कृष्णदेव रिमालड्याङका सप्रेका मूला
अष्ट्रेलियावासी मित्रजस्तो भुलक्कड आफू नभएकोमा उसले गौरवान्वित महशुस गर्यो । मोटरसाइकल हाँक्दाहाँक्दै ऊ मुस्कुरायो । मुस्कानसँगै जुँगा मुसार्न थाल्यो । धत् !! मास्क त लाउनै बिर्सेछु ।

“तपाईं पनि त्यही ड्याङको मूला त हो नि !” आवाजमा थोरै चढाव ल्याएर स्वास्नी बोली । त्यो सुनेर लोग्ने मुस्कुरायो । धन्न मेरी बूढीले मलाई ड्याङमा राखेकी रहिछे । तल झारेर कुलेसोमा राखेकी रहिनछे । कुलेसो ड्याङभन्दा होचो हुन्छ । ड्याङ कुलेसो भन्दा अग्लो हुन्छ । आज आफूलाई स्वास्नीले त्यही उच्चासनमा सजाएकोमा लोग्ने दङ्ग छ । ऊ स्वास्नीप्रति कृतार्थ छ ।
यी लोग्नेस्वास्नी भिन्दाभिन्दै कार्यालयमा कार्यरत कर्मचारी हुन् । अड्डाकर्मका अतिरिक्त यी दुईका अरू पनि थुप्रै भूमिका छन् । लोग्ने टोल सुधार समितिमा र स्वास्नी टोल महिला समितिमा सकृय रुपमा सहभागी हुन्छन् । इष्टमित्रसँगको सम्बन्ध, विवाह व्रतबन्ध सामाजिक दायित्व निभाएकै छन् । यी दुबै आआफ्नो एलुम्नाई एशोसिएशनहरूमा पनि आक्कल-झुक्कल पुग्छन् ।
घरधन्दा सरसफाई पकाइतुल्याई कस्को हुँदैन र ! त्यो उनीहरूले पनि गरेकै छन् । घरका नियमित काम स्वास्नी चाहिँ आफूले मात्र गरेको छु भन्ठान्छे । लोग्ने चाहिँ मैले पनि गरेकै छु नि भन्छ । बाहिरबाट तपाइँ हामीले हेर्दा घरधन्दामा स्वास्नी चाहिँकै बढी सहभागिता देखिन्छ । त्यत्रो घर बढार्न परिहाल्यो । सके दिनहुँ नसके एक दुई दिनको अन्तरमा मोपिङ पनि गर्न परिहाल्यो । भात पकाउने र भाँडा माझ्ने काम त लिसै लागेको हुन्छ नै । लोग्ने चाहिँ केहि विशेष काममा मात्र सहभागी हुन्छ- जस्तो कि दराज, खाट, सोफा सारेर अन्तरकुन्तर सफा गर्ने, घरको छाना पिंढी आँगन पखाल्ने, सिलिङमा सजिएको माकुरीघर भत्काउने आदिआदि । चामल, पिठो, ग्याँस, आलु, पानीको जार जस्ता गरुँगो सामन खरिद गरि ल्याउने लगायतका कार्य पनि लोग्ने नै गथ्र्यो ।
यसका अतिरिक्त ऊ हल्का कविता कथा निबन्ध पनि लेखिटोपल्छ । शनिबार त आउनै हुन्न रातेको एक्सिलेटर बटारेर ऊ कविगोष्ठीतिर हान्निन्छ । त्यसैको तयारी गर्न होला ऊ मोबाइलमा के के के के लेखिरहन्छ । यहि देखेर होला स्वास्नी बेलाबेला झर्किन्छे । तपाईलाई मोबाइलमा घोप्टिने लत लागिसक्यो भन्छे ।
हुन पनि उसको लत जँड्याहाको भन्दा दोब्बर छ । चुरोट तान्नेको भन्दा चौबर छ । लोग्नेस्वास्नी सँगै भात खान बस्छन् । लोग्ने भात खाएर अफिस पोशाक लाउने भनेर कोठामा छिर्छ । स्वास्नी सुसेधन्दा सकेर आएर कोरीबाटी गर्छे, अफिस पोशाकमा सजिन्छे । त्यति बेरसम्म पनि लोग्नेले लुगा लाएकै हुँदैन । मोबाइलमा घोप्टिएकै हुन्छ । अफिस पनि जान नपर्ने हो कि ? स्वास्नी झर्किन्छे । म छोडेर गैदिन्छु अनि ! भनेर घुर्की लाउँछे । त्यो घुर्की चैं अलि मिल्दैनथ्यो । किनभने मोटरसाइकल चलाउँथ्यो लोग्ने । त्यसैको पछाडि बस्ने स्वास्नी । लोग्नेले उनलाई उनको अफिस पुर्याएर मात्र आफ्नो अफिस जाने गर्छ ।
आजैको घट्ना पनि अचम्मकै छ । उसको एउटा कवि मित्र अचेल अष्ट्रेलिया गएका छन् । भन्नेहरूले त ती मित्र डाइफर भिसामा गएको हो पनि भने । तेतेभिसामा गएको हो पनि भने । गुन्द्रुक भिसामा गएको हो पनि भने । तर उसलाई भने त्यो कुरामा पटक्कै विश्वास छैन ।
उसको अष्ट्रेलियावासी मित्र सिड्नीदेखि मेलवर्नसम्म अनेकौं शहरहरू घुमेको फोटो दैनिक रुपमा उसले देखेको छ । कहिले समुन्द्री किनाराको आनन्द, कहिले सफा सडक र पार्कहरू दृष्य । साथमा जीवनसँगिनी विष्णु भाउजू हुनुहुन्छ । छोराबुहारी गाइड छन् । मित्रको अष्ट्रेलिया सयर स्वादिलो छ । कहिले दुई डलरको कफी खाएको बखान छ कहिले टापुमा निर्मित उपनिवेश कालिन कारागारको कथा छ ।
साँच्चै भन्ने हो भने कविमित्रको अष्ट्रेलिया भ्रमण कर्दम ऋषि र मनुपुत्री देवहुतीको पौराणिक विश्व भ्रमणजस्तै रोमाञ्चक लाग्छ ।
तिनै कविमित्रले आज फेसबुकमा एउटा कथा पोष्ट्याए । चप्पल लाउनै बिर्सेर सडकमा पुगेको रोमाञ्चक कहानी थियो त्यहाँ । आज ऊ अफिस जाने हेक्का नराखेर त्यही पढेर बसेछ । स्वास्नी आएर झर्किएपछि बल्ल झस्याङ्ग झस्क्यो । अझ तयारी बिर्सेर उसले अष्ट्रेलियाबासी कविमित्र रेवतीरमण चौलागाईंको कथा सस्वर वाचेर स्वास्नीलाई सुनाउन थाल्यो । सुनेर उनी पनि मुस्कुराइन् । यो कविता लेख्ने मान्छेहरू त्यस्तै हुन्छन् कि क्या हो ? तपाईं पनि त्यही ड्याङको मुला त हो नि । यी यसरी अफिस जानै बिर्सिनुहुन्छ ।
उसले घडी हेर्यो सवा नौ भैसकेछ । हत्त न पत्त लुगा लाएर राते निकाल्यो । पत्नीलाई पछाडि राखेर एक्सिलेटर बटार्यो । कतै चप्पल लाउन त बिर्सिएन ! कुद्दाकुद्दै उसको नजर खुट्टातिर पर्यो । धन्न जुत्ता लाएको रहेछ । अष्ट्रेलियावासी मित्रजस्तो भुलक्कड आफू नभएकोमा उसले गौरवान्वित महशुस गर्यो । मोटरसाइकल हाँक्दाहाँक्दै ऊ मुस्कुरायो । मुस्कानसँगै जुँगा मुसार्न थाल्यो । धत् !! मास्क त लाउनै बिर्सेछु ।
०००
नुवाकोट, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































