ठाकुरप्रसाद अधिकारीकसौँडी मोह
बम नै निदाउने औषधि भएपछि के योजना बन्ला ? सायद विकासे खुर्सानी टर्रो हुन थालेको यही कारण पो हो कि क्या ? आशङ्का लाग्छ । कसौँडीकोे पौरख देखेर हल्लाको भरमा नेताको कुर्सी खुशीले भत्काउन सकिँदैन ।

ठाकुरप्रसाद अधिकारी :
आधुनिक मान्छेलाई बाँच्नको लागि छाना माना दुवै चाहिन्छ । त्यो आकाशबाट फूल बर्सेर पुग्दैन थसुल्ले पेट उचाल्न । उडी हिँड्ने चरी र नाची हिँड्ने परीलाई पेट झुसी पार्न भाँडो हाजिर हुनु जरुरी छ । चुलढुङ्गा तताउनै पनि भाँडो नै चाहिन्छ । यो कसाैँडीको सपनाको गीत हो कतै तपाईंले सोध्नु होला किन ? आज म हाम्रो अस्वित्व मेटिँदै गरेको सवालमा कसौँडी महिमाले केही शब्द कार्न खोज्दैछु । शब्द नियन्त्रण नभएमा क्षमा चाहन्छु । कसाैँडी मानव सभ्यताको प्रतीक हो । कसौँडी खानपिनको सवालमा राजखानी भाँडो हो । यसमा पाकेका चौरासी व्यञ्जन मालपानी खानु भएकै होला । हलुवा पुवा नैबेध्य खिर आदि । अरु के के धेरै पकवान छन् । पछि चर्चा गरौँला ।
कसौँडीको नामकरण कसरी हुन पुग्यो कतै कसौटी वा कसाेटी शब्द अपभ्रंश भएर संयोगले कसौँडी नामाकरण भएको हुनसक्छ भन्ने मेरो बुझाइ छ । तपाईं पनि तर्क लगाउन सक्नु हुन्छ । तर्क लगाउन कुनै टुप्पी उखेल्नु पर्दैन । कसौँडीको बनोट भोगटेजस्तो गोलो कस्ले होइन भन्न सक्छ । टुप्पोमा चन्द्रमा आकारको सानाे हँसमुख । प्रर्दशनीमा फुकेको बेलुनजस्तो पेट । कान पनि पानी पिउने घल्चाको वा खड्कराको बिटजस्तो घुमेको । भुइँमा राख्दा कुहिएको डोलो फर्सी जस्तो भ्यात्त । कोही भन्छन् बाटुलो बिटको ‘ब’ जस्तै कतै नेताको भुँडीजस्तै प्यात जस्तै छ भन्छन् । यसको अगाडि उभिँदा स्वरूप देख्न कठिन छैन ।
कसाैँडी माने, तीन माने, चार माने, पाँच माने जस्तोमा पनि पाइन्छ । त्यसैले कसैले उपनाम दिँदा कानको आकारको कडा हुने कसौँडीलाई काने कसौँडी भनेको सुनिन्छ । यो जस्तो आकार प्रकारको भए पनि कसौँडी परलोकको निम्ति होइन, यसै लोकको लागि खाँचो छ । यसकाे नाता पनि जेरीजस्तै जेलिएको एकले अर्कालाई समाएको भान हुन्छ । न्वारानको पाता केलाउँदा जस्तो गग्रेटोको टाँडमा बस्ने औँखरा सहोदर दाजुभाइ हो कि जस्तो भान हुन्छ । किनभने यिनीहरू दुवैको बनोट उस्तै छ । बन्ने धातु एउटै प्रकृतिको हुनुपर्छ । स्वरूपमा आउनु पूर्व आरनको आगोमा होमिनु पर्ने । आगो खाएर आगो ओकल्नु यिनीहरूको धर्म हाे । आगोमै जन्मिनु हुर्किनु यिनको संस्कार होे । अरुलाई मनोरन्जन दिन जन्मदैदेखि खलाँतीबाट पिटाई खानु पर्ने । यो सुन्दा मुटु पनि च्वास्स हुन्छ ।
तर पनि यी दुवैको चरित्र सेवा दिने हो, खाने पिउनेमा । कहिलेकाहीं भान्छामा अरु भाँडो नपुग्दा पानीको जोहो गर्ने काममा चौलानी पानी राख्न, तरकारी केलाउन पनि कसौँडीले गाग्राको समेत भूमिका खेलेर सहयोग गरेको ठान्दछु । तर यो माटोको गाग्री जति हत्तपत्त फुटेर पन्यालो पानी चुहिने भएर काम नदिने बन्दैन । सचेत मानिस झैँ पत्रुमा पनि बिक्छ । कसौँडीको बहादुरी नै यही हो । उ बेला कसौँडीमा गरेको खर्चले अहिले भान्छामा रेल कराउने भाँडो जोड्न सकिँदैन । सुकिला मुकिलाले डेक्ची किनेर पनि कसाैँडी छोड्न सकेका छैनौँ । यो नै गौरवको विषय हो । कसौँडीको गफ गरेर यो निबन्धलाई चटनी बनाउन खोजेको चाहिँ होइन है ।
कसौँडी जसको घरमा पनि फिट हुन्छ । डाँडाघर, भाडाघर, लाटा सुधाको घर, माझाघर, सिरानाघर, गैह्राघर, पुछारघर, तल्लाघर, पल्लाघर, छेउघर, बाटाघर, मामाघर छुच्चा बुच्चाको घर र लफङ्गा लुच्चाकाे घर सबैमा फिट भएर याे मुस्कुराइरहन्छ । कोही कसौँडीमै भिक्षा खोज्छन् । यो उ भन्ने छैन । हलोदेखि हाइड्रोसम्मको उद्योग मालिकको पेट फस्टाउन तातेर भरथेग यसले सहयोग गरेकै हुन्छ । यो जुवाघर जतिकै चर्चित छ । डेक्चीलाई साथी चाहियो फिट हुन्छ । कराईमा गुन्द्रुक उमाल्न पर्यो भने पनि साथ दिन्छ । आलु पिँडालु मिलाएर पाकाउन पर्याे वा जिम्बु पानी उमाल्न पर्यो यसले नाइँ भन्दैन।
पाहुलालाई चियापानी उमाल्न पर्यो कसाैँडी तयार । भान्जालाई खिर पकाउन पर्यो कसाैँडी हाजिर । बिरामीलाई पानी तताउन पर्यो कसाैँडी नै। सुत्केरीलाई ज्वानाको झोल उमाल्नु पर्यो कसाैँडी ठिक्क भइदिन्छ । हाकिमलाई ताप्के बनेर ढिँडो पकाउन पर्यो यही फिट । छोरा बुहारीलाई छिटो अफिस जान कुकुरलाइ भात बसाल्न पर्यो यसैले साथ दिन्छ । तिथी श्राद्ध एकादशी औँसीमा अनेक सहयोग दिन्छ यसैले । भनिरहन नपर्ला नेपाली भान्छा बहुपरिकारको भान्छा हो । नेपाली भान्छाको लागि राजा भाँडो भनेकै कसाैँडी हो । यसमा तरकारी तिहुनदेखि भैरवको ‘आलु’ उसिन्न, तामाको झोल पकाउन, घैँटे सुकुटी गुन्द्रुकदेखि कवाफसम्म पाक्छ कसाैँडीमा । ढिडो पिठाे दाल भात जे पनि पाक्छ । यो बुढो पुरानो भए पनि कहिल्यै थन्किएर बस्न पाउँदैन । के गरिब के अमिर मौसम अनुसारको खाना बनाउन सात पुस्तासम्म सहयोग गरकै हुन्छ कसाैँडीले ।
म पनि फित्कौलीमा यस्तै राता पहेँला अक्षर लेखेर लेखनमा प्रतिस्पर्धा गर्दै फित्कौलीमा मट्याङ्ग्रा हान्ने अभ्यासमा छु । कसौँडीको उपयाेगिताकाे के कुरा भो र ? कहिले मोटो बुद्धि बनाउन चुहेको कसौँडीलाई काखी च्यापेर सुकिला मुकिला डेक्ची इन्जिनियरकहाँ उपचारको लागि हिँडेकाे सम्झन्छु ।
छोरीको बिहे । छोराको न्वारन, पास्नी व्रतबन्ध । तिथि श्राद्ध छेवर गुन्नु चोलो पोषड कर्म आदिको संस्कृति जगेर्ना गर्न सानोतिनो कसाैँडी धितो राखेर प्रितिभोज टर्दैन । मैले कसाैँडी पखाल्न सरकारी सुबिधा लिनेको चरित्रहत्या गरेर माला भिर्न खोजेको पनि हैन । ठूला ठूला डेक्ची नतताए न ज्वाइँ पुज्न सकिन्छ, न त बुहारी भित्र्याउन सकिन्छ । न दाइजो तान्न सकिन्छ, न त टोल छिमेक नै रिझाउन । कसौँडीको महत्वपूर्ण सवाल नै यही हो ।
कसौँडीवादी कुरा गर्दा मैले पनि कसौडीमा दाल भात तरकारी पकाए चाखेकाे छु । तर आफ्नो कुसंस्कार, कुबुद्धि, कुप्रवृत्ति, कुव्यवहार निम्ठो पारेर डढाउन सकेको छैन । न त कसौँडी अध्याय पढेर भ्रष्टाचार नै भष्म गर्न सकेँ । न त गुण्डातन्त्र नास्न सकेँ, न डाक्टरको नक्कली सर्टिफिकेट बारे व्यङ्ग्य लेख्न सकेँ । न त कुकरमा नक्कली घिउ घसेर कुरौटोलाई डढाउन सकेँ । त्यै कुरा पिरलो लाग्छ । यस्तो कुरामा मैले ‘पुल्टुङबाजी’ खाएको छु ।
खान पानमा कसौँडीको चिन्ता गर्नु दूरदर्शी हुनु हो तर भोजमा भड्किलो खर्च गर्नु पर्ने बेबीसावरदेखि मरनमा पनि भड्किला दान गर्न कसाैँडी र डेक्ची तताउन रन्किन पर्ने बेला भएको छ । यस्तो सत्यानाशी चलन स्वाहा हुने छाँटकाँट नै छैन । न सरकारका कानमा बतास लाग्ने छाँटकाँट छ । भोज र भोजनमा पाक्ने हाम्रो संस्कृति र संस्कारमा सुधार भएकाे देखिन्छ ।
मेरो पाकेकाे जुँघा भन्छ- कसौँडीमा पाकेको कवाफको सितन ककसले खाए । जलहरी काण्ड कुन दुलामा हरायाे । सुन तस्कर काण्ड, गाई काण्ड, राँगा काण्ड, यो अध्यायमा नपरे पनि के भन्ने ? आफ्नो घरको कसौँडी उधिनेर देख्न नसकिने रहेछ । न त कसौँडी मोह कवितामा कोर्न सकेँ । कुकरमा सास फेरेर पनि अझ कसौँडीमा फिट हुन सकेको छैन । यसो भनेर कसौँडी ‘तुच्छ’ भाडो भन्न खोजेको चाहि अवश्य होइन । प्रेसर कुकुर बम पड्केर सत्ताको सातो गएको छ । सिंहदरवार फट्याङ्ग्रो मार्न नसक्ने भई थला बसेको छ । कुकरका कुक पनि दिउँसै निदाउन थाले रे । अब के भन्ने ? कसौँडीको बोक्रे बयान गरि साध्य छैन । बम नै निदाउने औषधि भएपछि के योजना बन्ला ?
सायद विकासे खुर्सानी टर्रो हुन थालेको यही कारणले पो हो कि क्या ? आशङ्का लाग्छ । कसौँडीकोे पौरख देखेर हल्लाको भरमा नेताको कुर्सी भत्काउन सकिँदैन । कसौँडी आफैमा नराम्रो भाँडा कहाँ हो र ? कति गिदीमा सनक चढाउनु ? चुहिने कसैँडीको कति बात बताइ रहनु ? तातो न छारो । कति बेपत्ताको बेपारीलाई फाल्तु नाफा गर्न दिइरहनु ? मेरो बाल बोलीले कसौँडीको विरोधमा हुटिङ गरेर न पशुपतिका बाबालाई धुप बत्ती बाल्न सक्छु, न त स्वयम्भूका दुई आँखा उनेर विश्वशािन्तकाे माला जप्न सक्छु । याे फगत मेरो कसौँडी मोह मात्रै हो ! जय कसाैँडी।
०००
काठमाडौं -१५, हाल सिड्नी
२० मार्च, २०२४
Subscribe
Login
0 Comments
Oldest









































