ अरुलाई झ्याउ लागेपनि जवरजस्ती आफ्ना अभावदेखि व्यभिचारी भावसम्मका कविता सुनाएर सभा गोष्ठीमा मनोभञ्जन गर्ने गराउने कर्म पनि मसाहित्यका महारथिमा पाइने धर्म र विशेषता हो । बसउठ बोली व्यवहारमा शिष्टता नभए पनि अरू थरी अँगालाभरी विशिष्टता बोकेका यी कविले दौडधूप र प्रोग्राम भ्याउने मामिलामा च्याखुरे लेकको वौडाई नाँचलाई बिर्साइ आएका पनि छन् ।
मसाहित्यमा अरूले उन्नति प्रगति गरेको हेर्न नसक्ने औडाहा आडम्वरको धुँवाले हृदय तातेर बाफिएका कविमाथि हानको मनग्गे प्रभव पर्दा त शरीरको आवरण र सामाजिक लाजसरमको पर्दा पनि बेपर्दा भएर कता हराउँछ कुन्नि ! त्यतिबेर कविजीको विचार, मन, मस्तिष्क र सिर्जनक्षमता सक्रियमात्र होइन, साक्षात् सृष्टिकर्ता ब्रम्हाजीकै नव अवतारमा उदाएझैं लग्गू बनेको पाइन्छ ।
जमुनोत्तरीका हिमचुचुराबाट कञ्चन चञ्चल झर्ना बनेर ठाडै झरेको भेटिन्छ । धन्य मसाहित्य ! धन्य मवादी नव सिर्जनाका ठेकदार कविजी !
सेलिव्रेटी नामका सेलरोटी भरिएका भारीभरकम थुन्सेहरूलाई काँधमा बोकेर धूपधुँवार सहित तिनका महत्व महिमाका बखान गर्दै छोटो खल्ती भर्ने मेसो सोझ्याउनु मेलो मिलाउनु महान् साहित्यकारको अर्को विशेषता नै मान्नु पर्छ । गफ ठट्टाकै भरमा दुनियाँको बुद्धिमा बिर्को कस्न सक्नु पनि मसाहित्यको युगान्तकारी सफलता हो । अत्याधुनिक काव्य पठनको लवजमा भन्ने हो भने अग्रगमनको छलाङ पनि हो । किनभने विक्रमले बेताललाई पक्रिएर सेलिब्रेटी बनाउँदा पनि धूर्त बेतालले चक्मा दिँदै भागेको कथा अकथा भन्न पक्कै मिल्दैन । बीहड झाडीभित्र रूखमा तुन्द्रुङ्ग झुण्डिएको पिराहा बेताललाई न्वारानको बल झिकेर कब्जामा लिने अनि फुत्कनै नदिइ कज्याएर बोक्नु पनि महाकथाको पर्याय हो । तर हिजोआज मसाहित्यका पण्डाहरू पाण्डाल थर्काएर आत्म प्रशंसामा कुर्लिरहेका भेटिन्छन् । म साहित्यको सार, स्वर र गहना पनि यही हो कि ?
म साहित्यलाई छोडेर हान साहित्यको मात्र चर्चा गर्ने भएपछि झनै उदेक लाग्दा कुरा थाहा पाइन्छ । हान् स्वयं सर्वगुण सम्पन्न पेय पदार्थ भएकाले यसको संसर्गले साहित्य लेख्न पढ्न वाचन र प्रसारण गर्ने कला स्वतः प्रस्फुटित
हुन्छ । त्यसैका छाँगा, छहरा र पचकाले रूझेभिजेको वणीसमेत रसिलो हँसिलो र फरासिलो बन्न सक्छ । बेसुरे सुरमा पनि आफूलाई महान् मान्ने आत्मबल पैदा गर्ने भएकाले हान साहित्यलाई जङ्ग बहादुरको खाँडो जगाउने साहित्यसँग तुलना गर्दा पनि त्यति फरक पर्दैन । आआप्mना पुर्खौली रीतिस्थिति चलनचल्ती अनुसार देउता पितृ सिमे भूमेलाई चडाइने हान वेदका ऋचा र सूक्तहरूमा पनि प्रशंसित बनेको छ ।
प्राचीन कालमा वारुणी सुराआदि नामका विविध ब्राण्डका हान पिएर ढुङ्गा हानेकै भरमा शत्रुलाई पराजित गर्दै आफ्नो वंशवृक्षको बचाउ गर्दै आएथे पुर्खाले । बसोबास र बस्ती विकाससमेत आकाशे छहारीमा रहेको बेला आफूलाई जोगाउने पराक्रम नै मुख्य थियो । घाम पानी बादल बिजुलीको मुटु थर्काउने प्रकोपमा थोरै हान लिएर धेरै ठूलो सामर्थ्य प्रदर्शित गर्नु पर्ने थियो । हान्को सेवामा समर्पित हुँदा अरु साथी भाइ पनि चाहिने भएकोले हान् साहित्य पनि समुदाय वादमा आधारित हुन पुग्यो । युवावर्गको वियोग बिछोडले दुखेको, प्रेमरोगले चिलाएको मर्ममर्ममा कोर्रा हान्ने र मनका कीरा मारेर अशान्तिका जराबुटा उखेल्दै वितृष्णाका व्यथा र रूग्ण व्याधिलाई उछित्तो काड्ने खूवी पनि हानमा नै सुरक्षित रहेको पाइन्छ ।
यदाकदा आकाशतिर फर्किएर दारा नङ्ग्रा चलाउने हातलात पड्काउने इतिहासका धरोहरमाथि बर्वर ढङ्गले गैंती मार्तोल बजार्ने जो प्रयास हुन्छ त्यो नै जो छ सो हान् साहित्यको इमानमाथि बाधक मानिन्छ । अर्काको जडौरी
भिरेको रचना पुस्तकलाई जवर्जस्ती स्कूल कलेजलाई किनाउने काममा पनि हान पारखी स्रष्टा जमात अग्रगामी छ । मेरो किताब किन, नकिने हान्छु भन्ने नारासाथ चलेको यो अभियान नेपाली समाजलाई अगाडि लग्ने बाइपंखे घोडाकै जोडा बन्ने त होइन ? हान् साहित्यमा जाँड भाङ धतुरो सेवीका समस्त चरित्र समावेश गरिने भएकाले समावेशिताका साथै आवेशको सिद्धान्तले पनि काम गरेको विश्वास हुन्छ । कतै कहिल्यै कुनै कुराको भेदभाव नराखी गाउँ शहरदेखिका भुइँ बिरूवा सबै समेटिने भएकाले हान् साहित्यको अपव्याख्या र कुविश्लेषण अवश्य ग्राह्य हुँदैन ।
हान् साहित्यलाई दनक साहित्य भन्दा पनि त्यति फरक पर्दैन किनभने हान्नु बजाउनु दनक दिनु जस्ता कर्महरू हिजोआज समावेशी समाजवादी गणतन्त्रकै कित्ताभित्र पर्दछन् । राज्यको अगुवा वर्ग पनि त यसो उसो गर्यो कि सुनका टेल लाटलूट गर्न र बन्दूक हान्नै मन पराउँछ । गाँजा चरेसलाई निषेधको कित्तामा राख्तै खुरु खुरु पास गर्दै डलरजति आपूm हत्याएर भरिया भोटर भुट्न पल्किएको छ ।
सानातिना नाबालक पिउसासँग आफै मुठभेड गर्न रूचाउछ र नभएको मुठभेडलाई हो बनाउन पनि नानाथरी खरखजानासहितका तानावाना अघि सार्छ । द्वैध चरित्रको यो लुब्ध कायर वर्ग आफ्नो लाज छोप्न अर्काको कट्टु लुट्ने हदसम्म गिरेको छ । साउने कीराजस्तै एकाएक सप्रिएको यो हुल्याहा माउडे जमात स्वय बाटो फोहोर पार्ने र डोजर लगाएर सफा गर्दै हिँड्ने भएकाले हान्साहित्यको खाँटी विषय बनेको छ ।
०००
फित्काैली अनलाइन मिडियाद्वारा प्रकाशोन्मुख हास्यव्यङ्ग्य कृति ‘भ्यागुताको श्वेतपत्र’ बाट
Subscribe
Login
0 Comments
Oldest








































