छाया हाकिम
अनि माथिबाटै हकारिन्, ‘ए मोती ! कोसँग बाह्र-सत्ताइस कुरा गरेर बसिराख्या ? सांसदहरूले भत्ता पकाउन प्रतिनिधिसभालाई लम्ब्याएजस्तै तेरो गफ चुटाइ कहिल्यै सकिएन ।’
मुकुन्द आचार्य :
जिल्लामा गिल्ला गर्न हुने अनेक दुर्घटनाहरूमध्ये नयाँ हाकिम आउनुलाई पनि जिल्लावासीहरूले प्रशासनिक दुर्घटनाकै रूपमा हेर्छन् । किनभने पुरानो हाकिमलाई सबैले बेहोरिसकेका हुन्छन्, उनको व्यहोरा थाहा भइसकेकै हुन्छ । तर नयाँ आउने कस्ता होलान्, उनको राजनैतिक, सांस्कृतिक, आर्थिक रुचि कस्तो छ, उनलाई के-के मनपर्छ, के-के रुच्दैन- सबै भेउ पाउन केही समय लाग्ने हुन्छ ।
जे होस्, हाम्रो जिल्लामा पनि प्रशासनिक दुर्घटना भयो, अर्थत् नयाँ हाकिम आए । सबभन्दा छुच्चो पेशा पत्रकारिता पनि गरिटोपलेको हुनाले म पनि हाकिमको अनुहार हेर्न र आफ्नो अनुहार देखाउन, जुन क्रियालाई अचेल परिचित हुनु भन्छन् त्यो गर्न, उनको वासस्थानमा झुल्किन पुगेँ ।
त्यहाँ पुग्दा त हाकिमभन्दा पहिले उनको कुकुर झम्टन आइपुग्यो । कस्तो अचम्म बा ! कुुकुर त दुरुस्त मान्छे जस्तै थियो । एउटा पुरानो उखान सम्झेँ- यो कति धपक्क बली, बाबुको ताली छोराको मुरली !
मैले भनेँ- ‘म नयाँ हाकिमसा’बलाई भेट्न आ’ को ।’ आफ्नो परिचय पनि दिएँ ।
कुकुरले त घुमी-घुमी सुँध्न पो थाल्यो । फोहोर पो कुल्चिएछ कि भन्ठानेर मैले खुट्टामा भिरेको आफ्नो पाउपोशतिर दृष्टिपात गरेँ तर त्यहाँ त्यस्तो क्यै थिएन ।
मैले सोधेँ- ‘कि यसरी सुँघेको ?’
कुकुरले मसुमुसु हाँस्दै भन्यो- ‘अचेल माओवादी कहाँ कुन रूपमा प्रकट हुन्छन् भन्न सकिन्न । प्लिज माइन्ड नगर्नुहोला, तपाईंसँग कुनै हतियार त छैन ?’
मैले सतर्क भएर जवाफ दिएँ- ‘म त बुद्ध जस्तै अहिंसावादी हुँ । यो एउटा साधारण कलम छ गोजीमा । केटाकेटीमा तरवारभन्दा कलम बलियो हुन्छ भन्ने निबन्ध लेखेर पुरस्कृत भा’ थिएँ । मेरो हतियार यै हो ।’
कुकुरले फिल्मी खलनायकझैँ अट्टहास गर्यो र भन्यो- ‘तपाइँले कुन जमानाको कुरा गर्या ? कलमलाई हतियार मान्ने चलन उहिले थियो होला । अब त उहिलेका कुरा खुइले ! अचेल त कलमले घोचेर क्यै लछारपाटो लाग्दैन । सबैको प्रतिरोधात्मक शक्ति बढिसक्यो । गैँडाको छालाभन्दा पनि बाक्लो छाला मान्छेको भइसक्यो । तपाईंं चै थोत्रो कलमले घोचेर के-के न पो गरूँला भन्ठान्नुहुन्छ !’
मैले कुकुरलाई सम्झाएँ- ‘म पत्रकार मात्र होइन, साहित्यकार पनि हुँ । कलमले व्यङ्ग्यवाण हान्छ भन्ने थाहै होला ।’
ऊ झन् मरी-मरी हाँस्न थाल्यो । एकछिन नराम्ररी हाँसेपछि बीचमा एउटा सानो कमर्सियल बे्रक लिएर (सामान्य कुकुरझैँ ख्वार-ख्वार कन्याएर) उसले भन्यो- ‘पत्रकारसँग त अचेल कोही डराउँदैन भने झन् साहित्यकारसँग को डराउँथ्यो ! साहित्यकरहरूले प्रज्ञा-प्रतिष्ठानमा आफ्नो प्रतिष्ठा कसरी गुमाए, त्यो त यहाँलाई पनि थाहै होला ।’
कुकुरको सामान्य ज्ञान असामान्य रूपले चर्को देखेपछि म झन् सतर्क भएँ । प्रसङ्ग फेर्नलाई सम्झाएँ, ब‘बरु हाकिमसा’बलाई खबर गर्ने हो कि ?’
बेसोमती पाराले उसले प्याच्च भन्यो- ‘एकछिनका लागि मलाई नै हाकिमसा’ब भन्ठानेहुन्छ । राजनीतिमा छाया प्रधानमन्त्री, छाया मन्त्री सबै हुन्छ भने छाया हाकिम किन नहुनु ? हाकिमसा’बको अनुपस्थितिमा उहाँले गर्ने सारा काम मै भ्याइदिन्छु । नपत्याए साहेबनीलाई सोधे हुन्छ ।’
ताडका जस्ती साहेबनी पनि तत्काल कौसीमा प्रकट भइन् । अनि माथिबाटै हकारिन्, ‘ए मोती ! कोसँग बाह्र-सत्ताइस कुरा गरेर बसिराख्या ? सांसदहरूले भत्ता पकाउन प्रतिनिधिसभालाई लम्ब्याएजस्तै तेरो गफ चुटाइ कहिल्यै सकिएन ।’
मोती भनाउँदो छाया हाकिमले त्यहीँबाट मालिक्नीको समर्थन माग्यो- “मैले यी पत्रकार महोदयलाई भनेको नि, साहेब नभा बेलाँ धेरैजसो काम मै भ्याइदिने गर्छु । हो कि होइन साहेबनी ? लौ हजुर नै मर्जी होस् त !’
‘हो तनि ! मोती नभए त हाम्रो हात-खुट्टै चल्दैन । हेर्दा मात्र कुकुर जस्तो हो, मान्छे भन्न सुहाउँछ मोतीलाई त !’ यति फलाकेर साहेबनी पुनः कौसीबाट अन्तर्ध्यान भइन् ।
मैले सम्झाएँँ- ‘हाकिमसा’बलाई भेट्न पाए हुन्थ्यो ।’
छाया हाकिमले बल्ल मलाई बैठकमा बसायो, चिया मगायो अनि सुटुक्क भन्यो- ‘राति हाकिमसा’ब एउटा पार्टीमा व्यस्त हुनुहुन्थ्यो । ककटेल परेछ क्यारे ! अहिलेसम्म ह्याङओभरमै हुनहुन्छ । भोलिपर्सितिर पाल्नुस्न !’
मैले भन्ठानेँ- यो छाया हाकिमसँग के बात मारेर समय खेर फाल्नु ! पछि नै भेट्नुपर्ला ! छाया हाकिमले हात पनि मिलायो, अनुहारमा औपचारिक मुस्कान पनि दल्यो अनि भन्यो ‘आउँदै गर्नुस् न ।’
०००
आधुनिक नेपाली हास्य-व्यङ्ग्य’ (२०६०)