विष्णुहरि पाैडेलछैन खाँटी चिनारी
तित्रा, तम्मे ढुकुर सकिए, च्याखुरा बास्न लेक। ढुम्री, कल्ली र छिट गुनियो चिन्न छोडे घलेक। अंग्रेजीका लबज मिसिए खाम बोली बिगारी। जोतारो के भिमट,करुवा छैन खाँटी चिनारी।

विष्णुहरि पौडेल ;
छैनन् थुर्मी, सिमम, गबुवा, दूध तात्ने भदाली।
छैनन् लैना, बहर र खसी गोठ देखिन्छ खालि।
छोडे मान्छे रहन रिपमा मासियो रोजगारी।
पुर्ख्यौली संस्कृति, सत, चिनो छैन खाँटी चिनारी ।१।
चौतारी पी-पल वर ढले लाँकुरी बोट छैनन्।
लाएछन् डोजर अब सिँढी,प ोखरी देखिँदैनन्।
छैनन् चुड्का, भजन मुजुरा खैँजडी, वेलघारी ॥
रैथाने संस्कृति चलन खै ? छैन खाँटी चिनारी ।२।
काट्नै छोडे खर, घर कहाँ मिल्नु राते,कमेरे।
रोप्ने छोडे सिम बगर खै दाइँ छैनन् दँयेरे।
डाँडा काट्यो श्रम र पसिना दूर मुग्लान पारि।
सिस्नो उम्र्यो विजन छ डिही छैन खाँटी चिनारी ।३।
पातीघारी, सिरु र खरले गाउँ ढाक्यो गँजाई ।
बारी, पाखातिर चह-चहै लाखु गर्छन् रजाइँ ।
खेतीपाती छ र अब कहाँ सुन्तला, आँपघारी।
सामा, कोदो, टिमुर, मरटी छैन खाँटी चिनारी ।४।
तित्रा, तम्मे ढुकुर सकिए, च्याखुरा बास्न लेक।
ढुम्री, कल्ली र छिट गुनियो चिन्न छोडे घलेक।
अंग्रेजीका लबज मिसिए खाम बोली बिगारी।
जोतारो के भिमट,करुवा छैन खाँटी चिनारी।५।
ल्यायो नौलो चलन युगले नाचियो,जाँचिएन।
ताछ्यौँ, खुर्क्यौँ खुरुखुरु निजी सभ्यता साँचिएन।
फाल्यौ जाँतो न छ अब ढिकी कोल, कात्ती निखारी।
बिर्स्यौँ अर्ग्यानिक चिज निजी, छैन खाँटी चिनारी।६।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































