कमिसन नगर
“भीरबाट हाम फाल्दै झर्न पो सजिलो रहेछ समथरमा हिँड्दा खुट्टा खाँदिने, उकालो चड्न फोक्सो फुल्ने ।” चट्याङ्ले पनि लाचार रूप देखायो ।
ढाकामोहन बराल :
झलमल्ल बत्ति बलेका छ्न् । चोक उज्यालो छ । आउने जाने मानिसहरू आफ्नो गन्तव्य भुलेर यतै रमाएका छ्न् । थरिथरिका गीतका आवाज वातावरण गुन्जायमान भएको छ । वातावरण रंगिन छ । मान्छेहरू रोमान्टिक मूडमा छ्न् । नाच्दै आएका पनि यही ठाउँमा आएका छ्न् । घस्रिँदै आएका पनि यही चोकमा आइपुगेका छ्न् । कोही हिजो आए, कोही अस्ति आए कुनै भरखर आइपुगे । पहराबाट हामफालेको छहरा जस्तै टाढाको साइत गर्दै आएका पनि यतै रमाए ।
“कति रमाइलो र सुन्दर चोक रहेछ ।” लालमोहनले भन्यो । “अब कति हिँड्नु थकाइ लाग्यो । यतै बसौँ ।” मोडल डेमोक्र्याट्ले भन्यो । “हैन समाजवादसम्न पुग्न कति बाटो हिँड्नु पर्ला ?” पहराको छहरा जस्तै हतारिएको अर्को चट्याङ्ले सोध्यो ।
“ल हेर्नुहोस्, बाटो त्यही हो । त्यो सके पछि आउने हो ।” लालमोहनजीले भने । “देख्नु भयो कति टाढा छ । यतै बसौँ अब । हुन त म पनि उतै जान हिँडेको हुँ ।” मोडल डेमोक्र्याटले भन्यो ।
“हाम्रो यात्रा रोकिएको छैन त भन्नु पर्छ, तर सकिँदैन जान त ।” लालमोहनले भने ।
“भीरबाट हाम फाल्दै झर्न पो सजिलो रहेछ समथरमा हिड्दा खुट्टा खाँदिने, उकालो चड्न फोक्सो फूल्ने ।” चट्याङ्ले पनि लाचार रूप देखायो ।
उनीहरू सबै हात समाएर रङ्गिन नगर घुम्न थाले । यतै रमाउन थाले । नगरको बीचभागमा एउटा अग्लो स्तम्भ थियो, र जहाँ लेखिएको थियो “ सेन्टर पोइन्ट, कमिसन नगर ।”
०००
पोखरा -७, मासबार, कास्की ।