मुकुन्द आचार्यसृष्टि र दृष्टि
मैले आफ्नी बूढीलाई हाकिमकै बूढी ठानेँ आफूलाई चैँ बूढीको नाठो मानेँ महिनामा दुइ चार दिन म कहाँ पनि आएर बस्छिन् त्यस छोटो सहवासलाई अफिसले दिएको बोनस ठानेँ !

काठमाडौंको अपरिचित हुलमा
पुराना परिचित भेटिए
तर बिचरा निकै दुखी देखिए !
मलाई चिया नास्ता ख्वाएर
सार्वजनिक पसलमा
गोप्य रुपमा रुन थाले !
‘आचार्य सर ! मा ठूलो कष्टमा छु !
आफ्नै आङ् कन्याएर
आफ्नो छारो उडाउँदैछु !’
मैले सहानुभूति देखाएँ
के भयो र त्यस्तो ?
भन्दै उनको घाउमा मलम लाएँ !
उनले भो, मेरो त जहानै डुब्यो !
रुनु न हाँस्नु भा’छ !
धेरैले भन्छन्
मेरी बूढीको त हाकिमसँग लपसप भा’छ !
मैले धैर्य राख्नू भने
उनको दुःखमा दुखी भई
चियाको पैसा स्वयं भुक्तान गरेँ !
केही महिनापछि
पुनः ती परिचित भेटिए
भयङ्कर प्रसन्न मुद्रामा देखिए !
घुमाउरो पारामा सोधेँ
तपाइँको घरेलु समस्या सल्टियो ?
उनले हाँस्दै भने
‘मेरो दृष्टि पल्टियो
समस्या त्यत्तिकै सल्टियो
मैले आफ्नी बूढीलाई
हाकिमकै बूढी ठानेँ
आफूलाई चैँ बूढीको नाठो मानेँ
महिनामा दुइ चार दिन
म कहाँ पनि आएर बस्छिन्
त्यस छोटो सहवासलाई
अफिसले दिएको बोनस ठानेँ !
आफैँलाई संझाएँ
यो हाकिमकै बूढी हो !
मेरी बूढी हुँदै हैन !
अचेल त हाकिम
मलाई निकै मान्दछन्
मेरी बूढीलाई द्रौपदी
आफूलाई युधिष्ठिर
र मलाई अर्जुन ठान्दछन् !’
०००
फित्काैलीमा प्रविष्ट मिति : कात्तिक २५, २०७०
Subscribe
Login
0 Comments
Oldest








































