सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सोच्दा सौच्दै

सोचाइको धर्म यही हो । हामीले सुविधायुक्त भान्छाको फोहर रछानमा फाल्न सोचेर मात्र पुग्दैन । सिंहदरवारको फोहर हामीलाई कहाँ थाहा हुन्छ र ? फोहरी सोचाइ फाल्न छिमेकी महोदयलाई गुहार्नु पर्ने हुनसक्छ ।

Nepal Telecom ad

ठाकुरप्रसाद अधिकारी :

मानिसको बुद्धि र सुद्धी हराउने भनेको सोचाइबाट नै हुन्छ । सोचाइ मानवपिच्छे फरक हुन्छ । सोचाइ भनेको मस्तिष्ककाे खर्च होइन भविष्यको लागि लगानी हो । सोचाइ कहाँ कहिले कस्ले गर्ने भन्ने हुँदैन । हरेक सोचाइको उचाई चढ्ने लक्ष्य र उद्देश्य दुवै हुन्छ । सोचाइमा हिङको गन्ध आयो भनेर नाइटोदेखि टाउकासम्म कन्याउन पर्दैन । वाहवाह ! स्याबासी पाउन मगमगाउँदो विदेशी अत्तर छर्किन बजार धाउन पनि पर्दैन । भाडा र साँडाले लुच्याइँ गरे पनि सोचाइ गरिरहँदा हावा हुरीले बार हाल्दैन । सोच्नेकोे परिचय घट्दैन । एउटा भनाइ छ सोचाइ भए एक पिर नभए धेरै पिर । हुन त मानिसहरू नाम चम्काउन पनि एक बारको जुनीमा सोच्ने गर्छन् । सोच्नु आजको आवश्यकता हो । कानले सुनी जान्ने सोचाइ । आँखाले देखी जान्ने सोचाइ फरक हुन्छ । सोच्ने पाजीको लठ्ठीकाे पनि हुकेम चल्छ । नसोच्ने काजीको बन्दुक पनि चल्दैन ।

भनिन्छ, ‘बोल्नेको पीठो पनि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन ।’ सोचाइको तह नमिले पनि हलेदो र सलेदो जे खाए पनि सोचाइ आउनु पनि मानवीय गुन हो । घरवार व्यवस्थित हुन सोच्नै पर्छ । सोच्न थालेपछि भँडारमा तेल मट्टीतेल घिउ मरमसला पनि खाँचो भने हुँदैन । बाह्रखरी कखग पढ्दादेखि ज्ञानी ‘ज्ञ’ सम्म चिन्न पनि सोच्नै पर्छ । सोचाइ सही नभए मानिसको के कुरा धराको गह्रामा जिउन र पिउनको लागि बनेका भाँडाकुँडा थाल कचौरा गिलास डाडु पन्यूले समेत नमस्कारको फुइँ दिन्छन् ।

सोचाइलाई सदनदेखि सडकसम्म, मनदेखि मदनसम्म उडाउनुस् । आकाशमा गुडाउनुस् गजबको तारिफ सबैले गर्न थाल्छन् । सोचलाई चिमोट्न, निमोठ्न, घन ठोक्न बन्चरोदेखि घडी चरो समाउन होस् । सोचको लागि चन्दा माग्नुहोस् सबैले विश्वासको हात हल्लाइहाल्छन् । नराम्रो सोचाइ आए हुट्ट्यिाउँ बन्नुस् आकाङ्क्षाको आकाश थेगी हाल्छ । सोचाइको लागि भित्ताको क्यालेण्डरजस्तो पल्टेर नाङ्गो हुनु पर्दैन । सोचाइ नआउनेलाई सोचाइको भण्डार बढाउन बुद्धलेजस्तो तपस्या गरे पनि वास्तविक ध्यान आउँदैन ।

आधुनिक समाजको सोचाइ अब्बल भए पनि दुई आनाको कमजोर सोच नहुनेलाई राष्ट्रले सम्मान दिइरहेको  देखिन्छ । सोचाइ ओरालो लागेको बेला यसको वर्गीकरण हेर्दा यसको रुप धेरै देखिन आउँछ- हिमालको चिसोमा बस्नेको सोचलाई जाडे सोच, पाखामा बस्नेलाई पाखे सोच, काँठमा बस्नेलाई काँठे सोच, मधेशमा बस्नेलाई मधिशे सोच, झोरमा बस्नेलाई झोरे सोच, भारि धेरै बाक्नेलाई भरिया सोच । अरुको सन्दर घर बिर्गानेलाई घरभाँडुवा सोच भनिन्छ । तर के गर्नु ? यहाँ जे भने पनि सोच गरेर मात्र पुग्दैन ।

सोच्ने विषय स्याउस्याउँती  किराजतिकै छन् । शालिकको सोच मौन प्रकृतिको हुन्छ । घुम्ने कुर्सीको नुन खानेलाई सोचाइ राम वाण हो । कमिसनको नुन खाएपछि सात पुस्ताको पत्रेको दाग पनि मेटिहाल्छ । सोचाइ त मुख बुजो लाउने हतियार हो । सोचाइको महत्ता पनि यही हो । सोचाइ गर्न कुनै चाँदीको जुत्ता र फरियाको नाता हुन आवश्यक पनि छैन । तर सोचाइ नभएकाले पनि शहरमा एक टपरी माटो बेचेर घर घडेरी व्यवस्थापन गरेका छन् ।

सोचाइ रहर गरेर आउने वस्तु होइन बाध्यताबाट पनि हुन सक्छ । जस्तो सूर्यको सोचाइले विशाल अन्धकार चिरेर पृथ्वीमा उज्यालो प्रकाश उदाएको छ । सूर्यले कसरी आफू जलेर पनि फन्को मारेर सोचिरहेछ छ । त्यो सोचाइ विज्ञानलाई थाह होला ।

ठगाहा सोच, धक्कुलाउने सोच, मिचाहा सोच, गफाडी सोच, बकुम्फुसे सोच, सुकुलगुण्डा सोच, कमिसनखोरी सोच यी सबै सोचाइको मुख गोलो खुर्पे चन्द्रमा आकारको जस्तै हुन्छ भन्छन् म प्रमाण दिएर फुइँ लाउनअसर्मथ छु । कुनै खन्तीजस्ता तिखा सोचका आँखा होलान् । कतै खरानी डल्लाजस्तै पनि देखिन्छ । आगो पानी घाम पनि निल्ने सोचाइ पनि छन् । कुनै दिन घाम नलाग्दा पानी पर्दा अँध्यारो हुँदा मनमा कति नरमाइलो रोषको सोच आउँछ । त्यस बेला शून्य लाग्छ । यस कोणबाट हेर्दा सोचाइ शून्य पनि हुन्छ । शून्य भनेका खरानी डल्ला जस्तै हो । खरानीको डल्लोले दुनियाँलाई नोक्सान केही गर्न सकेको छैन । शून्य सोचाइले पनि कसैलाई निल्न सक्दैन ।

अर्को पाटोबाट हेर्दा सोचाइ नशा जस्तै पनि हो । नशा नभए कल्पना पनि तिखारिन सक्दैन । सोचाइ छ भन्दैमा ध्यान भङ्ग भएर रामै राम जपे पनि थारो भैँसी पालेर गबुवा भरिँदैन । सोचाइको नाम नशा पनि हो । कारुणिक सोच नशालु प्रेमिका भन्दा प्यारो हुन्छ । जति पटक ट्वाक तान्यो उति आयुको वायु चलिरहन्छ । कस्तो अचम्म सोचाइका अन्त्य भएको कतै देखेको छैन । यसैमा उदेक लाग्छ । त्यसैले सोचाइ पाल्न जरुरी छैन । सोचाइ पाल्ने ठेकेदार अरु नै छन् । जागिरका पहलमानदेखि स्यालमारा गोरुहरूले घर धान्न गोरुको सिङ, जुरो पुच्छर कन्याइकन्याई कुर्सी जोगाई रहेछन् । भत्ता लुड्याइँ रहेछन् । अर्काथरी बुढा भलादमी फुइँ छोड्ने सोचले घर धान्न बुढीकन्या भित्र्याउन खोजिरहेछन् । सोचाइ ठण्डाराम हुनेहरू पनि धाक जमाउन जमाना बदलिरहेछ भनिरेछन् । सोचाइको विशेषता नै यही हो ।

सोच्नु मानिसको मौलिक अधिकार हो तर चुक्लीबाजी गर्ने सोचलाई चाडै अवसान गर्न आवश्यक छ । चुक्लीबाजी सोचले घरव्यवहार चल्दैन । खराब सोचले विकासे गतिविधि भनिने तत्व झन् भत्किने छ । देश पनि बन्दैन । सोचाइको संसार र भन्सार बेग्लै छ । सोचाइ बिना समाज सभ्य बन्न असम्भव कुरो हो । जसरी अमेरीकी राष्ट्रपति अब्राहम लिङ्कनले आफ्नो सोचबाट अमेरिकी संविधान संशाेधन गरि दास प्रथाको जरो किलो उखेलेर उन्मूलन गरे । एउटा पोष्ट मेनबाट जागिरे यात्रा सुरु गरेका लिङ्कन सोचकै कारणले सन् १८६० मा १६ औ अमेरिकी राष्ट्रपति बनेको इतिहास साक्षी छ । एक क्रुर तानाशाह हिटलरको खराब सोचको कारण जर्मनले प्रथम विश्व युद्धमा तिलमिलाउने गरि हार खानु पर्‍यो ।

के सोचाइ सानो हुन्छ ? सोचाइ राख्न राज्यले अधिकार दिएको छ । अहिले त देशको बारेमा सोच्नेको जनसङ्ख्या पनि घट्दो छ । कार्यकर्ता भन्दा बढ्ता नेता छन् । कोही घाममा शरीर उसिन्न बम बारुद खान प्लेन चढि रहेछन् । कोठा चोटा टल्काउने सोचमा वाइवाइ ! नेपाल भनेर परदेश जाने पनि छन् । कोही सुन्दर सपना सोच्दा सोच्दै घर टल्काउन विदेशी भए । समुन्द पारिको झिलिमिली सोचको चमेनामा रमाउने कमाउने सङ्ख्या पनि दैनिक बढ्दो छ । देशको माटो भुलेर आमा बाबुलाई लत्याउने कामलाई सभ्यता त पक्कै भनिँदैन । सोचाइको कुरै छोडौँ । नामुद सोचाइवालाहरू पनि बाबुआमालाई औषधि मुलो पिलाउने स्वदेशमै मलामी र सलामी खानहरूलाई लन्ठु भन्ने सोच यहीँ उदाएको छ । यो कुरा पल्ला घरे रामे श्यामेलाई मात्र होइन सबैलाई पनि थाहा छ ।

सोच्नु मात्र ठुलो कुरा होइन । किनभने सोचाइमै संसार अडेको छ । हामीले नसोचे देश पनि बन्दैन । सोचाइको शिखर अग्लो नै हुन्छ । उन्नतिको शिखर चढ्न सोच्नै पर्छ । विद्वान मूर्ख महापुरुष जसले सोचे पनि कल्पनाको गीत गाउन सही सिर्जना गर्न खाट्टी सोच नै चाहिन्छ । खेलको मैदानमा जित्न । चुनावमा भोट पाउन । जुवाका पासा पल्टाउन । युद्ध लड्न । अरुबाट विश्वास पाउन । पढाइमा पास हुन नसोची चल्नेवाला छैन । ठुटे कलमले कोर्न पनि सोच्नै पर्छ । तर मेरो सोचाइले हिरा हेरेर किरा मार्न नकेर गुल्टिङगबाजी खाइरहेछ ।

सोच्नु गलत होइन । तर सोचाइ सबै थोक पनि होइन । विपरित सोचको कठालो र कान समाउने सोचको म विरोधी हुँ । यो सोचलाई के भन्ने ? यही अचम्म लाग्छ । सपनाको कथा लेख्न सोच चाहिन्छ । सोच नगरे सोचाइले पनि फेल खाला । सोचाइ गर्न छोडे कल्पना र तर्क पनि बन्द होला । तर असल सोचाइबाट सोचाइ नै जन्मन्छ । सहि सोचबाट आरम्भ भएका लक्ष र योजना कहिल्यै असफल हुँदैनन् ।

मानवलाई सर्वश्रेष्ठ बनाउने सोचाइ नै हो तापनि घरघरको कहानी सोचाइ खोज्दा यहाँ अगाध गिल्ला हल्ला हँसी मजाक चल्छ । असल सोचमा पनि हात खुट्टा पुच्छर तान्ने बखेडा झिक्ने सोच पनि नदेखिएको होइन । तर जन्मेको सोचको अवश्य मृत्यु हुन्छ र मरेको सोचको पनि अवश्य पुनः जन्म हुन्छ । सोचाइको धर्म यही हो । हामीले सुविधायुक्त भान्छाको फोहर रछानमा फाल्न सोचेर मात्र पुग्दैन । सिंहदरवारको फोहर हामीलाई कहाँ थाहा हुन्छ र ? फोहरी सोचाइ फाल्न छिमेकी महोदयलाई गुहार्नु पर्ने हुनसक्छ । होस आफै गर्नुस् । सोचाइ मूल्यहीन भएपछि ढोकामा गजबार हाले पनि भूत, प्रेत छलेर आउँछ । सोचाइको मूल्य हराइरहेकाे यो बेला देशकाे बारेमा, जनताकाे सुखदुखकाे बारेमा साेच्ने फुर्सद  भने कसैलाइ छैन । सबैभन्दा गालपारा कुराे नै यही हाे । मेराे याे साेच तपाइँलाइ पाे कस्ताे लाग्याे कुन्नि !
अस्तु ।

०००
काठमाडौं १५ हाल सिड्नी
२९ मार्च, २०२४

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
रोएका बाटो

रोएका बाटो

ठाकुरप्रसाद अधिकारी
कसौँडी मोह

कसौँडी मोह

ठाकुरप्रसाद अधिकारी
साथी ! चिन्ने हो

साथी ! चिन्ने हो

ठाकुरप्रसाद अधिकारी
नयाँ मन्त्री

नयाँ मन्त्री

ठाकुरप्रसाद अधिकारी
झोलाका झोले कुरा !

झोलाका झोले कुरा !

ठाकुरप्रसाद अधिकारी
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी