सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

झोलाका झोले कुरा !

सत्ता, भत्ता र लत्ताको लानि नभई नहुने टेक्ने खुट्टाजस्तै हो । झोला नभए नेता सेवक जो कोही बाँच्न सक्दैन । लठ्ठीको टुपो फेद नजाने पनि झोलेबाट बच्न फास फुसे गफ गर्दै रत्नपार्कमा भोक हड्ताल गरेर अनसन बस्न पनि सकिँदैन ।

Nepal Telecom ad

ठाकुरप्रसाद अधिकारी :

यो समय झोला र झोलेकै छ । तर फलिफाप हुन्छ भनेर चौतारीमा नाँचेजस्तो सजिलो झोले हुनु छैन । बोक्रे र धोक्रे झोलालाई के भनौँ । माच्छापुछ्रेझैँ फेवामा टल्काउन खोजेको नभन्नु होला । यो झोलेको विज्ञापन गरेको पनि होइन । किन बन्नु झोले । सबै झोलाको चर्चा गर्छन् । बुद्रुक बुद्रुक उफ्रेर झोलालाई डम्फु बनाई रहन कस्लाई रहर छ र ? म पनि ‘‘फतुरे’’ झोले हू । झोले कुरा सुनेर जमघटमा पनि सिरुपाते जुँगा हल्लाईरहन मन लाग्छ ।

झोला को हो भनेर नसोध्नु होला । झर्ल्याङझुर्लङ फुट्ने बस्नु होइन । झोला एक प्रकारको पेटारे आन्द्राको थैलोजस्तै हो । काँधमा कन्नानीको डोरोको साटो रैथाने झोला भिरे पनि । कमिशन तप्प ! तप्प ! चुहिने ब्रान्ड ब्रान्डको झोला । घर, गोठ, मठ, मन्दिर पाठशाला अफिस भाछामा जतासुकैको झुण्डिए पनि । त्यो झोला झोला नै हुन्छ । झोलाको न्वारन कस्ले गरे झोलाको झोले धन्धा गर्नेले गरे वा कसैले । त्यो झोलाधारीनै जान्लान् मलाई नेताको रुप भन्दा धमिजा लागेको झोला बेस्वाद लाग्छ । कुनै कार्यक्रमको झोला लोकप्रिय लाग्छ । यसको करामत देखेर मुरिमुरी घुमेर हाँस्न पनि मन लाग्छ । बरू झोला नहुनेको दिनचर्या कस्तो होला ? तर कमसेकम भन्सारमा सुन र गाँजा, चरेस ल्याउन कन्ट्रोल छ होला झोला बोक्ने झोलेको नियन्त्रण गरेको ठाउँ भेटिएको छैन ।

सबै बजारमा रुपियाँदेखि उपियाँ हाल्ने शोखले उड्ने र गुड्ने सुड्केस ब्रिफकेस ट्याङका झोला रुपमा फिट हुने किन्न पाइने कुरा झिक्छन् । म त गाउ शहर जताततै झोलेले रझाई कायम गरेको विशेषता पो देख्छु । उसको अवस्था औतारी डाक्टरले टमाटरको जाँँच गरे भने सुराकको खुराक पाइएला कि कसो ?

कृपया दया राख्नु होला । झोले भनेको प्रायः कसैको पिछलङ्गुभै लाए अह्राएको टाकनटुकन होइन पूर्ण काम गर्ने पात्र हुनुपर्छ । चाहे उसले तरकारी बारीको साग केलाओस्, चाहे मोबाइलको झोकमा पुशपति गुह्ेश्वरी पुगोस् । या त द्रव्य हात पार्न कसैको झोली तुम्बा बोक्दै टुँडिखेल कँुदेर परर ताली मारोस् । यसो भन्दा काग कराई रहे पनि पिना सुक्न छोड्दैन होला ।

हामी सुन्दै छौ देख्दै छौ । झोलेले झोला बुझाएको भोलिपल्टै पार्टीको कमण्डलु समाउन पाएको पनि सुनेका छौँ । यसरी झोला बोक्न पल्केलाई खै के भनौँ । यस्तो कुरा सुनेर सिरानघरे काइँला । तल्लाघरे जेठा । डाँडाघरे माइलाले । जापानी भैँसीको पुच्छर समाएर भात भान्छा बजाए पनि । झोलेले ममचाको झोला बेचेर खाए पनि । उसको भूगोलको सतहको तह कतै भास्सिने डर हुँदैन । यो भोलेको पनि झोले युग हो । झोला थाप्नेलाई झोलीको देवता पनि भन्छन् ।

आफ्नो बाङ्गो टिङ्गो नाक टाल्न । फोस्रो धक्कु लाउन । नचाहिने कुरामा आगो लाउन । अर्कोको आँखाको नानी भत्काउन । छलछाम गरेर भए पनि बाँच्न । अरुलाई अलमलाउन । जस्तो भुसुना मार्न भिमसेनकोजस्तो बल निकाल्नु । कसैको सुकुटीको झोला सुटुक्क चाख्नु । राष्ट्रिय ढुकुटीको आँखा कान छलेर आँतको दाँत नै भाचेर पनि भूस खान पल्केका टाउकेको सोवा गर्नु । तालुमा नून र सुन लुकाएर मालिक रिझाउनु । झोलेको बखान धेरै छन् । यस्तो झोला बोक्नु झोले चरित्र नै हो ।

झोलेले झोले हुन कुनै परीक्षा उत्तीर्ण हुनु पर्दैन । धामीझाँक्री लगाउने, ज्योतिष हेराउने, जुराउने केही गर्न पर्दैन चारतिर देवी देवता पूजा गरेर लेवी बुझाउन पर्दैन । तर झोलेले मान्छे फकाउन लागेको देख्ता घरको धुरी पनि थर्र काम्छ । झोले बेकरीको ब्रेडजस्तो हो जता लग्यो उतै जान सक्छ । अरुको झोला कमजोर पारेर आफ्नो दुनो सोझ्याउने कला झोलेहरूले तरह तरहमा जानेका हुन्छन् । यो नौलो कुरा भयो नभन्नु होला । तर साँचो अर्थमा कुरा नलुकाई भन्दा झोले एउटा बफादार डग जस्तै हो । झोले हुनु पनि एउटा नशा हो । ऊ प्रदर्शनीमा राखेको मोटर र प्लेनको फरक छुट्याउने क्षमता नभए पनि उसको आवश्यक्ताको छैन भनेर विज्ञापन गरिरहन पर्दैन । उसको गुदी देखेर स्पष्टीकरण दिन तालुकवाला टाउकोलाई पनि गाह्रो हुन्छ ।

तैपनि सबैलाई हेक्का छ- आजकल हात्तीछााप चप्पल उनेर हिँडे पनि पार्टीको नेता पुज्न । ठूला ठेक्का पट्टा पचाउन । चमेना गृह चलाउन । ठूला पद पुरस्कार हत्याउन । कम्पनीको सियो पट्याउन । असनको एक सिसी बासी घिउले धान्दैन । नाता इष्टमित्रहरूको अगाडि इज्जत थाम्न खोया र खोस्टाको झोलाले मान्दैन । बैङ्कको कर्जा उकेरा लाउन । नेता बन्न । नेता धान्न । नेता छान्न । नेता तान्न । सभा सम्मेलन । भोज भतेर गर्न । पुरेत गुरुको चरण पुज्न झोलाबाट शुरु गरिन्छ । ज्वाइँ जेठान मामा भान्जाको मान सम्मान । फुपुचेलाको भेलामा । इज्जत टिप्ने मेलामा । सन्धी सम्झौता गर्न चम्चा पाल्न पर्‍यो झोला नै चाहिन्छ । कतै कीर्ति  र प्रतिभा फिजाउन । सगरमाथा चढ्न । झोलानै चाहिन्छ । दान धर्म कर्म र मान मनितोको काम टार्न दरिलो र भरिलो झोलनै खाँचो हुन्छ ।

कतै झोला झुण्ड्याउने देखेमा आदर गरी बोलाउनु पर्छ । ए ! झोले दाइ भनेर पुकारिन्छ । तपाईंलाई शङ्कै लाग्छ । कतै फुइँ छोडेको भन्लान् । होशियार ! अन्यथा भने झटोरा खाइने डर हुन्छ । यसै कोणबाट था हुन्छ झोले धन्धाको महिमा । बैङ्क जानुस् । कान्छी नानी बोक्नुस् । थोत्रो झोलाले कत्रो सुरक्षा गरिहेको हुन्छ । अड्डा अदालत हस्पिटल कार्यालय बजार माइत मावली ससुरालीमा साली भेट्न जता हिँड्नु होस् यो कागजात मातलातको लागि प्रिय नै हुन्छ । झोला झुण्डाएपछि इज्जतको अनिकाल परेका बखत मानिसको पाँच इन्चको नाक दश इन्चको बनाइदिन सहयोग गर्छ । झोलको बयान प्यूठाने मूला भन्दा चर्को छ ।

अर्को आँखाले हेर्नुस् त झोला बोक्नु जाँगरमुरवा अल्छी बल्छीले पनि झोला रोजेको हुन्छ । यस उसले हेर्दा झोला बोक्नुको काइदा मात्र होइन मानवको मानव अधिकार हो । झोलाका महत्व तरह तरका छन् दानवीरदेखि मानवीरसम्मलाई । अरु त के कुरा समाजका कुबेरको भण्डारमा कु गरेर चलाउन । आफ्नै सुन चाँदीको गर गहना तहलाउन । बत्तीस दाँत तिखार्न । ज्ञानको पहिचान गर्न झोलानै चाहिन्छ । अ‍ैरे खैरे आधुनिक राजा रैतीका के कुरा गरौँ ? व्यापारी जिमिदार सेवक रोगी, भोगी, जोगी, पुजारी, सुराकी, हुलाकी मात्र होइन झ्याउरे गुन्द्रुक तितौरा मस्यौरा रोडा ढुङ्गा उद्योगको ब्रेडको ब्रेन फस्टाउँ । अझ ढुक्क सित भन्दा झन् विज्ञानका विद्वानलाई नचाहिने कुरै भएन ।

सानो तिते- पिँडालु राख्न देखि गुन्द्रीसित डोरीको साइनो गाँस्न । झोलाकै खाँचो हुन्छ । यस्तो उद्यमीलाई चाहिने महत्वपूर्ण झोलालाई धक्कु लाउँदै बाग्मतीमा कस्ले सेलाउन सक्छ ? लुटेर खाने बाँदरलाई मात्र झोला चाहिँदैन । मन्दिरमा हात थापेर बस्ने र परिश्रम गरि खानेलाई झोल चाहिन्छ । त्यसैले झोलाको कवच गर्नु कुनै दोष लाग्दैन । तर झोलेको अपमान गरेर खोलमा झोला बगाउँछु भन्न मिल्दैन । उसलाई खोले भन्न पनि सुहाउँदैन । झोलेलाई जे भनेर पुकार गर्नु होस् । झोले र झोलको विरोधमा अड्डा अदालत पनि जान सकिदैन । झोलेको सामर्थ्य अनन्य हुन्छन् ।

उसले रसादी नपिएर भुइँमा भुइँमा सुतेर पनि गाउँ गाउँका, ठाउँका ठाउँ कुखुरा सबै स्यालले झैँ स्वाहा पार्न सक्छ । बैङ्क रित्याउन अँध्यारो कोठमा बसेर झोलाबाट अनेक खेल खेल्न । कमिसनलाई चोख्याउन कृत्रिम डन पाल्न सक्छ । यस्ता तीन मुरी कुरा समाएर के हुन्छ । व्यर्थ कराएर के हुन्छ । संक्षेपमा भन्दा झोला रकेट उडाउनेले पनि झुण्ड्याएकै हुन्छ ।

काठमाडौं खाल्डोमा नालीको दुर्गन्धले ‘बतासे’ सुवास छरे पनि सरकाले झोले नियन्त्रणमा काँडो झिक्नु जस्तो कठिन हुन्छ । बरू गठबन्धनको लाठो चलेकै छ । अझ भनौँ मेलम्चीको पानीले आधुनिक लुटेर खाइरहने झोलेको जरो पखाल्न सकेको पनि छैन । यस्तो कुरालाई घाेक्रो फुलाएर प्रशंसा गरिहनु व्यर्थ छ । यसको महत्व बिर्सेर दोष देखाउने मेरो आशय र उदेश्य होइन । झोला नहुनेका कुरा गर्दा झोलेको जुक्ति नसुने पनि बिहान बेलुकाको योग ध्यान क्रिया सकिन सक्छ । हेरौँ त झोला झोली बिना चराचुरुङ्गी जनावरले पनि जीवन चलाएर धानेकै छन् । कति झोला बोकेर झोलेको प्यादा विवेचना गरौँ । गुदी नहुने झोलेले पनि लाभ पदमा पुग्न सेवा गरेको सुनेका छौँ । मान सम्मान भेटेका छन् रे । कसरी झोलेको गौरवमय बखानको आली लाउदै खिशी गरूँ कसरी ?

यी सब झोला र झोले कुराबाट जङ् चले पनि झोले नभई सुटुक्क केही काम गर्न सकिँदैन । पाठकीय दृष्टिले हेर्दा झोला र झोले एकै हुन् । सत्ता, भत्ता र लत्ताको लागि नभई नहुने टेक्ने खुट्टाजस्तै हो । झोला नभए नेता सेवक जो कोही बाँच्न सक्दैन । लठ्ठीको टुपो फेद नजाने पनि झोलेबाट बच्न फास फुसे गफ गर्दै रत्नपार्कमा भोक हड्ताल गरेर अनसन बस्न पनि सकिँदैन । मेरो भासभुसे दिमागलाई अरु के भनूँ खै ? चोर, कमिशन, घुस खोरी भए पनि झोले देखेपछि भुस्याहा कुकुरले पनि भुक्दैन क्यारे । आखिर टोलमा हिँड्दा साथीले हलो मात्र भन्दैन, चल्लाले पनि हल्ला गर्दैन । देख्नु भो नि पाठकवृन्द ! झोले बन्नबाट बचौँ । यसैबाट सबैको हित हुन्छ । झोलाका झोले कुरा पालौँ होइन फालौँ, जे भनौँ । अहिलेलाई जदौ ! गरेँ ।

०००

काठमाडौं १५, हाल सिड्नी
२५ फ्रेब्रुअरी २०२४

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
रोएका बाटो

रोएका बाटो

ठाकुरप्रसाद अधिकारी
सोच्दा सौच्दै

सोच्दा सौच्दै

ठाकुरप्रसाद अधिकारी
कसौँडी मोह

कसौँडी मोह

ठाकुरप्रसाद अधिकारी
साथी ! चिन्ने हो

साथी ! चिन्ने हो

ठाकुरप्रसाद अधिकारी
नयाँ मन्त्री

नयाँ मन्त्री

ठाकुरप्रसाद अधिकारी
पोशाकको फुर्ती

पोशाकको फुर्ती

ठाकुरप्रसाद अधिकारी
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा
जिउँदो समय

जिउँदो समय

नन्दलाल आचार्य
राष्ट्रिय सहमति

राष्ट्रिय सहमति

डा. टीकाराम पोखरेल
सतीको सराप

सतीको सराप

ह्यारी- ८०