घर्षणवाद
“विश्वमा गोचर या अगोचर जे जति वस्तु पदार्थ छन् ती सबै घर्षणका परिणाम हुन । त्यसैले यो घर्षणवाद सबै वादहरूमा उत्तम वाद हो । यस्तो वैज्ञानिक र सम्यक वादका प्रतिपादक जो हुनु हुन्छ, धन्य हुनुहुन्छ ।”
रुद्र ज्ञवाली :
उसलाई बेला मौकामा नयाँ नयाँ विचार फुर्ने गर्छ । यसपटक भने उसलाई एउटा नयाँ वाद फुर्यो ।
आल्हादित उसले उत्तरीय, नैवेद्य, भेटी र भर्खरै फुरेको बादको प्रस्तावना बोकेर गुरुकुलमा दाखिल भयो ।
“प्रिय शिष्य । तिम्रो प्रस्तावनाका आधारमा म ठोकेरै भन्न सक्छु विश्वमै प्रचलित वादहरूमा यो वाद विशेष महत्त्वको छ । कालान्तरमा यो वादले राजनीति र साहित्यमा आफ्नो एकल प्रभुत्त्व कायम गर्नेमा कुनै शङ्का रहेन । बरू छिट्टै यसको प्राण प्रतिष्ठाका लागि तिमी कुनै अनुष्ठान आयोजना गर ।”
ऊबाट आयोजित अनुष्ठानमा प्रमुख गुरुबाट प्रवचन शुरु भयो
“यो सृष्टि सबैखाले घर्षणहरूको परिणाम हो । विभिन्न पदार्थ, तत्वहरूको घर्षणबाट सूर्य बन्यो सूर्यका तत्वहरूको घर्षणबाट ग्रहहरू उत्पन्न भए । नयाँ वस्तुप्रतिको आकर्षण शास्वत् प्रक्रिया हो । यसै प्रक्रिया अन्तरगत पृथ्वी बन्यो, जीव बने र हामी बन्यौँ ।”
“गहिरिएर सोच्यौँ भने हामी बन्नुका पनि कारण छन् । अध्यात्मवाद र भौतिकवादको अन्तरघुलनबाट निर्मित यो वादले जत्ति जीवन र जगतको विश्लेषण गर्न सक्ने वाद अहिलेसम्म यो लोकमा प्रतिपादन भएकै थिएन । यो वादले ब्रह्माण्डकै सटीक विश्लेषण गरेको छ । जीवन भन्नु प्राणीका क्रिया प्रतिक्रियाहरूको घर्षण हो । घर्षण भन्नु द्वन्द्व हो । बादलहरूको टकरावबाट चट्याङ र बिजुली, विपरित लिङ्गहरूको घर्षणबाट प्राणी, घाम पानी माटो र बिजको घर्षणबाट जीव वनस्पति ।”
“विश्वमा गोचर या अगोचर जे जति वस्तु पदार्थ छन् ती सबै घर्षणका परिणाम हुन । त्यसैले यो घर्षणवाद सबै वादहरूमा उत्तम वाद हो । यस्तो वैज्ञानिक र सम्यक वादका प्रतिपादक जो हुनु हुन्छ, धन्य हुनुहुन्छ ।” यति भनेर गुरुले प्रवचन सिद्धयाउनु भयो ।
गुरुका प्रवचनमा अनुरक्त उसका आँखा हर्षाश्रुले भरिए ।
०००
भैरहवा