ठाकुरप्रसाद अधिकारीभलादमीको जात थर
विवेकको सम्पति अविवेकी भलादमीको हातको जाँतोमा घिस्रिन पुग्दा आफ्नै हेराइ पनि रोकिन सक्छ । लु अब भलादमीको जात थर तपाइँ पनि पर्गेल्नोस् न, कस्तो मजा आउँछ !!

कलियुगमा भलादमी किन फुच्चा र लुच्चा भए । हाम्रो जस्तो सोझा कलमले साँचो कुरा कसरी भनौं वा कसरी काँचो छ भनौ । मैले भलादमी को को हो भनेर सहि ढंगले भन्तव्यमा भन्न सकेको छैन । हामीले कति भलादमी देखेर च्याङ्ग्रे खच्चर नास्यौं । कति सो समय मु्सुक्क मुस्काएर बितायौं । कति गधा भलादमी कि गोरु भलादमी भनेर कल्पना गर्यौ । कति लुखुरे खसीजस्तो भलादमीज्यूकोमा पुग्यौं । तर उनीहरू चानचुने भएर मास्सिएको थाहा छैन । अत भलादमी त्यसै बन्ने कुरो होइन । भलादमीको कुरो लेख्न कतै जात मिल्दैन कतै भात मिल्दैन । कलममा लेखेको कुरो यस्तै रैछ ।
भलादमी कसलाई भन्ने ? कोहि भलादमी मृत्युलोक छोडेर स्वर्ग जान भट्भटेमा सवार भएर सगरमाथा चढिरहेछन् । कोही माछापुछ््रेबाट तल डेभिडफल्सतिर ओह्रालो लागिरहेछन् । कसैलाई फेवा उक्लिएर कसैलाई रारा ओर्लिनु छ । कोहीलाई बेगनास चढेर चन्द्रलोक झर्नु छ । कसैलाई बैशको प्रेमी अँगालो हालेर आडम्बरको जिब्रोलाई ठेगान लाउनु छ । कसैलाई आकाशको चिसो घाम चोर्नु छ । कसैलाई बुढेकालको लठ्ठी समाउनु छ । कसैलाई थसुल्ले बनेर पोखराबाट जोमसोङ पुग्ने हुने हतार छ । कसैलाई सिन्का जस्तो पातलो पहाड हुनु छ । कसैलाई पशुपतिको साढे झै मोटोपनको गर्जन गर्जिनु छ । कोही पन्छीझै प्रशान्त महासागरमा उडेर सात समुन्द्र फन्को मार्नु छ । भलादमीको बेरुप स्वभाव यही नै हो ।
आदमी पनि भलादमीको अपभ्रंश शब्दबाट बनेको हो कि । चिया पसल, चोक र चौतारोमा चर्चा चल्दा बुद्धि र हिक्मतले भ्याएसम्म अरुवा तरुवा भरुवामा विक्ने भलादमीहरू छन् । अचेल सबैतिर साँठगाँठ मिलाउन सक्ने पनि भलादमीको दर्जामा पर्दछन् । अत भलादमी बारेमा चर्चा गर्न अत्यन्त जरुरी छ ।
भलादमी हेर्नाका मात्र हुँदैनन् । भलादमीको नाक सगरमाथा जत्रो भए पनि भलादमीको चिन्ह उसको वटमलाइन लवाइमा होइन कति झुटो विज्ञापन र विज्ञप्ति बक्न सक्छ । उनै असली भलादमी पनको असली गहना देखिन्छ । उसले खाएर हिँडेको पनि यहाँ चर्चा ओकलेको हुन्छ । उसको महत्व र महानता त्यहि पदमा हुन्छ । शिक्षामा जाहेरी गरेर भलादमी हुने होइन । बेरोजगारीमा पनि छन् भलादमीहरू । कति त अरुलाई फिल्मी शैलीमा उपदेशको नमूना बन्न सक्छन् उनीहरू । कति झिल्के पानी पिउन सक्छन् । उसको विद्याले कति समाज किन्न सक्छ मान्छे । कति जोख्न सक्छ अरुलाई । कति तौलिन सक्छ । आजकलको दुनियामा त कति फेसबुकमा स्टाटस हान्नेको पनि वास्ता गरिँदैन । ऊ कति भाइरल हुन सक्छ त्यो उसको परीक्षा कटाई जस्तै हो । लेखनको छाँटले उसको परिचय भुरिभुरि दिन्छ । उसले बोक्ने मोवाइलले उसको अनुहार बताउँछ । एक दुई वटा टिकटक बनाएर आफूतिर आर्कषित गर्न कत्रो तमासा गर्छ । देशको निम्ति कति फुस्रो भएर लुट्न कति मोवाइलको टुप्पो टल्काएर भाइरल हुँदै जुट्न सक्छ । कति जाहेरी दोहरीमा गाउन सक्छ । कति मपाईंको मन्तव्य दिन सक्छ ऊ नै आखिरी भलादमीको जातभित्र पर्छ ।
भलादमी थुम्बे भए पनि उसैको निर्देशबाट आज समाज चलिरहेछ । कोही गाउँमा भ्रष्ट भएर शहर पसेका हुन्छन् । इतिहासको पानामा कोहि छक्का पन्जाबाट लेनिन कट हुँदै जङ्गबहादुर हुन पुगे । कोहि रोड पतिबाट करोड पनि हुनु् आजको आवश्यक्ता हो । भलादमीको दशा भनेको दुब्लो पातलो गफ हो । भलादमीको नक्क्ल भनेको पनि यहि हो ।
इतिहासमा उनीहरूको गफको बन्दुक नपड्के पनि विश्वविद्यालयमा नपढे पनि बढेकै छ । भलादमीको जात र थर देशको जग बसाल्नेदेखि ठाउँको ठाउँ मिलाउन भलादमी चाहिन्छ । विवादको मैदारो पार्न उसकै जरुरत पर्छ । विवाहको लिङ्गोदेखि घरको चुलाचौका मिलाउन भलादमीको दरकार पर्छ । रितलाई फिटमा बदल्न उनीहरूकै मुहार चाहिन्छ ।
हुन त काग सेतो हुन्छ भनेर यहाँ भलादमीको वयान गर्न खोजेको हैन । काग जति कराए पनि कालै हुन्छ सेतो बकुल्लाजस्तो हुँदैन रैछ । उहिलेका आदमी खुइले भन्छन् । २१ औँ शताब्दीमा पनि पँधेरामा आदमी डोका न डालाका गफ छाँट्छन् । यिनीहरूको गफ बुद्धिजीविको भन्दा चर्को हस्मा हस् हुन्छ । यिनीहरूको गफमा घरको काम नभ्याए पनि पहिरै गए पनि गफ रोकिएको हुँदैन । बिमात्रीको सोता मरे पनि हाँसो रोकिएको हुँदैन ।
भलादमीको नाम पो के राखूँ । ज्यादा पुरानो भलादमी गफमा अलि फिक्का आडम्वरीको भेष छड्केको हुन्छ । त्यहि भएर फिकदानीजस्तै फरक फोहरमा भलादमीमा अडेको हुन्छ । यो भला शब्द अपभ्रंश भएर भलादमी भएको हो । हरहेमेशा भलादमीमापनमा खिया लाग्नु भनेको हाम्रै संस्कारको फलमा खिया लाग्नु हो ।
नाक घोप्टो पारेर भन्दा चिल्ला, पिरा र खस्रा भलादमी तीन प्रकारका छन् । अभिवादन सटासाट गरेर हुने भलादमी । कोही सस्कारकाका भलादमी । धार्मिक राजनीति आर्थिक सामाजिक भलादमी हुने मानिसको स्वभाव हो । गुडमर्निङ भलादमी, गुड डे भलादमी, गुड नाइट भलादमी पनि हुन्छन् । कमिशन खाने भलादमीको स्वभाव भन्नुस् वा सद्भाव भन्नुस् । जग्गा बेचेर ब्ल्याक लिष्टमा परेको भलादमी भन्नुस् कोही कसैको जुँगा उखेलेर भलादमी बनेका छन् । भाइ अंश मारेर खाने भलादमी भन्नुस् कसैले कसैको नाडी छामेर होच्याए पनि भलादमी बनेका छन् । जहाँ असफल भइन्छ त्यहाँ भलादमीको जन्मिकेका छन् । ठूला ठूला महाविद्यालयले उनीहरूलाई सर्टिफिकेट दिन सकेको छैन । यस्तो विषय सकारले पाठ्यक्रमा राख्न पनि सकेको छैन । यस्ता भलादमीको कुरा सुटुक्क भने पनि हल्ला गर्ने विषय चाहिँ झन हुँदैहोइन ।
प्रत्येक बोक्रे भलादमीले भन्छ- म अरुजस्तो भलादमी होइन । कोही माम चोरेर खाने । कोही घुसघोरी गर्ने भलादमी । कोही नखरा गर्ने भलादमी । कोही फाइँफुट्टी गफ दिने भलादमी । कोही बकुमफुसे भलादमी । कोही काटीकुटी बाउ आमा जस्तै । काहीँ गुट्टी गड्डी झै हाक्ने भलादमी । म पनि भलादमीको वारेमा शंका जन्माउन सक्दिन ।
घरबुने भलादमी नेता कार्यकर्ता मन्त्री शिक्षक पत्रुकार लेखकलाई बालेनको टुकुचाले बगाइसकेको छ । वालेनले जन्माएका भलादमीहरू अलपत्रमा परेका छन् । मानिसको भाउ बढे पनि आदमीको भाउ बजारमा घटेको छैन । अचेका बुद्धिजीवी भनिरहेका छन् । आदमीलाई सबै पार्टीले खरिद गरिरहेछन् । पार्टीको कुरा के गर्नु । हामी आदमी बन्न चाहने हो भने पार्टीमा सामेल भएर मान्छे बन्न सक्छौं । दुई आना चार आनामा आफ्नो भलादमीपनको भाउ तोक्न सक्छौं । यसबाट हामीहरू हिरा झै चम्किन पनि सक्छौं । कोटको कट मिलेझै । आदमीको हाँसो उठ्न सक्छ । एउटा छरितो कुर्सी घुमाएर पोज देखाउन सक्छौं । त्यस बेला आफ्नै आङ बजाएर भलाआदमी बन्न सक्छौ । सडकदेखि सदनसम्म मरिच झै राग दिन सक्छौं । भलादमीको डोको न डालाको के कुरा गर्नु । चुरिफुरी देखाउन सक्र्छौ ।
आदमीको पहिचान बुद्धि र बर्गतले भ्याएसम्म चरित्रको बेदागमा हुन्छ । नाक बजाएर । जिउ थचारेर । हलल्ल हाँसेर । हलल्ल हल्ला गरेर । मुसुक्क मुस्कुराएर भलादमी हुने कुरा होइन । आदमीको प्रमाणपत्र कामै नस्सिए ओठमा लुकेको हुन्छ । त्यो उसको विज्ञापन होइन ।
आदमीको हिडाई । बसाई । गराई । भनाई । कपालमा लुकेको हुन्छ । ऊ कुन श्रेणीको आदमी हो उसको आँखा कान नाक र मुखको अनुहारले बताउँछ । कतै लुट्न र फुट्न सक्ने नै उसको परिचय हो । भलादमी शब्दको भ्याङले होइन जँुगा कटाईबाट सालिन र भद्रता फरर देखिन्छ । लहलहाउँदो पात झै हरहराउँदो देखिने भलादमी नै बाह्रै महिना खुसी देखिन्छ ।
छात्ति फुलाएर भलादमीको गुण भन्ने हो भने । विशेषता र विश्लेषण गर्ने क्षमता राख्ने नै भलादमी कहलिन जान्छ । कतै ऊ अकमकाउनु त कतै भकभकाउनु शब्दको खेल नै हो । कसैले सासूको मासुको कुरा झिकेर कसैले गुन्द्रुके कुरा फुराएर भलादमीको रवाफ दिइरहेका हुन्छन् । कोही आधुनिक आदमी टिकटकको हाँसो झिकेर उदाइरहेका हुन्छन् । कोही फेसबुक धारणामा करार गरेर रामदेवलाई सम्झिरहेका हुन्छन् । आदमी मुस्कुराउनुको नम्रता परिवेश र परिस्थितिमा बाँधिएको हुन्छ । आदमीको समस्या बुम्बईदेखि बेजिङसम्म हुन्छन् आदमीलाई तौलिनु भनेको समस्या शब्दभित्र होइन अरुलाई तिरिमिरिझै बनाउन सकेकोमा देखिन्छ ।
सफा चमकदार सुकिलो दानेदार मान्छेदेख्ने बित्तकै गोठालेदेखि नेतासम्म भलादमी जस्तो लाग्छ, अनि हेरुँ हेरुँ लाग्छ । आदमी र भलादमी हुन रोग लाग्नु निकै फरक कुरा हो । यसैले मलजल गरे भलादमी फैलिएको हुन सक्छ । उसलाई भलादमी हुने भोक लाग्नु जिरे खुर्सानी तितो हुनु जस्तै हो । कसैको आँखा थुनेर हेरिरहेको दृश्य हेर्न रोक लाउनु हो । सुनिरहेको कान बन्द गरि आवाज रोक्नु हो । खाइरहेको मुख बन्द गरेर खान रोक लाउनु यो पटक्कै भलादमी होइन ।
भलादमी मान्छे बन्न सेको छ छैन भलादमी नै जान्लान् । हरकलामा भलादमी कान्तिपुरमा नभए पनि अन्तपुर अन्त्य नभए पनि पहिला नै हुन्छ । भलादमीलाई कुन चुम्बकले तान्छ था छैन । भलादमी आदमीको ऊ छाया समेत बनेर बन्न बनाउन चाहँदैन । भलादमीको जात थर वारेमा जो कोही दोधारमा छ । भलादमी प्रशंसाको पुजारी हुन चाहँदैन । भलादमी दुनियाको आँखामा नामुद कविबाट कलाकार बनिरहन हरदम तयार हुन्छ । आदमीको चित्तमा घाम पनि सुद्धि हुन्छ हुँदैन भलादमी नै जान्लान् ।
भलादमी बारेमा म के फैसला भनौ के नभनौं भाछु । काँचो समाजमा को को भलादमी बनेका छन् । कस्तो जात थरमा भलादमी पाइन्छ । विवेकको सम्पति अविवेकी भलादमीको हातको जाँतोमा घिस्रिन पुग्दा आफ्नै हेराइ पनि रोकिन सक्छ । लु अब भलादमीको जात थर तपाइँ पनि पर्गेल्नोस् न, कस्तो मजा आउँछ !!
०००
११ माघ २०७९
काठमाडौ
Subscribe
Login
0 Comments
Oldest









































