सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

धन्य नेताको नाक !

आफ्नो नेताको नाकमा सानो झिँगा बस्दा पनि त्यसलाई धपाउनुको साटो सेवकले लाठो बजार्न बेर छैन । यस्तो मङ्की फ्लुबाट बच्न नेताहरूले कमसेकम आफू र आफ्ना सेवकलाई सतर्क गराउनुपर्छ । नभए भोलिको इतिहासले सबै नेताको नकटो फोटो छाप्नेछ ।

Nepal Telecom ad

रामकुमार पाँडे :

औतारी काका भैँसीसिङ्गे जुँगा तलास्दै ध्यानमग्न थिए । काका आज किन सिरियस भए मनमा कौतूहल जाग्यो र प्रश्न गरेँ- पूणर्चन्द्रमा यो औँसी किन काका ?

किन भन्नु बर्डफ्लुको कुरा गर्छन् । म त जतासुकै ‘मङ्की फ्लु’ देख्छु । मान्छेलाई ‘मङ्की फ्लु’ ले सताएपछि उत्पात हुँदो रहेछ ।

कस्तो ‘मङ्की फ्लु’ काका ? सिरुपाते जुँगा हल्लाउँदै भनेँ ।

कस्तो भन्नु ? ‘मङ्की फ्लु’ लागेपछि मन्त्री पनि प्रेमिकालाई भेट्न पर्खाल चढ्छ । उफ्रने लक्षण अचेल धेरैमा देखिएको छ । कोही बार फड्कने, कोही कसैलाई नटेर्ने । अझ मुखभरि रौँ भएका मान्छे त झन् बाँदरभन्दा के कम ? बुद्रुक बुद्रुक उफ्रेर चिच्याउँछन् । शुद्ध विद्यार्थी मात्र हुन् मङ्की फ्लुबाट बच्ने । नेतालाई त तुरुन्त सरिहाल्छ । एउटा दलको नेतालाई मङ्की फ्लु लागे दुई, तीन, पाँच, सात हुँदै सबलाई ग्रस्त बनाउँछ । यो पानीको फोहोरा लगाए पनि हट्दैन । मङ्की फ्लुले नेताको दिमाग यसरी घुमाउँछ कि ठूलाठालु देख्नेबित्तिकै टोक्न झम्टिहाल्छन् । एउटाको टाउकामा एक लट्ठी परोस् त सब च्याँ-च्याँ र चुँ-चुँ गर्दै घेर्न पुग्छन् । मङ्की फ्लुको लक्षण भनेकै बेसुरका कुरा गर्नु हो । कोही आफ्नै बाबुको सान्दर्भिकतामा बहस भन्दै टुपी नै ओखल्न खोज्छन् । कोही क्रान्तिका नाममा भ्रान्ति ल्याउनमै मग्न हुन्छन् ।

काकाको धाराप्रवाह प्रवचन हतपती सकिएलाजस्तो छैन । अनि सिरुपाते जुँगा हल्लाउँदै मैले भनेँ- मङ्की फ्लुबाट बच्ने उपाय के छत काका ?

के हुनु ? बेलामा बुद्धि नजानेपछि यस्तै हो । लुटेर खाइरहेकालाई रोक्न खोजेपछि यस्तै हुन्छ । लुट्न लागेकै बेलामा ठन्डा हुने गरी डन्डा कस्नु पर्थ्यो । अहिले लुटेर खाएको बलले चम्केका हुन् । मङ्की फ्लु भनेकै पचाउन नसक्ने गरी खाएपछि निस्कने एक प्रकारको ‘भ्रस्टेरिया’ रोग हो । शक्ति बढी भएपछि बाँदर उफ्रेझैँ त्यसै पनि उफ्रिरहन्छन् । यिनलाई जे भने पनि जे गरे पनि रोगमुक्त पार्न कठिन छ । यिनको दिमागमा मङ्की रेविज घुसिसकेकाले बुद्धिले काम गर्न छाडिसकेको छ । बुद्धि हुँदो हो त आफ्नो कुकृत्यप्रति टुँडिखेलमा उभ्भेर माफी माग्थे र आफ्ना भ्रष्ट मङ्की फ्लुग्रस्त रोगी हटाएर स्वच्छ र स्वस्थ व्यक्ति राख्दा हुन् । मङ्की फ्लुले यिनको आँखा कमजोर बनाइसक्यो । नत्र लाटा र बाठाको मित्रता हुन सक्छ भन्ने बुद्धिमा लाग्दैनथे । ताल परे पनि नपरे पनि बन्दुक हुँदाहुँदै लाठो निष्प्राण वस्तु हो । लाठा-जुलुसले लाटालाई छकाऊ, माथ्लो तहमा आसन पड्काऊ । कसले नबुझेको छ र ?

काकाको गहिरो संवादपछि पुनः प्रश्न राखेँ- काका मङ्की फ्लुको करामत त गजब छ नि ?

औतारी काका जुगा मुसार्दै चर्किए- मङ्की फ्लु लागिसकेपछि डाँका जेलबाट छुट्न पाउन्न ती जिन्दावाद भन्न पुग्छन् । मसानमा बसेर मस्त हाँस्न लाग्छन् । कुन बेला रुने तिनलाई थाहा हुँदैन । प्रजातन्त्रको भाँडो चुहिने पार्दासमेत त्यही भाँडामा थापेर खान खोज्छन् । मङ्की फ्लु लागेका मान्छेले प्रजातन्त्रको भाँडा मात्र हैन राष्ट्रियताका गाडालाई पनि कालो दल्न खोज्दै छन् । तिनलाई थाहा छैन सुनमा जति कालो दले पनि सुन सुन हो झन् टल्कन्छ । अर्कालाई कालो दल्दा आफ्नो अनुहार लतपतिएको तिनीहरूलाई पत्तो छैन ।

मङ्की फ्लु नयाँ रोग त्यसमाथि दुर्मुख नाम संवत्सरमा । अझ बाँदर वर्ष !! गजब योग मिलेको छ । बाँदरको रोग मान्छेलाई सरेपछि कतै बाँदर पो मान्छे हुने हुन् कि भन्ने लागी सिरुपाते जुँगा उचाल्दै काकालाई भनेँ- हैन काका । कतै मङ्की फ्लु मान्छेलाई सरेपछि मड्की पो मान्छे जस्ता हुने हुन् कि ?

भैँसीसिङ्गे जुँगा उचाल्दै काकाले भने- आफ्ना सन्तानको माया गरेको देख्या छैन ? बेजातिले अलिकति मात्र बिगार गरे सारा मिलेर झम्टेको देखेको छैन ? प्रकृतिको मीठो घाममा आनन्दसँग बसेको देखेको छैन ? ती सुखी छन् । तिनको रोग मान्छेलाई सरेर कोही ढुङ्गा बोकेर, कोही लाठा बोकेर, कोही बन्दुकै बोकेर दगुरेका छन् । पार नलाग्ने काम भनेको यही हो । मान्छे भएपछि मान्छेको विद्या, बुद्धि, विवेकले पो काम गर्नुपर्ने । मेरो गोरुको बाहै टक्का भनेर चल्छ काम ?

काका शुद्ध मान्छे भनेर कसरी चिन्ने ? मान्छे तालतालका छन् । भ्रष्टाचारीले अट्टहास गरेर हाँक दिइरहेको छ र व्यभिचारी चम्केर – हिँडिरहेछ । मन्दिरमा बसेर लुटेर खाने बाँदरको रोग सरेपछि ती लुटेरै खाने अवसरको दाउमा छन् । बाँदर बुद्धिले आफ्नो घर पनि बनाउँदैन अर्काको पनि बिगार्छ । बगैँचामा पसेर टोक्दै फाल्दै ध्वस्त पार्छ । मान्छेको बुद्धि भ्रष्ट पार्छ मड्की फ्लुले । यही फ्लु नसरोस् भनेर मान्छेको बच्चालाई पढाउनुपरेको हो । यही फ्लु नलागोस् भनेर राजनीतिक कार्यकर्तालाई पोलिटिकल कल्चर सिकाउनुपरेको हो । सेवकलाई मङ्की फ्लु लागे के होला ?

काकाको प्रश्नलाई प्रश्नमै राखे के होला काका ?

आफ्नो नेताको नाकमा सानो झिँगा बस्दा पनि त्यसलाई धपाउनुको साटो सेवकले लाठो बजार्न बेर छैन । यस्तो मङ्की फ्लुबाट बच्न नेताहरूले कमसेकम आफू र आफ्ना सेवकलाई सतर्क गराउनुपर्छ । नभए भोलिको इतिहासले सबै नेताको नकटो फोटो छाप्नेछ । अहिलेसम्म बचेकै छ । धन्य बाँदर वर्ष । धन्य नेताको नाक !

०००
पाँडे पुराण (२०६४)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दस दनक

दस दनक

रामकुमार पाँडे
टाउकाको खेल

टाउकाको खेल

रामकुमार पाँडे
कानमा तेल

कानमा तेल

रामकुमार पाँडे
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा