सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

(बी)३ = बी क्यूब बडा

बी क्यूब बडा र हाउडे मामाजस्ता हाउडेहरू तपाईंहरूको गाउँ-घरतिर पनि भइदिउन् भन्ने पो लाग्छ मलाई । तर राजनीतिको कुरा नगरी खाएको खाना कसरी पच्ने र ?

Nepal Telecom ad

नगिता लेप्चा राई :

भन्नु उसो होइन । गाउँ-घरतिर किसिम-किसिम थरीथरी अनि परीपरीका मानिसहरू हुन्छन् । उनीहरूको स्वाभाव, आनीबानी सरल, शुद्ध, छक्का पञ्जा नजान्ने । गाउँ-घरतिर अर्काको चियोचर्चो गर्ने, यताको कुरा उता लाने, अरुलाई भन्दा ऊ आफूलाई खसखस पर्ने स्वाभावका मानिसहरू देखिन्छन् । हाम्रो गाउँका यस्ता व्यक्तिको सम्झना गरिरहेछु जो आफ्नो मनका आफै धनी हुन् । उनी मनका राजा हुन् । आफ्नो खान्छन्, ब्रिटिश आर्मी, इण्डियन आर्मीको पेन्सन सँगसँगै अहिले एउटा स्थानीय सरकारी ब्याङ्कमा गार्डको काम गरिरहेका छन् । भनूँ दुईवटा दुईवटा सरकारी पेन्सन र वर्तमान नोकरीको पैसा । पैसाले अपुग केही छैन । तर पनि घमण्ड फुर्केपना एउटै छैन ।

मिलनसार स्वाभाव । गाउँ-घरमा कसैलाई पनि दुःख आइपर्दा सबैभन्दा पहिले उनी नै हाजिर हुन्छन् अनि आफूले भ्याएसम्म सघाउँछन् । उनको खास नाम बमबहादुर बर्मेली हो । अङ्ग्रेजी शब्द द्यद्यद्य उच्चारण गर्नुपर्ने हुनाले सजिलोको निम्ति (बी)३ = बी क्यूब बडा भन्यो सकिगो । यसैले गाउँ घरकाहरूले उनलाई (बी)३ = बी क्यूब बडा भन्छन् । (बी)३ = बी क्यूब बडा भनेपछि उनलाई नचिन्ने कोही हुँदैनन् तर बमबहादुर बर्मेली भनेपछि उनलाई कसैले चिन्दैनन्। हुन पनि बमबहादुर बर्मली वा BBB भनिरहनु समय लाग्ने । यसकारण (बी)३ = बी क्यूब बडा नै सजिलो, छिटो पनि मिठो पनि ।

हाम्रा (बी)३ = बी क्यूब बडा मान्छे अति नै फर्साइला छन् । फर्साइला मात्र होइन रौसे पनि । दुई दुइवटा पल्टन लुटिसकेका । त्यो पनि एउटा भारतीय पल्टन अनि अर्को ब्रिटिश पल्टन । अर्थात् यसौ भनुँ, देश खाइ शेष भइसकेका । उनलाई (बी)३ = बी क्यूब बडा भनिदिँदा खुसी हुन्छन्, तर पल्टने बडा भनेको उनी ट्याक्कै सहन चाहँदैनन् । कसैप्रति उनको पाप मन छैन । गाउँ-घरका युवाहरूलाई एकसाथ लिएर हिँड्छन् । तर उनको एउटै दोष के छ भने उनी आफ्नो विज्ञापन गर्न भने उस्ताद छन् । यसैले उनलाई उनको सामु (बी)३ = बी क्यूब बडा भने पनि उनी टाढिएपछि उनलाई मात्रै विज्ञापन बडा वा BB भन्न चुक्दैनन् । तर अधिकाश (बी)३ = बी क्यूब बडा भन्ने नै धेर रुचाउँछन् ।

जे होस्, (बी)३ = बी क्यूब बडाको कुरै ठूलो । शास्त्र, साहित्य, संस्कृति, वेद, उपनिषद्, रामायण महाभारत, विज्ञान, भूगोल सबै नै जान्दछु भनी आफ्नो ज्ञानको विज्ञापन गर्न (बी)३ = बी क्यूब बडालाई कसैले भेट्दैन । हामीलाई शास्त्र, साहित्य, संस्कृति, वेद, उपनिषद्, रामायण महाभारत, विज्ञान, भूगोलबारे केही ज्ञान छैन। तर उनले भनेका कुरा पत्याउनैपर्छ । (बी)३ = बी क्यूब बडा भन्छन्, हावाजहाज र पानीजहाज बाहेक सबै चलाउन सक्छन् । पल्टनमा छँदा हावाजहाज झण्डै झण्डै उडाएका अरे । तर त्यतिबेला (बी)३ = बी क्यूब बडाको श्वास बढेकोले हावाजहाज उडाउन मानेनन् भनी हामीलाई छक्कै पार्छन् ।

कुरैकुरामा एकजनाले सोध्यो, अच्छा (बी)३ = बी क्यूब बडा तपाई कुन कुन गाडी कुदाउनु सक्नुहुन्छ ? (बी)३ = बी क्यूब बडाको उत्तर, ए नाथे जुनै गाडी पनि यूँ हाँकिदिन्छु नि… तर… । तर भनेपछि (बी)३ = बी क्यूब बडा एकक्षण रोकिन्छन् ।
अर्को सोध्छ- तर चैँ के (बी)३ = बी क्यूब बडा ।
(बी)३ = बी क्यूब बडा – तर चैँ अब गाडी म एकदेखि डेढसय किलोमिटर रफ्तारमा यूँ हाँक्छु नि तर मलाई ब्याक गर्नु चाहिँ आउँदैन र म गाडी छुँदै छुन्न । फेरि अर्को प्रश्न- (बी)३ = आम्बो… गाडी जम्मै हाँक्नु सक्नेले ब्याक गर्न चैँ नजानेका ?

गम्भीर जवाब बी क्यूब बडाको- होइन नानी हो… जिन्दगीमा मैले कहिले ब्याक हेरिनँ, हेर्न जानिनँ अनि़ सिकिनँ पनि । दुई दुईवटा पल्टन पचाइसकेको मान्छे म । एउटा इण्डियन आर्मी अर्को ब्रिटिश आर्मी । पल्टनमा मेरा उस्तादहरूले कहिले पनि ब्याक नहेर्ने आदेश दिएका हुनाले मैले जीवनमा ब्याक कहिले हेरिनँ त्यसैले गाडी पनि ब्याक गर्न नसिकेको हुँ । नो ब्याक, नेभर ब्याक. अलवेज फ्रण्ट… स्ट्रेट । बी क्यूब बडाको कुरा के पत्याउनु के नपत्याउनु ? पैसाको अपुग नहुने बी क्यूब बडाले यसैले गाडी नकिनेका होलान् भन्ने हाम्रो मूर्ख सोचाइँ छ ।

बी क्यूब बडा संसारको कुन देश घुमेका छैनन् भनी हामीलाई छक्कै पार्छन् । हामी यही गाउँमा जन्मेर त आजसम्म पनि पल्लो गाउँ राम्ररी चिन्न सकेका छैनौँ । तर बी क्यूब बडाले जम्मै देश घुमिसकेँ भन्दा हामी मान्छे भएर जन्मेकोमा लाज लागेर आउँछ । संसारको सबै देश घुमिसक्ने बी क्यूब बडाको कुरा आश्चर्य लाग्नु स्वाभाविकै हो । मेरो एकजना उपद्री साथीको मुख छिटो, सोधी हाली, अच्छा (बी)३ = बी क्यूब बडा तपाईं भूगोल पनि जानुभएको छ ?

(बी)३ = बी क्यूब बडा जुङ्गा मुसार्दै भन्छन्, भूगोल ? मेरो पल्टन भूगोलमा तीन महिना त्यहीँ बसेरो आएको । कुरा नगर भूगोल देशको । सहै हाँ परेर, हई (बी)३ = बी क्यूब बडा ?
(बी)३ = बी क्यूब बडा – येस… इट वाज भेरी डेन्जरस् प्लेस ।
अर्को फटाहा प्रश्न- भूगोल देश घुम्नुभयो कति भाग्यमानी तपाईं ।
(बी)३ = बी क्यूब बडा – यो मेरो पल्टनको कमाल हो । यसकारण म मेरो पल्टनलाई थाउजेण्ड टाइम्स स्यालुट गर्छु ।

फेरि फटाहा प्रश्न, अच्छा बी क्यूब बडा भूगोल देशमा भ्रमण मात्र होइन, तीन तीन महिनासम्म पनि बिताउनुभएछ । तपाईं कति भाग्यमानी । सबैको भाग्यमा यस्तो जुर्दैन । अनि (बी)३ = बी क्यूब बडा भूगोल गएपछि त अक्षांश र द्राघिमांश देशमा पनि अवश्यै जानुभएको होला हई ?

आफ्नो फिला बजार्दै, ओहो सो सरी… अक्षांश र द्राघिमांश भन्ने देशमा मात्रै जान सकिनँ नि । हाम्रो पल्टन भूगोल देशबाट क्याम्प सरेर अक्षाँश र द्राघिमांशमा जाने अर्डर आयो… त्यतिबेला मेरो खुट्टा मड्केकोले मलाई पल्टनले तीन महिनासम्म बेस हस्पिटलमा एडमिट गरेर अक्षांश र द्राघिमांश देश जाने मेरो धोको अधूरै रह्यो नि ।
के भन्ने ? (बी)३ बी क्यूब बडा सित तर्क गरेर कुनै फायदा छैन । बी क्यूब बडाले आफ्नो बारेमा जतिनै विज्ञापन गरे पनि हामीलाई झिजो भने पटक्कै लाग्दैन । उनको विज्ञापन सुन्न मज्जा लाग्छ । र त गाउँ-घरका युवा-(बी)३बी क्यूब बडाको विज्ञापन सुन्न झुत्तिन्छन् । उनको विज्ञापन नाइन्टि नाइन पर्सेण्ट बित्त्थाको हावाको भए पनि सुन्दा हो जस्तै लाग्छ ।

(बी)३बी क्यूब बडा ठूलठूला कुरा हाँक्नमा पनि उस्ताद छन् । एकदिन हामी फुटबल मैदानमा गफिरहेका थियौँ । (बी)३बी क्यूब बडाले आफ्नो शक्तिको विज्ञापन हाँक्दै थिए अचानक गाउँकै हाउडे मामा त्यहाँ आइपुगे । मनमनै भनेँ, बल्लबल्ल विज्ञापन बडा र हाउडे मामाको जम्काभेट भयो.. अब कसले कस्तो विज्ञापन गर्ने हो, कसले हाउडे गफ सुनाउने हो यसबारेमा फुटबल मैदानमा भेला भएका हामी युवायुवतीहरूमाझ खुल्दुली भयो ।

(बी)३ बी क्यूब बडाले हाउडे मामालाई सोधेँ- ‘हन क्या हो तिमी त हस्याङ्ग पस्याङ्ग हुँदै पो आइरहछौ । के भयो ?’ हाउडे मामाको हावा कुरा शुरु भइहाल्यो- ‘अहिले त साइकल हाँकेर आएकोले यस्तो देखिएको नि । हिजो राति पो खतरा भयो नि ।
सबै- ‘के भयो मामा को भयो ?’
हाउडे मामा, अरे नभन यार । भनिसक्नु छैन । गजबै भयो नि ।

सबैले उनको हावा गफ सुनाइदिने आग्रह गरेपछि हाउडे मामा बोल्दै गए, अरे (बी)३बी क्यूब सर के भनूँ राति फारसबाट साइकल हाँकेर धुम्धुमति आइरहेको थिएँ, अचानक बाटैमा अजङ्को बाघ । लमक लमक गर्दै मकहाँ आउँदैछ । साइकल छोडेर भागुँ जस्तो पनि लाग्यो । तर अँध्यारोमा भाग्नु कहाँ भाग्नु । मेरो पालो फ्लास्कबाट तातो पानीले त्यसको मुखभरि छ्यापिदिए । तातो पानीले पोलेर हो कि केले हो कोनि बाघ जताबाट आयो त्यतै स्पिड कुद्दै लाग्यो ।

(बी)३बी क्यूब बडा बोले- ए…. त्यो बाघ कुद्दै साइँली बहिनीको दोकाननेर आएको थियो । यसो मुख छामेर हेरेको थिए… विचारा तातो पानीले नाकै खुइलिएको रहेछ । मेरो पाला मल्हम दलिदिएको थिए त्यो फेरि फारसतिरै पस्यो । ए… तिमीले पो तातो पानी छेपिदिएको ।

(बी)३ बी क्यूब बडाको कुरा सुनेर हाउडे मामा अक्क न बक्क परे । हामी पनि एकक्षण त अलमलियौ । विज्ञापने बडा र हाउडे मामाको बिग टक सुनेर ।

दुवैमध्ये (बी)३बी क्यूब बडाको कुरा अनि हाउडे मामाको हावाको कुरा सुनेर नै हाम्रो गाउँमा हाम्रो समय कटनी हुने गर्छ । दुवैका कुराहरू बेफाइदाका हुन्छन् भनेर हामीलाई थाहा हुँदा हुँदै पनि हामी उनीहरूको कुरा सुनिदिन्छौँ । यिनीहरुको गफमा विज्ञापन र हावाको कुरा हुन्छ भनेर जान्दा जान्दै पनि हामी गाउँका सबै यिनीहरूका कुरा चाख मानेर सुनिदिन्छौँ । यसले हामीलाई कुनै फायदा नभए पनि कम्तिको पनि यी दुई बूढाहरूले राजनीति, भोट र झण्डाको कुरा गरेर हामी युवा युवतीहरूको मगज धुलाइ त गरेका छैनन् । राजनीतिमा जबरजस्ती धकेलेर गाउँभित्र कसैसित शत्रुता, कुटपिट, लडाइँ झगडा गर्न लाएका छैनन् । यसैले हाम्रो यो गाउँ राजनीतिको शिकारले ग्रसित छैन । हाम्रो यो गाउँलाई झण्डी साटने देशानले भेटेको छैन । यी दुई बूढाको बिग टक वा हावाको गफले नै हाम्रो गाउँलाई पवित्र राखेको छ, सुरक्षित राखेको छ । हाम्रा गाउँका समस्त युवा युवतीहरू झण्डी बोक्ने, झण्डी साटने, झण्डी च्यात्ने पट्टि नलागेर यी दुइ बूढाकै हावा गफ सुनेर मस्त हुन नै व्यस्त छन् ।

राजनीतिको कुरा गरेर सोझ सिधाहरूलाई नभड्काई हावाकै गफमा भुल्याउने ? (बी)३ बी क्यूब बडा र हाउडे मामाजस्ता हाउडेहरू तपाईंहरूको गाउँ-घरतिर पनि भइदिउन् भन्ने पो लाग्छ मलाई । तर राजनितिको कुरा नगरी खाएको खाना कसरी पच्ने र ?

हिजोआज सबै राजनीतिको देसानले अलमलिरहेका छन् । हाउडे गफै भएपनि सुनाएर युवा युवतीहरूलाई भुल्याउने कहाँ पाइन्छ होला र ?

०००
खोलाचन्द फाप्री, जलपाईगुडी (भारत)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
लाइन

लाइन

नगिता लेप्चा राई
मुड

मुड

नगिता लेप्चा राई
ब्याकबाइटिङ् क्विन

ब्याकबाइटिङ् क्विन

नगिता लेप्चा राई
आफ्नो डम्फु आफै बजाउन थालेँ है

आफ्नो डम्फु आफै बजाउन...

नगिता लेप्चा राई
झिल्के पण्डित

झिल्के पण्डित

नगिता लेप्चा राई
डगी

डगी

नगिता लेप्चा राई
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा